बलि राजा
| बलि राजा | |
|---|---|
| चिरञ्जीवीको सदस्य | |
बलि राजा वामनको सेवा गर्दै, जबकि शङ्कालु शुक्राचार्य उनलाई रोक्ने प्रयास गर्दैछन्। जम्मु र कश्मीरको मानकोटको चित्र, लगभग १७००-१७२५। | |
| आबद्ध | दैत्य, असुर, महाजन |
| वासस्थान | सुतल लोक |
| वंशावली | |
| अभिभावकहरू | विरोचन (पिता), देवी विशालाक्षी (माता) |
| जीवनसाथी | विन्ध्यावली[क] |
| सन्तानहरू | बाणासुर, नमसु, साहसिका र शकुनी सहित १०० छोराहरू रत्नमाला/यज्ञमाला र वज्रज्वाला (कुम्भकर्णकी पत्नी) गरी २ छोरीहरू |
बलि राजा जसलाई महाबलि, इन्द्रसेन वा मावेली पनि भनिन्छ, हिन्दु धर्मका एक दैत्य राजा हुन्। उनी प्रह्लादका नाति र ऋषि कश्यपका वंशज हुन्। उनको पौराणिक कथाका धेरै संस्करणहरू रामायण, महाभारत, शतपथ ब्राह्मण र धेरै पुराण जस्ता प्राचीन ग्रन्थहरूमा पाइन्छन्। हिन्दु साहित्यका अनुसार, उनलाई भगवान् विष्णुको वामन अवतारले सात अमरहरूको समूह चिरञ्जीवी मध्ये एक हुने वरदान दिएका थिए र उनी सुतल लोकमा राज्य गर्छन्।[२][३][४]
बलि अर्को मन्वन्तरमा स्वर्गको राजा बन्नेछन् भनि विश्वास गरिन्छ। केरलमा बलिलाई सबैभन्दा उदार र समृद्ध शासक मानिन्छ, जसले आफ्नो राज्यलाई स्वर्ग जस्तै बनाएका थिए। उनको कथा केरालाको वार्षिक उत्सव ओणमको मुख्य भाग हो। साथै, उनलाई तमिलनाडु, महाराष्ट्र, कर्नाटक, गुजरात, तेलङ्गाना र आन्ध्रमा बलि प्रतिपदा, बलि पद्यमी वा बलि पाडवा (दीपावलीको तेस्रो दिन र कार्तिक महिनाको पहिलो दिन) को रूपमा मनाइन्छ।[५]
हिन्दु धर्म
[सम्पादन गर्नुहोस्]
प्रारम्भिक हिन्दु ग्रन्थहरूमा महाबलीलाई एक परोपकारी र उदार राजाको रूपमा वर्णन गरिएको छ। उनले बिना भेदभाव राज्य सञ्चालन गर्थे र उनको शासनकालमा प्रजा इमानदार, स्वस्थ र सुखी थिए।[६] महाबलीले अस्थायी रूपमा असुरहरूले प्राप्त गरेको अमृत पनि आफ्नो कब्जामा राखेका थिए।[७] त्यही अमृतका कारण देव र असुरहरूबीचको युद्धमा मृत्यु भएपछि उनका प्रजाले उनलाई पुनर्जीवित गराउन सफल हुन्छन्।[७] यसरी बलि मृत्युबाट मुक्त (अजेय) बन्छन्। धेरै युद्धहरू पछि, अजेय बलिलले स्वर्ग र पृथ्वी दुवैमा विजय प्राप्त गर्छन्। त्यसपछि देवताहरू (सुर) आफूलाई पूर्ण विनाशबाट बचाउन विष्णुको शरणमा जान्छन्। बलि एक परोपकारी राजा र विष्णुका आफ्नै भक्त भएकाले विष्णुले महाबलीविरुद्ध हिंसात्मक युद्धमा सामेल हुन अस्वीकार गर्५न्। यद्यपि, प्राकृतिक व्यवस्थालाई पुनःस्थापना गर्न उनी एक पुड्के ब्राह्मणका रूपमा वामन अवतार लिएर अवतरित हुन्छन्। महाबली आफ्नो विजयको उत्सव मनाउन अश्वमेध यज्ञ गर्दै सबैलाई दान दिइरहेका बेला, वामन उनीकहाँ पुग्छन् र "तीन पाइला जमिन" को भिक्षा माग्छन्।[८] वामनको वास्तविक पहिचान थाहा पाएका गुरु शुक्राचार्यको चेतावनीका बाबजुद महाबलीले उक्त दान स्वीकार गर्छन्।
त्यसपछि वामनले विष्णुको विशाल 'त्रिविक्रम' रूप धारण गर्छन् र पहिलो पाइलाले सम्पूर्ण स्वर्ग र दोस्रो पाइलाले पृथ्वी ढाक्छन्। जब तेस्रो पाइला कहाँ राख्ने भनेर सोधियो, महाबलीले आफ्नो भाग्य स्वीकार गर्दै आफ्नै शिर अर्पण गर्छन्। केही हिन्दु ग्रन्थहरूमा महाबलीलाई पाताल (पाताल लोक) पठाइएको उल्लेख छ, कतै उनलाई गरुडले तानेर लगेको भनिएको छ, भने कतै विष्णुको स्पर्शले उनले स्वर्ग प्राप्त गरेको उल्लेख छ। अर्को संस्करण अनुसार उनी चिरञ्जीवी (अमर) बनेको उल्लेख गरिएको छ।[९] केही ग्रन्थहरूमा त बलिलाई देवलोकभन्दा पनि उच्च स्थान वैकुण्ठमा प्रवेश दिइएको चर्चा छ।
चतुर्मासको सुरुवात
[सम्पादन गर्नुहोस्]कथाको अर्को संस्करण अनुसार, जब वामनले तेस्रो पाइला कहाँ राख्ने भनेर सोध्छन्, महाबलीले उनी भगवान् विष्णुको अवतार भएको महसुस गरी आफ्नो शिर अर्पण गर्छन्। विष्णुले उनलाई 'सुतल' लोक पठाउँछन्, तर बलिको भक्तिबाट प्रसन्न भएर उनलाई वरदान माग्न भन्छन्। महाबलीले विष्णुलाई सुतल लोकमा आफ्नो दरबारमा आफूसँगै बस्न र उनको सेवा गर्ने सुअवसर प्रदान गर्न अनुरोध गर्छन्।
यद्यपि, जब देवी लक्ष्मीले यो कुरा थाहा पाउँछिन्, उनले यसलाई स्वीकार गर्दिनन्। उनी सुतल लोकमा गएर महाबलीलाई आफ्नो दाजु बनाउँछिन् र रक्षाबन्धन बाँधिदिएर उपहारस्वरूप आफ्नो पति (विष्णु) लाई वैकुण्ठ फर्काउन अनुरोध गर्छि्न। यस परिस्थितिको सम्बोधन गर्दै, विष्णुले प्रत्येक वर्ष चार महिना महाबलीको दरबारमा गएर विश्राम गर्ने निर्णय गर्छन्। आफू सुतल लोकमा विश्राम गर्दा संसार सञ्चालन गर्ने जिम्मेवारी भगवान् शिवलाई सुम्पिन्छन्। विष्णु विश्राम गर्ने र शिवले संसार चलाउने ती चार महिनालाई नै चतुर्मास भनिन्छ। यसरी चतुर्मासको सुरुवातमा महाबलीको महत्त्वपूर्ण भूमिका रहेको छ।[१०]
विष्णुले बलिलाई वर्षमा एक पटक आफ्नो मातृभूमि (पृथ्वी) फर्कन सक्ने वरदान दिन्छन्। उनको यही वार्षिक पुनरागमनको सम्झनामा बलि प्रतिपदा र ओणम जस्ता पर्वहरू मनाइन्छ।[२][११] हिन्दु मन्दिरका अभिलेखहरूले यी उत्सवहरू, जसमा रङ्गीचङ्गी सजावट, दीप प्रज्वलन, दान, भोज र सामुदायिक कार्यक्रमहरू हुन्छन्, भारतमा एक सहस्राब्दीभन्दा बढी समयदेखि लोकप्रिय रहेको देखाउँछन्।[१२] बलिको चर्चा रामायणमा पनि पाइन्छ, जहाँ रावणले उनलाई पातालबाट मुक्त गर्ने प्रयास गर्छन् तर सफल हुँदैनन्।
महाबलीकी विन्ध्यावली नामकी पत्नी थिइन्, जसलाई 'आश्रम' पनि भनिन्थ्यो। उनीबाट शिवभक्त बाण (बाणासुर) र नमसु (राजकुमार नमुची) सहित धेरै छोराहरू जन्मिएका थिए। विन्ध्यावलीले एक पटक बाणासुरलाई कृष्णको क्रोधबाट बचाएको विश्वास गरिन्छ।[१३]
साहित्य
[सम्पादन गर्नुहोस्]'सप्त चिरञ्जीवी स्तोत्र' हिन्दु साहित्यमा उल्लेखित एक महत्त्वपूर्ण मन्त्र हो:
अश्वत्थामा बलिर्व्यासो हनुमांश्च विभीषण:।
कृप: परशुरामश्च सप्तैतै चिरञ्जीविन:॥
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।
जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जितः॥— सप्त चिरञ्जीवी स्तोत्र
यस मन्त्रका अनुसार आठ अमर पात्रहरू (अश्वत्थामा, महाबली, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम, र मार्कण्डेय) लाई नित्य स्मरण गर्नाले व्यक्ति रोगव्याधिबाट मुक्त हुने र दीर्घायु प्राप्त हुने विश्वास गरिन्छ।
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin, पृ: 229–230, आइएसबिएन 978-0-14-341421-6।
- 1 2 PV Kane (१९५८), History of Dharmasastra, Volume 5 Part 1, Bhandarkar Oriental Research Institute, पृ: 201–206।
- ↑ Nanditha Kirshna (२००९), Book of Vishnu, Penguin Books, पृ: 58–59, आइएसबिएन 978-81-8475-865-8।
- ↑ Narayan, R.K (१९७७), "Mahabali story", The Ramayana, Penguin Classics, पृ: 14–16, आइएसबिएन 978-0-14-018700-7।
- ↑ "Bali Puja 2020 date", The Times of India, २०२०-११-१५, अन्तिम पहुँच २०२३-०९-०२।
- ↑ "About Onam"।
- 1 2 D Dennis Hudson (२००८), The Body of God, Oxford University Press, पृ: 163–174, आइएसबिएन 978-0-19-970902-1।
- ↑ D Dennis Hudson (२००८), The Body of God, Oxford University Press, पृ: 207–219, आइएसबिएन 978-0-19-970902-1।
- ↑ George M. Williams (२००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: 73–74, आइएसबिएन 978-0-19-533261-2।
- ↑ "Devshayani Ekadashi 2024", Times Now, २०२४-०७-०५।
- ↑ Constance A Jones (२०११), J. Gordon Melton, सम्पादक, Religious Celebrations: An Encyclopedia of Holidays, Festivals, Solemn Observances, and Spiritual Commemorations, ABC-CLIO, पृ: 634, 900, आइएसबिएन 978-1-59884-205-0।
- ↑ A.M. Kurup (१९७७), "The Sociology of Onam", Indian Anthropologist।
- ↑ Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books India, आइएसबिएन 978-0-14-341421-6।