रिफ्ट भ्याली ज्वरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिफ्ट भ्याली ज्वरो
विभाग:Infectious diseases, veterinary medicine Edit this on Wikidata

रिफ्ट भ्याली ज्वरो (RVF) एक भाइरल रोग हो जसको कारणले गर्दा सामान्य देखि गम्भीर लक्षणहरू देखा पर्न सक्छन्। सामान्य लक्षणहरूमा निम्न पर्न सक्छन्: ज्वरो, मांसपेशी दुख्ने, र टाउको दुख्ने जुन प्राय: एक हप्तासम्म रहिरहन्छ। गम्भीर लक्षणहरूमा निम्न पर्न सक्छन्: संक्रमण भएको तीन हप्तापछि दृष्टि गुम्ने, मस्तिष्क संक्रमित भएको कारणले गर्दा जोडले टाउको दुख्ने र अलमलमा पर्ने, र कलेजोको समस्याहरूको साथसाथै रक्तस्राव हुने हुन्छ जुन पहिलो केही दिनमै हुन सक्छ। रक्तस्राव हुने व्यक्तिहरूको मृत्यु हुने सम्भावना ५०% हुन्छ।[१]

यो रोग RVF भाइरसको कारणले गर्दा हुन्छ, जुन फ्लेबोभाइरस प्रकारको हो। यो या त संक्रमित जनावरको रगत छुनाले, संक्रमित जनावरलाई काटिँदै गरेको क्षेत्र वरिपरिको हावामा सास पर्नाले, संक्रमित जनावरहरूको अप्रशोधित दूध पिउनाले, वा संक्रमित लामखुट्टेको टोकाइबाट फैलने गर्छ। गाई, भेँडा, बाख्रा, र ऊँट जस्ता जनावरहरू यसबाट संक्रमित हुन सक्छन्। यी जनावरहरूमा यो रोग प्राय: लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यो संक्रमण एक व्यक्तिबाट अर्कोमा सरेको देखिएको छैन। शरीरमा यो भाइरस विरुद्ध एन्टिबडी पैदा भएको छ की छैन वा रगतमा भाइरस छ कि भनी हेर्न रगत परीक्षण गरेर यसको निदान गर्ने गरिन्छ।[१]

जनावरहरूलाई यो रोग विरुद्ध खोप दिएर यो रोग मानिसहरूलाई लाग्नबाट रोकथाम गर्न सकिन्छ। यो कार्य प्रकोप उत्पन्न हुनु अगावै गर्नुपर्छ किनभने प्रकोप दौरान यो कार्य गरिएमा यसले परिस्थितिलाई झन बिगार्न सक्छ। प्रकोप दौरान जनावरहरूलाई यताउता जान नदिँदा पनि मद्दत पुग्न सक्छ। र साथमा लामखुट्टेको सङ्ख्या कम गर्ने वा तिनीहरूको टोकाइबाट बच्ने उपाय लगाउनाले पनि मद्दत पुग्न सक्छ। मानिसहरूको लागि पनि खोप उपलब्ध छ; यद्यपि, सन् २०१० सम्ममा यो व्यापक रूपमा उपलब्ध थिएन। संक्रमित भइसकेपछि यसकओ कुनै निश्चित उपचार छैन।[१]

यो रोगले अफ्रिका र अरबिया मा मात्र प्रकोप को रूप लिएको छ। प्रकोपहरू धेरैजसो वर्षा बढी हुने समयमा हुने गर्छ जब लामखुट्टेहरूको सङ्ख्या वृद्धि हुन्छ।[१] यो रोग सबैभन्दा पहिला १९०० को दशकको प्रारम्भतिर केन्याको रिफ्ट भ्याली भन्ने ठाउँका जनावरहरूमा देखिएको थियो,[२] र यो भाइरसलाई पहिलो पटक सन् १९३१ मा पृथक गरिएको थियो।[१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Rift Valley fever", Fact sheet N°207, World Health Organization, मे २०१०, अन्तिम पहुँच २१ मार्च २०१४ 
  2. Palmer, S. R. (२०११), Oxford textbook of zoonoses : biology, clinical practice, and public health control (2nd संस्करण), Oxford u.a.: Oxford Univ. Press, पृ: ४२३, आइएसबिएन 9780198570028