पश्चिम सिक्किम साहित्य प्रकाशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पश्चिम सिक्किम साहित्य प्रकाशन (Paschim Sikkim Sahitya Prakason)

२१ मे १९७५ मा भानु जयन्ती मनाउनका निम्ति गठन भएको पश्चिम सिक्किम साहित्य प्रकाशन आज पनि त्यत्तिकै सक्रिय छ। संस्थाको स्थापनापछि यसले प्रत्येक वर्ष भानु जन्यती, बुद्ध जयन्ती, सरस्वती पूजा लगायत साहित्यिक तथा सांस्कृति कार्यक्रमहरू आयोजना गर्दै आएको छ। जुलाई १९७८ मा सिक्किम सरकारबाट र १९८४ मा साहित्य अकादमी नयाँ दिल्लीबाट मान्यता ग्रहण गरेको यस संस्थाको स्थापनामा केदार गुरूङको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ। यस संस्थाले १९७८ देखि स्रष्टा द्वैमासिक साहित्यिक पत्रिकाको प्रकाशन शुरू गऱ्यो, जो आजसम्म निरन्तर प्रकाशन भइरहेको छ। विराट साहित्यिक गोष्ठीहरू, अभिनन्दन कार्यक्रमहरू लगायत रथ यात्रासम्म गराएर यस संस्थाले नेपाली साहित्यका महारथीहरू शिवकुमार राई, इन्द्रबहादुर राई आदिलाई सम्मान गरिसकेको छ। स्रष्टा पत्रिकामा प्रकाशित तीन सर्वोकृष्ट रचना (कथा, कविता र लेख निबन्ध) छनौट गरी प्रत्येक वर्ष यसले तीनजना साहित्यिकहरूलाई स्रष्टा पुरस्कार पनि प्रदान गर्ने कार्यक्रम गरेको छ। विशेष रूपमा स्रष्टा पत्रिकाको निरन्तरता नै यस संस्थाको मूल लक्ष्य रहेकाले नेपाली साहित्यमा यसले स्रष्टाका विभिन्न विशेषाङ्कहरू प्रस्तुत गरेको छ, जसमध्ये कथा विशेषाङ्क, सिक्किम वाङमय विशेषाङ्क, भारतीय नेपाली कथा विशेषाङ्क, डुवर्स विशेषाङ्क, पश्चिमाञ्चल विशेषाङ्क, पूर्वाञ्चल विशेषाङ्क, शहीद विशेषाङ्क, अन्तर्राष्ट्रिय कविता विशेषाङ्क, लीला लेखन विशेषाङ्क आदि यसका प्रमुख र महत्त्वपूर्ण विशेषाङ्कहरू हुन्।

आधुनिक सिक्किममा यस संस्थाले नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुऱ्याएको छ। यस संस्थाका अध्यक्षहरू यसप्रकार रहेका छन्- प्रेमलाल तिवारी, डी.पी. सिग्द्याल, एम.बी. गुरूङ, एल्डी. राई मिक्खोले, छिरिङ पाञ्जो शेर्पा, चन्द्रलाल गुरूङ र टेकनाथ तिवारी।

गेजिङ बजारमा भानुभक्त को शालिक स्थापना गर्न संस्था सफल बनेको छ। स्रोत- टिस्टारङ्गीत