सवारी चालक अनुमति पत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

‌‌

सवारी चालक अनुमतिपत्र[सम्पादन गर्नुहोस्]

सवारी चालक अनुमतिपत्र (Vehicle Driving License) कुनै सवारी साधन चलाउन अनुमति दिईएको प्रमाणपत्र हो । नेपालमा यसलाई बोलीचालीको भाषामा 'लाईसेन्स (License)' मात्र पनि भनिन्छ । तर वास्तवमा अनुमतिपत्र (License) भन्नाले कुनै उद्योग, कम्पनी वा संस्था सञ्चालन गर्न वा कुनै पेशा, व्यवसाय वा उद्यम गर्न वा कानुनद्वारा तोकिएको अन्य कार्य गर्न संबन्धित निकायबाट कानुनी प्रक्रिया सम्पन्न गरेर अनुमति लिइएको प्रमाणपत्र हो। ‍‍

नेपालमा सवारी चालक अनुमतिपत्र दिने निकाय[सम्पादन गर्नुहोस्]

नेपालमा हाल यातायात व्यवस्था विभागद्वारा सवारी चालक अनुमतिपत्र दिइने व्यवस्था छ। यस अघि यो जिम्मेवारी नेपाल प्रहरीसंग थियो।

वर्तमान समयमा नेपालमा सवारी चा. अ. प. लिने प्रकिया र वातावरणको चित्रण[सम्पादन गर्नुहोस्]

यातायात व्यवस्था विभागका अञ्चल कार्यालयहरूले सवारी चालक अनुमतिपत्र वितरणको काम नियमित नहुँदा एकान्तकुनामा सवारी चालक अनुमतिपत्र लिनेको भीड दोब्बरले बढिरहेको छ । करिब तीन महिनादेखि सेवाग्राही यातायात व्यवस्था कार्यालयमै रातभर लाइनमा बसेर फाराम बुझाएर टोकन लिन बाध्य छन् तर कार्यालयले भने सेवाग्राहीको सही व्यवस्थापन गर्न भने कुनै पहल गरेको छैन । बागमती अञ्चलमा मात्र स्मार्ट कार्ड लागू गरिनु र अन्य अञ्चल कार्यालयले नियमित काम गर्न नसक्नुले एकान्तकुनामा सेवाग्राहीको चाप बढेको हो । झन्डै दैनिक तीन हजार सेवाग्राही आएपछि एकान्तकुना कार्यालयले सेवा दिन सकिरहेको छैन । ५० प्रतिशत सेवाग्राही बागमती अञ्चलभन्दा बाहिरबाट आएको कार्यालयले जानकारी दिएको छ ।

गत हप्तासम्म दुईपाङ्ग्रे सवारीका लागि दैनिक तीन सय फाराम लिइरहेको कार्यालयले अहिले ४५० लिँदा पनि सेवाग्राही आधा भन्दा धेरै फर्किनु परेको छ । बागमती बाहेक बाँकी १३ अञ्चल कार्यालयले काम नगर्दा काठमाडांँैमा अत्यधिक चाप भएको कार्यालय प्रमुख एवम् उपसचिव चेतप्रसाद उप्रेतीले बताउनुभयो । बागमतीका लागि मात्र काम गर्न पाएको भए सेवाग्राहीलाई सहज हुने थियो । उहाँ भन्नुहुन्छ, ‘बाहिर खुल्यो भने यहाँको समस्या हट्छ । ’

licence डिजिटल लाइसेन्स (स्मार्टकार्ड) लागू भएपछि प्रक्रियामा पनि धेरै समय लाग्ने भएकाले ढिलाइ हुने गरेको कर्मचारीको भनाइ छ ।  उप्रेतीका अनुसार पहिला एक जनाको काम तीन मिनेटमा सकिन्थ्यो, अहिले १० मिनेट लाग्छ ।  नीतिगत रूपमै पनि ढिलाइ हुने खालका व्यवस्था नभएका होइनन् ।  लिखित परीक्षा पास गरिसकेपछि सात चरणको ट्रायल परीक्षामा सातै चरण पास गर्नुपर्छ ।  प्रमुख उप्रेतीका अनुसार यो भनेको सयमा सय नै ल्याउनुपर्ने विधि हो ।  यो संसारमा कहीँ पनि छैन ।  उहाँले भन्नुभयो, ‘कुनै पनि परीक्षामा सयमा सय ल्याएर पास हुनुपर्ने नियम कहीँ छैन, यो अव्यावहारिक छ, यसलाई व्यावहारिक बनाउन लिखित सुझाव विभागमा पठाइसकेको छु, व्यावहारिक भयो भने २०÷२५ प्रतिशत भीड आफैँ हट्छ । ’

लिखित पास भएर ट्रायलमा फेल भए पुनः सबै प्रक्रियामा जानुपर्ने र तीन महिनासम्म परीक्षाका लागि अयोग्य ठहर गरिनु पनि अव्यावहारिक रहेको नवलपरासीका एक सेवाग्राही विमल पौडेलको भनाइ छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनाले प्रशासनिक मात्र होइन मान्छेको लाइनलाई समेत व्यवस्थित गर्न सकेको छैन । सेवा काउन्टरको तत्काल वृद्धि गर्ने, शाखा छुट्याएर नवीकरण छुट्टै, नयाँ लाइसेन्स वितरण छुट्टै र अन्य प्राविधिक कामलाई पनि छुट्ट्याएर सेवालाई अझ चुस्त बनाउने प्रतिबद्धता गरिए पनि हालसम्म भएको छैन ।

अन्य अञ्चल कार्यालयमा यातायात व्यवस्था विभागले नियमित काम गराउन सकेको छैन । वीरगञ्ज, पोखराजस्ता सहरमा कार्यालय प्रमुख समेत निय्ुक्ति हुन नसकेको वर्षौँ भयो । मेची, कोसी लगायतका अञ्चलमा पनि काम हुन सकेको छैन । धौलागिरीमा अहिलेसम्म ट्रायल परीक्षा दिने ठाउँ नै निर्माण गरिएको छैन । वीरगञ्जमा २०६९ सालदेखि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र खुलाइएको छैन । जसले गर्दा सवारी चालक अनुमति पत्रका लागि १० औँ हजार खर्च गरेर काठमाडौँ आउनुपर्ने बाध्यता छ । लुम्बिनीमा पनि हलुका सवारी र दुईपाङ्ग्रे सवारीको मात्र व्यवस्था गरिएको छ । त्यो पनि नियमित नभएको कार्यालयले जनाएको छ ।


तर, यातायात व्यवस्था विभागले भने १४ वटै कार्यालयलाई नियमित काम गर्न निर्देशन दिएको जनाएको छ । वीरगञ्ज, बागलुङजस्ता ठाउँमा जग्गाको अभावले काम हुन नसकेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभागबाट हामीले १४ वटै अञ्चल कार्यालयलाई लाइसेन्स नियमित गर्न भनेका छौँ । ’ प्रवक्ता अधिकारीका अनुसार बागमती बाहेकका कार्यालयमा पनि स्मार्ट कार्ड छिट्टै लागू गरिने छ । त्यसका लागि नेटवर्किङ, भौतिक पूर्वाधार निर्माणलगायत काम भएका छन् । एडीबीको १५ करोड रुपियाँ आर्थिक सहयोगमा लागू गरिएको स्मार्टकार्ड प्रणालीमा अहिलेसम्म छ करोड खर्च भएको विभागले जनाएको छ ।[१]

नेपालको स. चा. अ. प. परीक्षामा गरिएको पछिल्लो परिवर्तन[सम्पादन गर्नुहोस्]

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि लिखित र ट्रायल परीक्षा उत्तीर्ण भएर मात्र पुग्ने छैन । अबदेखि लिखितमा उत्तीर्ण भएपछि ‘ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवारनेस टेस्ट’ अनिवार्य गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा अनुमतिपत्र प्राप्तिका लागि यो हप्ताबाट नयाँ नियम लागू गरिने जनाएको छ । यसअघि लिखित परीक्षामा उत्तीर्ण भएपछि ‘ट्रायल’ दिन पाउने र त्यसमा पास भएपछि लाइसेन्स दिने ब्यवस्था रहेको थियो ।

अवदेखि ‘रोड टेस्ट’मा असफल भएमा लिखित मात्र नदिई अन्य परीक्षाहरू पनि पुनः दिनुपर्ने छ ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मिङ्मार लामाले आइतवार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो।, ‘विकसित देशहरूमा यस्तो व्यवस्था रहेको छ।’

सवारी चालक अनुमतिपत्र वितरण प्रक्रियालाई वैज्ञानिक र दुर्घटना मुक्त बनाउन नेपालमा पनि ‘रोड टेष्ट’ नियम लागू गर्न जरुरी भएको भन्दै उहाँले ‘विश्वका धेरै राष्ट्रहरूको अध्ययन गरेपछि हामीले पनि यो नियम लागू गर्ने तयारी गरेका हौं।[२]

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अब सडक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा (ट्रायल) मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाइसेन्सका लागि अयोग्य मानिनेछ । लेन अनुशासन, ट्राफिक बत्ती, सिट बेल्टलगायत आधारभूत नियममा लापरबाही गरे लाइसेन्स पाइने छैन ।

सरकारले सडक परीक्षा उत्तीर्ण नभए लाइसेन्स नदिने नियम लागू गर्ने तयारी गरेको उपत्यका ट्राफिक महाशाखाका डीआईजी मिङमार लामाले जानकारी दिए । दुर्घटना बढदै गएको भन्दै उनले अझ दक्ष र सिपालु चालक बनाउन यस्तो नियम लागू गर्न थालिएको बताए । ‘अन्तर्रा्ष्ट्रिय चलनअनुसार सडक परीक्षा लिनुपर्नेछ हुन्छ यो कुनै नयाँ होइन, हामीले पहिलोपटक लागू गर्न लागेका हौं,’ उनले भने, ‘१५ दिनभित्र नियम लागू गर्छौं ।’ मोटरसाइकललगायत चारपांग्रेको लाइसेन्स लिनुअघि चालकले सडक परीक्षा उत्तीर्ण गर्नुपर्ने उनले बताए । [३]

अमेरिकामा सवारी चालक अनुमतिपत्र[सम्पादन गर्नुहोस्]

अमेरिकामा १६ वर्षपछि सीमित तहको सवारी चालक अनुमतिपत्र पाइन्छ । लिखित परीक्षा पास गरी सडक परीक्षणमा समेत पास भएपछि मात्रै सवारी चालक अनुमतिपत्र पाइन्छ । त्यसैगरी १८ वर्ष पुगेपछि मात्रै पूर्ण सवारी चालक अनुमति पत्र पाइन्छ ।

सुरुका तीन वर्ष नयाँ सवारी साधन चालकका लागि जोखिम समयका रूपमा लिइन्छ । त्यस अवधिमा बीमा पनि महंगो हुने गर्दछ । सडक दुर्घटना हुँदा दुर्घटनामा संलग्न सवारी चालकहरूबीच कुटाकुट र मुख छाडाछाड हुँदैन । दुबैको सहमतिमा प्रहरीलाई खवर गरिन्छ । र, प्रहरीको आगमनपश्चात् दुर्घटना प्रतिवेदन तयार पारी बीमा कार्यालयलाई पठाएर दुर्घटनाग्रस्त गाडी र मानवीय क्षति ब्यहोरिने गरिन्छ । 

सवारी चालक अनुमति पत्रबिना गाडी चलाउनु, मादक पदार्थ तथा लागूऔषध सेवन र सवारी साधनमा राख्नु, सवारी चालक अनुमति पत्र खोसिनु, द्रुत गतिमा गाडी चलाउनु, सडक प्रहरीलाई ढाँट्नु वा सहयोग नगर्नु दुर्भाग्यपूर्ण हुन्छ । अमेरिकामा कानुन र नियमभन्दा माथि कोही पनि छैन ।

विविध कारणले अमेरिकामा सडक दुर्घटना हुने गरेको छ । भर्खरका युवायुवती, नयाँ सवारी चालक, बृद्धबृद्धा चालक, मादक वा लागूऔषध सेवन, थकान, निद्रा, चिन्ता, प्राविधिक गडबडी, सिट बेल्ट नलगाउने, सेल फोनको प्रयोग, गाडी चलाउँदा टेक्स्ट गर्ने, द्रुत गति, घना ट्राफिकमा गाडी चलाउँदा अरूका कारणबाट र सवारी चिन्हहरूको बेवास्ता र दुरूपयोग आदि कारणबाट अमेरिकामा सडक दुर्घटना हुने गरेको देखिन्छ । अमेरिकामा सडक दुर्घटनामा संलग्न हुने सवारी नियमको उल्लंघन गर्दा हुने कारवाहीको मानसिक, आर्थिक र कानुनी बाधा प्रसस्त हुने गर्दछ ।
ठूला सहरहरूमा सार्वजनिक सवारी साधन हुने भएकाले केही सहज भए पनि अमेरिकामा अधिकांश राज्यहरूमा सवारी साधनबिना जीवनशैली अत्यन्त असहज हुन्छ । यहाँ गाडी र जीवन र जीवनशैलीको अन्तरसम्बन्ध गाँसिएको छ । सवारी साधन किन्न र पहुँचका लागि त्यति गाह्रो छैन । सवारी साधनको पहुँच र यसको प्रयोग सामान्यभन्दा सामान्य मानिसको जीवन पनि जोडिएको हुनाले सवारी साधन हाँक्दा आफू गल्ती नगरेकै भरमा यसबाट बच्न सकिन्छ भन्ने होइन । अरूका गल्तीका कारणबाट पनि जन–धनको क्षति र मृत्यु हुने गर्दछ ।[४]


‌‌‍‍

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. दर्नाल, लक्ष्मण, "सवारी लाइसेन्स लिन काठमाडौँमा भीड", गोरखापत्र अनलाइन डट कम, गोरखापत्र, अन्तिम पहुँच २०१७-जुलाई-०५ 
  2. समाचारदाता, गोरखापत्र, "लाइसेन्स लिन ‘ ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवारनेस टेस्ट’ अनिवार्य", गोरखापत्र अनलाईन डट कम, गोरखापत्र, अन्तिम पहुँच २०१७-जुलाई-०५ 
  3. समाचारदाता, नेपाल आज, "अब १ घण्टाको रोड टेस्ट पछि मात्र लाइसेन्स पाइने", नेपाल आज, नेपाल आज, अन्तिम पहुँच २०१७-जुलाई-०५ 
  4. सिलवाल, सानुबाबु, "यस्तो छ अमेरिकामा सडक दुर्घटना र क्षतिको इतिहास", enepalese