चाक्चाकुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चक्चाकुर किराँत येले सम्वतमा आधारित 'चाक्चाकुर' नेपाली विक्रम सम्वतको बैशाख तथा अङ्ग्रेजी ईश्वी संवतको जनवरी जस्तै किराँतको नयाँ वर्ष हो । यसलाई विशेष गरी किराँत समुदायका कुलुङ जातीले आफ्नो नयाँ वर्षका रूपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकुरको पुरा नाम निङदोङ फाइम मिनारी-दाचाम चाक्चाकुर' हो । निङदोङ फाइम भनेको नयाँ वर्ष फेरिनु हो र मिनारी दाचामको अर्थ आफ्नै पौरखले उब्जाएको बालीनाली खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । यो विक्रम सम्वतको पौष महिनामा पर्छ ।

कसरी मनाइन्छ[सम्पादन गर्नुहोस्]

चाक्चाकुरको वास्तविक औपचारिकता त्यँहाबाट सुरु हुन्छ जहाँ कुलुङ जातिका पुरुष तथा महिला पुर्खाहरू ढुंगेयुगको अवस्था झल्काउने तामझाम सहितको स्थानमा बसेका हुन्छन् । स्याउला तथा जंगली झारपातको प्रयोग गरी बनाइएको घरभित्र स्याउला र उनिऊ ओच्छ्याएर बस्ने गरिन्छ । यस स्थललाई मानव सभ्यता विकासको प्रारम्भिक चरणमा आधुनिक हात-हतियार तथा भाँडा-कुँडा नभएको अवस्थालाई प्रतिविम्वित गर्ने किसिमले सझाइएको हुन्छ ।

सोङली (बाँसको ढुंग्रो) मा तोङबा राखिन्छ भने हात धुने पानी पनि स-साना सोङ्लीबाट नै प्रयोग गरिन्छ । सोङलीमा पानी र पातको टपरीमा रक्सी बाँडेर खाने कामको सुरुवात गरिन्छ । पातमा ढिँडो या भात तथा बाँस या काठको कचौरा आकारको भाँडामा सिस्नु, किनिमा तथा गोरुको मासु आदि तरकारी हालेर खाइन्छ भने पातको सट्टामा चोयाबाट बुनिएको डालोमा पनि प्योग गर्न सकिन्छ । पात या काठका भाँडाहरू ढुंगेयुगको चालचलनका प्रतिक हुन् भने चोयाको डालो निरन्तर सभ्यता विकासको सूचक हो ।

खाना पकाउने तरिकाहरू पनि परम्परागत नै हुन्छ । सिस्नु तथा मासु विशेषत: माटोको भाँडामा पकाइन्छ । भात या ढिँडो चाहीँ बाँसको ढुंग्रोमा हालेर पकाइन्छ । यसरी पकाएको खानालाई कुलुङ पितितिउ भनिन्छ । तरकारी पस्काउन लोबेई (बाँसको डाडु) प्रयोग गरिन्छ । त्यसैगरी भात पस्काउन कर्चम (काठको पाता/दाबिलो) को प्रयोग गरिन्छ । आगो बाल्न अहिले प्रचलित सलाई या लाईटरको प्रयोग नगरी दुईटा ढल्सीङ ढुंगालाई एकआपसमा जुधाएर र रगडेर आगोको झिल्को निकाली झुलोमा सल्काइन्छ ।

यी सम्पूर्ण तरिका, प्रक्रियाहरू तथा भाँडाकुडाहरू एक औपचारिकता । यसले मानवीय सभ्यताको जंगली अवस्थालाई प्रतिविम्वित गर्छ । यी औपचारिकता पश्चात खानपान तथा रमझमको सुरुवात हन्छ । वन तरुल, घर तरुल, करेलाको जरा (जरेला) लगायतका फलफूल तथा जाँड, रक्सी, पुष्टकारीको बाचासी (निगार) खाएर रमाईलो गरिन्छ ।

युवा जमातले आफ्नै किसिमले थप कार्यक्रमहरू राखेर यस चाडलाई रमाइलो गरी मनाउँछन् । महाकुलुङ क्षेत्रमा तीन दिनसम्म लगातार ठूलो मेला लगाइन्छ । रोटेपिङ, लिङ्गेपिङ, चाकाचुली खेल्ने गरिन्छ । स्थानीय युवाहरू विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्दछन् भने पर्देशिएका युवाहरू गाउँ फर्किन्छन् ।

महाकुलुङ भूमिमा आफ्नो सभ्यता विकास गर्ने कुलुङ समुदाय यो भूमीको पहिलो वासिन्दा अथवा आदिवासी हुन् भन्ने एउटा प्रमाण हो चाक्चाकुर । प्रकृति तथा पितृपुजक कुलुङ समुदायले चाक्चाकुरलाई आफ्नो संस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्दै आएका छन् । चाक्चाकुर प्रकृति र पितृ पूजाको एक बलियो उदाहरण हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]