अनलाइन पत्रिका
अनलाइन पत्रकारिताको पृष्ठभूमि
छापा, रेडियो, टिभी जस्तै पत्रकारिताको नयाँ विधाको रूपमा अनलाईन पत्रकारिता स्थापित भएको छ । अनलाईन पत्रकारिता कम्प्युटर आधारित सञ्चार (कम्प्युटर मेडिएटेड कम्युनिकेसन) सिद्धान्तमा आधारित हुन्छ । विश्वमा इन्टरनेट विकास सन् ७०को दशकको आरम्भतिर भए पनि त्यसले सन् ९० पछि मात्रै व्यापकता पाउन थालेको हो भने नेपालमा कम्प्युटर सन् १९७०को दशकमा भित्रिए पनि सन् ९० दशकदेखि मात्रै व्यापकता पाउन थालेको हो । इन्टरनेटको विकासले संसारलाई एउटै गाउँमा सीमित गर्न थालेपछि यसको माध्यमबाट पत्रकारिता पनि सम्भव छ भन्ने अवधारणा अघि आए । यही अवधारणा अनुसार सन् १९९२मा अमेरिकाको ‘सिकागो ट्रिब्युन’ पहिलो पटक अनलाईन पत्रकारितामा प्रवेश गर्यो । यसले सुरुका अवस्थामा समाचारपत्र मै छापिएका सामग्रीहरूको डिजिटल स्वरुप अमेरिका अनलाईनको होमपेजमार्फत् अनलाईनमा राख्ने गथ्र्यो । नेपालमा सन् १९९४मा इन्टरनेट भित्रियो । सन् १९९५मा मर्कन्टायलको व्यापारिक वेबसाइट धधध।कयगतज(बकष्ब।अयmमा दक्षिण एसिया मै पहिलो पटक अङ्ग्रेजी दैनिक ‘दि काठमाडौँ पोष्ट’ अनलाईनमा गयो । सिकागो ट्रिब्युनले जस्तै यसले पनि पत्रिकामा प्रकाशित सामग्रीहरूलाई नै अनलाईनमा राखेको थियो ।
परिचय
समाचार सामग्री उत्पादन गरी इन्टरनेटमार्फत् वितरण गर्नुलाई अनलाईन पत्रकारिता भनिन्छ । यसभित्र पत्रिकाको जस्तो शब्द—चित्र सामग्री, रेडियोको जस्तो श्रव्य सामग्री र टेलिभिजनको जस्तो श्रव्य—दृश्य सहितको सामग्री समेत पर्दछन् । सुरुमा अनलाईन पत्रकारिता समाचारपत्र कै अनलाईन संस्करण जस्तो गरी मात्र आएका थिए । तर, यसको विकासक्रमसँगै पत्रकारिताको एक अलग्गै विधाका रूपमा यसकै लागि भनी समाचार सामग्री उत्पादन गरी इन्टरनेट मार्फत् सम्प्रेषण गर्न थालियो । अनलाईन पत्रकारिताका दर्शकले सामान्यतया निःशुल्क वल्र्ड वाइड वेबमार्फत् इन्टरनेटमा रहेको समाचार सामग्री हेर्ने, पढ्ने वा सुन्ने गर्छ ।
नयाँ मिडियाको रुपमा अनलाइन पत्रकारिता
सञ्चार वातावरण परिवर्तनशील छ । त्यसैले अहिलेका ‘पुराना’ मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । अहिलेको २१ औँ शताब्दीमा डिजिटल कन्भरजेन्स , व्यक्तिगत प्रयोजनका लागि कम्प्युटरको बढ्दो प्रयोग र विश्वव्यापी नेटवर्किङका कारण सञ्चार वातावरणमा क्रान्तिकारी परिवर्तन भएको छ । गैर नाफामुखी अन्तरसञ्चारको रूपमा र व्यावसायिकहरुबीच तथ्यांक आदानप्रदानका लागि सुरुवात भएको इन्टरनेटको प्रयोग सँधै आमसञ्चार हुँदैन । तर अनलाईनमार्फत् वितरण हुने समाचारलाई अखबारी पत्रकारिता कै विस्तारित रुप हो भनी स्वीकारिएको छ । नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढेको हुनाले अनलाईन पत्रकारिता अखबार, रेडियो र टेलिभिजनभन्दा नयाँ मिडियाका रूपमा अघि बढेको छ ।
नयाँ मिडिया नयाँ भएको कारणले यसको ग्रहण तथा प्रभावबारे विस्तृत अध्ययन भइसकेका छैनन् । तर २१ औँ शताब्दीको सुरुवाती वर्षहरूमा भएका अभ्यासहरूलाई नियाल्दा नयाँ मिडियाको अंगका रूपमा अनलाईन पत्रकारिताका निम्नलिखित विशेषताहरु निक्र्यौल गर्न सकिन्छ :
– क्लिक प्रविधिबाट वितरण
– छापा र प्रसारण मोडलका माध्यमहरूको सीमितता चिर्छ
– तत्काल विश्वव्यापी पहुँच
– अन्तक्र्रियाको सम्भावना
– विस्थानीयकरण
– नियमनको डिग्री न्यून
अनलाइन पत्रकारिता
अभ्यास इन्टरनेटले सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषणको एउटा नयाँ बाटो पहिल्याइदिएको छ । हाल विश्वमा अनलाईन पत्रकारिता मुख्यतया दुई किसिमबाट सञ्चालनमा आएको देखिन्छ ।
– इन्टरनेट कन्द्रित भएर सूचना सम्प्रेषण गर्ने
– इन्टरनेटलाई सहायक विधाको रूपमा उपयोग गर्ने
– छापा, रेडियो र टिभीको अनलाईन उपस्थिति मात्र
– अनलाईनलाई स्वायत्तता दिइएका मिडिया
अनलाईन पत्रकारिताको विषयवस्तु परम्परागत मिडियाको जस्तो कुनै भौगोलिक सीमामा बाँधिदैनन् । यसका दर्शकहरु पनि सीमा विहीन हुन्छन् । तत्काल सहज सञ्चार गर्न सक्ने अनलाईनको विशेषता यसलाई लोकप्रिय बनाउने मुख्य लिङ्कहरूमध्ये एउटा हो । (जस्तै : नेपालमा सन् २००१मा राजदरबार हत्याकाण्ड हुँदा अरु किसिमका मिडियाले भोलिपल्ट बिहान मात्र समाचार दिए भने नेपालन्युजडटकमले भने घटना भएको केही घण्टापछि नै समाचार दिइसकेको थियो ।)
टेलिभिजन, रेडियो जस्ता परम्परागत पत्रकारितामा एक पल्ट बजिसकेको सामग्री माथि दर्शकको पुनः पहुँच संभव हुँदैन । तर अनलाईन पत्रकारिता त्यो बन्धनबाट मुक्त हुन्छ । अनलाईन पत्रकारितामा छापिएका सामग्री ‘आर्काइभ’को रूपमा इन्टरनेटमा खुला पुस्तकालयमा जस्तै प्रक्रिया पुराए सहजै खोज्न सकिन्छ । त्यसै गरी अनलाईन पत्रकारितामा सम्बन्धित सामग्रीको लिंक दिएर आफ्नो खबरलाई थप वजनदार गराउन सकिन्छ जुन परम्परागत मिडियामा सम्भव छैन ।
अनलाईन पत्रकारहरूले उपभोग गर्ने स्वतन्त्रता स्थानीय राज्यहरूले निर्धारण गरे अनुसार फरक फरक हुने गरेको छ । अमेरिकाका अधिकांश राज्यहरूमा वेबमा मात्र प्रकाशन हुने पत्रिकाका पत्रकारलाई परम्परागत मिडिया वा प्रसारण पत्रकारलाई जस्तो स्वतन्त्रता हुँदैन । तर नेपालको अन्तरिम संविधान, २०६३को धारा १५को उपधारा (२) ले अनलाईन पत्रकारितालाई पनि पत्रकारिताकै एक विधाको रूपमा वैधानिकता दिँदै स्वतन्त्रताको प्रत्याभूति गरेको छ । अन्तरिम संविधान जारी हुनु पूर्व नेपालमा अनलाईन पत्रकारितालाई कानुनी रूपमा कतै पनि व्याख्या गरिएको थिएन ।
अनलाइन पत्रकारिताको प्रविधि
अनलाईन पत्रकारिताका लागि प्रविधिको उच्च उपयोग एउटा सामान्य मापदण्ड हो । लेख्नु मात्र अनलाईनमा सबैथोक हैन । कुनै घटनास्थल पुग्दा अनलाईन पत्रकारसँग ल्यापटप, वायरलेस इन्टरनेट, स्टिल र भिडियो क्यामेरा, माइक, डिजिटल रेकर्डर आदि हुनु सामान्य कुरा हो जुन कि अरु मिडियामा काम गर्ने पत्रकारहरुका लागि विलासिता वा झन्झटिला विषय हुनसक्छन् । (जस्तैः इन्टरनेट पोर्टल याहूको हट जोनका लागि काम गर्ने अमेरिकी पत्रकार केभिन साइट्सले विश्वभरका दन्दग्रस्त क्षेत्रहरूबाट रिपोर्टिङ गरिरहेका छन् । आफूले बोकेको ल्यापटपबाट उनी शब्द टाइप गर्छन्, भिडियो र फोटो अपलोड गर्दै छापा, टेलिभिजन दुवै खाले पत्रकारहरूले गर्ने काम एक्लैले गर्छन् । अनलाईन पत्रकारिताले सोजोको अवधारणा पनि विकास गरेको छ । यसलाई ब्याकप्याक पत्रकारिता पनि भनिन्छ । अनलाईन पत्रकारले कसरी लेख्ने, भिडियो खिच्ने र फोटो खिच्ने जानेर मात्र पुग्दैन त्यसलाई अनलाईनमा कसरी पोस्ट गर्ने वा अपलोड गर्ने भन्ने प्राविधिक ज्ञान पनि हुनुपर्छ । अनलाईन पत्रकारले नयाँ मिडियाका साधन प्रयोग गरी तथ्यपूर्ण समाचार तुरुन्त लेख्नसक्ने क्षमता राख्नुपर्दछ ।
एउटा टेलिभिजन र रेडियो स्टेसन खोल्न करोडौँको लगानी आवश्यक हुन्छ । तर, अनलाईन पत्रकारितामा युस्ट्रिम , मोगुलस जस्ता साइटहरूबाट घरेलु प्रयोजनमा आउने सामान्य ह्यान्डीक्यामहरूबाट समेत अनलाईन टेलिभिजन कार्यक्रम सञ्चालन गरी प्रत्यक्ष प्रसारण समेत गर्न सकिन्छ । युट्युब, भिमेओ जस्ता साइटहरूबाट भिडियो प्रसारणको सुविधा यो शताब्दीका सुरुवाती वर्षहरू देखि नै पाइएता पनि हाल आएर सहज रूपमा निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने सुविधा समेत उपलब्ध हुन थालेको छ । (जस्तैः माइसंसारडटकमले सन् २००८मा यसै प्रविधिको उपयोग गर्दै संविधानसभाले गणतन्त्र घोषणा गरेको दृश्य र पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्नुअघि नारायणहिटी राजदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनको दृश्य प्रत्यक्ष प्रसारण गरेको थियो ।) यसैगरी पडकास्टमार्फत् सस्तोमा व्यक्तिगत प्रयास मै पनि रेडियो कार्यक्रम प्रसारण गर्न सकिन्छ । यसरी अनलाईन पत्रकारिताले पैसा भएकाहरूको हातमा मात्र हुने परम्परागत मिडियाको शक्तिलाई विकेन्द्रिकरण गरी प्रविधि जानेका जोसुकैको पहुँचमा ल्याइदिएको छ ।
क्राउन्ड सोसिङ
क्राउडसोर्सिङ अनलाईन पत्रकारितामा देखा परेको नयाँ टे«न्ड हो । यसमा सामूहिक प्रयासमा रिपोर्टिङ गरिन्छ । प्रत्येक सहभागीले आफै अनुसन्धान गरी समाचारको पूर्ण रूपको एक भागमा योगदान गरेको हुन्छ । मौलिक समाचार यसमा कुनै एक व्यक्तिले मात्र नलेखेको पनि हुनसक्छ । सामान्यतया क्राउडसोर्सिङमा एक केन्द्रिकृत सम्पादकले सामग्रीको अनुगमन गरिरहेको हुन्छ । व्यावसायिक पत्रकार र गैर व्यावसायिक पत्रकार दुवै थरिका व्यक्तिको संयुक्त योगदान हुने भएकाले क्राउडसोर्सिङलाई ‘प्रो एम’ पत्रकारिता पनि भन्ने गरिन्छ । (जस्तैः अमेरिकाबाट सञ्चालन हुने असाइन्मेन्टजेरो डट कम, नाउपब्लिक डट कम, रुसबाट सञ्चालन हुने रियलनो डट इन्फो, युक्रेनको हाइवे डट कम, पोल्यान्डबाट सञ्चालन हुने वियाडोमोस्सी२४ डट पीएल एस्टोनियाबाट संञ्चालन हुने माइनट डट इइ आदि ।) रिपोर्टिङ प्रक्रियालाई पारदर्शी गर्दै मूलधारे मिडियाले छुटाएका घटनाको गहन रिपोर्टिङ यसमा संभव भए पनि गैर पत्रकारबाट घटनाको वर्णन हुँदा हुनसक्ने जोखिम र पूर्वाग्रहको मिश्रणप्रति सावधान हुनु जरुरी छ । नेपालमा यस्तो अभ्यास भइसकेको छैन ।
अन्तरक्रिया
आम सञ्चारका साधनहरूको एकोहोरो, सीमित सञ्चारप्रति सञ्चारविद्हरूले असन्तुष्टि देखाउँदै आएका छन् । सञ्चार सिद्धान्तकारहरु B. Brecht, W. Benjamin, / H. M. Enzensberger ले आमसञ्चारको आफ्नो स्वार्थ अनुसार चतुराइपूर्वक प्रभाव पारिएको (mबलष्उगबितभ) वा व्यावसायिकरण गरिएका सामग्रीको मानिसहरु निस्क्रिय उपभोक्ता बन्दै गएकोमा चासो व्यक्त गरेका छन् । परम्परागत मिडियामा रहेका यस्तो अन्तरक्रियाको अभावलाई अनलाईन पत्रकारिताले पूरा गर्छ । यसमा दर्शकको प्रतिक्रिया तत्काल प्राप्त हुनसक्छ । सञ्चारविद् डेनिस म्याकवेलका सञ्चारका चार मोडल मध्ये परम्परागत मिडियाहरु टान्समिसन मोडलबाट सञ्चालन भइरहेका हुन्छन् भने अनलाईन पत्रकारितामा रिसेप्सन मोडल लागू हुन सक्छ । परम्परागत मिडियाले दिने भाषण शैलिको ढाँचाभन्दा फरक यसले पाठकहरुसित दोहोरो कुराकानीको सुविधा उपलब्ध गराउँछ । यद्यपि, अनलाईन पत्रकारितामा रहेको यो विशेषतालाई कसरी र कुन किसिमले उपयोग गर्ने भन्ने कुराको निक्र्यौल सञ्चार संस्था आफैले गर्छ । नेपालमा बिस्तारै अन्तरक्रियाको महत्त्व अनलाईनहरूले बुझ्दै गएका छन् ।
समस्या
अनलाईन पत्रकारितामा विद्यमान समस्यालाई छोटकरीमा यसरी हेर्न सकिन्छः
–विकासोन्मुख देशमा साक्षर र कम्प्युटर साक्षरताको कमी
–विकासोन्मुख देशहरूमा इन्टरनेटको पहुँचमा कमि र कम गतिको इन्टरनेट
–निरंकुश र नियन्त्रित प्रजातन्त्र भएका देशमा नियन्त्रणको प्रयास
–गैर व्यावसायिक पत्रकारहरु समाचार स्रोतमात्र नभई समाचार लेखनमा अग्रसर हुने हुँदा तिनीहरूले पत्रकारिताको मूल्य मान्यतालाई चुनौति दिने खतरा
–गैर व्यावसायिक पत्रकारहरूको सूचनालाई पुष्टि गर्न गाह्रो हुने, पूर्वाग्रह हुनसक्ने
–जोसुकैले समाचार राख्न सक्ने हुँदा विश्वसनीयताको प्रश्न उठ्न सक्छ
निष्कर्ष
परम्परागत सञ्चार माध्यमका सबै विशेषता समेटिएको नयाँ सञ्चार माध्यमका रूपमा अनलाईन पत्रकारिता उदाएको छ । परम्परागत मिडियाका कमी कमजोरीहरूलाई हटाउँदै आम सञ्चारलाई अझै प्रभावकारी बनाउने काम अनलाईन पत्रकारिताले गर्छ । अनलाईन पत्रकारितामा देखा परेका नयाँ ट्रेन्डहरु जस्तै सहभागितामूलक पत्रकारिता, क्राउडसोर्सिङ, नागरिक पत्रकारिता हाल प्रारम्भिक अभ्यास कै क्रममा रहेको हुँदा यसका प्रभाव र उपादेयताबारे विस्तृत अध्ययनहरु हुन बाँकी नै छन् । परम्परागत पत्रकारिताका पक्षधरहरूले यसलाई प्रतिद्वन्द्वीका रूपमा नलिई सहयोगीका रूपमा लिनुपर्छ । गैर व्यावसायिक पत्रकारहरूले पत्रकारिताको मूल्य मान्यतालाई ध्वस्त पार्न लागे भनेर चिन्ता गर्नुभन्दा पनि व्यावसायिक र गैर व्यावसायिक पत्रकारहरूले हातमा हात मिलाएर सञ्चारलाई प्रभावकारी बनाउन सक्छन् । गैर व्यावसायिक पत्रकारहरूको प्राथमिक सूचनालाई विभिन्न स्रोतहरूबाट पुष्टि गर्दै पूर्ण समाचारको रुप दिन व्यावसायिक पत्रकार अग्रसर हुनुपर्छ । विकसित देशहरूमा भइरहेका यस्ता अभ्यासहरूलाई विकासोन्मुख देशहरूमा स्रोत साधनको कमी लगायतका विभिन्न कारणले जस्ताको तस्तै लागू गर्न नसकिएला, तथापि यसका असल पक्षहरूको समुचित प्रयोगले विकासमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।
