राजेन्द्र तारकिणी
राजेन्द्र तारकिणी (Rajendra Tarakini) | |
|---|---|
| जन्म | राजेन्द्रप्रसाद पन्त २०४७ असार १० गते बैतडी, नेपाल |
| राष्ट्रियता | नेपाली |
| नागरिकता | नेपाली |
| शिक्षा | स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय एलएलबी, त्रिभुवन विश्वविद्यालय |
| पेशा | कवि, साहित्यकार, पत्रकार |
| चिनारीको कारण | बिगन रामको मादल |
| मातापिता |
|
राजेन्द्र तारकिणी (Rajendra Tarakini) एक प्रतिभाशाली कवि एवं लेखक हुन् । उनी साठीको दशकदेखि नेपाली साहित्य क्षेत्रमा औपचारिक रूपले देखा परेका हुन् ! नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता (सन् २०१४) मा प्रथम[१][२]भएका तारकिणीको पहिलो प्रकाशित कृति 'आमाको वेदना' (२०६६) हो ।
वि.सं. २०६७ सालमा उनको खण्डकाव्य नारीपूजा रत्नपुस्तक भण्डार, काठमाडौंले प्रकाशित गरेको थियो । उनकाे 'बहिराे जीवन' नामक मुक्तक संग्रह २०६८ मा प्रकाशित भएकाे थियाे । लामाे अन्तरालपछि उनले २०७९ सालमा 'बिगन रामको मादल' कविता संग्रह प्रकाशनमा ल्याए ।[३] यो संग्रह चर्चामा रहेकाे कृति हाे । समाज, समय र राज्यसत्ता तथा अन्तर्राष्ट्रिय विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका तारकिणीका सशक्त कविताहरू यस संग्रहमा समेटिएका छन् । तारकिणीकाे उक्त संग्रहका कविताबारे चर्चित कवि/लेखक श्यामलले भनेका छन्, 'कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हाेइन, आमसामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’[३]
बिगन रामको मादलका लागि कवि तारकिणीले २०७९ सालको प्रलेस युवा प्रतिभा पुरस्कार[४] प्राप्त गरेका थिए । यस कृतिमा निम्न वर्गका पात्रहरुको उपस्थिति तथा तत्कालीन समाज र समयको प्रतिविम्ब उतारिएको छ । यसै सन्दर्भमा कमल सुवेदीले कृतिको समीक्षा गर्दै भनेका छन्, ‘निरीहसित पनि शक्ति हुन्छ, पीडितसित पनि आँट र साहस हुन्छ र बाहिर शान्त देखिनेहरू पनि भित्रभित्रै उद्वेलित हुन्छन्, जसको प्रमाण नै हो प्रस्तुत कृति– बिगन रामको मादल ।’[५]
साहित्य समाजका लागि हुनुपर्छ भन्ने मान्यता राख्ने तारकिणी साहित्य, कविता बुद्धिविलासको साधन वा आत्मरति नभएको बताउँछन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘युगीन चेतना र समसामयिक सामाजिक मुद्दा, विकृति/विसंगतिविरुद्धका स्वर स्रष्टाको कलममार्फत लेखिनुपर्छ । स्रष्टा सत्ताको विपक्षमा उभिएको हुन्छ, यसो भन्दैमा राज्यका असल कार्यको समेत सधैँ विपक्षमा हुन्छ भन्ने होइन तर शासकवर्गको प्रभुत्व जहिले पनि जनतामाथि हाबी भइरहन्छ । जब जनहितविपरीतका गलत कार्य र अव्यवस्थाले हद नाघ्छ– तब स्रष्टा चुप लागेर बस्न सुहाउँदैन ।’[६]
कवि तारकिणीले हाल सम्म एन.एम. शुभद्रा भानुभक्त काव्य पुरस्कार, क्षेत्रीय ललितकला विशेष पुरस्कार, प्रलेस युवा प्रतिभा पुरस्कार, गोधूली भानु भाषा साहित्य पुरस्कार, कर्मयाेद्धा सृजना सम्मान[७] लगायत एक दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनले साहित्यका अतिरिक्त कला र पत्रकारिता क्षेत्रमा पनि काम गरेका छन् । [८]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]राजेन्द्र तारकिणीको वास्तविक नाम राजेन्द्रप्रसाद पन्त हाे । उनकाे जन्म बैतडी जिल्लाको न्वादेउ गाविस (हाल : पुर्चौंडी नगरपालिका) स्थित नाकाली गाउँमा भएको हो । साधारण किसान परिवारमा जन्मेका तारिकिणीको बाल्यकाल ज्यादै उतारचढावपूर्णा रह्यो । उनले स्थानीय श्री विणेश्वर प्रा. वि. (हाल : मा.वि)बाट प्राथमिक शिक्षा हासिल गरेका थिए । प्राथमिक तहभरि सधैँ प्रथम र स्कुल टप गर्ने तारकिणीको प्रतिभादेखि उतिबेलै गुरूवर्गहरू अन्यन्त प्रभावित थिए । उनले श्री डिलेश्वरी उमाविबाट (२०६५) सालको एसएलसी (प्रवेशिका परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने ध्येयले राजधानी सहर काठमाडौँ प्रवेश गरे । काठमाडौँ उनका लागि व्यक्तित्व विकासको सुवर्ण अवसर सावित भयो ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा बैतडीका युवा प्रथम", Onlinekhabar, जुलाई ७, २०१४, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ थापा, विजय (जुलाई ९, २०१४), "अन्तरराष्ट्रिय कविता प्रतियोगितामा बैतडीका राजेन्द्र तारकिणी प्रथम", AUS Nepal News, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ ३.० ३.१ "राजेन्द्र तारकिणीको ‘बिगन रामको मादल’ सार्वजनिक", Naya Patrika Daily, सेप्टेम्बर २०, २०२२, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ "प्रलेसकाे ७१ औं स्थापना दिवसमा ४ स्रष्टा सम्मानित", News24 Nepal, सेप्टेम्बर २२, २०२२, मूलबाट सेप्टेम्बर १, २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ सुवेदी, कमल (अप्रिल १५, २०२३), "छुट्टै स्वादका कविता", Gorkhapatra, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ ६.० ६.१ सापकोटा, जयराम (मार्च १३, २०२०), "साहित्यमा तत्कालीन समाजको चित्र हुनुपर्छ-राजेन्द्र तारकिणी, साहित्यकार", Reporters Nepal, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ "कर्मयोद्धा सृजना सम्मानबाट राजेन्द्र तारकिणी सम्मानित", Naya Patrika Daily, मे ५, २०२५, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।
- ↑ "नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित", News24 Nepal, मे ३, २०२५, अन्तिम पहुँच नोभेम्बर ८, २०२५।