नेपालमा महिला रेडियोकर्मी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा महिला रेडियोकर्मी भन्नाले रेडियोमा कार्यरत भई पत्रकारिता एवम् अन्य कार्यक्रमहरू सञ्चालन गर्ने नेपाली महिलाहरूलाई बुझाउँछ ।

अवस्था[सम्पादन गर्ने]

एक नेपाली महिला रेडियो कार्यक्रम सञ्चालन गर्दै

नेपाली सञ्चार क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । तर भएका मध्ये सबैभन्दा बढी महिला रेडियोमा कार्यरत छन् । काठमाडौं र काठमाडौं बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण पनि रेडियोमा महिला उपस्थिति बढेको पाइन्छ । प्रतिस्पर्धी र चुनौतीपूर्ण पेशा मानिने पत्रकारितामा महिलाको संख्या अरु उस्तै पेशाको अनुपातमा गतिलै देखिन्छ । समग्र पत्रकारिताका समस्यामा रेडियोमा काम गर्ने सञ्चारकर्मी महिला पनि मुछिएकै छन् । सुरक्षा तथा सेवा, सुविधाका हिसावले समग्र पत्रकारितामा जुन समस्या छ त्यसबाट सञ्चारकर्मी महिला टाढा हुने कुरै भएन । तर महिला सञ्चारकर्मीका क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले विभिन्न घटनाहरूका आधारमा पनि पत्रकारितामा महिला अझ बढी असुरक्षित रहेको बताइरहेका छन् । सेवा सुविधाका हिसाबले भने काठमाडौंमा कार्यरत सञ्चारकर्मी महिलाको अवस्था तुलनात्मक रुपमा दयनीय नै नभएको केही अध्ययनले देखाएका छन् ।

इतिहास[सम्पादन गर्ने]

वि.सं. २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएपछिको परिवर्तनको रुपमा पनि रेडियोमा सञ्चारकर्मी महिलाको उपस्थिति बढेको मान्न सकिन्छ । २०४९सालमा जारी भएको राष्ट्रिय प्रसारण ऐनले निजी तथा स्वतन्त्र रेडियो स्थापना गर्न पाउने व्यवस्था कार्वान्वयन भइ रेडियोहरु स्थापना हुन थालेपछि रेडियोमा महिला सञ्चारकर्मी बढेका हुन् । विद्युतीय सञ्चार माध्यममा फ्रिक्वेन्सी मोडुलेसन अर्थात एफ् एम् रेडियो सञ्चालनको लहर चलेको छ । राजधानीदेखि मोफसलसम्म सामुदायिक, सहकारी र व्यापारिक प्रयोजनका निजी एफ् एम् रेडियो सञ्चालनमा आए । ती रेडियो प्रसारणहरुमा स्वर सन्तुलनका लागि पनि पुरुषको हाराहारीमा महिलाले प्रवेश पाएका छन् । (सञ्चारकर्मी महिलाको अवस्था २०६२:३)[१]

सञ्चारिका समूहले गरेको एक अध्ययनमा विद्युतीय सञ्चार माध्यममा कार्यरत मध्ये एफ एम रेडियोमा काम गर्ने ६५ प्रतिशत भन्दा बढी छन् । त्यो अध्ययनका अनुसार ए एम(एम्पिच्यूड मोडुलेसन) अर्थात रेडियो नेपालमा काम गर्ने १२ प्रतिशत छन् । ए एम रेडियो रेडियो नेपाल मात्रै हो । करिब एक दशक अघिको त्यो अध्ययनले विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला सञ्चारकर्मी मध्ये सबै भन्दा बढी काठमाडौंमा र त्यसपछि क्रमशः कास्की, बाँके, सुनसरीचितवन जिल्लामा पाइएको थियो । स्नातक अध्ययन गर्ने महिला सञ्चारकर्मी ३८ प्रतिशत, प्रविणता प्रमाणपत्र तहका ३३ प्रतिशत र स्नातकोत्तर अध्ययन गर्ने १५ प्रतिशत सञ्चारकर्मी रहेको उसको तथ्यांक छ ।

सञ्चारकर्मी महिला मध्ये सबैभन्दा बढी कार्यरत रहेको काठमाडौं उपत्यकामा पनि छापा, अनलाईन र टेलिभिजनमा कार्यरतको तुलनामा रेडियोमा नै धेरै छन् । सञ्चारिका समूहले २०६८ सालमा प्रकासन गरेको काठमाडौं उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदनमा टेलिभिजनमा २६ प्रतिशत, छापामा ३२ प्रतिशत महिला सञ्चाकर्मी रहेकोमा रेडियोमा सबैभन्दा बढी ४२ प्रतिशत छ । विविध सञ्चार संस्थामध्ये अधिकांश महिलाको प्रथम रोजाइमा विद्युतीय सञ्चार माध्यम रेडियो परेको पत्ता लागेको छ । समग्र महिलाको विविध सञ्चार माध्यममा आवद्धतामा रेडियो प्रथम स्थानमा रहनुका पछाडि रेडियोमा अन्य सञ्चार माध्यम भन्दा सुविधा तथा सेवाको हिसाबले सहज रहेको पाइएको छ ।[२](काठमाडौं उपत्यकामा कार्यरत महिला सञ्चारकर्मीको अवस्था अनुसन्धान प्रतिवेदन २०६८ को ठहर हो । यस्तै यहा उक्त प्रतिवेदन अनुसारका तथ्याङ्क समावेश गरिएका हुन् । अहिले अवस्था फरक भएको हुनसक्छ । तर यसबारे यथार्थ सार्वजनिक भएको छैन । )

सञ्चारकर्ममा लाग्नेहरु धेरै युवा पुस्ताका छन् । रेडियोमा काम गर्ने महिलाहरु पनि धेरै युवा नै छन् । उपत्यकामा काम गर्ने सञ्चारकर्मी महिलाहरु धेरै २० देखि ३० बर्ष उमेर समूहका छन् । अध्ययनका अनुसार ४६ प्रतिशत महिला सञ्चारकर्मी यो उमेर समूहका छन् । बीस बर्ष मुनिका जम्मा तीन प्रतिशत महिला सञ्चारकर्मी उपत्यकामा कार्यरत रहेको त्यो अध्ययनले देखाएको छ । ३० बर्ष नाघेका महिला भने उपत्यकामा १६ प्रतिशत कार्यरत छन् । यी मध्ये ३३ प्रतिशत अविवाहित, ३० प्रतिशत विवाहित छन् भने २ प्रतिशत एकल महिला उपत्यकाका सञ्चार माध्यममा कार्यरत छन् ।

यो संख्याको अनुपातमा सञ्चारकर्मी महिलाको पदीय दायित्व भने सन्तुलित देखिदैन । यो अध्ययनले उपत्यकामा कार्यरत अधिकांश सञ्चारकर्मी महिला कनिष्ट पदमा छन् । उक्त अध्ययनले डेस्क एडिटरमा ६ प्रतिशत, सम्पादक पदमा ३ प्रतिशत मात्र सञ्चारकर्मी महिला रहेको देखाएको छ । रेडियोका सवालमा २७ प्रतिशत महिला सञ्चारकर्मीले समाचार पढिरहेको र प्रस्तोताका रुपमा १० प्रतिशत कार्यरत रहेको त्यो अध्ययनको ठहर छ ।

तर पछिल्लो समय यसमा सुधार आएको देखिन्छ । रेडियो सञ्चालनमा सञ्चारकर्मी महिला संगठित भएका उदाहण पनि छन् । नेपालमा केही रेडियोहरु महिलाहरुले मात्रै पनि सञ्चालन गरेका उदाहरण छन् । यो समग्र उपस्थिति बढाउने र सन्तुलनका लागि भन्दा पनि गर्न सक्छौ भन्ने आटको पुष्टि गर्ने रुपमा लिइएको पनि पाइन्छ । २०६४ सालदेखि सञ्चालनमा रहेको विराटनगर स्थित रेडियो पूर्वाञ्चलमा कार्यरत सबै महिला छन् ।

महिला पुर्नस्थापना केन्द्र(ओरेक)ले उदयपुरमा रेडियो उदयपुर सञ्चालन गरेको छ । बुटवलको रेडियो मुक्ति, पर्वतको रेडियो दिदीबहिनी तथा जुम्लाको नारी आवाज महिलाले सञ्चालन गरेका रेडियो हुन् । सञ्चालक समिति समेत पनि महिला मात्रै भएको रेडियो मुक्ति र रेडियो दिदीबहिनी हुन् ।

नोट[सम्पादन गर्ने]

  • यो सामग्री (विकिपिडियामा सार्वजनिक हुनु भन्दा)केही बर्ष अघि सार्वजनिक भएका प्रतिवेदनहरुमा आधारित छन् । वर्तमान समयमा तथ्यांकहरु घटबढ भएका हुन सक्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. sancharika samuha (2063). rediokarmi mahila. sancharika samuha. 
  2. kathmanduka upatyekama karyarat mahila sancharkarmi ko abastha (2068). kathmanduka upatyekama karyarat mahila sancharkarmi ko abastha. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]