शास्त्रीय सङ्गीत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दू संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई 'हिन्दुस्तानी शास्त्रीयसङ्गीत' पनि भन्ने गरिन्छ। हिन्दुस्तानी शास्त्रीयसङ्गीत भन्नाले सितार, सरोद, हार्मनियम, तबला आदि जस्ता बाजाहरू। त्यसैगरी ध्रूपद, खयाल, ठुमरी, गजल, भजन, कर्बाली जस्ता गायनशैली यस सङ्गीतअन्तर्गत् पर्दछन्। यी विभिन्न राग तथा तालहरूमा संयोजन गरेर गाउने या बजाउने गरिन्छ। हिन्दुस्तानी शास्त्रीयसङ्गीत पूर्वेली संस्कृतिअन्तर्गत् दक्षिण एसियाकै प्रतिनिधित्व गर्ने शास्त्रीयसङ्गीत हो। नेपालमा पनि शताब्दियौँदेखि चल्दै आएको छ। बाहृय मुलुकमा यसलाई 'इन्डियन क्लासिकल म्यूजिक' भनिन्छ। हामी यसलाई हाम्रो मुलुकभित्र 'शास्त्रीयसङ्गीत' मात्र भन्ने गर्छौं। पुस्तौंदेखि चलिआएको हिसाबले हामी यसलाई हाम्रो देशको कला सम्पदाको रूपमा पनि लिन्छौं।

नेपालमा शास्त्रीय संगीत[सम्पादन गर्ने]

सन् १८५७मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तमा शासन चलाईरहेका हिन्दू राजा, महाराजा तथा मुसलमान नवाबहरू पलायन भएर गए। यसको प्रत्यक्ष असर शास्त्रीयसङ्गीतमा पनि देखियो। कारण शास्त्रीयसङ्गीत सधैँ कुनै न कुनै शासकहरूको संरक्षणमा हुन्थ्यो। त्यतिबेलाका शास्त्रीयसङ्गीतका कलाकारहरू राजाश्रय पाएर बसेका हुन्थे। दरबारमा उनीहरूको ठूलो पद र इज्जत हुन्थ्यो। कलाकारहरू पलायन हँुदै गइरहेको सरकारबाट उदाउँदै गइरहेको शासकतिर संरक्षण तथा आश्रयका लागि सर्दै जान्थ्यो। जस्तै १३ औं शताब्दीदेखि दिल्ली केन्दि्रत सरकार दिल्ली सुर्तानेट, १६ औंँ शताब्दि देखि दिल्ली, आगरा केन्दि्रत मुगल साम्राज्य र मुगलशासन पनि विस्तारै पलायन हुँदै गएपछि १८ औँ शताब्दीको अन्ततिर उत्तर-भारतका विभिन्न प्रान्तहरूका राज्यहरू उदाउन थाले। त्यहाँका दरबार, महलहरूमा कलाकारले फेरि राजाश्रय पाएका थिए।

यसरी इतिहासमा शास्त्रीयसङ्गीतले क्रमबद्ध रूपमा राजाश्रय पाउँदै जानु नै उत्तर-भारतीय सङ्गीत पनि क्रमबद्ध रूपमा विकास हुँदै जानुको मुख्य कारण थियो। एक्कासी सन् १८५७ पछि सबै प्रान्तीय शासकहरू कमजोर हँुदै गए। यसको कारण शास्त्रीयसङ्गीतले कुनै शक्तिबाट संरक्षण नपाएर भौँतारिरहनुपरेको थियो। तर पनि शास्त्रीयसङ्गीतको अस्तित्व, परम्परा अनि कलाकारहरूले आफ्नो आर्थिक स्थितिलाई जोगाइराख्न कतिपय कलाकारहरू दरबारबाट सडक, कोठी, भट्टी, बेश्याबृत्तिको क्षेत्रमा समेत सङ्गीतको उपयोग गर्न बाध्य भए। कोठीमा नाच्ने तबायफदेखि थिएटर तथा सडकमा नाच्ने नौटङ्कीहरूलाई सिकाउनुपर्ने र उनीहरूसँग गाउनु, बजाउनु पर्ने अवस्थासमेत सिर्जना भएर आयो। समाजमा यसलाई हेर्ने दृष्टिकोण नै फरक भइसकेको थियो। त्यस्तो अवस्थामा नेपालमा भने त्यसबेला राणाशासकहरूले यसलाई दरबारमा आश्रय दिएर शास्त्रीयसङ्गीतकर्मीहरूको दयनीय अवस्थालाई आशाको दियोमा परिणत गरिदिएका थिए।

सन् १८८५ पछि वीरशमसेरको पालामा त नेपालमा भारतबाट एक्कासी हुरी आएझैँ गरी शास्त्रीय सङ्गीतकर्मीहरूको जमात नै भेला हुन थाल्यो। वीरशमसेरको दरबारमा मात्र नभई उनका भाइ-भारदारहरूका दरबारमा समेत भारतीय सङ्गीतका ऐतिहासिक कलाकारहरू मानिने त्यतिबेलाका भारतीय सङ्गीतकर्मीहरूले आश्रय पाएका थिए भने दिनहुँ कुनै न कुनै दरबारमा सङ्गीतको चर्चा र साङ्गीतिक कार्यक्रम भइरहन्थ्यो। तर शास्त्रीय सङ्गीतको चर्चा हुँदा पानाहरूमा भारतको भूमिका मात्र लेखेको पाइन्छ, नेपालको भूमिकाको बारेमा त्यति लेखेको पाइदैन। शास्त्रीयसङ्गीतको त्यो १९ आँैं शताब्दीको संवेदनशील अवस्थामा नेपालमा जतिपनि शास्त्रीयसङ्गीत विषयक भेलाहरू भए, कलाकारहरूले दरबारी आश्रय पाए, नयाँ कलाकारहरू जन्मिए, राणाशासकहरूको संरक्षणबाट जुन हौसला तथा प्रोत्साहन उनीहरूले पाए ती सबै कुराहरूले त्यसपछिका साङ्गीतिक विकासक्रमलाई जोड्न अवश्यमेव मद्दत गराए।

राणाशासनको पतनसँगै शास्त्रीयसङ्गीतले फेरि नेपालको राजाश्रय गुमाउनुपर्‍यो। नेपालमा वि. सं. २००७ सालपछि रेडियो नेपालको स्थापनासँगै आधुनिक गीत-सङ्गीतले बढी प्रश्रय पाउँदै गए सन् १९४७को स्वतन्त्रता पछि भारतीयहरूले उनीहरूले यसको महत्व पनि राम्ररी बुझिसकेका थिए। यतिन्जेलसम्ममा भारतीय सङ्गीतका विद्वान विष्णुनारायण भात्खण्डेले त लिखित रूपमा शास्त्रीयसङ्गीतलाई आधुनिक ढङ्गले शास्त्रीयकरण मात्र हैन भारतीयकरण गर्न भ्याइसकेका थिए। त्यसपछि प्रयोगात्मक हिसाबले पनि ६०को दशकतिर रविशङ्करजस्ता कलाकारको उदय र पश्चिमी देशमा भारतीय सङ्गीतको प्रचार-प्रसारको सुरूआतले थुप्रै भारतीय सङ्गीतकर्मीहरूले समेत पश्चिमेली राष्ट्रहरूमा गएर अनगिन्ती साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने मौका पाए भने विदेशी शिष्यहरूसमेत बनाउन सकेका थिए। सुस्त गतिमा भएपनि नेपालमा समेत शास्त्रीय सङ्गीतको विकास हुँदै गयो। मेलवादेवी, उस्ताद सेतू राम, नरराज ढकाल, चन्द्रराज शर्मा, गुरूदेव कामत आदिले नेपाली शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्

[१] नेपालमा शास्त्रीयसङ्गीत-डा. सवन जोशी