बिगन रामको मादल
| लेखक | राजेन्द्र तारकिणी |
|---|---|
| भाषा | नेपाली |
| विषय | कवितासङ्ग्रह |
| प्रकाशक | शिखा बुक्स पब्लिकेशन |
प्रकाशित मिति | वि.स. २०७९ |
| पृष्ठ | १६० |
| पुरस्कार | प्रलेस युवा साहित्य पुरस्कार, २०७९ |
बिगन रामको मादल नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिका लेखक कवि राजेन्द्र तारकिणी हुन्। वि.सं. २०७९ सालमा काठमाडौँबाट शिखा बुक्स प्रकाशनले प्रकाशित गरेकाे यस सङ्ग्रहमा समाज, समय र राज्यसत्ता तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका सशक्त कविताहरू समेटिएका छन्।
तारकिणीकाे उक्त सङ्ग्रहका कविताबारे चर्चित कवि/लेखक श्यामलले भनेका छन्, 'कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हाेइन, आमसामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’[१] अर्का चर्चित कवि राजेन्द्र शलभले कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने त्यस्तो कृतिलाई आफूले सफल कृति ठान्ने भन्दै यो कृतिलाई उनले सफल कृतिको संज्ञा दिएका छन् । [१] चर्चित युवाकवि निर्भीकजङ्ग रायमाझीले उक्त कृतिको समीक्षा गर्दै भनेका छन्, 'कविता कवि–मनको ऐना हो । र, तारिकिणीका कविता आजको समाज देखाउने सफेद ऐना ।' [२]
'बिगन रामको मादल' कृतिले वि.सं. २०७९ सालको प्रगतिशील लेखक सङ्घ युवा प्रतिभा पुरस्कार प्राप्त गरेको थियो। यस कृतिमा निम्न वर्गका पात्रहरूको उपस्थिति तथा तत्कालीन समाज र समयको प्रतिविम्ब उतारिएको पाइन्छ। यसै सन्दर्भमा कमल सुवेदीले कृतिको समीक्षा गर्दै भनेका छन्, ‘निरीहसित पनि शक्ति हुन्छ, पीडितसित पनि आँट र साहस हुन्छ र बाहिर शान्त देखिनेहरू पनि भित्रभित्रै उद्वेलित हुन्छन्, जसको प्रमाण नै हो प्रस्तुत कृति– बिगन रामको मादल।’[२]
उक्त कृतिमाथि समीक्षा लेख्दै उमेश अवस्थी ‘आदर्श’ले भनेका छन्, 'कविले एक ठाउँमा यस्तो गहन विषय उठाएका छन्— यो देशको प्रथम प्रधानमन्त्रीले विष पिएर आत्महत्या गरे। जसको टाउको आजसम्म बेलायतको म्युजियममा छ रे ! त्यसयता भएका तमाम आत्महत्याको हिसाबकिताब कसले राख्छ ? चामलको बोरा किन्न खाडी पुगेका हरेरामले खाडीमै आत्महत्या गरे किन ?' [३] यसै कृतिको सन्दर्भमा प्राध्यापक एवं समालोचक ऋषि देवकोटाले काव्य हेतुका तीनवटै तत्त्व (प्रतिभा, व्युत्पत्ति र अभ्यास) मा कवि तारकिणी प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्ने बताएका छन् । उनी भन्छन्– काव्यिक आभूषण मानिने अलङ्कार र बिम्ब यी कविताहरूमा अत्यधिक राज गर्न सफल छन् । शब्दालङ्कार र वाच्यार्थको चमत्कारमा काव्यको आत्मा बोल्छ । रस ध्वनि र अलङ्कार ध्वनिको आधिक्यतामा कवि सरस शैलीमा हौसिएका छन् । [४]
यस सङ्ग्रहमा कवि तारकिणीद्वारा करिब एक दशकसम्म लेखिएका विभिन्न भाव र विषयका ५५ वटा कविताहरू सङ्कलित छन्। पुस्तक ६ खण्डमा विभाजित छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-१६।
- ↑ "छुट्टै स्वादका कविता", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-१२-१६।