प्रयोगकर्ता:Ksheetiz Chand/प्रयोगस्थल
नेपाली संस्कृति
[सम्पादन गर्नुहोस्]नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आराधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।
शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौं साधना गर्छन।
दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।
घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।
दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो।
महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।
दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।
गुल्मी जिल्लाकाे परिचय
[सम्पादन गर्नुहोस्]जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।
परिचय
[सम्पादन गर्नुहोस्]शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो। यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ। राजनैतिक रूपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका, १ नगरपालिका र ७५ गा.वि.स.मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ। छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ। विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाका सबै गाबिसहरूमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ। यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजीक रहेको रेसुङ्गा नगरपालिका १२ सिमिचौरमा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रूपमा अगाडी बढीरहेको छ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा, अचमेश्वर गुफा(ग्वादी-५) आदि यसै जिल्लामा रहेका छन्।
यि स्थानहरू धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रूपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो। यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ। यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ। बिभिन्न जात जातिहरूको समिश्रण रहेको यस जिल्लामा जनजातिहरूको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन। लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरूलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ।
यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरीबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरू अगाडि बढाउन लागिरहेको छ। गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक रूपमा व्यवसायिक खेतीको सम्भावना रहेको छ। नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय इतिहास बोकेको गुल्मी जिल्ला विेदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ। जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरू रहेका छन्। हालै बलेटक्सार गाबिसको वार्ड नम्बर १ स्थित सिन्दुरेको भण्डारी डाँडामा नेपालमै पहिलो कफी अनुसन्धान केन्द्रको स्थापना हुँदै छ | निकट भविस्यमै रिडीमा गुल्मी, पाल्पा र स्यांजा जोड्ने तिनमुखे पुल निर्माण हुँदै छ | गुल्मीको शान्तिपुर क्षेत्रमा यातायातको सहज र सुलभ सुबिधाको लागि रुपन्देहीको साल्झंडी - खरज्यांग -तम्घास छोटो दुरीको सडक विस्तार हुने क्रममा छ |
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ। नेपालको दोस्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरू निर्यात गर्न कुनै समस्या छैन। हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ।
धार्मिक/दर्शनिय स्थल
[सम्पादन गर्नुहोस्]प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर,परमानन्दनगर(चोरकाटे)को परमानन्द शान्ति आश्रम, जोहाङ ढावको सर्बेश्वर शिव मन्दिर, रुपाकोटको शिद्धस्थान, दिब्रुङ्गको आश्रम, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरू गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन। माघे सँक्रान्तिमा रिडिमा नेपालकै सबैभन्दा ठुलो मध्येको मेला लाग्ने गर्दछ भने रुद्रबेनी लगायतका ठाउँहरुमा गण्डकी नुहाउनेको भिड लाग्ने गर्दछ। त्यसैगरी यहाँका मन्दिरहरुमा शिवरात्री, बैशाख सक्रान्ती, जनैपुर्णिमा, श्रीकृष्णजन्माष्टमी, रामनवमी, बिजयादशमी, लगायत पर्वहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ। यहाँ धेरैजसो मन्दिरमा प्रत्येक बर्ष साउन महिनामा लघुरुद्राभिषेक कार्यक्रम संचालन गर्ने गर्दछन्।