ययाति
| ययाति | |
|---|---|
सिंहासनमा विराजमान ययातिको एक चित्रण | |
| धर्मग्रन्थहरू | महाभारत |
| वंशावली | |
| अभिभावकहरू |
|
| जीवनसाथी | देवयानी, शर्मिष्ठा |
| सन्तानहरू | |
| वंश | चन्द्रवंश |
ययाति हिन्दु धर्मका एक सम्राट हुन्। उनलाई चन्द्रवंशका राजाका रूपमा वर्णन गरिएको छ। उनलाई यादव र पाण्डव वंशका पूर्वज मानिन्छ।[१]
हरिवंशका अनुसार, ययाति राजा नहुष र पितृकी पुत्री विरजाका पुत्र हुन्। उनका यति, सम्याति, आयाति, वियाति र कृति गरी पाँच भाइहरू थिए। ययातिले सम्पूर्ण विश्वमा विजय प्राप्त गरेका थिए र उनी एक 'चक्रवर्ती' (विश्व सम्राट) थिए।[२]
उनले शुक्राचार्यकी छोरी देवयानीसँग विवाह गरेका थिए र राजा वृषपर्वाकी छोरी तथा देवयानीकी दासी शर्मिष्ठालाई पनि उपपत्नीका रूपमा स्वीकार गरेका थिए। शर्मिष्ठासँगको उनको सम्बन्धको बारेमा थाहा पाएपछि, देवयानीले आफ्ना पितासँग गुनासो गरेकी थिइन्। शुक्राचार्यले क्रुद्ध भएर ययातिलाई युवावस्थामै वृद्ध हुने श्राप दिएका थिए तर पछि उनलाई आफ्नो वृद्धावस्था आफ्ना छोरा पुरुसँग साट्न अनुमति दिएका थिए। उनको कथा महाभारतको आदि पर्वका साथै भागवत पुराण र मत्स्य पुराणमा पनि पाइन्छ।[३]
वंशावली र प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]ब्रह्माका पुत्र अत्रि एक ब्रह्मर्षि थिए। अत्रिका पुत्र चन्द्र (चन्द्रमा) थिए। चन्द्रकै नामबाट चन्द्रवंशको नामकरण भएको हो। चन्द्रका पुत्र बुध थिए। बुधले वैवस्वत मनुकी छोरी इलासँग विवाह गरेका थिए र उनीहरूबाट पुरूरवाको जन्म भएको थियो। पुरूरवाले ऋषि कश्यपसँग शिक्षा प्राप्त गरेका थिए। पुरूरवाले अप्सरा उर्वशीसँग विवाह गरेका थिए र उनीहरूका धेरै छोराहरूमध्ये आयु जेठा थिए। आयुले ऋषि च्यवनबाट आफ्नो शिक्षा पूरा गरेका थिए र असुर राजकुमारी प्रभासँग विवाह गरेका थिए। आयुका पुत्र नहुष थिए, जसले ऋषि वसिष्ठबाट शिक्षा पाएका थिए।
इन्द्रको शक्ति क्षीण भएपछि, देवताहरूले नहुषलाई नयाँ इन्द्र बन्न आग्रह गरेका थिए। नहुषले ऋषि बृहस्पतिको मार्गदर्शनमा १०० वर्षसम्म तीनै लोकमा शासन गरेका थिए। नहुषका छोराहरू, जसको नेतृत्व यति र ययातिले गरेका थिए, उनीहरूलाई हजारौँ ब्रह्मर्षि र देवताहरूले शिक्षा दिएका थिए। नहुष अन्ततः अहङ्कारी बनेका थिए र सप्तर्षिले उनलाई सर्प बनेर नरकमा बस्नुपर्ने श्राप दिएपछि उनले कठोर सजाय पाएका थिए। त्यसपछि इन्द्रलाई पुन: देवताहरूको राजाका रूपमा पुनस्र्थापित गरिएको थियो।
महाभारतमा ययातिका उपलब्धिहरूको बारेमा उल्लेख गरिएको छ। उनले १०० वटा राजसूय यज्ञ, १०० वटा अश्वमेध यज्ञ, १०० वटा वाजपेय यज्ञ, १००० वटा अतिरात्र, १००० वटा पुण्डरीक र असङ्ख्य अग्निष्टोम र चातुर्मास्य यज्ञहरू सम्पन्न गरेका थिए। उनले जहाँ-जहाँ शमीको लठ्ठी फ्याँके, त्यहाँ-त्यहाँ यज्ञ अनुष्ठान गरेका थिए। उनले ब्राह्मणहरूलाई सुनका पहाड र अर्बौँ गाईहरू दान दिएका थिए।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]ययातिको पौराणिक कथा श्रीमद्भागवत पुराणको नवौँ स्कन्धको अठारौँ र उन्नाइसौँ अध्यायमा उल्लेख गरिएको छ।[४]
ययातिका पिता नहुष आफ्नो अहङ्कारको सजाय स्वरूप ऋषिहरूको श्रापले अजङ्गरमा परिणत भएका थिए। ययातिका जेठा दाजु यतिलाई सुरुमा राज्य दिइएको थियो, तर उनले त्यसलाई अस्वीकार गरी तपस्वी बनेका थिए। त्यसपछि ययाति उनको स्थानमा राजा बन्दै पृथ्वीमा शासन गरेका थिए। उनले आफ्ना चार साना भाइहरूलाई विश्वका चार प्रमुख दिशा (दिक्पाल) का रूपमा शासन गर्न नियुक्त गरेका थिए।
विवाह
[सम्पादन गर्नुहोस्]
एक दिन दैत्य राजा वृषपर्वाकी छोरी शर्मिष्ठा र शुक्राचार्यकी छोरी देवयानी शर्मिष्ठाका सुसारेहरूसँग आफ्नो घर नजिकैको वनको पोखरीमा नुहाउन गएका थिए। उनीहरू नुहाउँदै गर्दा इन्द्रले तीव्र हावाको रूप धारण गरी किनारमा रहेका उनीहरूका लुगाहरू बटुलेर एकै ठाउँमा थुपारिदिन्छन्। त्यसपछिको अन्योलमा दुवै महिलाले झुक्किएर एक-अर्काको लुगा लगाउँछन्। त्यसै क्रममा भएको झगडामा शर्मिष्ठाले नग्न अवस्थामा रहेकी देवयानीलाई एउटा इनारमा फ्याँकिदिइन् र आफ्ना सुसारेहरूसँग वनबाट फर्किन्छिन्। पछि, नहुषका छोरा ययाति शिकार खेल्ने क्रममा संयोगवश त्यस पोखरीमा आइपुग्छन् र देवयानीलाई इनारबाट बाहिर निस्कन मद्दत गर्छन्। त्यसपछि उनी आफ्नो राज्यमा फर्किन्छन्। देवयानीले आफ्नी दासी घूर्णिकालाई आफ्ना पिताकहाँ पठाउँछिन् र झगडाको बारेमा जानकारी दिन्छिन्। शुक्राचार्य क्रोधित हुन्छन् र उनलाई शान्त पार्न वृषपर्वा आफ्नी छोरी शर्मिष्ठासहित एक हजार सुसारेहरूलाई देवयानीको सेवामा पठाउन सहमत हुन्छन्। केही समयपछि ययातिको देवयानीसँग पुनः भेट हुन्छ र उनीहरू प्रेममा पर्छन्। शुक्राचार्यको सहमतिपछि दुवैको विवाह हुन्छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०१२-०६-२४), "Yayati, Yāyati, Yayāti: 18 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०७।
- ↑ www.wisdomlib.org (२०२०-११-१४), "Account of the King Yayati [Chapter 30]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०७।
- ↑ Laura Gibbs: Yayati
- ↑ Venkatesananda (३१ मार्च २०१०), The Concise Śrīmad Bhāgavataṁ, SUNY Press, पृ: 227–229, आइएसबिएन 9781438422831।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Yayāti", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०७।
