नेपालको संस्कृति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


एक नेपाली महिलाको सन्1905को चित्रण।

नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं सदीहरूको अंतरालमा विकसित भएको हो। नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरूमा धेरै समानताहरू पाइन्छन्। वैदिक सनातन एवं प्राकृतिक धर्ममा विश्वास गर्ने नेपालीहरूले मनाउने प्रमुख पर्व दसैं हो। यो पर्व शरद ऋतु अर्थात् आश्विन शुक्ल पक्षमा पर्छ जसलाई देवी पक्ष पनि भनिन्छ। उक्त पन्ध्र दिनभित्र आदिशक्ति देवी भगवतीलाई प्रसन्न पार्न अनेकौं धार्मिक अनुष्ठान एवं पूजा-आराधना गरिन्छ। हुन त यस्ता देवी पक्षहरू वर्षमा तीनवटा पर्छन। असोजको यो कालरात्रि पर्ने देवीपक्षबाहेक कार्तिकमा सुखरात्रि तथा चैत्रमा महारात्रि पनि पर्छ। यीमध्ये आश्विन शुक्लमा पर्ने कालरात्रिलाई विशेष रूपमा मनाउने चलन छ जसअन्तर्गत बडादसैं पर्छ। यस्ता विशेष अवसरमा गरिने पूजा वा साधनाले विशेष फल दिलाउने जनविश्वास रहिआएको छ। त्यसैले दसैंका नौ दिनसम्म भगवतीको विशेष पूजाआजा गरी दसौं दिन प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने चलन छ। पूजा गरेर प्रसाद ग्रहण गर्ने क्रम पूणिर्मासम्म रहन्छ। पूणिर्माका दिन जमरा विसर्जन गरेपछि देवीको पूजा पनि समाप्त हुन्छ।

शक्तिस्वरूपा देवी भगवतीका अनेकौं स्वरूप छन। ती स्वरूपको वर्णन दुर्गा शप्तशती एवं देवीभागवतजस्ता ग्रन्थहरूमा भेटिन्छ। तीमध्ये प्रमुख रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री नाम गरेका देवीको पूजा-आराधना दसैंका नौ दिनसम्म क्रमैसँग हुन्छ। जसलाई नवदुर्गाका नामले चिनिन्छ। नवदुर्गाको पूजा गर्नाले सारा पाप नाश भै मनका चाहना पूरा हुने विश्वास गरिन्छ। यी देवीहरू समस्त प्राणीका शरीरमा माता, विद्या, लक्ष्मी, शक्ति, बुद्धि, माया, शान्ति, धृति, क्षमा, दया, निद्रा आदि स्वरूपमा विराजमान छन। दसैंका बेलामा आफूमा निहित ती शक्तिलाई प्रकट गरेर अभीष्ट पूरा गर्ने मनसायले प्रेरित भै मानिसहरूले अनेकौं साधना गर्छन।

दैवी शक्तिको आशीर्वाद पाएर विष्णुले मधुकैटभ नामक दैत्यको विनाश गरे। शक्तिकै सहायता पाएर देवताहरूले असुरमाथि विजय प्राप्त गरे। भृगु, अङ्गरिा, वशिष्ठ, विश्वामित्र, कात्यायन, जैमिनीप्रभृति ऋषिमुनिहरूले शक्तिको उपासनाबाटै सफलता प्राप्त गरे। राम, कृष्ण, युधिष्ठिर आदि पनि दुर्गा भवानीकै साधना र भक्ति गरेर महापुरुष भए। ब्रह्मा, विष्णु, महेशजस्ता त्रिदेव पनि महेश्वरीकै कृपा पाएर सृष्टि सञ्चालन गर्छन। त्यसैले देवीलाई सनातन वैदिक धर्ममा शक्तिको प्रतीक मानेर सम्मान गरिन्छ। उनको शक्तिबिना कुनै कार्य हुन सक्दैन। त्यसो भएको हुनाले मातृशक्तिका रूपमा पुजिने भगवतीको कृपा प्राप्त गर्न दसैंको अवसर पारेर उनलाई रिझाउने प्रयास गरिन्छ।

घटस्थापनाका दिनदेखि सुरु हुने दसैंको पहिलो दिन देवी स्थापना गरेर जमरा राख्ने कार्य हुन्छ । उक्त दिन व्यक्तिगत रूपमा घरैमा तथा सामुहिक रूपमा विभिन्न देवी मन्दिर एवं कोतघरहरूमा जमरा राखिन्छ। सम्पूर्ण विधि पुर्याएर जमरा राख्ने कार्यसँगै दुर्गा शप्तशतीको पाठ पनि गरिन्छ। बिहान नुहाइधुवाइ गरी शुद्ध भएर पाठपूजा गर्ने, बेलुका सधैं आरती गर्ने कार्य दसैंभरि नियमित गर्नुपर्छ। पाँचौं दिनसम्म यही क्रम जारी रहन्छ भने छैटौं दिन विल्व निमन्त्रणा अर्थात् बेलको पातले पूजा गरिन्छ। सातौं वा सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपाती भित्र्याउन केरा, दारिम, धान, हलेदो, बेलपत्र, अशोक, जयन्ती, उखु र मानेजस्ता नौवटा लहरापात एवं जातजातका फूल चाहिन्छ। अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर बलि दिने तथा होमादि गर्ने कार्य हुन्छ। त्यस दिन कसैकसैले रातभरि भजन-कीर्तन पनि गर्छन। नवमीका दिन देवीलाई बोका, कुखुरा, हाँस, परेवा, राँगा, पाठी आदि पशुबलि दिइन्छ। ब्राह्मणलाई जीवबलि शास्त्रले नै निषेध गरेको छ। त्यसैले ब्राह्मण तथा अन्य शाकाहारीले कुभिन्डो, नरिवल, उखु वा अन्य कुनै फल, पायस तथा मासको पीठोबाट पशुको आकृति बनाएर बलि दिन्छन। देवी सबैकी मातास्वरूप भएकीले बलि दिनैपर्छ भन्ने छैन। बलि दिने कार्यमा तान्त्रिक परम्पराको प्रभाव गाँसिएको छ। नेपालमा पहिले तन्त्रको ज्यादै प्रचलन भएकाले पनि हुनसक्छ, नेपाली शक्तिपीठहरूमा असंख्य पशुपन्छीको बलि चढाइन्छ। देवीलाई खुसी पार्न सात्विक भावले आफूभित्रको पाशविक प्रवृत्तिलाई बलि दिनु नै उपयुक्त हुन्छ भन्ने कुरा नबुझेर नै पशुपन्छीको घाँटी रेट्ने कार्य भैरहेको हो कि ? तसर्थ शक्ति र साधनाको पर्व दसैंलाई हिंसारहित बनाउने कार्यमा लाग्नु पनि शक्ति प्राप्त गर्ने राम्रो उपाय हुनसक्छ। यसैगरी नवमीकै दिन नवदुर्गा देवीको स्वरूप मानेर नौवटी कन्यालाई यथाशक्ति पूजा गरी भोजन, वस्त्र एवं दक्षिणा अर्पण गरिन्छ।

दशमी अर्थात् टीका लगाउने दिन आफूभन्दा ठूला मानिसका हातबाट टीका-जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ। त्रेता युगमा यसै दिन श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको प्रसङ्ग आउँछ। यसका लागि रामले नारदको उपदेशबाट नौ दिनसम्म दुर्गा देवीको आराधना गरेको र दसौं दिन रावणमाथि विजय पाएको कथा प्रचलित छ। यसरी रावणमाथि रामले विजय पाएको हुनाले यस दिनलाई विजयादशमी अर्थात् बडादसैं भनिएको हो।

महाकाली, महालक्ष्मी एवं महासरस्वतीको पूजा-आराधना गरेर जन्मजन्मान्तरका लागि शक्ति आर्जन गर्न सकिने सद्विश्वासकै कारण शक्ति र साधनाको पर्व दसैं मनाउन थालिएको हो। सबै शक्तिपीठमा प्रतिपदादेखि देवीको पूजा हुने भए पनि कुनै कुनैमा दशमीका दिन र त्यसपछि क्रमिक रूपमा कोजाग्रत पूणिर्माका दिनसम्म विसर्जन गर्ने परम्परा छ। अधिराज्यका कतिपय भागमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन देखिए पनि कतै-कतै आफ्नो परम्पराअनुसार दशमीदेखि पूणिर्मासम्म टीका लगाउने चलन छ।

दसैं विशेष गरी नारी जातिको महिमा गाइने पर्व हो। 'यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् मानव सभ्यताको सुरूदेखि नै जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् भन्दै आएको सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रूपमा आदर गर्दै आएको छ। महिषासुर, शुम्भ-निशुम्भ, रक्तबीज, चण्डमुण्डजस्ता असुरहरूलाई ठेगान लगाउन देवताहरू नारीशक्तिकै आश्रयमा गएको देखिन्छ। नारीबिनाको पुरुष अधूरो हुने भएकाले नारी शक्तिको उपासना गर्नुपर्छ भन्ने भावना जगाउन अहम् भूमिका निर्वाह गर्ने दसैंलाई आफ्नो शक्तिअनुसार मनाउनु उपयुक्त हुन्छ।[१]

हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. 3000+ नेपाली GK 2015