सामग्रीमा जानुहोस्

गौरी (शोककाव्य)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गौरी
लेखकमाधवप्रसाद घिमिरे
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विषयकविता
प्रकारशोककाव्य
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि. सं २०१५ साल
पृष्ठ३३ पृष्ठ
आइएसबिएन९७८९९९९९२०५०१ Parameter error in {{isbnt}}: Invalid ISBN.

गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन् ।

के लेख्नु मैले पऱ्यो !

[सम्पादन गर्नुहोस्]
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !


मेरीलाई म देख्छु झल्झल त्यहीँ , टाँसिन्न यो पत्रमा
मेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमा
यो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनि
छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि


मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमा
बोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमा
लैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनी
आउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि


मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौ
आमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौ
आफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियो
के थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो


सम्झी ल्याउँछु– आज छैन रिस क्यै, गाली गरेहूँ किन
जाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किन
आफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयो
के सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो


आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनि
छन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनि
केही छैन उपाय, खालि कमलो छाती लिएको कवि
टाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि


यौटा मानिस जो गयो–हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो–हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !


क्वै भन्लान्– शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमा
क्वै भन्लान्– यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमा
बाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अब
ती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब


कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ है
सम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ है
खोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनि
सम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी

हे नारायण के भयो !

[सम्पादन गर्नुहोस्]
पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा
निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा
फारी बादल शैलको शिखरमा तारा उदाइन् अब
आई विष्णुमती–पवित्र तटमा मेरी निदाइन् अब


कस्तो शान्ति छ – रातको त पहरा रातै घुसेको सरि
रोकि श्वास मसानमा छ शिवको छाया बसेको सरि
गङ्गा खालि सुसाउँछिन् बगरमा नाना बिलौना गरी
टाढा रोइरहेछ एक बटुवा साथी छुटेको सरि


मान्छे हो, अहिल्यै अमङ्गल अहो ! भन्छौ मलाई किन
यै कालो निशिमा छिपाइ मुख यो देओ मलाई रुन
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो !


बेहानीपख जो उठेर बटुवा चल्छन्, तिमी चल्दिनौ
यत्रो खल्बलपूर्ण भूमितलमा खाली तिमी बोल्दिनौ
धारामा जल जो भरेर युवती हाँस्छन् तिमी हाँस्तिनौ
तिम्रै मात्र भयो र के ? सब जना बाँच्छन् तिमी बाँच्दिनौ


हे गौरी ! अब हेर्दिनौ हकि तिमी ब्यूँझी उज्यालो दिन
मैले देख्नुपर्यो नि आज भुइँमा मेरी नभा’को दिन
बाँचेरै यतिसम्म, एक छिनमै के जिन्दगी सिद्धियो
मेला आज उठ्यो विशाल उनका लेखा जगत् सिद्धियो


तिम्रो अन्तिमको शिँगार सँगिनी ! कात्रो कसोरी भनूँ
तिम्रो निम्ति दिइन्छ पात्र जुन त्यो ‘टीलो’ कसोरी भनूँ
गाली होइन, किन्तु भन्नु कसरी यो अन्न बुर्की भनी
मुर्दानीर्, कसरी भनूँ, जुन तिमी मेरी थियौ जीवनी


यत्रो लोक कहाँ गयो, जब तिमी एक्लै गयौ घाटमा
चिम्ल्यौ लोचन अन्धकारबिचमा आषाढको रातमा
के भो लोक चिनेर, फेरि ममता मेरो लिएरै पनि
हा अज्ञान, अभाव, भूलहरूमा तिम्रो गयो जीवनी !


अउन्नन् अब हे नहेर, चुचुरा ! गौरी पखेरामनि
गाउन्नन् अब गाउँका युवति हो ! गौरी छहारीमनि
बर्सी जा र पहाडमा खबर यो लैजा रुँदै बादल
घर्पेटी ! अब शान्तिलाई भनिद्यौ– आमा गइन् मावल!

यौटा सत्य कथा म भन्छु !

[सम्पादन गर्नुहोस्]
यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर
मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर
छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर
मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर


मस्र्याङ्गदीतटमा हिमालमनि त्यो संसार सानो थियो
उब्जाईकन खानु बाहुबलले त्यै एक मानो थियो
जोडी ढुक्कुर ती पहाडवनका छाडी घना छाहरी
लागे जागिर खान कान्तिपुरमा आएर डेरा गरी


जोधा हिट्लर रुण्डमुण्ड कटिमा बाँधेर जो नाच्तथ्यो
नौलो प्यार बसेर कान्तिपुरको सन्भुयालमा हाँस्तथ्यो
लाखौँ खल्बलदेखि दूर दिलको संसार आपुनै थियो
केही दुःख थियो परन्तु त्यसमा स्वीकार आपुनै थियो


बेहानीपख सूर्यले शिखरमा सिन्दूर हालेसिर
आधारात सितारमा हृदयको आलाप थालेसिर
पैलो पीर्ति छ – फर्किएर दिलमा संसार बिर्सेसरि
धर्तीमै अमरावती शहरको आनन्द सिर्जेसिर


खोज्थ्यो प्रीतम भन्न भन्न 'कतिकी राम्री तिमी' भनी
लोलिन्थ्ो तर मुस्कुराइ उसका आँखा उज्याला बनी
'माया लाग्छु' भनूँ भनूँ सरि थिइन् लज्जावती ती पिन
आनन्दी व्यवहारमै हृदयका बोल्थे हजारौंँ ध्वनि


लागेथ्यो अपराध भैष हृदयमा आमा र बा बिर्सिई
चाहेथे कति बार जान हरिया पाहाडमै फर्किई
नीला बादल उठ्तथे विरहको छाया उतारीकन
वर्षा तीन बिते परन्तु कहिल्यै सत्तैुनथे छुट्टिन


छोरी भेट्न भनेर कान्तिपुरमा आमा स्वयं आइथिन्
हुङ्कारीकन कामधेनु वनको बाटो गरी आइथिन्
सम्झी तीज तिहार भाइ बहिनी पहाडका छहारी
निस्किन् प्रीतमको निमित्त घरमा राखेर पानी भरी


सारा विष्णुमती पुगेर अडिए क्यै बेर आँसू पिई
बाबाको बुइमा चढेर दुइकी बच्ची उज्याली थिई
आँसूदार मुहार हेर्न नसकी प्यारा रुँदै फर्किए
टुक्री बादल चैतको पवनले दोटै दिशा बर्सिए


त्यो राती त्यसको थियो हृदयमा पहाड राखेसरि
एकै पर्वतपारबाट पि्रयले रोएर डाकेसरि
दुःखी जीवन यो गरीब जनको जुट्तैन केही पनि
पीठै खानु मिठो बसेर सँगमा- फर्के नि हुन्थ्यो उनी


ओहो ! भोलि बिहान कान्तिपुरमा फर्किन् नभन्दै उनी
'बा जानी' भनि नानि रातभर नै रोईरही रे भनी
नारी धन्य तिमी ! भुलेर दुनियाँ यै द्वारमा फर्किने
आफैँलाई पनि मिटाइ प्रियको यै प्यारमा अर्पिने


लाग्यो रे उनलाई आज सँगिनी सम्पूर्ण नौलीसिर
उषा आदिम प्रातदेखि अहिलेसम्मन् सुनौलोसिर
रानी ! त्यो दिन फर्कियौ किन भनी सोधेन कैल्यै पिन
हुन्छिन् सुन्दर जूनमा हिमचुली अस्पष्ट जस्तै बनी


छाडीद्युँ कि यहीँ अगाडि कसरी मैले भनूँ यो कथा
हे दुःखी कवि ! पोखिदे हृदयको सम्पूर्ण आपुनै व्यथा
यो दुःखान्त कथा सुनेर गहमा आँसू लिई भाग हे
फेरि जीवन पाइँदैन प्रियको सामू क्षमा माग हे


हेर्नू विष्णुमती पुगेर बटुवा ! कालो त्यहीँ बालुवा
लप्कावाल बल्यो चितानल जलिन् पाहाडकी पालुवा
चोला त्यो जलमा मिल्यो गगनमा ज्वाला मिल्यो झल्झल
पोखी आँसु पखालिँदैन कहिल्यै मेरो डढेको दिल


बिर्सी बिर्सिसकिन्न

[सम्पादन गर्नुहोस्]
लीला माइतका भुलेर घरका धन्दा तिमीले गऱ्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गऱ्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


‘ख्वै छोरीहरु छन् कता, म त गएँ, ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


गथ्र्यौँ दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा
भन्थ्यौ– मैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !
साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन
तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन
राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ


तिम्रो रुप र माधुरी धमिलिँदै जाला कुनै कालमा
जानेछन् अनि बिर्सँदै गुन पनि यो बैगुनी विश्वमा
बिर्सि बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

लाउ अञ्जुलि तीन बार जलको

[सम्पादन गर्नुहोस्]
सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर


बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोडिद्यौ


छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर, निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल, झार भुइँमै धूलो र मैलो जति
जाऊ सुन्दर शान्त देश, पुतली ! हे ज्योतिकी सन्तति!


लाऊ अञ्जुलि तीन बार जलको, खाएर जाऊ सखी !
यौटा फूल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिर्सेर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !


आऊन् पुष्पविमान पुण्यबलले निस्केर आकाशमा
हाँसी क्यै वरदान द्यौ रहरको, जाऊ सखी ! बैँसमा
लैजाओ अमरावती शहरमा हे स्वर्गका देवता !
ताराका सँग हाँस है, अब तिमी नौ लाखमा एउटा


हाँस्यौ, प्यार गर्यौ, बिगार गरिनौ कैल्यै कसैको यहाँ
यो चारै दिनमा पनि गरिसक्यौ जो गर्नुपर्ने यहाँ
केही बाँँकी भए म गर्छु सँगिनी ! ज्यूँदै छु आधा अब
तिम्रो खेल समाप्त भो सब, तिमी विश्राम लेऊ अब


मट्टीलाई फुकेर प्राण बिउँझ्यौ हे फूलकी वासना !
हाँस्यौ घाम र जूनको मनि यहाँ हे स्वर्गकी सिर्जना !
देवी ! जोबनमै गयौ, मलिन यो मट्टी बिसाईकन
हाम्रै जीत छ प्यार चार दिनको पायौ महापावन


टाढा निर्मल मौन शान्त गहिरो आनन्दले दीपित
तिम्रो शाश्वत धामभित्र भवको पर्दा खसाली सुत
एकै बार जहाँ सुतेर कहिल्यै पर्दैन है ब्यूँझन
बल्छन् बाहिर जून्किरीसित जहाँ नौलाख तारागण

मेरी लच्छिनकी जहान !

[सम्पादन गर्नुहोस्]
कोठामा कसरी पसूँ, नजरकी शृङ्गार छैनौ तिमी
यत्रो शोक कहूँ कहाँ, हृदयकी आधार छैनौ तिमी
कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी
ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी


मेरी लच्छिनकी जहान ! घरमा बल्दैन बत्ती अब
बत्तीनेर मुहार चारु भरिलो पर्दैन देखा अब
सन्तोषी मुखमा सुखी हृदयको झल्किन्न माया पनि
भित्तातर्फ कपालको गुजमुजे पर्दैन छाया पनि


मैले यो परदेशमा घर त्यसै बिर्सीसकेको थिएँ
आमाको टुहुरो थिएँ, प्रिय सखी पाईसकेको थिएँ
मेरा सुन्दर शान्ति, कान्ति सुघरी, डेरा थियो यो कुटी
हे सन्तोष गरिबकी ! गइसक्यौ मेरी तपस्या उठी


कल्ले लिन्छ र गुप्त गर्व मनमा, मैले गरुँ पौरख
कल्लाई सुखिनी बनाउन भनी मैले उठाऊँ दुख
कल्लाई सँगमा लिएर अब यो सारा गृहस्थी गरुँ
छातीमा प्रतिमा लिएर उनकै बाँचूँ कि यद्वा मरुँ


मेरो मान बचाउँथ्यौ बरु तिमी आफू नजाती बनी
दिन्थ्यौ खान मलाई रे कति कुरा आफू नखाई पनि
राख्यौ क्या सुखमा मलाई, दुखमा आफू रहेरै पनि
राख्यौ मैँ कमजोरलाई, बलियी आफू गएरै पनि


मेरो रोक्दछ व्यर्थ खर्च कसले, को लिन्छ साँचो अब
खाँचो टार्दछ मुस्कुराइ कसले साँचोमुचोले अब
मेरो इज्जत उघ्रियो, तनु चुँड्यो, उम्टन्छ कल्ले अब
लापर्वाह मलाई गर्छ गहिरो पर्वाह कल्ले अब


कोठाका सब मालतालहरूमा तिम्रो कला बोल्दथ्यो
मेरो भावुक काव्यको लहरमा तिम्रो गला बोल्दथ्यो
तिम्रो यो घरकाज विश्वभरको दृष्टान्त मेरो थियो
जो गथ्र्यौ सजिलै तिमी, असजिलो सिद्धान्त मेरो थियो


तिम्रो आकुल केशवेश, घरको सौन्दर्य मेरो थियो
तिम्रो निर्मल चालमाल, मनको माधुर्य मेरो थियो
तिम्रो सोचविचार दुःखसुखको चातुर्य मेरो थियो
तिम्रो त्याग घरै थियो, पर त्यही औदार्य मेरो थियो


छन् छोरी टुहुरी, बनेँ विधुर हा !– आमा र रानी गयौ
छन् दुःखी परिवार आज दुइटै– छोरी बुहारी गयौ
छोटो जीवनमा यहाँ कति महान् छोडेर माया गयौ
संसारै छ नि शून्य ! चार दिनकी हे रामछाया ! गयौ


मेरो बाहिरको थकाइ घरमा हर्ला नि कल्ले अब
केही भो कि मलाई आँसु गहमा भर्ला नि कल्ले अब
खेपी जीवनका अनेक खतरा को हाँस्छ आफूसित
बाटैमा सँगिनी थला परि ढल्यौ, जाऊँ कहाँ कोसित


संसारी सब दुःखलाई तिमीले संम्झ्यौ कसोरी सुख
माया हो कि दया मलाई मनमा लाग्थ्यो नि देख्दा मुख
जल्ले जीवन सुम्पियो म उसको भारा तिरुँ के गरी
सेवाको बदला नलीकन गयौ हे राजराजेश्वरी


सोझो सज्जन सद्गुणी म छु भनी भन्छन् सबै मानिस
आफ्नो चिन्दिनँ दोष, होश छ खरो, मेरो छ लाटो रिस
यो मेरो कमजोर भाव कसले जानेर हाँसी सह्यो
मान्छे भन्नुतिमी थियौ, गइसक्यौ, कल्ले चिन्यो, के भयो


दासी भैकन स्वामिनी बनिदियौ आएर मेरो घर
हाँस्थेँ बाहिर लाग्दथ्यो मनमनै तिम्रो मलाई डर
छाया भैकन जो घुस्यौ हृदयमा माया बन्यौ आखिर
:मान्छेबाट उठेर दिव्य पदमा देवी बन्यौ आखिर


छन् तिम्रा अनुहार कति सखी, पृथ्वीभरी छौ तिमी
छन् तिम्रा गहना लुगाहरु अझै, कोठाभरी छौ तिमी
छन् माया, ममता र मोह, महिमा, छातीभरी छौ तिमी
छन् छोरीहरु बिर्सुँला नि कसरी, आत्माभरी छौ तिमी

हिड्दै छौ कि बस्यौ कतै !

[सम्पादन गर्नुहोस्]
फर्कन्छन् वन शैलबाट बचरा सम्झेर पन्छीहरू
फर्कन्छन् परबाट प्यार घरको सम्झेर यात्रीहरू
हे रानी ! अझ फर्किनौ किन यहाँ अल्प्यौ अँध्यारातिर
हेर्छ झ्यालमहाँ बसेर टुहुरी यो शान्ति धारातिर


कोठा शून्य छ यो, उठीकन अहो ! बाटो कहाँको लियौ
तिर्खाएर पियौ कहाँ जल, यहाँ गाग्री भरेकी थियौ
टाढाको कुन छहारीमनि बसी सम्झेर के के गयौ
दौडायो कुन दूरदेश विधिले, एक्लै कसोरी गयौ


हिँड्दै छौ कि बस्यौ कतै, मुलुक त्यो कस्तो छ, यस्तै छकि
त्यो छायामय लोकबाट कहिल्यै यो लोक देखिन्छ कि
छन् तिम्रा मुखमा अझै बिफरका बुट्टा कि कस्ती भयौ
स्वप्नामा जुन आउँछ्यौ, भन त्यही सम्झूँ कि भिन्नै भयौ


लागेको मनमा छ के भन त्यहाँ हास्छ्यौ कसोरी तिमी
सम्झी शान्ति र कान्ति दूधकटुवा रुन्छ्यौ कि क्यारे तिमी
दिन्नन् फर्कन फेरि बिर्सन पनि, द्यौताहरु निठ्ठुर
त्यो एकै छिनको मात्र बिछुडले कत्रो महा–अन्तर !


हामी छौँ सुखमा कि आज दुःखमा के भन्नु के भन्नु ख्वै
आफैँ मर्न सकिन्न, बाँच्नु कसरी, के गर्नु के गर्नु ख्वै
छौ देवी सुखमा भने यदि त्यहाँ हामी रुँदैनौ यहाँ
हाम्रै साथ थियौ कुनै दिन भनी सम्झेर बस्छौँ यहाँ


बाँचुन्जेल सकेँ र गर्न अब के सक्नेछु गर्नै म हे
चाँडै नै सँगिनी ! गयौ नि मनका इच्छा मनैमा रहे
बाँचुन्जेल त चिन्न नै सकिनँ हे जाहान ! जे भन्दछ्यौ
गाढा आज हुँदो छ प्रेम, जति नै टाढा तिमी बन्दछ्यौ


लीलाले कहिलेकहीँ त भुइँमा ओर्लेर आऊ तिमी
नौला मानिस खेत चौर हरिया हेरेर जाऊ तिमी
आऊ शान्ति र कान्तिमा अमृतको देऊ नयाँ चुम्बन
आऊ यो मनमा पसेर सहजै लेऊ नयाँ जीवन


तिम्रा गीत म फाँट शैल वनका एक्लासमा गाउँला
आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला
हुर्काईकन शान्ति कान्ति भुइँमा छाडी त्यहाँ आउँला
देवी ! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला


हाम्रो भेट हुँदैन हो कि कहिल्यै !

[सम्पादन गर्नुहोस्]
नेपाली हरिया पहाड वनका यी घाम–छायाहरू
हामी दम्पति, शान्ति कान्ति कलिला, यी मोह–मायाहरू
यो संयोग जुटाउने कुन थियो कल्ले बिगार्यो अनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


पृथ्वीमा अबदेखिलाई कहिल्यै कालै नआए पनि
प्यारी भैकन अप्सरा घरघरै आएर जन्मे पनि
मेरो जो हरियो भरिन्न जसको जे जे जुटे तापनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


हाम्रा हर्ष र शोक, मान, ममता, आनन्द यौटै थिए
एकै प्राण थियो र ज्यान दुइका सन्तान एकै थिए
बाँचूँ भिन्न भएर आज कसरी, आधा मर्यो जीवनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


ती ठट्टा सुखका र फेरि दुःखका सल्लाह हाम्रा गए
ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए
बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


छन् सम्पूर्ण सुखी कसैसित पनि मिल्दैन मेरो मन
छन् ताराहरु रातमा र दिनमा साथी छ यो निर्जन
एकान्तस्थलमा त भेट्न तिमीले हुन्थ्यो नि आए पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


मेटी स्वर्ग र मत्र्यलाई जसरी भेट्छौँ महारातमा
ब्यूँझन्नौँ किन एकसाथ त्यसरी हामी दुवै प्रातमा
स्वप्नाको दुनियाँ मलाई कहिले मिल्ला नि साँचो बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


मर्ने मानिस फर्किँदैन कहिल्यै भेटिन्न भेटिन्न रे
पर्दा लाग्दछ जो महामरणको उल्टिन्न उल्टिन्न रे
यो कस्तो कुन निष्ठुरी नियम हो, के हुन्छ फेरे पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


तिम्रो सुन्दर त्यो शरीर, मधुरो मुस्कान तिम्रो गयो
तिम्रो बैँस रमाइलो र गहिरो माया कसोरी गयो
पाइन्नौ यस रूपमा अब तिमी फर्केर आए पनि
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


हेर्छन् बादलले हिमालगिरीमा– ‘गौरी कहाँ छन् ?’ भनी
सोध्छे शान्ति मलाई सानु मुखले – ‘आमा कहाँ छन् ?’ भनी
मैलाई पहिले म उत्तर दिऊँ– ‘मेरी ! कहाँ छौ ?’ भनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि


ब्यूँझन्नौ यस जन्ममा अब तिमी अल्प्यौ महाकालमा
मैले हेलिनुपर्छ रे सब भुली संसारको भेलमा
सम्झेला कसले ‘दुवै दिन सँगै हामी थियौँ रे !’ भनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी ! धिक्कार कैल्यै पनि

मेरा रोकिय आँसु

[सम्पादन गर्नुहोस्]
मेरा रोकिय आँसु भल्भल त्यसै ए बग्दछौ के भनी
मैले रोइनँ आजसम्म अरुको यै मृत्यु सुन्दा पनि
मायाकी प्रतिमा ! तिमी हृदयमा मेरो गडेकी थियौ
पारी घायल चित्त, घाउ गहिरो, एक्कासि नै उप्कियौ


सम्झायो जति चित्त दुख्छ उति नै सम्झाइ के गर्दछौ
मेरो जो हुनु भैसक्यो अब दया देखाइ के गर्दछौ
केही भन्नु मलाई मित्र ! छ भने आएर रोऊ बरु
लागेको दिलभित्र घाउ छ भने सम्झेर जाऊ बरु


छातीमा कुन दूर देशतिरको आई बिलौना बस्यो
क्यै गर्ने मन छैन, खालि रुनको धोको मलाई बस्यो
कोठाभित्र लुकेर बस्छु– उनको छाया परेथ्यो यहीँ
छातीभित्र ढुकेर बस्छु– उनको माया बसेथ्यो यहीँ


एकान्तस्थलमा बसीकन सखीलाई म बोलाउँछु
आत्मा बस्छ कता–कतातिर गई, पत्ता म त्यो लाउँछु
फर्काईकन ल्याउनेछु म उनीलाई यहाँ क्वै दिन
फर्कन्थिन् कि उनी, शरीर उनको मैले जलाएँ किन !


यो सानो घरबार चार दिनको यो भेट छोटो थियो
हामी दम्पतीको परन्तु यसमै माया बसेको थियो
जो छाया पहिले पस्यो नजरमा खुर्केर खुर्किन्न त्यो
जो माया पहिले बस्यो हृदयमा बिर्सेर बिर्सिन्न त्यो


मैले सम्झनु के छ– आज सँगमा छैनन् उनी भन्नु छ
मैले बिर्सिनु के छ– चार दिनमै अर्कै बनेँ भन्नु छ
उल्टो काँण बिझ्यो मलाई दिलमा कल्ले निकालिदिने
कल्लाई भन सम्झियूँ यदि तिमीलाई नसम्झुँ भने


जानेलाई छ सुख्ख, आज उसका लेखा यहाँ के छ र
बस्नेलाई छ पीर, रातदिन नै छन् सम्झना निष्ठुर
केही औषधि भैदिए भुलिदिने, रोएर प्यूने थिएँ
जानेलाई म बिर्सिएर सुखले हाँसेर ज्यूने थिएँ


मान्छे हो ! किन हाँस्तछौ हृदयमा आँसू लुकाईकन
खोज्दैमा सुख, आशमा विरहमा गैजान्छ यो जीवन
यो माया कसलाई अर्पनु त्यसै साँचेर के हुन्छ हे
साँच्चै भन्दछु– मर्नुपर्दछ भने बाँचेर के हुन्छ हे


तिम्रो दुर्दिनमा बसेर सँगमा को पुछ्छ आँसू यहाँ
तिम्रो नाम जपी समाधिगृहमा को बाल्छ बत्ती यहाँ
पोल्टो थाप्तछ को महामरणले फ्याँक्ता महाशून्यमा
तारा बत्ति कुरेर बस्छ कुन हे, यत्रो महामौनमा


छैनन् आज उनी म रुन्छु, नहुँला भोली म, मेरा रुनन्
पृथ्वी मर्दछ पर्सि यो, पिलपिले ताराहरु ती रुनन्
सारा निष्ठुर नाशको पछि यहाँ आएर को रुन्छ हे
नाशैलाई छ सिर्जना सब भने रोएर के हुन्छ हे


फर्की क्वै पनि आउँदैन र सधैँ पर्खन्न कोही पनि
कालो आदि र अन्त ! खालि बिचमा झिल्का लिने जीवनी
एक्लै क्वै दिन निस्किएँ म त भने कोही नखोजून् यहाँ
एक्लै अल्पिनु सृष्टिको चलन रे, कोही नरोऊन् यहाँ

लाउँ लाउँ र खाउँ खाउँ वयमै

[सम्पादन गर्नुहोस्]
‘यो टाढा परदेशबाट घरमा चाँडै तिमी जाउली
डोर्याईकन शान्ति कान्ति सुखले बा’लाई देखाउली
पाहाडी चिडिया उडी रहरको पहाडमै जाउली’
भन्दैमा सखि ! गैसक्यौ, अब कहाँ के गर्न हे पाउली


साँचेको किन त्यत्ति मात्र रुपियाँ आफ्नै लुकाईकन
के के गर्न थियो, गयौ नि ! मनको धोको नफोईकन
चौतारी म बनाइदिन्छु त्यसले संसारको मार्गमा
फोई बन्धन गुप्त त्यो रहरको, जाऊ सखी ! स्वर्गमा


अर्काको नझुकी अगाडि घरको मर्का लुकायौ कति
तिम्रो धैर्य र मुस्कुराहट मिली गर्दै गएँ उन्नति
मेरो आज फल्यो कमाइ, तर हा ! तिम्रो ढल्यो देह यो
हे मेरी सखि ! दुःखको समयकी, छोडी गयौ खोप यो


लक्ष्मी भै धनधान्यपूर्ण घरमा बस्नै तिमी पाइनौ
हुर्काईकन लालबाल सुखले जानै तिमी पाइनौ
लाऊँ लाउँ र खाउँ खाउँ वयमै आफू कसोरी गयौ
बन्दैमा कति हाइ हाइ सबकी, सारा रुलाई गयौ


तिम्रो बाइस वर्षको रहर यो बोल्ने सखी बाँँकी छन्
छातीको दश धार प्यार पिउने छोरी दुवै बाँँकी छन्
यो तिम्रो म छु, चित्तभित्र प्रतिमा तिम्रो अझै बाँँकी छ
छैनौ किन्तु तिमी ! यहाँ हृदयको तिम्रो सबै बाँँकी छ


मान्छे जन्मिन आउलान् तर तिमी रानी कहाँ पाउँला
त्यो बान्की अनुहारको, नजरको पानी कहाँ पाउँला
मान्छेमा छलले छिपीकन तिमी छाया पनि पाउँला
त्यो बानी, दिल त्यो, त्यही किसिमको माया कहाँ पाउँला


सानो मानिसलाई भूमितलमा हुर्काइदिन्छौ किन
सानो त्यो दिलभित्र विश्वभरिको माया बसाल्छौ किन
लैजान्छौ नि ! उमेरमै रहर त्यो पुग्नै नपाई किन
लैजान्छौ वरदान फेरि भगवन ! भोग्नै नपाई किन


छातीलाई फुलाउने कुसुम यी फुस्की कहाँ झर्दछन्
टाढा टेक्न उचालिने चरण यी खुस्की कहाँ पर्दछन्
मान्छे हिँड्दछ सुख्ख खोज्न, कसरी त्यो दुखःमै पर्दछ
आत्मा आउँछ हाँस्नलाई, कसरी रोएर त्यो मर्दछ


वैली यो मधुमास जान्छ, बिउँझी क्वैली जसै बोल्दछ
उड्छन् बादलमा भुवा, सिमलले कोया जसै खोल्दछ
ब्यूँझी जीवन, घाम जूनमनि यो केही फुकेको मन
फुस्काई कसले लग्यो कुन दिशा, मेरी कहाँ छौ ? भन


छोई भूतललाई इन्द्रधनुले लाखौँ सिँगारे पनि
रातीका सपना बिहान बिउँझी साँचा बनाए पनि
मान्छेलाई मिले पनि अजमरी खोजेर सञ्जिवनी
फर्कन्नौ यस लोकमा, जुन गयो यो गैगयो जीवनी


गैह्री खेत ! फलेर धान नझुला बाला सुनौला तल
टुप्पाबाट लदाबदी नफलिदे वैशाखको काफल
आउन्नन् वनभात खान वनकी रानी छहारीमनि
नाघी पर्वत स्वर्गमा गइसकिन् आनन्दकी इन्द्रिनी


बेहानीपख उठ्तिनन् अब उनी आई नबोला चरी !
टाढा देवलमा नबज्न शहना ! नाना बिलौना गरी
कल्ले हेर्छ र झुल्किएर चुचुरा पाखा सिँगार्छन् रवि
छन् खुल्ला अब रुप रङ्ग रमिता उल्लास छाया–छवि


डालाबाट नबोल कोइलि ! झुली, वैलिन्छ रे यो वन
काला केश नबाट है युवति हो ! फुस्कन्छ रे जीवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पीरती
देवी स्वर्ग गईसकिन् नगर है यो साँझमा आरती !

==रोई आउँछ रे असार महिना

आए बादल गर्जिएर गिरिमा, लागे अँध्यारा दिन
छाया पर्दछ दूरबाट, छविको पाइन्न है दर्शन
कालो निष्ठुर यो असार, यसमै रोएर मेरी गइन्
यी खोला कसरी तरिन्, घनघटा उल्टी कसोरी गइन्


छाया बादलको परीकन थिए नीला पहाडी वन
माया भर्खर नै बसीकन थिए सानन्द हाम्रा दिन
त्यो बेला छिन मात्रको बिछुडले बन्थे जसै व्याकुल
निस्किन्थिन् गिरिकुञ्जबाट अनि ती टिप्दै असारे फुल


ऐलेको निठुरी असार महिना पानी परेको कति
दर्कन्छन् जलधार आज जति नै थर्कन्छ छाती उति
पन्छीको गुँड भत्किएर रुखमा भिज्दो छ पानीमहाँ
एक्ले ढुक्कुर एकलै विरहमा होला बसेको कहाँ !


हावाका सँग हर्हराइ कुहिरो दौडन्छ पहाडमा
आउन्नन् परदेशिनी प्रियतमा फर्केर आषाढमा
छाया तर्छ नदीकिनार उनको, आफू कहाँ छन् उनी
डाँडापार नुहेर जा, खबर क्यै सोधेर आ, इन्द्रिनी !


रुन्छन् झ्याउँकिरी रुलाई वनमा आषाढका यी दिन
छाया आज दगुर्छ यो कुन दिशा ओसारि मेरै मन
काला बादल झोलिएर गिरिमा बर्सीरहेछन् यहाँ
रोइ रोइ बगाइ गाजल उनी होलिन् बसेकी कहाँ


वर्षाको निशिमा झमाझम झरी झम्केर जो आउँछ
लाखौँ शब्द सुसाइ एक सुरमा संसार जो गाउँछ
यो बेला बिउँझी विलाप दिलमा लाखौँ अलापूँ कि म
आफैँभित्र डुबाइ स्वर्ग धरती सारा, निदाऊँ कि म


निस्की बादलका किनारहरूमा क्यै बेर रानी ! बस
हेर्दै पर्वत खेत र्चार हरिया, नौला नयाँ मानिस
टाढैबाट झुकेर इन्द्रधनुमा धर्ती तिमी भैटिद्यौ
खोलाको जल यो पिएर दिलको धोको तिमी मेटिद्यौ


च्याती बादल हेर्छ राति भुइँमा बर्सातको चाँदनी
धोएको वनफूल तुल्य कहिले देखिन्छ तारा पनि
यस्तै विस्मयको कुनै समयमा निस्केर आऊ तिमी
तिम्रो मृत्यु हुँदै भएन कहिल्यै झैँ मुस्कुराऊ तिमी


डुब्छिन् सुन्दर इन्द्रिनी पनि जहाँ पानी परी लेकमा
सल्लाको वन यो सुसाउँछ त्यहाँ एक्लै बसी शोकमा
सम्झी रुन्छु म जो हिजो भरखरै माया बसेका दिन
हामी छौँ त्यति नै अनित्य, जति नै छ यो जीवन


यौटा फूल सधैँ वसन्त श्रृतुको वैली यहाँ झर्छ रे
रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे
रो रो बादल हे ! डुलेर दुनियाँ एक्लै निरुद्देश्यमा
भोली जानुछ शुभ्र शान्त हलुका भै शून्यको देशमा !

मान्छे हो ! यिनलाई प्यार गर है

[सम्पादन गर्नुहोस्]
खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाई उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्


गाईलाई लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेर्छ्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए


हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाई खालि मुखमा केही पनि बोल्दिन
‘आमा ख्वै ?’ भनि वेगले हृदयमा टाँसेर रोऊँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पार्यौ विधाता, किन !


आमालाई रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी


मेरा चञ्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाँस्थे जब फूल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि


पाक्यो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वाइँ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी
‘यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो !’ भनी


ती देखाउँदथिन् मलाई, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुच्ची भनी
ती रुन्थिन्, यिनलाई व्यर्थ अरुले हेलाँ गरे रे भनी


त्यो शृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए
धूलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुर्छन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल


यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि


सानीलाई फुल्याउँला कति यहाँ औँलो चुसाईकन
ठूलीलाई भुलाउँला कति यहाँ आँसू लुकाईकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔँला अनि एक रात सँगमा हेरेर तारातिर


यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहरू गैसके पनि उनी, छाया यहाँ हेर्दछु
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु


धोको क्यै यिनको पुर्याउँन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाइ ! गरे है क्षमा
केही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !


बेहानै यिनलाई एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाई एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाई प्यार गर है तारा कुनै हेर्दछिन्

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]