बढैया ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बढैया अर्थात बह्रैया ताल बर्दिया जिल्लाको सोरहवामानपुर मैनापोखर गाविसको सीमानामा अवस्थित ताल हो [१]। साइबेरिया हरेक वर्ष असंख्य हाँस चराहरू विचरणका लागि आउने बढैया ताल आदिबासी थारु बस्तीको बीचमा छ । थारू भाषाको 'बढिया' शब्द अपभ्रंस भएर बढैया भएको हो, जसको नेपाली अर्थ हुन्छ- 'सुन्दर' अर्थात् 'राम्रो' । धार्मिक दृष्टिकोणले अत्यन्तै पवित्र मानिने यो ताल करिब १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । समुन्द्र सतहबाट करिब १४६ मिटर [१]उचाइमा रहेको बढैया तालको दक्षिण किनारमा देवीको मन्दिर 'देउठन्वा' छ । [२] बह्रैया ताल बर्दिया जिल्लाको सवै भन्दा ठूलो ताल हो । यो ताल बर्दिया जिल्लाको सोरहवा गाविसको वडा नं १, २, ३ र मैनापोखर गाविसको वडानं ३ मा पर्दछ । यो प्राकृतिक सिमसार ताल हो । यस तालसँग स्थानीय आदिवासी थारुहरुको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, आर्थिक सम्बन्ध जोडिएको छ । पहिले ज्यादै ठूलो क्षेत्रफल ओगटेको यस सिमसारको हालको क्षेत्रफल १०९ विगाहा ४ कट्ठा १७.५ धुर रहेको छ [१]। यो ताल बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २० किलो मिटर पूर्वमा अवस्थित छ । यस तालको पश्चिम उत्तरमा आदिवासी थारुहरुको बह्रैया गाँउ रहेको छ । यसै गाँउको नामबाट यस तालको नाम बहैया ताल सिमसार रहन गएको हो भन्ने भनाइ रही आएको छ । यस तालमा फोहर फाल्न, सुत्केरी तथा महिनावारी भएको महिला नुहाउन, लास जलाउन साथै मर्नीकर्नीका क्रममा नुहाउन बर्जित रहेको छ । यदि कसैले अटेर गरेमा अभाग वा दोष लाग्दछ भन्ने जनविश्वास रहेको छ ।[१]

बढैया तालसँग सम्बन्धित किम्बदन्तीहरू[सम्पादन गर्ने]

बढैयाताल सिमसारको उत्पत्तीकावारेमा विभिन्न रमाइला किम्बदन्तीहरू रहेको पाइन्छ । स्थानीयवासीका अनुसार कुनै वेला पूर्वबाट मान नदी र पश्चिमबाट बबई नदी एक पटक मित लगाउने विचार गरे । दिन दुबै पछि दुवै नदी एक अर्कालाई भेट्ने निधो गरे । दुवै नदी विच एक सम्झौता गरियो विहान कुखुरा नबस्दै मित लगाइसक्नुपर्ने थियो । दिन दुबै पछि दुवै नदी एक अर्कालाई भेटन निस्किए । विभिन्न अप्ट्याराहरू पार गर्दै भेट्न जाने क्रममा दुवै एक अर्कालाई भेट्न नपाउदै कुखुरा बास्यो । सर्त अनुसार मान नदी पूर्व तिर नै फर्कियो यसरी फकँर्दा नदीको घुमाउरो वेगले एक ठाउँमा खाल्डो पर्न गयो जुन खाल्डो नै बह्रैया ताल हो ।

अर्को किम्बदन्ती अनुसार कुनै वेला हाल यस बह्रैया ताल रहेको क्षेत्रमा देवाताहरुको कचहरी डाकियो । यस क्षेत्रमा देवीको आश्रम स्थल थियो । कचहरीमा देवीले देवताहरुलाई यस क्षेत्रमा गर्मि भएकाले नुहाउने एक पोखरी खनिदिन अनुरोध गरिन । सवै देवता मञ्जुर भए र रातभर निकै मिहिनेत लगाएर देवीलाई नुहाउनका लागि पोखरी खनियो । देवी नुहाउने पोखरी भएकाले सो पोखरी सफा राख्न लगाउन सवै देवतालाई निर्देशन दिइन, सो पोखरीमा सुत्केरीका फोहर, लास जलाउन र लास जलाएर नुहाउन, महिनावारी भएको महिला नुहाउन र कपडा धुन लगायत फोहर गर्न नहुने बताइन । साथै देवीले सो पोखरीका रक्षा र यसलाई सुन्दर बनाउने जिम्मा एक जोडी नागनागिनी लाई दिईन जसलाई स्थानीय आदिवासी थारुहरुले लग्वा लगुन्या भन्दछन । जिम्मा पाए अनुसार लग्वा लगुन्याले सो तालमा पुरैनाको फूल (कमल) लगायत विभिन्न सुन्दर वनस्पती रोपे, जिव जन्तु ल्याए र पोखरीलाई सुन्दर वनाए । साथै सो पोखरीमा फोहर गर्नेलाई सजाय दिने जिम्मेवारी पाएका नाग नागीनीले अटेर गर्नेलाई सजाय पनि दिने गर्दछन् भन्ने विश्वास जन समुदायमा रहेको छ । यर्सथ हालसम्म पनि यहाँका आदिवासी थारुहरु यस तालमा फोहर गर्देनन् कसैले अटेर गरेमा अभाग हुने गर्दछ भन्ने विश्वास यथावत रहेको छ । हाल पनि तालमा भएका कुनै चीज उपयोग गर्नुभन्दा पहिले देवीको पूजाआजा अनिवार्य रूपमा गर्नुपर्छ नत्र देवी रिसाउने विश्वास गरिन्छ । स्थानीय आदिवासी थारुहरु यस तालबाट कुनै पनि स्रोतको उपभोग गर्नु पूर्व देउठन्वामा फूल चढाएर देवीसँग अनुमती लिने गर्दछन । थारु बस्तीमा यो तालका बारेमा थुप्रै ऐतिहासिक एवं धार्मिक मान्यता प्रचलित छन् । ती मान्यताले यसको पवित्रता एवं सुन्दरता बचाउन भूमिका खेलेका छन ।

बढैया ताल माघी तथा कृषि महोत्सव[सम्पादन गर्ने]

बढैया तालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान र प्रचार–प्रसार गर्ने उद्देश्यले २०६९ पौष २८ गतेबाट माघ ६ गतेसम्म बढैया ताल माघी तथा कृषि महोत्सवको आयोजना गरिएको थियो । थारु समुदायको सवैभन्दा ठूलो पर्व माघी पर्वको अवसर पारेर आठ दिनसम्म चलेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । बढैया ताल लगायत आदिबासी थारु समुदायको ऐतिहासिक संस्कृति र कृषिजन्य सामग्रीहरू महोत्सवको मुख्य आकर्षणको केन्द्र रहेको थियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिंक[सम्पादन गर्ने]

हाम्रो बर्दिया राम्रो बर्दिया