पिस्कर हत्याकाण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पिस्कर हत्याकाण्ड पञ्चायतकालिन दमनको एक काण्ड हो। यो सिन्धुपाल्चोक जिल्लाको पिस्कर गाउँमा भएको थियो।


२०४० साल पुस ३० गते तत्कालीन नेकपा (माले)को राजनीतिक गतिविधिको केन्द्रविन्दूमा थियो पिस्कर। मार्क्सवादी र लेनिनवादी दर्शनद्वारा प्रशिक्षित अगुवाहरूको अग्रसरतामा पिस्करको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत भएको सांस्कृतिक कार्यक्रमले पञ्चायती शासकको मुटु थर्काएकेा थियो। देवीजंग पाण्डेलगायत स्थानीय सामन्त र निरंकुश पञ्चायती व्यवस्थामाथि धक्का दिएको थियो पिस्करले। तत्कालीन नेकपा (माले) र पिस्करवासीको सशक्तता र जागरणका कारण पञ्चायत र तानाशाही प्रशासन तथा सरकारले आफ्नो वर्चश्वलाई जोगाइराख्न सुनियोजित ढंगले पिस्कर हत्याकाण्डको घटना घटाएका थिए। संक्रान्ति मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको जत्थाले न्यायप्रेमी समुदायमाथि अन्धाधुन्ध गोली चलाएका थिए। वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावीखोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो। घटनामा पल्कमाया थामी (मृत्यु), साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए। प्रहरी तथा स्थानीय व्यक्तिको आक्रमणबाट दर्जनौं घाइते भए।[१]


पिस्कर सिन्धुपाल्चोक जिल्लाको एउटा सानो र विकट गाउँ हो। पञ्चायती शासकहरूले ०४० सालको माघेसंक्रान्तिका दिन पिस्करका जनसमुदायको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममाथि हिंस्रक दमन गरे। गोलीद्वारा इली थामीबीरबहादुर थामीको निर्मम हत्या भयो भने जगतबहादुर बोहरा र पाल्कामाया थामी, सोनाम तामाङ सख्त घाइते भए। पिस्कर हत्याकाण्डको क्रममा अरू ५ जनाले सहादत प्राप्त गरे भने छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेलको क्रूरताको सामना गर्नुपर्यो। सयौं जनताले झूटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाए।[२]


त्यस घटनापछि वरिष्ठ पत्रकार गोविन्द 'वियोगी', किशोर नेपाल लगायत सञ्चारकर्मीको टोली पिस्कर पुग्यो र त्यहाँको यथार्थ तथ्य सार्वजनिक गर्ने महत्त्वपूर्ण काम भयो। त्यसैगरी गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, साहना प्रधान, विष्णुबहादुर मानन्धर, टंकप्रसाद आचार्य, सूर्यबहादुर थापा, हृषिकेश शाह, कर्णबहादुर धिमाल लगायतका दर्जनौं नेताहरूले पिस्करमा भएको दमनको विरोध गरे। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "यसरी घट्यो पिस्कर हत्याकाण्ड", weeklynepal.com, अन्तिम पहुँच २०११-०८-०२ 
  2. "पिस्कर हत्याकाण्ड", अमृतकुमार बोहरा, अन्तिम पहुँच २०११-०८-०२ 
  3. "पिस्कर हत्याकाण्ड", अमृतकुमार बोहरा, अन्तिम पहुँच २०११-०८-०२