र्याप
र्याप एउटा सङ्गीत शैली हो जसमा गीतहरू कविता जस्तै तालसहित गाइन्छ। यसरी गाइने गीतलाई र्याप र गायकहरूलाई र्यापर भनिन्छ। यो कला अफ्रिकी गायकहरूले सुरु गरेको थिए भने यो पश्चिमी सङ्गीतमा एक लोकप्रिय साङ्गीतिक शैली हो। ऱ्याप गीत पप संस्कृतिसँग जोडिएको एक विश्वव्यापी र स्थापित साङ्गीतिक विधा हो। नेपाली युवा पुस्तामाझ यसको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ। आक्रोश, चेतना र विद्रोहका स्वरहरू बोकेर आउने यस्ता गीतहरू युवाको भावना, सोच र सवालहरूलाई साङ्गीतिक स्वरूपमा प्रस्तुत गर्छन्।
ऱ्याप सङ्गीतको मूल उत्पत्ति पश्चिमी देशका गल्ली र सडकहरूमा भएको मानिन्छ। विशेषतः सन् १९७० को दशकमा अमेरिकामा अश्वेत समुदायले श्वेतहरूको दमन र शोषणको विरोधस्वरूप 'स्ट्रिट पोएट्री' अर्थात् गल्ली कविता मार्फत् यसको सुरुवात गरेका थिए। ती कविताहरूलाई सङ्गीतको लयमा बोलेर वा गाएर प्रस्तुत गरिन्थ्यो जुन पछि गएर ऱ्यापको आधार बनेको थियो। रङ्गभेद विरुद्धको अभियानमा उनीहरूले ऱ्यापलाई प्रतिरोधको माध्यम बनाएका थिए।
समयसँगै ऱ्याप गीतको रूप, विषयवस्तु र प्रभाव पनि विस्तार भएको छ। आजको दिनमा ऱ्याप गीतहरू प्रेम, सामाजिक विकृति, राजनीतिक व्यवस्था, असमानता, लैङ्गिकता, मानसिक स्वास्थ्य जस्ता विविध विषयमा पनि रचना र प्रस्तुत गरिन्छन्। ऱ्यापको मूल आत्मा भने अझै पनि प्रश्न गर्ने, चेतना जगाउने र परिवर्तनको माग राख्ने हो।
नेपालमा पनि पछिल्लो समय ऱ्यापको प्रयोग सामाजिक यथार्थ चित्रण र युवा चेतनाको अभिव्यक्तिमा व्यापक भएको छ। यी गीतहरूले युवालाई सक्रिय, जागरूक र परिवर्तनको वाहक बनाउने सम्भावना बोकेका छन्। सङ्गीतको लयमा बोलेर प्रस्तुत गरिने यी गीतहरू मनोरञ्जनसँगै विचार र मूल्यका धाराहरू पनि बोकेर आउँछन्।
अन्ततः आज पनि ऱ्याप गायकहरू आक्रोश, चेतना र विद्रोहका स्वरहरूलाई नयाँ रूप र शैलीमा प्रस्तुत गरिरहेकै छन्, जसले गर्दा ऱ्यापको मूल स्वर अझै जीवित र प्रभावशाली देखिन्छ।

र्याप सङ्गीत नेपालमा पनि प्रचालित छ अन्य नेपाली र्यापरहरू नेपाल र नेपाली भाषी मुलुकमा लोकप्रिय बनेका छन्, जस्तमा यम बुद्ध, लाहुरे, साकार, भिटेन, बालेन आदि पर्दछन्।[१][२][३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "र्यापको जादु", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-३०।
- ↑ "नेपाली र्याप गायक जसले नयाँ पीढीमा 'राजनीतिक रिस' जगाइदिए", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२४-०८-३०।
- ↑ "होली उत्सवमा मेयर बालेन साहको र्याप", Online Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-३०।