बीमा

बीमा (insurance) भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ, जसलाई बीमा पोलिसी भनिन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ।
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधी वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो।
'बीमा’ शब्द फारसीबाट आएको शब्द हो। जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा पनि लिने गरेका छन्।
इतिहास
[सम्पादन गर्नुहोस्]
जोखिम हस्तान्तरण वा वितरण गर्ने विधी चिनियाँ र भारतीय व्यापारीहरूले क्रमशः ईसा पूर्वको तेस्रो र दोस्रो सहस्राब्दी रूपमा अभ्यास गरेका थिए।[१][२] नदीमा यात्रा गर्ने चिनियाँ व्यापारीहरूले कुनै पनि जहाज पल्टिँदा नोक्सानीलाई सीमित गर्न धेरै जहाजहरूमा आफ्ना सामानहरू पुन: वितरण गर्थे ।
बीमाको अवधारणा ईसापूर्व तेस्रो शताब्दीका धर्मशास्त्र, अर्थशास्त्र र मनुस्मृति जस्ता हिन्दू शास्त्रहरूमा पनि पाइन्छ।[३]
आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ। जीवन बीमा गर्ने पहिलो व्यक्ति विलियम गिबर्न (William Gibborn) हुन ।
बीमाका आधारभूत विशेषताहरू
[सम्पादन गर्नुहोस्]- क्षतिको सङ्ग्रह
- आकस्मिक क्षतिको भुक्तानी
- जोखिम हस्तान्तरण
- भविष्यको अनिश्वितता न्यूनिकरण
- घाटाको परिपूर्ति[४]
बीमाका उद्देश्य तथा कार्यहरू
[सम्पादन गर्नुहोस्]- निश्चितता प्रदान गर्नु
- जोखिम हस्तान्तरण
- जोखिम सङ्ग्रह
- पूंजी निर्माणमा मद्दत
- उपयुक्त बीमा शूल्क कायम गर्नु[५]
बीमाको महत्त्व र आवश्यकता
[सम्पादन गर्नुहोस्]- बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति)लाई कहिलै पनि घाटा हुँदैन ।
- बीमा गर्ने कम्पनिले पनि पुर्नबीमा गर्ने भएका कारण उक्त कम्पनिमा क्षति हुँदा वा उक्त कम्पनि डुवेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनिको पनि बीमा गरिएको भन्ने हो ।
- बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न चोरी, हुलदङ्गा आदीको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मान्निछ ।
- जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।
- आयकर ऐनअनुसार बीमा गरेमा ४० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
- बीमा गर्दा २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
- पुर्नजीवन बीमा सम्पत्तिको सुरक्षाका लागि गरिने भएको हुँदा सम्पत्ति हराउला कि ? चोरीएलाकी ? आगलागी होलाकि ? भन्ने जस्ता चिन्ताबाट मुक्त हुने उपाय नै बीमा हो ।
किसिम
[सम्पादन गर्नुहोस्]बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
जीवन बीमा
[सम्पादन गर्नुहोस्]यो एउटा लामो करार हो । जसले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ । यदि विमीतको बीमा समय अवधि बिचमै अकालमा मृत्यु हुन गएमा बीमा कम्पनीसँग भएको करारको आधारमा बीमा कम्पनीले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाङ्क फिर्ता गर्दछ । यो नै बीमाको नियम हो । मानिसको जोखिमलाई ग्रहण गर्नुको साथ साथै यदि विमीतको अकालमा मृत्यु भयो भने उसको आश्रित परिवारको पनि जोखिम ग्रहण गर्दछ ।
बीमा समितिले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो ।
‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
आजीवन जीवन बीमा
[सम्पादन गर्नुहोस्]बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
सावधिक जीवन बीमा
[सम्पादन गर्नुहोस्]निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
म्यादी जीवन बीमा
[सम्पादन गर्नुहोस्]सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
निर्जिवन बीमा
[सम्पादन गर्नुहोस्]यो बीमा सम्पतिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनको लागि गरिने करार हो । यसमा विमित कम्पनी वा व्यक्तिले बीमा गरिसकेपछि दुबै हानी नोक्सानी र जोखिमबाट मुक्ति प्राप्त गर्दछ । यो बीमामा बीमा गरिएको अवधिमा कुनै हानी नोक्सानी वा दुर्घटना भएमा बीमा कम्पनीले कुनै रकम तिर्नु पर्दैन ।
मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर निर्जिवन बीमा गरिन्छ ।
यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्प लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।
कृषि बीमा
[सम्पादन गर्नुहोस्]यस अर्न्तगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।
यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।
पुनर्बीमा
[सम्पादन गर्नुहोस्]बीमाकाे पनि बीमा पुनर्बीमा हो । बीमा कम्पनीले आफुले उठाएको बिमीतरूको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई बीमा कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा नामक एक मात्र पुर्न बीमा कम्पनी रहेको छ ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Novi Dewan, Indian Life and Health Insurance Industry: A Marketing Approach, Springer Science & Business Media, पृ: २।
- ↑ See, e.g., Vaughan, E. J., 1997, Risk Management, New York: Wiley.
- ↑ Tapas Kumar Parida, Debashis Acharya (२०१६), The Life Insurance Industry in India: Current State and Efficiency, Springer, पृ: २, आइएसबिएन 9789811022333।
- ↑ वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स
- ↑ वित्तीय बजार तथा संस्थाका आधारभूत सिद्धान्तहरू :अस्मिता बुक्स पब्लिसर्स एण्ड डिस्ट्रीब्युटर्स