महेश संस्कृत गुरुकुल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पृष्ठभूमि[सम्पादन गर्ने]

देवघाट धाम नेपालको मध्यभागमा पर्ने प्रसिद्ध धार्मिक ऐतिहासिक एवं पर्यटकीय महत्वले परिपूर्ण भएको पवित्र तीर्थस्थल हो । आदिप्रयाग, हरिहरक्षेत्र र चक्रतीर्थको रुपमा परिचित यस पुण्यभूमिमा मुक्तिनाथबाट प्रवाहित शालग्रामवाहिनी कृष्णा गण्डकी र गोसाईकुण्डबाट आएकी त्रिशूली आदि अन्य नदीहरूको पावन संगम वनेको छ । जहाँ पर्वहरुमा देवताहरु प्नि स्नान गर्न आउँछन् भन्ने मान्यता छ । यसै पुण्यभूमिमा वैदिक सनातन धर्म र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन एवं संस्कृत विद्याको प्रचार–प्रसार गर्ने मूल उद्देश्यका साथ परमगुरु अनन्त श्रीविभूषित स्वामी महेशानन्द गिरिजी महाराजको शुभाशीर्वाद एवं श्रोत्रिय, ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द सरस्वती (खप्तड बाबा)को सत्प्रेरणाबाट अभिप्रेरित भई परमश्रद्धेय श्री १००८ डा.स्वामी रामानन्द गिरिजी महाराजको शिवसंकल्पअनुसार एक विशुद्ध धार्मिक तथा सामाजिक संस्थाको रूपमा महेश संन्यास आश्रमको स्थापना भएको हो । वि. सं. २०५० सालमा संघ संस्था दर्ता ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय तनहूँमा दर्ता भएको यस आश्रमको संञ्चालनका लागि विधान अनुसार संस्थापक स्वामीज्यूको अध्यक्षता तथा समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठित महानुभावहरूको सहभागितामा महेश संन्यास आश्रम संचालक समिति (ट्रष्ट)को गठन गरिएको छ र यसै ट्रष्टद्वारा आश्रमको सञ्चालन भएको छ ।


स्थापना[सम्पादन गर्ने]

राष्ट्रियता, मानवता र विश्ववन्धुत्वको विकासका लागि सनातन धर्म र आर्य संस्कृतिको संरक्षण संवद्र्धन एवं संस्कृतशिक्षाको आवश्यकतालाई हृदयंगम गर्दै संस्कृत वाङ्मय अन्तर्गत ज्ञानविज्ञानहरुको प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ देवघाटधाममा एक शैक्षिक संस्थाको रुपमा महेश संस्कृत गुरुकुलको स्थापना गरिएको हो । महेश संन्यास आश्रमको उद्देश्य अनुरूप आश्रमका संस्थापक अध्यक्ष पौरस्त्यवाङ्मयका प्रखर विद्वान् विद्यावारिधि डा.स्वामी रामानन्द गिरिज्यूको शिवसंकल्पद्वारा वि.सं.२०५२ सालमा एक शैक्षिक संस्थाको रूपमा महेश संस्कृत गुरुकुलको स्थापना भएको हो । संस्थापक स्वामीज्यूको संस्कृत शिक्षाप्रतिको विशेष अनुरागबाट संस्थापित यस गुरुकुललाई शिक्षा ऐन तथा नियमावली बमोजिम संस्थागत निजी शैक्षिक गुठीको रूपमा संचालन हुने गरी संबद्ध सरकारी निकायमा दर्ता गरी नियमित सञ्चालन गरिएको छ । महेश संन्यास आश्रमअन्तर्गत सञ्चालित यस गुरुकुलमा प्राचीन गुरुकुलको मर्यादालाई अनुसरण गर्दै वेद वेदांग लगायत पौरस्त्यविद्याको शिक्षा दिने व्यवस्था गरिएको छ ।

उद्देश्यहरू[सम्पादन गर्ने]

  • मानवता विश्वशान्ति र विश्वबन्धुताको मूल आधार भएको सनातन आर्य संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने ।
  • आध्यात्मिक ज्ञानविज्ञानको मूल स्रोत तथा बौद्घिक ऊर्जाको खानी भएको प्राचीनतम संस्कृत भाषाको संरक्षण तथा संबर्द्धन गर्ने र त्यस अन्तर्गतका अनुसन्धानयोग्य महत्त्वपूर्ण ज्ञानसम्पदाको खोजी गरी प्रकाशनमा ल्याउने ।
  • संस्कृतशिक्षाका माध्यमले समाजका हरेक क्षेत्रमा नवचेतना र आध्यात्मिक जागरण ल्याउन सक्ने अनुशासित, सच्चरित्रवान्, कर्तव्यनिष्ठ, समाजसेवामा समर्पित सुयोग्य जनशक्ति उत्पादन गर्ने ।
  • यसरी उत्पादित जनशक्तिद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लोपोन्मुख समग्र विश्वको सम्पत्ति भएको संस्कृत भाषावाङ्मयको प्रचार प्रसार गर्ने र त्यस माध्यमले वसुधैव कुटुम्बकम्को भावनालाई विस्तार गरी नैतिक चेतनाको विकास गर्ने ।
  • संस्कृत वाङ्मयभित्रका विचारप्रधान आध्यात्मिक ज्ञानसम्पदाका साथै योग, आयुर्वेद, ज्योतिष, तन्त्र, वास्तुशास्त्र आदि व्यावहारिक विषयको समेत थप शिक्षा दिलाउने ।
  • समाजमा स्वधर्म, संस्कृति र संस्कृतको महत्त्वलाई दर्शाउँदै सामाजिक समरसता कायम गर्न चेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।
  • सनातन धर्म संस्कृति र आध्यात्मिक पुनर्जागरणका लागि अनुसन्धानकेन्द्रको स्थापना गर्ने र विचारपरक रचनाहरूको प्रकाशन तथा प्रचार-प्रसार गर्ने ।

हाल सञ्चालित प्रकल्पहरू[सम्पादन गर्ने]

विद्येश्वर मन्दिर[सम्पादन गर्ने]

नेपालको प्राचीन कला र संस्कृतिको अनुपम स्वरूप झल्किने शिवमन्दिर एवं अग्निाशालाको निर्माण सम्पन्न भएको छ । मन्दिरमा वैदिक विधिअनुसार विद्येश्वर भगवान्को नियमित पूजा अर्चना रुद्राभिषेक र पर्वहरूमा विशेष धार्मिक अनुष्ठान सञ्चालन गरिँदै आएको छ ।

महेश संस्कृत गुरुकुल (आवासीय माध्यमिक विद्यालय एवं विद्यापीठ)[सम्पादन गर्ने]

महेश पुस्तकालय[सम्पादन गर्ने]

यस गुरुकुलको महत्त्वपूर्ण शैक्षिक संपत्तिको रूपमा एक पुस्तकालयको स्थापना गरिएको छ । जसमा वेद, उपनिषद्, पुराण, इतिहास, दर्शन, व्याकरण, साहित्य आदि संस्कृत वाङ्मयभित्रका महत्त्वपूर्ण शास्त्रीय विषयका अतिरिक्त आधुनिक विषयका समेत गरी लगभग १२००० (बाह्रहजार) पुस्तकहरू संकलन गरिएको छ ।

माध्यमिक विद्यालय तह[सम्पादन गर्ने]

यस गुरुकुलमा वि.सं. २०५२ देखि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत क्षेत्रिय शिक्षानिर्देशनालयबाट अनुमति प्राप्त गरी निम्न माध्यमिक तथा माध्यमिक तह संचालन गरिएको छ र पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारित पाठ्यक्रमअनुसार कक्षा ६ देखि १० सम्म (पूर्वमध्यमा तह) को कक्षा सञ्चालन भइरहेको छ ।

विद्यापीठ तह[सम्पादन गर्ने]

यस गुरुकुलमा अध्ययन गरी प्रवेशिका S.L.C.उत्तीर्ण छात्रहरूलाई यसै वातावरणमा उच्च शिक्षा प्रदान गर्नु वाञ्छनीय भएकाले वि.सं.२०५६ सालदेखि नेपाल संस्कृत विश्वविद्यालयबाट संम्बन्धन प्राप्त गरी महेश संस्कृत गुरुकुल विद्यापीठको सञ्चालन गरिएको छ । स्थापनाकालमा उत्तरमध्यमा तहदेखि सुरु भएको यस विद्यापीठमा हाल शास्त्री तथा आचार्यतहसम्मको कक्षा चलिरहेको छ । वेद, वेदान्त, व्याकरण, दर्शन, नीतिशास्त्र आदि विविध विषयमा विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन भइरहेको छ ।

शैक्षिक कार्यक्रम[सम्पादन गर्ने]

गुरुकुलमा औपचारिक र अनौपचारिक गरी दुई किसिमका कार्यक्रमहरु सञ्चालित छन् । औपचारिक अन्तर्गत कक्षा ६ देखि आचार्य तह सम्मको शिक्षा प्रदान गरिएको छ । अनौपचारिक अन्तर्गत हाल निम्न कार्यक्रमहरु सञ्चालित छन्—

  • योगप्रशिक्षण
  • संस्कृतभाषा प्रशिक्षण
  • संस्कृतभाषा प्रशिक्षण
  • ज्योतिष प्रशिक्षण
  • कर्मकाण्ड प्रशिक्षण
  • आयुर्वेद प्रशिक्षण

भौतिक पूर्वाधारहरू[सम्पादन गर्ने]

स्थापनाकालदेखि हालसम्म निम्न निर्माण कार्यहरू सम्पन्न भएका छन् ।

  1. विद्येश्वर–शिवमन्दिर
  2. अग्निशाला
  3. सन्तनिवास
  4. छात्रावास
  5. साधकनिवास
  6. भोजनालय
  7. पुस्तकालय
  8. विद्यालय भवन
  9. आचार्यनिवास
  10. गौशाला
  11. गुरुकुल परिसरमा पक्की पर्खाल,

निकट भविष्यमा निम्न निर्माणकार्य गर्नुपर्ने

  1. विद्यापीठ भवन (निर्माणाधीन)
  2. आधुनिक सुविधासम्पन्न पुस्तकालय
  3. गुरुनिवास
  4. वनौषधि वाटिका
  5. व्यवस्थित खेलमैदान
  6. सन्तसेवा सदन

जमिन[सम्पादन गर्ने]

देवघाट–५, तनहूँमा महेश संन्यास आश्रमको नाममा खरिद गरिएको ६० रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । पक्की पर्खालभित्र सुरक्षित उक्त जमीनलाई विभिन्न प्रयोजनका भवन, वगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ ।

आधारहरू[सम्पादन गर्ने]