सामग्रीमा जानुहोस्

पञ्चकन्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पञ्चकन्या, रवि वर्मा प्रेसबाट सन् १९४५ पूर्वको चित्र।

पञ्चकन्या हिन्दु महाकाव्यका पाँच प्रतिष्ठित महिलाहरूको समूह हो। एक प्रसिद्ध श्लोकका अनुसार यी पाँच कन्याहरूको नाम स्मरण गर्दा मात्र पनि पाप नाश हुने विश्वास गरिन्छ। यी पाँच कन्याहरूमा अहिल्या, द्रौपदी, कुन्ती, तारामन्दोदरी पर्दछन्। द्रौपदी र कुन्ती महाभारतका पात्र हुन् भने अहिल्या, तारा र मन्दोदरी रामायणका पात्र हुन्।[] हिन्दु धर्ममा पञ्चकन्याहरूलाई आदर्श महिला र उदाहरणीय पत्नीको रूपमा सम्मान गरिन्छ।[]

अहिल्या, तारा र मन्दोदरीको उल्लेख हिन्दु महाकाव्य रामायणमा गरिएको छ। यस महाकाव्यकी मुख्य पात्र सीतालाई पनि कहिलेकाहीँ पञ्चकन्याको सूचीमा समावेश गरिन्छ।

राजा रवि वर्माद्वारा चित्रित अहिल्या

अहिल्या (वा अहल्या) ऋषि गौतमकी पत्नी हुन्। विभिन्न ग्रन्थहरूमा अहिल्यालाई सृष्टिकर्ता ब्रह्माले एक निष्कलङ्क सुन्दरीको रूपमा सिर्जना गरेको वर्णन गरिएको छ। ब्रह्माले अहिल्यालाई युवती नभएसम्म गौतम ऋषिको हेरचाहमा राखेका थिए। ऋषिको संयमबाट प्रसन्न भई ब्रह्माले उनलाई गौतम ऋषिसँगै विवाह गरिदिएका थिए।

देवराज इन्द्र अहिल्याको सुन्दरताबाट मोहित थिए। गौतम ऋषिको अनुपस्थितिमा इन्द्रले ऋषिको भेष धारण गरी अहिल्यालाई संसर्गका लागि आग्रह गर्छन्। रामायणका अनुसार अहिल्याले इन्द्रको छद्मभेष चिनेकी थिइन्, तर "कौतूहलवश" उनले सहमति जनाउँछिन्। पछिल्ला संस्करणहरूमा भने अहिल्या इन्द्रको छलमा परेको वा उनीमाथि जबरजस्ती गरिएको उल्लेख छ। यो घटनापछि गौतम ऋषिले अहिल्या र इन्द्र दुवैलाई श्राप दिन्छन्। अहिल्यालाई लामो समयसम्म अदृश्य रहेर प्रायश्चित गर्न र राम (विष्णुका अवतार) को स्वागत गरेपछि मात्र शुद्ध हुने श्राप दिइन्छ। लोककथाहरूमा अहिल्या ढुङ्गा बनेको र रामको खुट्टाले छोएपछि पुनः मानिस बनेको कथा बढी लोकप्रिय छ।

तारा र सुग्रीव (बायाँ) किसकिन्धाको दरबारमा लक्ष्मण र हनुमान (दायाँ) लाई भेट्दै

तारा किसकिन्धाकी रानी र वानर राजा बालीकी पत्नी हुन्। बालीको मृत्युपछि उनले बालीका भाइ सुग्रीवसँग विवाह गर्छिन्। रामायणका अनुसार उनी वानर वैद्य सुषेणकी छोरी हुन् भने अन्य स्रोतहरूका अनुसार उनी समुद्र मन्थनबाट उत्पन्न भएकी अप्सरा हुन्। उनले बालीबाट अङ्गद नामक पुत्रलाई जन्म दिन्छिन्।

बाली र सुग्रीवको युद्धमा रामको वाणबाट बालीको मृत्यु हुन्छ। मृत्युशय्यामा रहेका बालीले सुग्रीवलाई सबै महत्त्वपूर्ण निर्णयहरूमा ताराको सल्लाह लिन निर्देशन दिन्छन्। बालीको मृत्युपछि ताराको विलाप रामायणको एक मार्मिक पक्ष हो। कतिपय संस्करणमा उनले रामलाई श्राप दिएको उल्लेख छ। पछि, सुग्रीव आफ्नो वाचा बिर्सेर भोगविलास र तारासँगको समयमा मग्न हुँदा, क्रुद्ध भएका लक्ष्मणलाई शान्त पारी राम र सुग्रीवबीच मेलमिलाप गराउन ताराले कूटनीतिक भूमिका निर्वाह गरेकी थिइन्।

हनुमानले मन्दोदरीबाट त्यो अस्त्र लिँदै जसले रावणको मृत्यु गरायो।

मन्दोदरी लङ्काका राक्षस राजा रावणकी रानी हुन्। उनलाई सुन्दर, धर्मी र न्यायप्रिय मानिन्छ। उनी असुर राजा मयासुर र अप्सरा हेमाकी छोरी हुन्। रावणले मन्दोदरीको सुन्दरताबाट मोहित भएर उनीसँग विवाह गरेका थिए। उनीहरूका मेघनाद, अतिकायअक्षयकुमार गरि तीन छोराहरू थिए।

आफ्नो पतिको गल्तीहरू थाहा हुँदाहुँदै पनि मन्दोदरीले उनलाई माया गर्थिन् र सधैँ धर्मको बाटो अपनाउन सल्लाह दिन्थिन्। उनले पटक-पटक रावणलाई सीता फिर्ता गर्न आग्रह गर्दा पनि तर रावणले अस्वीकार गर्छन्। रामायणमा रावणप्रतिको उनको निष्ठाको प्रशंसा गरिएको छ। रावणको मृत्युपछि, रामको सल्लाहमा उनले विभीषणसँग विवाह गरेको उल्लेख कतिपय संस्करणमा पाइन्छ।

सीता रामायणकी देवी र भगवान रामकी पत्नी हुन्। उनलाई विष्णुलक्ष्मीका अवतार मानिन्छ। सीतालाई हिन्दु महिलाहरूका लागि आदर्श पत्नी र नारी गुणहरूको प्रतीक मानिन्छ। उनी मिथिलाका राजा जनककी धर्मपुत्री हुन्, जो खेत जोत्दा पृथ्वीबाट प्रकट भएकी थिइन्।

अयोध्याका राजकुमार रामले स्वयंवरमा शिवको धनुष भाँचेर सीतासँग विवाह गर्छन्। रामलाई १४ वर्षको वनवास हुँदा सीताले पनि दरबारको सुख त्यागेर उनीसँगै वन जाने निर्णय गर्छिन्। वनवासको क्रममा रावणले उनको अपहरण गरी लङ्काको अशोक वाटिकामा बन्दी बनाउँछ। रामले रावणको वध गरी उनलाई मुक्त गर्छन्। अयोध्या फर्किएपछि आफ्नो पवित्रता प्रमाणित गर्न उनले अग्नि परीक्षा समेत दिनुपर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Pradip Bhattacharya, "Five Holy Virgins", Manushi, अन्तिम पहुँच १० जनवरी २०१३ 
  2. Leeming, David; Fee, Christopher (२०१६-०३-१५), The Goddess: Myths of the Great Mother (अङ्ग्रेजीमा), Reaktion Books, पृ: 28, आइएसबिएन 978-1-78023-538-7