सूर्यप्रसाद उपाध्याय
सूर्यप्रसाद उपाध्याय | |
---|---|
गृहमन्त्री | |
व्यक्तिगत विवरण | |
जन्म | सूर्यप्रसाद ढुंगेल १९७० |
मृत्यु | २०४१ काठमाण्डौं |
राजनीतिक दल | नेपाली काँग्रेस |
सूर्य प्रसाद उपाध्याय (वि.सं.१९७०-२०४१) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपाली कांग्रेस पार्टीका एक प्रमुख नेता थिए। २००८ देखि ३६ सम्मको अवधिमा नेपाली कांग्रेसका प्रमुख चार व्यक्तिहरूमा वीपी, सुवर्ण सम्शेर र गणेशमान सिंह सँगै यिनी पनि थिए।
१९७० वैशाख १९ मा काठमाडौँ भाटभटेनीमा जन्मिएका सूर्यप्रसादले दरबार हाइस्कुलबाट मेटि्रक र पटनाबाट एम (इतिहास), बीएल तथा बीटी गरेका थिए। [१] अत्यन्तै अध्ययनशील रहने यिनलाई देशभरका घटना परिघटनाको अध्यावधिक जानकारी रहन्थ्यो।
सूर्यप्रसादले २००६ चैत २७ मा नेपाली राष्ट्रिय कांग्रेससँग एकीकरण गरी नेपाली कांग्रेस स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए। २००७ सालको जनक्रान्तिमा 'जनकमान्डर' भई काम गरेका उनलाई राजा-कांग्रेस संयुक्त मन्त्रीमण्डलमा २००८ जेठ १७ मा मन्त्री बनाइएको थियो। २००८ मंसिर १ मा गठित नेपाली कांग्रेसको मन्त्रीमण्डलमा प्रधानमन्त्री पछि दोस्रो स्थानमा मन्त्री बनाइएका उनले २०१४ सालमा पार्टी महामन्त्री भएपछि २०१५ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ र १४ नं. रामेछापबाट चुनाव लडे तर पराजित भए। यद्यपि उनलाई बीपी कोइरालाको सरकारमा गृह, कानुन तथा संसदीय व्यवस्था मन्त्री बनाइयो। [१]
२०१७ पुस १ मा महेन्द्रले आफ्नो हातमा शासन लिएपछि जेल परेका उनी २०१८ साउन ३२ मा जेलमुक्त भएका थिए।
जेलमुक्त भएपछि पनि जेल परेका साथीलाई छुटाउने, भारतमा निर्वासित जीवन बिताइरहेका सहयोगीलाई देश भित्र ल्याउन राजालाई विश्वास दिलाउन प्रयत्न गर्ने, भारत र राजसँग 'प्रजातन्त्र' पुनः बहाली गर्न वातावरण बनाउने काममा उनी लागेको पाइन्छ।
विश्वेश्वरप्रसाद कोइराला र उनका बीच केही शंका उब्जिएको एक प्रमुख कारण उनी पहिले नै जेलबाट बाहिर आउनु थियो। उनी पहिले छुट्ने कारणमध्ये उनको र सूवर्ण शमशेरको पुरानो पृष्ठभूमि र नरम राजनीतिक संस्कार हो। [२]
सूर्यप्रसादको सम्बन्ध नेहरू परिवासँग बढी भएको, जवाहरलाल र इन्दिरा गान्धी दुवैले सूर्यप्रसादलाई प्राथमिकता दिने गरेकाले पनि दुवै बीचको सम्बन्धमा सात सालदेखि नै एकअर्काबीच शंका र ईष्र्याले काम गरेको पाइन्छ। नेहरूले बीपीलाई अलिक उग्रखालको भन्ने ठानी २००७ सालको राणा कांग्रेसको संयुक्त सरकार ढलेपछि मातृकालाई प्रधानमन्त्री बनाउन राजा त्रिभुवनलाई चार पानाको चिठी लेखेका थिए।[२]
सूर्यप्रसादका विचारमा प्रजातन्त्रको लडाइँ देश भित्रैबाट हुनुपर्छ भन्ने थियो जसलाई पछि कृष्णप्रसाद भट्टराईले र महेन्द्रनारायण निधिले पनि अवलम्बन गरेका थिए।
वि. सं. २०४१ साउन १५ गते नयाँ दिल्लीमा उपचारकै क्रममा उनको निधन भयो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ राजनीतिका चाणक्य नागरिक न्यूज
- ↑ २.० २.१ सूर्यप्रसाद उपाध्याय र लोकतन्त्र: लोकराज बराल वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति इ-कान्तिपुर