पखाला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पखाला
Multiple rotavirus particles.jpg
इलेक्ट्रोन माइक्रोस्कोपबाट देखिएको रोटा भाइरस
वर्गीकरण तथा बाह्य सामग्रीहरू
विभाग सङ्क्रामक रोग, ग्यास्ट्रोएन्टराइटिस
आइसिडी-१० A09., K59.1
आइसिडी-९ सिएम 787.91
डिजिज-डिबी 3742
मेडलाइन प्लस 003126
इ-मेडिसिन ped/583
प्यासेन्ट युके पखाला
एमई-एसएच D003967

पखाला (अङ्ग्रेजी:डायरिया) दिनभरमा कम्तिमा तीन पटक पातलो दिसा लाग्ने अवस्था हो। पखाला प्रायजसो केही दिनसम्म लाग्ने गर्दछ जसका कारणले शरीरमा रहेको तरल पदार्थको क्षति भइ जलवियोजन हुन सक्छ। छालाको लचकतामा कमी आउने तथा मानिसको व्यक्तित्वमा परिवर्तन जलवियोजनको सुरुवातका लक्षणहरू हुन्। पछि बढ्दै गएर पिसाब कम हुने, छालाको रङ्ग परिवर्तन हुने, मुटुको गति तिब्र हुने तथा प्रतिकृया दिन ढिलाइ गर्ने जस्ता लक्षणहरू थपिन सक्छन्। आमाको दूध चुस्ने बालकले सामान्यभन्दा धेरै गिलो तर पानी जस्तो पातलो नभएको दिसा गर्नु पनि सामान्य नै हुन सक्छ।[१]

आन्द्राको सङ्क्रमण गराउने सबैभन्दा प्रमुख कारकहरू भाइरस, ब्याक्टेरिया वा परजीवी हुनसक्छन्। यस्तो अवस्थालाई ग्यास्ट्रोएन्टराइटिस भनिन्छ। यस्ता सङ्क्रमणहरू प्रायजसो दिसाको संसर्गमा आएर प्रदुषित खाना वा पानीबाट, वा सङ्क्रमित मानिसबाट सिधै सर्ने गर्दछ। पखाला मुख्यतया तीन प्रकारको हुन्छ: छोटो अवधिको पानी-जस्तो पखाला, छोटो अवधिको रगतसहितको पखाला र दुई हप्ताभन्दा लामो अवधिसम्म रहिरहने स्थायी पखाला। यीमध्ये छोटो अवधिको पानी-जस्तो पखाला हैजाको सङ्क्रमणका कारणले भएको हुन सक्छ। यद्यपी विकसित देशहरूमा यस्तो अवस्था विरलै भेटिन्छ। यदि पखालामा रगत मिसिएको छ भने यस्तो अवस्थालाई आउँ परेको भनिन्छ।[१] अन्य केही कारणहरू पनि छन् जसमा कुनै सङ्क्रमणबिना पनि पखाला लाग्ने गर्दछ। जस्तै: हाइपरथाइरोडिजम, ल्याक्टोज इन्टोलरेन्स, इन्फ्लेमेटरी बावेल सिन्ड्रोम, केही औषधोपचारहरू र इरिटेबल बावेल सिन्ड्रोम।[२] प्राय अवस्थाहरूमा वास्तविक कारण पहिचान गर्न दिसाको कल्चर (प्रयोगशाला परीक्षण) गरिरहनु आवस्यक छैन।[३]

सङ्क्रामक पखालाबाट बच्न सरसफाइ, सफा पिउने पानी तथा साबुन पानीले हात धुने जस्ता कुरामा ध्यान दिनु जरुरी छ। विशेषज्ञहरूले बालबालिकाहरूलाई कम्तिमा छ महिना आमाको दूध चुसाउन तथा रोटाभाइरसको विरुद्धमा खोप लगाउन सुझाब दिएका छन्। यसको उपचारमा सफा पानीमा तयार पारिएका जीवनजल वा नुन-चिनी-पानी जस्ता ओरल रिहाइड्रेसन सोलुसनहरू लाभदायक हुन्छन्। जिङ्क चक्कीको प्रयोग पनि सिफारिस गरिएको छ।[१] यस्ता उपचारहरूले विगत २५ वर्षमा ५ करोडभन्दा बढी बालबालिकाहरूको ज्यान जोगाइसकेको छ।[४] जब कसैलाई पखाला लाग्छ तब स्वस्थ खाना नियमित रूपमा खान र बच्चालाई निरन्तर दूध चुसाउन सुझाब दिइएको छ।[१] यदि बजारमा पाइने ओरल रिहाइड्रेसन सोलुसनहरू उपलब्ध छैनन् भने घरमै पनि नुन-चिनी-पानी बनाउन सकिन्छ।[५] अत्यन्त गम्भीर जलवियोजन भएकाहरूलाई नसाबाट दिइने तरल पदार्थहरूको आवस्यकता पनि पर्न सक्छ।[१] यद्यपी प्राय धेरै पखालामा मुखबाट दिइने झोल खानेकुरा नै पर्याप्त हुन्छ।[६] पखाला लागेको बेलामा एन्टिबायोटिक औषधिको प्रयोग अत्यन्तै कम गरिन्छ। रगतसहितको पखालासँगै उच्च ज्वरो आएका, यात्राको लगत्तै गम्भीर पखाला लागेका र दिसामा विशेष प्रकारका ब्याक्टेरिया वा परजीवी भेटिएका मानिसहरूलाई एन्टिबायोटिक औषधिको सिफारिस गरिन्छ।[३] लोपेरामाइडले पातलो दिसा कम गराउन सघाउन सक्छ तर गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई यो औषधि प्रयोग गर्न हुँदैन।[३]

विश्वभर प्रत्येक वर्ष करीब १ अर्ब ७ करोडदेखि ५ अर्ब पखालाका बिरामी भेटिन्छन्।[१][२] पखाला प्रायजसो विकासोन्मुख देशहरूमा देखा पर्छ। त्यस्ता देशका बालबालिकाहरू वर्षमा तीन पटकसम्म पखालाको सिकार हुन्छन्।[१] पखालाका कारण सन् २०१३ मा करीब १२ लाख ६० हजारको मृत्यु भयो जुन सन् १९९० को मृतक सङ्ख्या(२५ लाख ८० हजार)भन्दा कम हो।[७] सन् २०१२ मा यो रोग पाँच वर्षमुनिका बालबालिकाको मृत्युको लागि दोस्रो प्रमुख कारणको रूपमा रह्यो (७ लाख ६० हजार वा ११%)।[१][८] पटक-पटक पखाला लाग्यो भने यसले कुपोषण निम्त्याउन सक्छ। पाँच वर्षमुनिका बालबालिकाहरूमा हुने कुपोषणको प्रमुख कारण पखाला नै हो।[१] पखालाकै कारणले शारीरिक वृद्धि नहुने तथा बौद्धिक विकास पनि कमजोर हुने समस्या देखा पर्छ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Diarrhoeal disease Fact sheet N°330", World Health Organization, अप्रिल २०१३, अभिगमन मिति ९ जुलाई २०१४ 
  2. २.० २.१ Doyle, edited by Basem Abdelmalak, D. John (2013). Anesthesia for otolaryngologic surgery. Cambridge: Cambridge University Press. pp. 282–287. ISBN 1107018676 . 
  3. ३.० ३.१ ३.२ DuPont HL (Apr १७, २०१४), "Acute infectious diarrhea in immunocompetent adults.", The New England Journal of Medicine 370 (16): 1532–40, डिओआई:10.1056/nejmra1301069, पिएमआइडी 24738670 
  4. "whqlibdoc.who.int" (PDF), World Health Organization 
  5. Prober, edited by Sarah Long, Larry Pickering, Charles G. (2012). Principles and practice of pediatric infectious diseases (4th संस्करण). Edinburgh: Elsevier Saunders. प॰ 96. ISBN 9781455739851 . https://books.google.com/books?id=TN2Gu2Af1BIC&pg=PA96. 
  6. ACEP, "Nation’s Emergency Physicians Announce List of Test and Procedures to Question as Part of Choosing Wisely Campaign", Choosing Wisely, अभिगमन मिति १८ जुन २०१४ 
  7. GBD 2013 Mortality and Causes of Death, Collaborators (१७ डिसेम्बर २०१४), "Global, regional, and national age-sex specific all-cause and cause-specific mortality for 240 causes of death, 1990-2013: a systematic analysis for the Global Burden of Disease Study 2013.", Lancet 385 (9963): 117–71, डिओआई:10.1016/S0140-6736(14)61682-2, पिएमआइडी 25530442, पिएमसी 4340604 
  8. ८.० ८.१ "Global Diarrhea Burden", CDC, जनवरी २४, २०१३, अभिगमन मिति १८ जुन २०१४