सामग्रीमा जानुहोस्

रजोनिवृत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाईर् रजनोवृत्ति भनिन्छ। यस अवस्थामा महिलाको अन्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ। प्रजनन शक्ति समाप्त हुन्छ। यो विशेषगरी ५० वर्ष नाघेका महिलाहरूमा हुन्छ। रजनोवृत्ति बढ्दो उमेरसँगै शरीरमा देखिने स्वाभाविक परिवर्तन हो। तर यसलाई सामना गर्न अधिकांश महिलालाई निकै गाह्रो हुन्छ, किनभने यसका लागि उनीहरू मानसिक रूपले तयार भइसकेका हुँदैनन्। तसर्थ उक्त अवस्थामा अधिकांश महिला शारीरिक र मानसिक रूपले चिन्तित हुन्छन्। यसले उनीहरूको दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पारेको पाइन्छ।

रजनोवृत्ति का प्रकार

[सम्पादन गर्नुहोस्]

रजनोवृत्ति तीन प्रकारका हुन्छन्-

  • (१) अपरिपक्व रजनोवृत्ति : ४० वर्षभन्दा अगाडि नै रजस्वला बन्द हुनुलाई अपरिपक्व रजनोवृत्ति भनिन्छ। यो विशेषगरी वंशानुगत, सुर्ती सेवन, विकिरणको असर वा क्यान्सरको उपचार गरेका महिलाहरूलाई हुनसक्छ।
  • (२) कृत्रिम रजनोवृत्तिः गर्भाशय वा अन्डाशयमा असर पर्ने किसिमको रोग लागेर शल्यक्रियाद्वारा फालेमा अर्थात् तल्लो पेटमा विकिरण सेवा लिँदा गर्भाशय/पाठेघर/ अन्डाशयमा असर परेको छ भने त्यस्ता महिलाहरूलाई हुनसक्छ।
  • (३) प्राकृतिक रजनोवृत्ति : यो प्रायः ढल्दो उमेरका कारण ५० वर्षपछि स्वतः हुन्छ।

रजनोवृत्तिका अवस्था

[सम्पादन गर्नुहोस्]

रजनोवृत्तिका अवस्था पनि तीनवटै हुन्छन्।

  • पहिलो, रजनोवृत्ति हुनु पूर्वावस्था हुन्छ। यतिबेला महिलाहरूको अन्डाशयबाट निस्कने ग्रन्थिरस कम हुनथाल्छ वा घटबढ हुनथाल्छ। महिनावारी पनि गडबड हुनथाल्छ। कहिले छिटो, कहिले ढिलो, कहिले धेरै मात्रामा वा कहिले थोरै मात्रामा हुनथाल्छ।
  • दोस्रो, यो अवस्था रजस्वला रोकिनु अगाडि वा पछाडिको अवस्था हो। यस अवस्थामा महिलाहरूमा धेरै प्रकारका लक्षणहरू देखापर्छन्।
  • तेस्रो, रजनोवृत्ति भएपछिको अवस्था हो। यसमा स्थायी रूपमा रजनोवृत्ति हुन्छ र पूरै एक वर्ष महिनावारी हराउँछ, रोकिन्छ।

रजनोवृत्तिका कारण र लक्षण

[सम्पादन गर्नुहोस्]

रजस्वला गराउन सहयोग गर्ने हर्मन अस्ट्रोजन र प्राजेस्टोरेनको उत्पादनमा कमी आएपछि वा बन्द भएपछि रजनोवृत्ति हुन्छ। उमेर ढल्केपछि प्राकृतिक रूपमा नै हुन्छ। कुनै पनि प्रजनन अङ्गमा रोग लागेर, गर्भाशय/अन्डाशय निकालेर फालेका कारण पनि रजनोवृत्ति हुन्छ। रजनोवृत्ति भएका महिलाको शरीर वा अनुहार तातो र रातो देखिन्छ। पसिना नआउने, योनि सुख्खा हुने र यौनसम्पर्क गर्न गाह्रो हुने, चाहना घट्ने, मुटुको धड्कन बढ्ने, रातमा निद्रा नपर्ने, छाला सुख्खा हुने, पिसाब चाँडचाँडो लाग्ने र पिसाब थाम्न नसक्ने (विशेषगरी हाछ्युँ गर्दा, खोक्दा र हाँस्दा), जीउ र टाउको दुख्ने, शरीरमा पोलेजस्तो र केही हिँडेजस्तो हुने, हात-खुट्टा झम्झमाउने र लाटो भएजस्तो हुने, महिनावारी गडबडी हुने, तौल बढ्ने, थकानका साथै चिन्ता र मानसिक तनाव बढ्ने, झर्को लाग्ने, मन तलमाथि हुने, कुनै कुरामा ध्यान नलाग्ने र स्मरणशक्ति कमजोर हुने जस्ता लक्षण देखापर्छन्। रजनोवृत्ति भएपछि होशियार हुन नसक्दा २५ देखि ३० प्रतिशत हड्डी खिइने, ढाडदेखि तलको हड्डी १५ प्रतिशत भाँच्चिने हुने गरेको पाइन्छ। यसबाहेक मुटुको रोग, मस्तिष्कको कोषिकामा रगत जम्ने, जलविन्दु हुने, पाठेघर वा स्तनको क्यान्सर हुने र गर्भाशय झर्ने जस्ता समस्या आउन सक्छन्।

बच्ने तरिका

[सम्पादन गर्नुहोस्]

यसको असरबाट बच्ने केही तरिका छन्। हरियो सागपात र फलफूल प्रशस्त खानुपर्छ। भटमास र त्यसबाट बनेका परिकारहरू, थोरै बोसोयुक्त खाना, दूध वा दूधका परिकारहरूका साथै दैनिक ८ देखि १० गिलास पानी पिउने गर्नाले यसबाट बच्न सहज हुन्छ। दैनिक आधा घन्टाजति साधारण व्यायाम गर्ने साथै बिहान हिँड्ने, नाच्ने जस्ता क्रियाकलापले हाडजोर्नी स्वस्थ हुनुका साथै हाड खिएर जाँदैन र मजबुत हुन्छ। शिरा र धमनीको स्थितिमा सुधार आउनुका साथै मुटुको कार्य यथावत रहन्छ। दैनिक चिसो पानीले नुहाउने, सुती कपडा लगाउने, चिया, कफी र मदिरा वा कृत्रिम पेयपदार्थ सेवन नगर्ने, सुर्ती सेवन नगर्ने, मसलादार र तातो खाना नखाने, रक्तचाप बढेमा औषधी प्रयोग गर्ने, वर्षमा २ पटक योनिस्राव परीक्षण गराउने, प्रजनन अङ्गका मांसपेसीहरूलाई खुम्चाउने र छोड्ने खालको अभ्यास गर्ने, आवश्यक परे स्वास्थ्यकर्मीसँग परामर्श गर्ने, रजनोवृत्ति सबै महिलालाई हुन्छ भन्ने कुरा ख्याल राख्ने र अरूसँग समस्याका बारेमा छलफल गर्ने, परिवार तथा समाजले पनि यस समस्यालाई बुझेर सहयोग गर्नुपर्छ। यसबाट परिवार, समाज र देशलाई पर्नसक्ने पारिवारिक, आर्थिक तथा सामाजिक भारलाई कम गर्न मद्दत पुग्छ।