बाल्मीकी आश्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऐतिहासिक एवं पुरातात्विक दृष्टिले नेपालकै महत्त्वपूर्ण स्थानको रूपमा रहेको बाल्मीकी आश्रम र आश्रम क्षेत्र अन्तर्गत रहेको लवकुश धारा मेची अञ्चलको इलाम जिल्लाको बाँझो गाविसमा अवस्थित छ । झापा जिल्ला स्थित तोपगाछी गाविस भएर बग्ने कमल खोलाको उत्तरी सिरानमा रहेको बाल्मीकी आश्रम सम्म पुग्न महेन्द्र राजमार्गबाट कमल खोलाको किनारै किनार करिब ७ कि.मि. पैदल यात्रा गर्नु पर्दछ । यस ऐतिहसिक स्थलसम्म मोटर बाटोको सुविधा छैन । यस आश्रम क्षेत्रमा महत्त्वपूर्ण बस्तुहरुका साथै विभिन्न मूर्तिहरु उत्खननबाट फेला परेको हो । आश्रम क्षेत्रमा जाँदा कमल खोलाको किनारै किनार रिखुवा पिलासे जाने बाटोको बीचमा पर्ने चुलाचुली क्षेत्रको “धाम डाँडो” मा भग्नावषेशको रूपमा ठूला–ठूला इँटाहरु फेला पर्ने गरेकोले यस स्थानमा पाँडे राजाको दरवार समेत भन्ने गरेको पाइन्छ । अहिले पनि यस डाँडाबाट बाल्मीकीको आश्रम नजिक रहेका कुँदेर बनाईएका ठूला–ठूला धाराहरु देख्न सकिन्छ । धारा रहेको क्षेत्रको भित्तामा कपडा धुन सकिने ठूला ठूला ढुङ्गाहरु छन् । धारा ढुङ्गाको बीचमा रहेको प्वालबाट पानी झर्ने गरेको पाइन्छ । ढुङ्गाको भित्तामा ढुङ्गाकै कपडा झुण्ड्याउने किलाहरु रहेका छन् । कमल खोलाको मुहान समेत यही धारा हो बाल्मीकीको आश्रम भएको विश्वास गरिएको यस बाल्मीकी आश्रम र सोही आश्रममा जन्मिएका लवकुशलाई स्नान गराउन उपयोग गरिएको धारा भन्ने विश्वास गरिएकोले यहाँका धारालाई लवकुश धाराको रूपमा आस्था एवं श्रद्धा गर्ने गरेको पाइन्छ ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "बाल्मीकी आश्रम", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति