मेलवा देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेलवादेवी नेपाली गायिका थिइन्। उनी गीत रेकर्ड गराउने पहिलो नेपाली महिला हुन्। उनले कोलकातामा गीत रेकर्ड गराएकी थिइन्।


नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५४ ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उनलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिएकी थिइन् ।


रेडियो नेपालको स्थापनापछि धेरै गायिकाहरु जन्मिएका छन् । प्रजातान्त्रिक रेडियो नेपाल स्थापना भएपछि विराटनगरबाट गायिका रानुदेवी अधिकारीले २००६ सालमा गीत गाएकी थिइन् भने १९८५ मा गायिका मेलवा देवी गुरुङले सवारी मेरो रेलैमा गीत गाएकी थिइन् ।

आफ्ना दुई छोराको सानैमा मृत्यु भएपछि रेलमा सवारी भएकी गायिका मेलवा देवीले आफ्नै शब्द, संगीत र स्वरमा गीत रेकर्ड गराएकी थिइन् । उनले त्यो गीतलाई कोलकत्तामा हिज मास्टर भ्वाइस रेकर्डिङमा ग्रामो फोनमा रेकर्ड गराएकी थिइन् । श्री ३ चन्द्र शमशेरकी प्रिय गायिका रहेकी मेलवा देवीले सवारी मेरो रेलैमा, आउन बस पियारी मिरमिरे झ्यालैमा, ‘बिरानो देशैमा लैलै, मै मरी जाउँला बरिलैलै, रोइदिने कोही छैन जस्ता गीत गाएकी छन् । त्यसो त नेपालकै इतिहासमा पहिलो नारी प्रधान गीत ‘न घरलाई घर कहिन्छ’मा पनि उनले स्वर दिएकी थिइन् । जुन गीत शहिद शुक्रराज शास्त्रीले लेखेका थिए ।

पाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रूपमा प्राप्त गरेकी थिइन् ।

सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र थिइन्। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो । दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो ।

उनको मृत्यु सन् १९५५ मा ५३ वर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको । उनको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

www.musickhabar.com