सामग्रीमा जानुहोस्

सन यात सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन यात सेन
सन यात सेन चियाङ काइसेकको साथमा
सन यात सेन

सन यात सेन चीनको गोङडङ प्रान्तको जोङसानमा १२ नोवेम्बर १८६६ मा जन्मेका सेन चीन का चीनको सन् १९११ क्रान्ति, नायक एवम राजनीतिज्ञ थिए। चीनको राज्यक्रान्तिका नायकहरूमा उनको नाम अग्रपङ्क्तिमा आउँछ। १२ मार्च १९२५ मा मृत्यु भएका डा. सन यात-सेनलाई चीनलगायत विश्वभरि नै अहिले पनि बडो आदरपूर्वक हेर्ने गरिन्छ। चीनको राजधानी बेइजिङको मुख्य भागमा उनको सालिक स्थापना गरिएको छ।

उनी आफ्नो पढाइ र पेशाका कारणले पनि उदार र प्रगतिशील चिन्तन थिए। कुइङ राजाहरूको राज्यसत्ताको विरोध गर्ने र प्रजातान्त्रिक पद्धति अनुकूलको राजनीतिक सुधार हुनुपर्छ भन्ने कुरामा उनी विश्वास राख्थे।उन्नाइसौँ शताब्दीको अन्त्यतिर चीनमा पनि राष्ट्रिय पुँजीपतिहरूको क्रमिक विकास हुँदै थियो। चीनको विकासको अवरोधका रूपमा घरायसी सामन्तवाद र विदेशी शोषणले गर्दा चिनियाँ जनता कष्टपूर्ण जीवन बाँच्न बाध्य थिए। चीनको विकासका लागि चीनका राष्ट्रवादी मध्यमवर्गीय व्यक्तिहरूले आर्थिक तथा सामाजिक सुधारका माध्यमले सामान्तवादको अन्त्य गर्न चाहे तर तिनीहरूको मध्यमार्गी प्रजातान्त्रिक सत्ता ल्याउने सोच असफल भयो। संवैधानिक सुधार र आधुनिकीकरणको चाहना राख्ने क्याङ ओवी, लियाङ कुइचाओ, तान सिरोङ र यान फूजस्ता सुधारकहरूलाई कुइङ सरकारले लत्याई दियो। सन् १९९८ मा विद्रोहको माध्यमबाट सुधारवादीहरूलाई सत्ताबाट हटाइयो र कतिलाई देश निकाला गरियो कतिलाई जेलमा कोचियो र केहीलाई भने मृत्युदण्ड पनि दिइयो।

सुधारवादीहरूको असफलताले गर्दा केही क्रान्तिकारीहरूमा नयाँ चेतना आयो। शक्तिशाली साम्राज्यवादी देशहरूले चीनका विरुद्धमा डरलाग्दो आक्रमण सुरु गरे यी देशहरूको संयुक्त आक्रमणले गर्दा चीन अति नराम्रोसँग लुटियो। धेरै चिनियाँ नागरिकहरू मारिए। यसले गर्दा चिनियाँ जनताले प्रजातान्त्रिक आन्दोलन सुरु गरे। ज्याङ विङलिङ, जाउ रङ, चेन तिन्हुवा र कुई जिनसमेत नेताहरूले क्रान्तिको नेतृत्व गरे। उनीहरूले जनतालाई क्रान्तिको झण्डा उठाउन, तरबार समाउन र युद्धमैदानमा खडा भएर चीन लुट्ने साम्राज्यवादीहरू विरुद्ध उत्रन जनतालाई अपील गरे। ती क्रान्तिकारीका उद्देश्य र भनाइहरू, कामहरू बहादुरीपूर्ण बलिदानी र अनुकरणीय थिए। ज्याङ विङलिङलाई जेलमा हालियो र पछि देश निकाला गरियो। जाउ रङ एक्काइस वर्षकै उमेरमा जेलमै मरे। कुई जिनलाई शहीद बनाइयो। उनी त्यो बेला तेइस वर्षका मात्र थिए। ती क्रान्तिकारीहरू आफ्नो लक्षमा सफल नभए पनि उनीहरूले क्रान्तिलाई अग्रगति दिन सफल भए। उनीहरूले फैलाएको चेतना र प्रजातन्त्रका लागि खनेको क्रान्तिको गोरेटोले प्रजातान्त्रिक संस्था जन्माउने वातावरण बनायो।

अगस्ट २०, १९०५ का दिन सन यात-सेनको नेतृत्वमा केही क्रान्तिकारीहरूले टङ मेङ हुई 'चाइनिज रिभोलुसनरी लिग' नाम गरेको चीनको पहिलो मध्यमार्गी पार्टी गठन गरे। सन यात-सेनले क्रान्ति सफल पार्न तीनवटा प्रमुख क्रान्तिहरू एकैसाथ हुनुपर्ने प्रस्ताव गरे। एकैपटक राष्ट्रिय, राजनीतिक र सामाजिक क्रान्ति गर्ने उनको प्रस्ताव थियो। चाइनिज रिभोलुसनरी लिगले क्रान्तिकारी कार्यक्रम प्रस्तावित गर्‍यो जसमा मन्चु वंशको अन्त्य, चीनको पुनर्उत्थान र गणतन्त्र स्थापना। आर्थिक कार्यक्रममा जमीनको स्वामित्वमा समानता भन्ने नारा थियो।

सन यात-सेनले जनताका तीन सिद्धान्त अगाडि सारे जसमा राष्ट्रियताको सिद्धान्त, प्रजातन्त्रको सिद्धान्त र जनताको जनजीविकाको सिद्धान्त। यो सिद्धान्तलाई थ्री पिपुल्स पि्रन्सिपल नामले पनि चिनिन्छ। सामान्तवादी राजसंस्थाको अन्त्य र साम्राज्यवादी अतिक्रमणको अन्त्यका लागि हतियार बन्द क्रान्ति सुरु गरियो। सबै विद्रोहहरू असफल भए तर पनि क्रान्तिकारीहरूले आफ्नो धैर्य र धेय गुमाएनन्। रक्तरञ्जित विद्रोहहरू कायम नै रहे। त्यो समयमा सम्पूर्ण चीन अभाव र अनिर्णयको बन्दी जस्तो देखिन थाल्यो। सन् १९०९ मा सम्पूर्ण चीनभरि १३० वटा विद्रोह भए भने सन् १९१० मा २९० भन्दा बढी विद्रोहहरू भए। सेनडोङमा सन् १९११ मा थेग्न नसकिने कर र लेभी उठाएको विरोधमा कडा विद्रोहहरू भए। सन् १९११ को चीनको रेलवे राइट विद्रोहले चीनका धेरै प्रान्तलाई हल्लायो। यसको प्रभाव चीन बाहिर पनि सशक्तरूपमा फैलियो।

अक्टोबर १०, १९११ को उचाङ आन्दोलनले विश्वलाई नै चकित बनायो। सन् १९१२ को नयाँ वर्षको पहिलो दिनमा सन यात-सेनलाई नानजिङ प्रान्तको प्रान्तिय राष्ट्रपतिमा नियुक्त गरियो। त्यसै दिन गणतन्त्र चीन स्थापना भएको घोषणा गरियो। फेब्रुअरी १२, १९१२ का दिन कुइङ वंशका अन्तिम राजाले २६७ वर्षको कुइङ राजवंशको समाप्ति गर्दै राज्य त्याग गरे। चीनको दुई हजार वर्षको राजतन्त्रको इतिहास समाप्त भयो। सन यात- सेनले एक महिना जति प्रान्तिय राष्ट्रपति हुन पाए। त्यसपछि उनलाई हटाएर युयान साहकाई नयाँ प्रान्तिय राष्ट्रपति भए। उनले कुइङ सरकारकै नीतिलाई निरन्तरता दिँदै जनविद्रोहको विपरीत काम गर्न थाले। सङ जिऔरन भन्ने एक जना क्रान्तिकारी नेताको हत्या भयो। उनी पनि त्रियासी दिनमा सत्ताच्यूत गरिए।

सन् १९२५ मार्च १२ का दिन महान् प्रजातान्त्रिक योद्धा सन यात- सेनको मृत्यु भएपछि उनले गरेको मध्यमार्गी आन्दोलनको सोचले निरन्तरता पाएन। सन यात-सेनले चाहेको राज्य प्रणाली लागू भएन तर पनि चीन र विश्वले डा. सन यात-सेनलाई चीनको मध्यमार्गी प्रजातान्त्रिक आन्दोलनका जनकका रूपमा लिन्छ। यस अर्थमा चीनमा सन यात-सेनले चाहेको मध्यमार्गी प्रजातान्त्रिक व्यवस्था लागू हुन नसके पनि चीनमा उनलाई माओ त्से तुङ जस्तै महानतम चिनियाँ नेता गणना गरिन्छ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]


बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]