रोमी कोङ्कणी
रोमी कोङ्कणी (रोमी कोङ्कणी: Romi Konknni) रोमन लिपिमा लेखिएको कोङ्कणी भाषा हो। कोङ्कणी भाषालाई समग्र रूपमा पाँचवटा लिपिहरूमा लेखिएपनि रोमी कोङ्कणीलाई व्यापक रूपमा प्रयोग गरिन्छ। सोह्रौँ शताब्दीदेखि सुरु भएको रोमी कोङ्कणी साहित्य विश्वको सर्वाधिक रूपमा सुरक्षित र संवर्द्धित साहित्य मानिन्छ।
करिब ५,००,००० जना मानिसहरूले रोमी कोङ्कणीको प्रयोग गर्छन् भन्ने अनुमान गरिएको छ। कोङ्कणी लेख्न आधिकारिक रूपमा प्रयोग गरिने देवनागरी लिपिलाई कोङ्कणी लेख्न प्रथम पटक सन् ११८७ मा प्रयोग गरिएको थियो।[१][२] कानुनअनुसार रोमन लिपिलाई कोङ्कणी लेख्न प्रयोग गरिने आधिकारिक लिपि मानिएको छैन। यद्यपि, गोवा सरकारद्वारा पारित नियमअनुसार आधिकारिक सञ्चारका लागि देवनागरी लिपिका साथै रोमन लिपिको प्रयोग गर्न पनि सकिन्छ।
रोमी कोङ्कणी भन्नाले कोङ्कणी भाषालाई रोमन लिपिमा लेख्नु मात्रै होइन। यस पदले कोङ्कणी भाषाअन्तर्गत पर्ने एउटा भिन्न भाषिकालाई समेत चिनाउने काम गर्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]सोह्रौँ शताब्दीमा इसाई धर्मप्रचारकका समूहले कोङ्कणी भाषा तथा कोङ्कणी साहित्यका विभिन्न विधाका गहन अध्ययन गरी व्याकरण सन्दर्भ तथा शब्दकोश बनाएका थिए। सन् १५५६ मा इसाई समाजले गोवामा एसियाको सर्वप्रथम छापाखानाको स्थापना गरेका थिए। त्यसपछि रोमी कोङ्कणी साहित्यको समृद्ध इतिहासको प्रारम्भ भएको थियो। इस्वी संवत्को सत्रौँ शताब्दीको सुरुवातमा थोमस स्टिवन्सले रोमी कोङ्कणी वर्णविन्यासको विकासमा महत्त्वपूर्ण योगदान दिएका थिए। एद्वार्दो ब्रुनो डिसुजा सन् १८८९ मा पुणेबाट उदेन्तेचे सालक (कोङ्कणी: उदेंतेचे साळक, रोमन लिपि: Udentechem Salok, अनुवाद: पूर्वी कमल) नामक प्रथम रोमी कोङ्कणी मासिक पत्रिकाको मुद्रणको सुरुवात गरेका थिए। उनले कोङ्कणी भाषाको प्रथम उपन्यास, क्रिस्तानं घोरबो (रोमन लिपि: Kristanv Ghorabo, अनुवाद: इसाई घर) लेखेका थिए। शेणै गोंयबाबले रोमी कोङ्कणीमा कुल सात पुस्तक लेखे।[३] सन् १९६१ भन्दा पहिले कोङ्कणी साहित्यमा रोमी कोङ्कणीको प्राबल्य थियो।[४] रेजिनाल्डो फर्नान्डिजले रोमी कोङ्कणीमा रोमान्सेस (कोङ्कणी: रोमांसेज, रोमन लिपि: Romanses) वर्गभित्र पर्ने गरी २०० कृति रचना गरेका थिए।[५]
वर्तमानकालमा रोमी कोङ्कणी मुख्यतः इसाई धर्मावलम्बीहरूले प्रयोग गर्छन् किनभने गोवाको क्याथोलिक चर्चको देह संस्कारको रीति रोमी कोङ्कणीमा लेखिएको छ। यसका साथै गोवा र दमनको महाधर्मप्रान्तका काजक्रिया रोमी कोङ्कणीमा नै समापन हुन्छ। यद्यपि, इसाई धर्म नमान्ने टन्नै साहित्यकारहरूले रोमी कोङ्कणीमा साहित्य रचना गर्छन्। रोमी कोङ्कणीलाई तियात्रमा पनि प्रयोग गरिन्छ।
कोङ्कणी लेख्नका लागि रोमन लिपिको मात्रै प्रयोग गर्ने मान्छेहरू पनि धेरै छन्। देवनागरी लिपिलाई कोङ्कणी भाषाको आधिकारिक लिपि मानिएको हुनाले कयौँ राम्रा कोङ्कणी साहित्यको वास्ता गरिँदैन। संरक्षित तथा संवर्द्धित रोमी कोङ्कणी साहित्यले गर्दा नै भारतीय साहित्य अकादमीले सन् १९७५ मा कोङ्कणीलाई एक स्वतन्त्र, साहित्यिक भाषाको दर्जा दिएको थियो।[६] यद्यपि, सन् १९८७ मा देवनागरी कोङ्कणीलाई गोवाको आधिकारिक भाषा घोषणा गरेदेखि अकादमीले केवल देवनागरी कोङ्कणी साहित्यलाई मात्रै मान्यता दिन थाल्यो। तसर्थ, रोमी कोङ्कणी साहित्य र कन्नड लिपिमा लिखित कोङ्कणी साहित्यलाई साहित्य अकादमी पुरस्कारको लागि चुनावित गरिँदैन।[७]
रोमी कोङ्कणीको आधिकारिक मान्यता हेतु आन्दोलन
[सम्पादन गर्नुहोस्]वर्तमानकालमा देवनागरी लिपिमा लिखित कोङ्कणीका साथै रोमी कोङ्कणीलाई आधिकारिक मान्यता प्रदान गराउनका लागि माग बढेको छ। यसको प्रमुख उदाहरण वौरड्यांचो इष्ट (रोमन लिपि: Vauraddeancho Ixtt) पत्रिकाको पाठक सङ्ख्याको वृद्धि हो।[८] यसका साथै सामाजिक सञ्जाल वेबसाइट फेसबुकमा पनि रोमी कोङ्कणीसम्बन्धी विभिन्न पेजको निर्माण भएको छ।[९] देवनागरी कोङ्कणीका समालोचकहरूले पोण्डा भाषिका गोवाका वासिन्दाहरूले नै बुझ्न गाह्रो मान्ने हुनाले अन्य कोङ्कणी वक्ताहरूले बुझ्न नसक्ने तर्क प्रस्तुत गर्दै कर्नाटक तटमा रोमन लिपि र कन्नड लिपिको प्रयोगको तुलनामा देवनागरी लिपिको प्रयोग अत्यन्तै कम छ भनेका छन्।[१०] देवनागरी कोङ्कणीका आलोचकहरू मुख्यतः कोङ्कणी भाषा आन्दोलनमा अग्रसर कोङ्कणी क्याथोलिक जनसमूह हुन् जसले परापूर्व कालदेखि नै कोङ्कणी साहित्य लेख्नका लागि रोमन लिपिको प्रयोग गर्दै आएका छन्। तसर्थ, उनीहरूले रोमन लिपिलाई पनि देवनागरी लिपिसमान दर्जा दिने माग गरिरहेका छन्।[११] तियात्र कलाकारहरूले पनि रोमी कोङ्कणीप्रति समर्थन व्यक्त गरेका छन्। रोमी कोङ्कणीले आधिकारिक दर्जा पाएमा गोवास्थित इसाई समुदाय तथा रोमन लिपिका प्रयोगकर्ताका लागि एक समावेशी वातावरणको सिर्जना हुने तर्क अघि सारिएको छ। देवनागरी लिपि नजान्ने कोङ्कणी वक्ताका लागि पनि रोमी कोङ्कणीको आधिकारिक मान्यताले भाषा सिक्नमा टेवा पुर्याउनेछ। देवनागरी नजान्ने गोवा निवासीहरूले आफ्नो सरकारसँग सम्पर्क गर्नका लागि कोङ्कणीको साटो अङ्ग्रेजीको प्रयोग गर्नुपरेको हुनाले पनि कोङ्कणी भाषाको प्रयोग स्वाट्टै घटेको छ।[४] इन्टरनेटमा पनि कोङ्कणी लेख्नका लागि रोमन लिपिको व्यापक प्रयोग गरिन्छ। उक्त लिपि कम्प्युटरमा पनि सर्वाधिक समर्थित लिपि हो।
अहिलेसम्म सन् २००८, फेब्रुअरी २०१० र फेब्रुअरी २०११ मा गरी गोवामा तीन प्रान्तीय रोमी लिपि कोङ्कणी साहित्य तथा सांस्कृतिक सम्मेलनका आयोजना भएका छन्।
यद्यपि, रोमी कोङ्कणीलाई आधिकारिक मान्यता प्रदान गर्नुको विरोधमा धेरै लिपिको प्रयोगले कोङ्कणीको विखण्डन हुने तर्क प्रस्तुत गरिएको छ।
जनवरी २०१३ मा बम्बई उच्च न्यायालयको गोवा न्यायपीठले जनहित याचिकाअन्तर्गत रोमी कोङ्कणीलाई आधिकारिक मान्यता दिने विषयमा रोमी लिपि एक्सन फ्रन्टद्वारा अघि सारिएको सिफारिसलाई प्रान्तीय सरकारसमक्ष पेस गरेको थियो।[१२]
सन् २०१६ मा गोवा सूरज पार्टीले आफ्नो सन् २०१७ को घोषणापत्रमा रोमी कोङ्कणीप्रति समर्थन जनाएको थियो।[१३]
मागप्रति आधिकारिक उत्तर-प्रत्युत्तर
[सम्पादन गर्नुहोस्]सेप्टेम्बर २००८ मा गोवा सरकारको सल्लाहकार मण्डलले सरकारी कार्यालयहरूमा रोमी कोङ्कणीको प्रयोग गर्ने सल्लाह दिएको थियो।[१४] सल्लाहबमोजिम सम्पर्कका लागि रोमी कोङ्कणीलाई स्वीकृति दिइने घोषणा गरिएको थियो। यसको अर्थ सरकारी कर्मचारीहरूले रोमी कोङ्कणीमा नै अपिल वा सिफारिस बुझाउन मिल्ने कुरा भएको थियो। वर्तमानकालमा यस्ता अपिल तथा सिफारिस बुझाउनका लागि देवनागरी कोङ्कणी वा मराठीको प्रयोग गर्नुपर्ने नियम छ। यद्यपि, रोमी कोङ्कणीको प्रयोगको नियमको कार्यान्वयन गरिएको छैन।
अगस्त २०१२ मा गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरले दालगादो कोङ्कणी अकादमीका चार माग पूरा गर्ने वाचा गरेका थिए:[१५][१६]
- गोवा साहित्य अकादमीमा देवनागरी कोङ्कणी झैँ रोमी कोङ्कणीमा पुस्तक मुद्रणका लागि भिन्न वर्ग बनाई वार्षिक रूपमा साहित्यिक पुरस्कारको व्यवस्था
- कक्षा १ देखि कक्षा १२ सम्म रोमी कोङ्कणी पाठ्यक्रमको व्यवस्था
- तियात्र कलाकारका लागि पणजीमा विशेष नाट्यशालाको व्यवस्था
- दालगादो कोङ्कणी अकादमीको विशेष कार्यालयको व्यवस्था
आबद्ध सङ्घसंस्था
[सम्पादन गर्नुहोस्]रोमी कोङ्कणीको संवर्द्धन, समर्थन तथा प्रवर्द्धनमा लागेका सङ्घसंस्थाहरू निम्न छन्:
प्रकाशित कृति
[सम्पादन गर्नुहोस्]निश्चित समयावधिमा निरन्तर रूपमा प्रकाशित रोमी कोङ्कणी पत्रिकाहरू निम्न छन्:
- दर म्हयन्यांची रोटी (रोमन लिपि: Dor Mhoineachi Rotti), सन् १९१५ देखि
- वावराड्यांचो इश्ट (रोमन लिपि: Vauraddeancho Ixtt), सन् १९३३ देखि
- गुलाब (रोमन लिपि: Gulab), सन् १९८३ देखि
वर्णमाला
[सम्पादन गर्नुहोस्]A | Ã | B | C | Ç | D | E | F | G | H | I | J | K | L | M | N | Ñ | O | Õ | P | Q | R | S | Ş | T | U | V | W | X | Y | Z |
a | ã | b | c | ç | d | e | f | g | h | i | j | k | l | m | n | ñ | o | õ | p | q | r | s | ş | t | u | v | w | x | y | z |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ कामत, डा. कृष्णानन्द, "The origin and development of Konkani language", To serves as a distant learning resource for lesser known topics about India।
- ↑ सरदेसाई, माधवी, "Mother Tongue blues"।
- ↑ "GOANEWS - BY SANDESH PRABHUDESAI", २८ अगस्त २००८, मूलबाट २८ अगस्त २००८-मा सङ्ग्रहित।
- ↑ ४.० ४.१ मल्ली, कार्तिक (२८ अप्रिल २०१९), "Romi Konkani: The story of a Goan script, born out of Portuguese influence, which faces possible decline", फर्स्टपोस्ट।
- ↑ https://timesofindia.indiatimes.com/city/goa/Reginaldo-Fernandes-A-votary-of-Konkani/articleshow/52737582.cms
- ↑ "Konkani back in script row", २४ सेप्टेम्बर २०१३ – टाइम्स अफ इन्डियाद्वारा।
- ↑ "Consider Konkani writers for Akademi awards irrespective of the script'", २२ जुलाई २०१० – द हिन्दुद्वारा।
- ↑ "'Ixtt' with a new vigour", गोवा न्युज, अन्तिम पहुँच २९ अगस्त २०१२।
- ↑ "Konkani in the Roman script / Romi Konknni", फेसबुक, २५ डिसेम्बर २०१०, अन्तिम पहुँच २९ अगस्त २०१२।
- ↑ "MORE GOA-RELATED NEWS", मूलबाट २४ जुलाई २०११-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२४ मिति
- ↑ "Goa group wants Konkani in Roman script - The Times of India", टाइम्स अफ इन्डिया, २० फेब्रुअरी २००७, अन्तिम पहुँच १२ अगस्त २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-२१ मिति
- ↑ "HC notice to govt on Romi script - The Times of India", टाइम्स अफ इन्डिया, २२ जनवरी २०१३, अन्तिम पहुँच १२ अगस्त २०१५।
- ↑ एन्टी, "Goa Su Raj Party declares first batch of poll candidates"।
- ↑ "Romi Konkani in offices soon", टाइम्स अफ इन्डिया, २७ सेप्टेम्बर २००८, २७ सेप्टेम्बर २००८-को मूल सङ्ग्रहित
|archiveurl=
|url=
आवश्यक (सहायता)। - ↑ "Goa, Goa Breaking News, Goa Holidays, Goa Centric Portal, Goa Yellow Pages, Explore Goa, Goa News Headlines, Goa News, Goa Current Affairs, Goa Events", डिजिटलगोवा.कम, मूलबाट २४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्त २०१५। वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१५ मिति
- ↑ "Chief minister Manohar Parrikar assures boost to Romi Konkani - The Times of India", टाइम्स अफ इन्डिया, २९ अगस्त २०१२, अन्तिम पहुँच १२ अगस्त २०१५। = Archive.today अभिलेखिकरण २०१३-०१-२६ मिति