मुलाटो घाँस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मुलाटो घाँस
Urochloa brizantha
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): Monocots
(श्रेणीविहीन): Commelinids
गण: Poales
कुल: Poaceae
वंश: Urochloa
प्रजाति: A. pintoi
वैज्ञानिक नाम
U. brizantha
Urochloa brizantha

मुलाटो एक प्रकारको वहुवर्षे अकोषे घाँस हो। यस प्रजातिको घाँसको वृद्धि द्रुत गतिमा हुने र विरुवाको उचाइ फूल नफूलेको अवस्थामा ५०-१०० सेमी सम्म हुन्छ। यस घाँसको पात धान तथा गहुँको पात जस्तै लामो र गाढा हरियो रङ्गको हुन्छ भने पातको मात्रा निकै बढी हुने गर्दछ।[१] घाँसको प्रत्येक नलमा ९-१० बटा पात हुने, पातहरू डाँठमा सिधा रुपमा टाँसिएका र नल पातै पातले ढाकिएको देखिन्छ जसले गर्दा घाँसको उत्पादन बढी हुने र चरन क्षेत्रको लागि निकै उपयुक्त मानिन्छ। यो घाँस गर्मी तथा समशितोष्ण हावापानी भएको क्षेत्रमा खेती गर्न सकिने भएकोले विश्वव्यापी रूपमा यसको सफलतापूर्वक खेती गरिँदै आएको छ। यो घाँसलाई चरन विकासका लागि व्यापक रुपमा प्रयोग गर्दै घाँसबाट सुख्खा पदार्थ समेत निकाल्न सकिन्छ।[२] यो घाँसलाई बीउ/ गाँज र नल आदिबाट प्रशारण गर्न सकिन्छ। यसको डाँठको आख्लाबाट जराहरू निस्किन्छ र सजिलै प्रसारण गर्न सकिन्छ। घाँसको पातको लम्बाई १५-२५ इन्च र चौडाई १ देखि १५ इन्च हुन्छ। मुलाटो घाँसमा १४ देखि १६ प्रतिशत क्रुड प्रोटिन र यसको कुल पाच्य पदार्थ ७० प्रतिशत हुन्छ।

विवरण[सम्पादन गर्ने]

मुलाटो घाँस एक गुच्छे बाह्रमासे घाँस हो। सामान्यतया यस घाँसको उचाइ ६० देखि १२० सेमी हुन्छ भने यस घाँसको जरा जमुन मुनी दुई मिटर सम्म तल जान सक्छ। यस घाँसको पात लामो, ठाडो र सिधा माथि बढेको धान तथा गहुँको पात जस्तै हुन्छ भने पातको रङ्ग गाढा हरियो हुन्छ। यस प्रजातिको घाँसको पात ४० देखि १०० सेमीसम्म लामा हुन सक्छन् भने यसको चौडाइ १ देखि १५ इन्च बीच हुन्छ। यस प्रजातिको घाँस हुर्केर अग्लो हुने हुँदा काट्न सजिलो पर्दछ।[३] यस घाँसबाट सुख्खा पदार्थको उत्पादन अधिक हुने र यसबाट अत्यन्तै पोषण र गुणस्तर घाँसको उत्पादन हुने हुँदा हाल यस घाँसलाई विभिन्न पशु प्रयोजनका लागि प्रयोग गरिन्छ भने थप रूपमा यसमा कीरा तथा पतेराहरूको असर सहन सक्ने भएकाले यसको लोकप्रिय बढ्दै गएको पाइन्छ।

वितरण तथा जलवायु[सम्पादन गर्ने]

मुलाटो प्रजातिको घाँस मुख्यतया उष्णकटिबन्धीय अफ्रिकी क्षेत्र साहारामा २५° दक्षिण र १२° उत्तरमा पाइन्छ भने यहाँको घाँसे मैदानी उपत्यका र खुला जङ्गल यस घाँसको उद्मग स्थल हो यद्यपि यसको विश्वव्यापी रूपमा खेती गरिन्छ। यो घाँस तल्लो भूभागहरूका लागि गर्मी मौसममा हुने घाँस हो जो उष्णकटिबन्धीय क्षेत्रमा समुद्री सतहबाट २००० मिटरको उचाइमा र अक्षांशमा १००० मिटरको उचाइसम्म पाइन्छ। यस घाँसका लागि उत्तम तापक्रम ३० देखि ३५ डिग्री सेल्सियस बीच हुन्छ। यस घाँसको विकास तथा अधिक उत्पादन र वृद्धिका लागि मलिलो माटोको पि एच मान ४५ -८ बीचमा हुनु आवश्यक भएपनि बढी एल्मुनियम भएको र अम्लीय माटोमा यसको खेती राम्रोसँग गर्न सकिन्छ। यस घाँसको लागि वार्षिक वर्षा १००० देखि ३५०० मिलिमिटर आवश्यक पर्दछ। तुसारो पर्ने ठाँउमा यस घाँसको राम्रो उत्पादन लिन सकिँदैन।[४] सिधा सूर्यको प्रकाश पर्ने पारिलो ठाउँमा उत्पादन बढी लिन सकिएता पनि हलुका छायाँ पर्ने ठाउँमा पनि यस घाँसको अधिक उत्पादन लिन सकिन्छ। विविधताका आधारमा यस घाँसको बाढी सहनशीलता सामान्यतया कमजोर हुन्छ।

घाँसको प्रसारण तथा मल[सम्पादन गर्ने]

यस घाँसको बीउलाई व्याडमा छरी विरुवा उत्पादन गरेर अन्यत्र सार्न सकिन्छ। यसको लागि प्रतिहेक्टर ४-६ किग्रा बीउ आवश्वयक पर्दछ। घाँस सार्दा माटो बुर्बुराउँदो बनाई व्याडमा आधा इन्च गहिराइमा बीउ छर्नु पर्दछ। बीउ छरि सकेपछि माथिबाट छोप्नु पर्दछ र सिँचाइ गर्नु पर्दछ। बीउ उम्रिन ५ देखि १० दिन समय लाग्न सक्दछ। मलको मात्रा माटोको उर्वरा शक्तिमा भरपर्दछ। माटोको उर्वरा शक्तिको जाँच गराएर मलको प्रयोग गर्नु पर्दछ। माटोको पि.एच ५.५ देखि ६.० सम्म उत्तम मानिन्छ। नाइट्रोजनको आधा भाग र पुरा भाग फसफोरस र आधा मात्र पोटास जमिनको तयारीमा र आधा बाँकी नाइट्रोजन र पोटास आवश्कता अनुसार पछि प्रयोग गर्नु पर्दछ।[५] नाइट्रोजन यूक्त मल यसले बढी रुचाउँछ। यस प्रजातिको घाँसलाई पनि अन्य घाँसे वालीका जस्तै उपयुक्त मात्रमा मल खाद्यको प्रयोग गोडमेल तथा झार पात नियन्त्रण गर्नु पर्दछ। रासायनिक विधिबाटट पनि घाँस खेतीमा झार नियन्त्रण गर्न सकिन्छ। घाँस लगाएको ठाउमा अनावश्यक झार नियन्त्रण गरि घाँसको उत्पादनमा कट्टि गर्नु सकिन्छ।

पौष्टिक तत्व तथा खेती[सम्पादन गर्ने]

मुलाटो घाँस ज्यादै पोषिलो घाँस हो। कोलमवियामा गरिएको एक परिक्षण अनुसार ९० दिनको घाँसमा १३.१ प्रतिशत क्रुड प्रोटिन र १६८ दिनको घाँसमा १०६ प्रतिशत क्रुड प्रोटिन पाइएको र कुल पाच्य पदार्थ ७० प्रतिशत र भएको पाइएको परिक्षणबाट देखिएको छ। यो घाँसमा करिव करिव कोषे घाँसको हाराहारीमा प्रोटिन पाइन्छ। यो घाँस पशुहरूले चरनमा क्षेत्रमा वा काटेर ल्याएर खुवाउदा पनि दुवै अति नै मनपराएर खान्छन्। यस घासमा कुनै पनि प्रकारको विशाक्तता हुदैन।[६]


मुलाटो घाँसको बीउ राम्रोसँग तयार पारिएको व्याडमा छर्नु पर्दछ। यसको लागि प्रति हेक्टर ४-६ किग्रा विउ भए पुग्दछ। बीउ छरेको ५-१० दिन भित्र उम्रन्छ र विरुवा ४५ देखि ६० दिनमा तयार हुन्छ। त्यसपछि व्याडमा तयार भएको विरुवा घाँस लगाउने स्थानमा सार्न सकिन्छ। यसलाई डाँठ काटेर र गाँजबाट पनि प्रसारण गर्न सकिन्छ। छिटै गँजाउने भएकोले घाँस रोपेको २ महिना भित्र ८५ प्रतिशत जमिनमा ढाक्दछ। यस घाँसलाई चरनमा बीउ छरेको ३-४ महिना पछि घरपालुवा जनावर चराउन सकिन्छ।यस घाँसको बीउ छर्न अप्रिलदेखि मे महिना उपयुक्त हुन्छ भने यसको ४५-६० दिनमा विरुवा सार्न उपयुक्त हुन्छ। यस प्रजातिको घाँसको साना विरुवाहरू उखल्दा साथ सकेसम्म छिटै रोप्नु पर्दछ र विरुवा धेरै अग्लो भएमा विरुवाको टुप्पा काटेर रोप्न सकिन्छ भने यसको साथसाथै यसलाई लहरे घाँसवालिहरूसँग मिसाएर छर्न पनि उपयुक्त हुन्छ। खास गरि कोष घाँस वालीहरू मध्य वदामे घाँससँग यस घाँस मिसाएर छर्दा यसको उत्पादन बढी हुन्छ।

उत्पादन तथा रोगहरू[सम्पादन गर्ने]

यो घाँस धेरै उत्पादन दिने, छिटो बढ्ने, अन्य मुलाटो प्रजातिका घाँसहरू भन्दा १०-२५ प्रतिशत सुख्खा पदार्थ बढी उत्पादन हुने गर्दछ। यस घाँसको २५ मेट्रिकटन प्रति हेक्टर सुख्खा पदार्थ उत्पादन भएको विभिन्न अनुसन्धानबाट खुलेको छ। यस घाँसको सेवन पछि बढ्दो उमेरका पशु खास गरि बाच्छा बाच्छीहरूको दैनिक शारिरीक तौल ६०० ग्रामसम्म बढेको पाइएको छ। त्यस्तै यसमा अन्य अकोषे घाँस भन्दा प्रोटिनको मात्रा बढी पाइने हुँदा दुध उत्पादनमा पनि निकै बढोत्तरी हुने देखिएको छ।[७]

मुलाटो घाँसलाई पतेरोले क्षति पुयाउने हुँदा पतेरोसहन सक्ने क्षमताको नयाँ जातको मुलाटोको विकास गर्ने कार्यको अनुसन्धान कार्य भइरहेको छ।

घाँसको प्रयोग तथा कमजोर पक्षहरू[सम्पादन गर्ने]

चरनको लागि मुलाटो घाँस निकै राम्रो मानिन्छ। खास गरि दुधालु पशुका लागि यो अति पोषिलो घाँस हो। मुलाटो घाँसमा कोरा प्रोटिन १४-१६ प्रतिशत हुने र कुल पाच्य पदार्थ ७० प्रतिशत रहेको हन्छ।[८] यस घाँसबाट सुख्खा पदार्थको उत्पादन अधिक हुने र यसबाट अत्यन्तै पोषण र गुणस्तर घाँसको उत्पादन हुने हुँदा हाल यस घाँसलाई विभिन्न पशु प्रयोजनका लागि प्रयोग गरिन्छ भने थप रूपमा यसमा कीरा तथा पतेराहरूको असर सहन सक्ने भएकाले यसको लोकप्रिय बढ्दै गएको पाइन्छ।

यस घाँस घरपालुवा जनावरहरूका लागि अति उपयोगी भएतापनि यस घाँसका केही कमजोरीहरू रहेका छन्। यस घाँसको बीउ उत्पादन गर्दा निकै समस्या हुने र शुद्ध तथा स्वस्थ्य बीउको उत्पादनमा कमी हुन्छ।[९] अन्य आकाषे बहुवर्षे घाँसको तुलनामा यस घाँसको उमार शक्ति कम हुन्छ भने यस घाँसलाई अन्य घाँसहरूको तुलनामा उम्रनमा लागि निकै मलिलो माटोको आवश्यकता पर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "{{{name}}}", Germplasm Resources Information Network (GRIN) online database, अन्तिम पहुँच २५ जनवरी २०१८ 
  2. Cook, B. G., et al. Brachiaria brizantha. Tropical Forages. CSIRO, DPI&F (Queensland), CIAT and ILRI, Brisbane, Australia. 2005.
  3. Urochloa brizantha. Grass Manual. Flora of North America.
  4. Brachiaria in Brazil
  5. Torres González, A.M.; Morton, C.M. (२००५), "Molecular and morphological phylogenetic analysis of Brachiaria and Urochloa (Poaceae)", Molecular Phylogenetics and Evolution 37 (1): 36–44, डिओआई:10.1016/j.ympev.2005.06.003, पिएमआइडी 16039145 
  6. Pazoutová, S., et al. 2012. New Claviceps species from warm-season grasses. Fungal Diversity 49(1) 145-65.
  7. Heuzé V., Tran G., Sauvant D., Lebas F., 2016. Bread grass (Brachiaria brizantha). Feedipedia, a programme by INRA, CIRAD, AFZ and FAO. https://www.feedipedia.org/node/490 Last updated on September 9, 2016, 16:15
  8. Urochloa brizantha. USFS. Pacific Island Ecosystems at Risk (PIER).
  9. Quattrocchi, U. CRC World Dictionary of Grasses: Common Names, Scientific Names, Eponyms, Synonyms, and Etymology, Volume 1. CRC Press. 2006. pg. 335.