चाक्चाकुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चक्चाकुर किराँत येले सम्वतमा आधारित 'चाक्चाकुर' नेपाली विक्रम सम्वतको बैशाख तथा अङ्ग्रेजी ईश्वी संवतको जनवरी जस्तै किराँतको नयाँ वर्ष हो । यसलाई विशेष गरी किराँत समुदायका कुलुङ जातीले आफ्नो नयाँ वर्षका रुपमा धुमधामसँग मनाउदै आएका छन् । चाक्चाकुरको पुरा नाम निङदोङ फाइम मिनारी-दाचाम चाक्चाकुर' हो । निङदोङ फाइम भनेको नयाँ वर्ष फेरिनु हो र मिनारी दाचामको अर्थ आफ्नै पौरखले उब्जाएको बालीनाली खानु हो । चाक्चाकुर भनेको महिनाको नाम हो । यो विक्रम सम्वतको पौष महिनामा पर्छ ।

कसरी मनाइन्छ[सम्पादन गर्ने]

चाक्चाकुरको वास्तविक औपचारिकता त्यँहाबाट सुरु हुन्छ जहाँ कुलुङ जातिका पुरुष तथा महिला पुर्खाहरू ढुंगेयुगको अवस्था झल्काउने तामझाम सहितको स्थानमा बसेका हुन्छन् । स्याउला तथा जंगली झारपातको प्रयोग गरी बनाइएको घरभित्र स्याउला र उनिऊ ओच्छ्याएर बस्ने गरिन्छ । यस स्थललाई मानव सभ्यता विकासको प्रारम्भिक चरणमा आधुनिक हात-हतियार तथा भाँडा-कुँडा नभएको अवस्थालाई प्रतिविम्वित गर्ने किसिमले सझाइएको हुन्छ ।

सोङली (बाँसको ढुंग्रो) मा तोङबा राखिन्छ भने हात धुने पानी पनि स-साना सोङ्लीबाट नै प्रयोग गरिन्छ । सोङलीमा पानी र पातको टपरीमा रक्सी बाँडेर खाने कामको सुरुवात गरिन्छ । पातमा ढिँडो या भात तथा बाँस या काठको कचौरा आकारको भाँडामा सिस्नु, किनिमा तथा गोरुको मासु आदि तरकारी हालेर खाइन्छ भने पातको सट्टामा चोयाबाट बुनिएको डालोमा पनि प्योग गर्न सकिन्छ । पात या काठका भाँडाहरू ढुंगेयुगको चालचलनका प्रतिक हुन् भने चोयाको डालो निरन्तर सभ्यता विकासको सूचक हो ।


खाना पकाउने तरिकाहरू पनि परम्परागत नै हुन्छ । सिस्नु तथा मासु विशेषत: माटोको भाँडामा पकाइन्छ । भात या ढिँडो चाहीँ बाँसको ढुंग्रोमा हालेर पकाइन्छ । यसरी पकाएको खानालाई कुलुङ पितितिउ भनिन्छ । तरकारी पस्काउन लोबेई (बाँसको डाडु) प्रयोग गरिन्छ । त्यसैगरी भात पस्काउन कर्चम (काठको पाता/दाबिलो) को प्रयोग गरिन्छ । आगो बाल्न अहिले प्रचलित सलाई या लाईटरको प्रयोग नगरी दुईटा ढल्सीङ ढुंगालाई एकआपसमा जुधाएर र रगडेर आगोको झिल्को निकाली झुलोमा सल्काइन्छ ।

यी सम्पूर्ण तरिका, प्रक्रियाहरू तथा भाँडाकुडाहरू एक औपचारिकता । यसले मानवीय सभ्यताको जंगली अवस्थालाई प्रतिविम्वित गर्छ । यी औपचारिकता पश्चात खानपान तथा रमझमको सुरुवात हन्छ । वन तरुल, घर तरुल, करेलाको जरा (जरेला) लगायतका फलफूल तथा जाँड, रक्सी, पुष्टकारीको बाचासी (निगार) खाएर रमाईलो गरिन्छ ।

युवा जमातले आफ्नै किसिमले थप कार्यक्रमहरू राखेर यस चाडलाई रमाइलो गरी मनाउँछन् । महाकुलुङ क्षेत्रमा तीन दिनसम्म लगातार ठूलो मेला लगाइन्छ । रोटेपिङ, लिङ्गेपिङ, चाकाचुली खेल्ने गरिन्छ । स्थानीय युवाहरू विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गर्दछन् भने पर्देशिएका युवाहरू गाउँ फर्किन्छन् ।

महाकुलुङ भूमिमा आफ्नो सभ्यता विकास गर्ने कुलुङ समुदाय यो भूमीको पहिलो वासिन्दा अथवा आदिवासी हुन् भन्ने एउटा प्रमाण हो चाक्चाकुर । प्रकृति तथा पितृपुजक कुलुङ समुदायले चाक्चाकुरलाई आफ्नो संस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्दै आएका छन् । चाक्चाकुर प्रकृति र पितृ पूजाको एक बलियो उदाहरण हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]