रत्यौली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रत्यौली प्राय: विवाह हुने केटाको अथवा कसैको छोरा जन्मियो भने त्यो घरमा गरिन्छ । केटी तर्फ भने होइन । केटाको घरमा जन्ती र बेहुला बेहुलीको घरमा हिडिंसकेपछी त्यस राती आईमाई, तरुनी केटिहरू मिलेर खेल्ने, जिस्काउने चलन हो । यसमा लोग्ने मान्छे पटक्कै जानु हुंदैन; गएमा कुटेर खेद्ने परम्परा पनि छ । [१] किनभने आईमाईहरूले यस खेलमा आपसमा जस्तोसुकै खेल भएपनि खेल्न सक्छ्न् । केटाका घरबाट दुलाहा अन्माएपछि त्यो रात केटाका घरमा गाउँले आइमाईहरू जम्मा भएर रमाइलो आयोजना गरि रातमा खेलिने र रतिरागात्मक गीत गाइने हुँदा यस्तो राम रमाइलोलाई रत्यौली भन्ने गरिएको हो । रत्यौलीमा भोज खाने र खसी काट्ने पनि गरिने हुँदा रत्यौली विवाहको एउटा पक्षका रूपमा रहेको पाइन्छ । नारी जातिको मात्र उपस्थिति हुनेहुँदा रत्यौलीका गीतमा केही अश्लीलताको समाविष्टता पनि पाइन्छ तर आजकाल त्यस्ता गीत र नृत्यमा सुधार आएको छ । नारी-पुरुष दुवै मिलेर नाचगान गरी रत्यौली मनाउने चलन पनि आजकाल बढेको छ । केराका दाम्चाको घोडामा परालको पुच्छर गाँसेर नारीहरू माथिमाथि सारी सारेर अभिनय गरी रत्यौली मनाउँदा पुरुषलाई प्रवेश निषेध गर्थे र पुरुषको भेषमा पनि महिला नै हुन्थे।

रत्यौली गीत[सम्पादन गर्ने]

न्वारनको रत्यौली खेल्दै महिलाहरू
  • रत्यौलीको बोको छ, खाउँला भन्ने धोको छ।
  • दिदी पनि आऊ यता, बैनी पनि आऊ यता, दुलाहाकी आमालाई तानेर ल्याऊ यता

विभिन्न समाजमा रत्यौली[सम्पादन गर्ने]

तराई ,विशेषत मिथिला क्षेत्रमा विवाह समयमा आयोजन गरिने 'डोमकच' र रत्यौलीमा धेरै समानता रहेको हुन्छ । रत्यौली मूलतः हास्य प्रधान लोकसंस्कृति हो । एउटा यस्तो नाट्य हो जसको हर्ता-कर्ता र दर्शक सबै महिला नै हुन्छन् । महिलाले महिलाकै लागि मात्र मञ्चन गर्ने गरेको नाट्य नेपालका मगर, गुरूङ, नेवार, राई, लिम्बू, मैथिल आदि समाजमा भने पाइँदैन तर पनि ती जातिका महिलाहरू पनि यदाकदा सहभागी हुने गरेको भने पाइन्छ । महिलाहरूका लागि आरक्षित यो नाट्य परम्परालाई कहीँ रतेउली त कतै जिउती पनि भनिन्छ । घरमा विवाह भए दुलही ल्याउन जन्ती प्रस्थान गरेको अथवा नवजात शिशुको छैठीको रात विवाहको शुभ अवसरमा यो लोकनाट्य मञ्चन गरिन्छ, विवाहघर त्यो पनि वरको- त्यसमा महिला मात्र हुनु स्वाभाविकै हो । यो लोकनाट्य परम्परा नेपालमा खस, भोजपुरी र बज्जिका समाजमा कायम छ । घरमा लोग्नेमानिस नभएको बेलामा महिलाहरूले मात्र धक खोल्ने हुँदा हल्ला त हुन्छ नै । गुरूङको रोदीघर होस्, अथवा मैथिली, बज्जिका र भोजपुरीको जट जटिन जुनसुकै लोकनाट्य परम्परामा पनि महिलाहरू मन खोलेर रमाइलो गर्छन् । नेपालका पश्चिमी जिल्लाहरूमा यसलाई जिउती तथा रतेरी पनि भनिन्छ ।

रत्यौलीमा देखाइने नाट्य कला[सम्पादन गर्ने]

यस नाट्य परम्परामा महिलाले पैन्ट, सुरूवाल लगाएर मकैको खोया र ज्यामीरको जननेन्द्रीय जडेर पुरुष बनी रतीक्रियाको स्वाँङ गर्छन् । पेट बोकेको महिलाको नक्कल पार्नु, र प्रसवकालको अभिनय भने बडो सजिब लाग्दछ । पुरुषहरूका लागि पूर्णतः निषेध यो नाट्य परम्पराको अभिनेता-अभिनेत्री महिला नै हुन्छन् । यसको आयोजना छोराको विवाहमा जन्ती प्रस्थान गरेपछि सोको राति विशेषरूपमा गरिन्छ र मूलपात्र बेहुलाकी आमालाई बनाइन्छ । छोराको विवाहमा बुहारी आउने हुन्छ, वियोगको दुःख हुँदैन, यसकारण खुब उल्लासपूर्वक रमाइलो गर्छन् । यसमा कुनै बाद्ययन्त्र प्रयोग गरिँदैन र घरेलु सामानको उपयोग गरेको पाइन्छ । रतेउली खेल्ने महिलाहरू पुरुषले सहजै देख्न नसक्ने ठाउँमा गोलो घेरा बनाएर बस्छन् । गाईजात्रा बिर्सिने किसिमको हास्य र व्यङ्ग्य दुबै यसमा पाइन्छ । यसको प्रारम्भिक अभिनयमा एउटी महिला दौरा-सुरूवाल, पैन्ट-सर्ट अथवा ट्याकसुट र टोपी लगाएर लोग्ने बन्छे त अर्की पत्नी । प्रायः अभिनयमा बेबकुफ पतिको अभिनय उतार्ने गरिन्छ । अभिनयकै क्रममा महिलालाई पतिको दासी होइन, मालिक्नी बनेको देखाइन्छ । बीचबीचमा आइमाईहरूले लय मिलाएर गीत पनि गाउँछन् । खासगरेर यसरी गाउने गीतलाई नै पश्चिमी नेपालमा जिउती भनिन्छ । प्रायः गरेर यस नाटकमा महिलाहरूले आफ्नो तरिकाबाट पुरुषहरूप्रति आफ्नो शाश्वत अधिकार पोख्नका लागि कतिपय रोचक नाटकहरू तत्कालै सिर्जना गरेर अभिनय देखाउँछन् । रतेउलीको क्रममा सबभन्दा प्रचलित नाटक हो बच्चा जन्माउनु । एउटी महिला आफ्नो पेटमा कपडा बाँधेर गर्भवती भएको अभिनय गर्छे । नाचकै क्रममा पेट धेरै दुःखेको अभिनय गर्छे । महिलाहरूले अभिनयको क्रममा पुरुषप्रधान समाजको निरङ्कुशता र स्वार्थीपनमाथि प्रहार गर्दछन् । पेट बोकेको स्वाँङ गरेकी महिला छट्पटाउन थाल्दछे । अर्की महिला जान्ने झाँक्रीको रूपमा आउँछे र बच्चा जन्माउन मद्दत गर्दछे । झाँक्री बन्ने महिला मूलतः विदूषक -जोकर) हो र तिनको प्रत्येक अभिनयमा हास्य हुन्छ । हाँसोको बीचमा अन्ततः बच्चा जन्माइन्छ । सामान्यतः मसला पिस्ने लोहोरोलाई बच्चाको रूपमा प्रयोगमा ल्याइन्छ । बच्चा रोएको अभिनय पनि महिलाहरू नै गर्छन् । बच्चालाई दूध ख्वाएको अभिनय, बच्चा बिरामी हुँदा आमाको मनोदशाको अभिनय, यसप्रकार आमा र बच्चाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कुरो हास्यको माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ । रातभरि नै यस किसिमको नाटक चलिरहन्छ । घरको मझेरीमा बेहुली लिन गएको बेहुला र जन्तीको प्रतीकका रूपमा कागजमा चित्र बनाएर भित्तामा टाँसिएको हुन्छ । वास्तवमा त्यही चित्रलाई नै जिउती भनिन्छ । अष्टमातृकाको पूजाका अवसरमा पनि जिउती चित्र विवाहमा आवश्यक मानिन्छ । चित्रमुनि रातभर दियो बालेर उक्त दियोलाई निभ्न नदिनका लागि पनि रतेली खेल्दै जाग्राम बस्ने प्रचलन चलेको हो । रतेउलीको बोको छ, खाउँला भन्नै धोको छ, भन्ने बोलको गीत गाएर रमाइलो गर्दछन् भने केराको थम्बालाई काठका खुट्टा लगाएर हिनहिनाउँदै, घोडा चढेको बेहुलाको अभिनय अर्को आकर्षण हो । त्यस घोडालाई भोलिपल्ट बेहुली लिएर आउने बेलामा दोबाटोमा राख्ने प्रचलन पनि छ । रतेउलीको यस्तो संस्कृति विशेषगरी गाउँघरमा अद्यापि जीवितै छ।

महत्व[सम्पादन गर्ने]

रत्यौलीमा देखाइने नाट्य कलाबाट नै प्रष्ट हुन्छ की यो परम्परा महिलाहरूकोलागि ज्ञान वर्धक पनि छ । यसका साथै यस परम्पराले महिलाहरूको आपसी मेलमिलाप पनि कायम राख्ने गर्दछ । रत्यौलीमा महिलाहरूले खुलेर रतिराग सम्बन्धी गित र नृत्य पर्दर्शन गर्ने हुनाले पश्चिम नेपालमा "रत्यौलीका आइमाई भूवाको लोग्ने" भन्ने उखान प्रचलित छ । त्यसैले रत्यौलीमा पुरूषको उपस्थिती हुनाले महिलाहरूको मनोरञ्जनमा दखल पुग्ने भएकाले पहिलेका दिनहरूमा पुरूषहरू रत्यौलीमा देखेमा महिलाहरूले कुटेर खेद्ने चलन पनि थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. रत्यौली मनाउने समुदाय