सामग्रीमा जानुहोस्

लल्लेश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लल्लेश्वरी
जन्मसन् १३२०
पान्द्रेथन (वर्तमान श्रीनगर, जम्मु र काश्मीर, भारत)
मृत्युसन् १३९२
काश्मीर
अन्य नामलल्ला, लल्लेश्वरी, लाल आरिफा
चिनारीको कारणवात्सुन कविता

लल्लेश्वरी, (अन्दाजी१३२०–१३९२) जसलाई सामान्यतया लाल देदको नामले पनि चिनिन्छ, हिन्दु दर्शनको काश्मीर शैव सम्प्रदायकी एक कश्मीरी दार्शनिक थिइन्।[][] उनी वात्सुन वा वाख' (जसको अर्थ संस्कृतको वाच् बाट "वाणी" हुन्छ) भनिने रहस्यवादी कविता शैलीकी सर्जक थिइन्। लाल वाखका नामले परिचित उनका पद्यहरू कश्मीरी भाषाका प्रारम्भिक रचनाहरूमध्ये पर्दछन् र आधुनिक कश्मीरी साहित्यको इतिहासको एक अंश हुन्।[][]

लल्लेश्वरी ("माता लाल" वा "माता लल्ला") लाई लाल द्याद (द्याद को अर्थ "हजुरआमा" हुन्छ), लल्ला आरिफा, लाल दिद्दी, लल्लेश्वरी, लल्ला योगेश्वरी र लालिश्री लगायतका विभिन्न अन्य नामहरूले पनि चिनिन्छ।[][][][]

अधिकांश आधुनिक विद्वानहरू लल्लेश्वरीको जन्म सन् १३०१ देखि १३२० को बीचमा सेम्पोर वा पान्द्रेथन नजिकै भएको मान्छन्।[][] उनको मृत्यु सन् १३७३ मा भएको अनुमान गरिएको छ र बिजबेहारा नजिकै रहेको एउटा समाधिसँग उनको नाम जोडिने गरे तापनि यसको कुनै आधिकारिक पुष्टि भने भएको छैन। लल्लेश्वरीको जन्म एक कश्मीरी ब्राह्मण परिवारमा भएको थियो र स्थानीय परम्परा अनुसार १२ वर्षको उमेरमा उनको विवाह भएको थियो।[१०] विवाहपछि परम्परा अनुसार उनको नाम पद्मावती राखिएको थियो, तर पनि उनलाई लल्ला वा लल्लेश्वरी नामले नै चिनिनिइरह्यो।[] केही विवरणहरूका अनुसार उनको वैवाहिक जीवन सुखद थिएन,[] जसका कारण उनले चौबीस देखि छब्बीस वर्षको उमेरमा घर छोडेर शैव गुरु सिद्ध श्रीकण्ठ वा सेद बोयुकी शिष्या बनेकी थिइन्।[१०] आफ्नो धार्मिक शिक्षाको अंश स्वरूप, उनी आफैँ शिक्षिका र आध्यात्मिक नेता बन्नु अघि भिक्षामा निर्भर रहँदै एक्लै पैदल यात्रा गरेकी थिइन्।[१०]

लल्लेश्वरीको जीवनका अभिलेखहरू मौखिक परम्परामा आधारित छन्, जसका कारण उनको जीवन र विश्वासका विवरणहरूमा विभिन्नता पाइन्छ।[१०] जोनोराज, श्रीवर, प्राज्यभट्ट र हैदर मलिक चदुरा जस्ता विद्वानहरूद्वारा तयार पारिएका धेरै समकालीन कश्मीरी इतिहासहरूमा लल्लेश्वरीको उल्लेख गरिएको छैन।[१०] लल्लेश्वरीको जीवनको पहिलो लिखित अभिलेख मुल्ला अली रैनाद्वारा लिखित सन्त तथा धार्मिक व्यक्तित्वहरूको जीवनीको सङ्ग्रह 'तधकिरात-उल-आरिफिन' (सन् १५८७) मा पाइन्छ, र त्यसपछि बाबा दाउद मिश्कातीको 'असरार उल-अकबर' (सन् १६५४) मा उनको जीवनको विवरण दिइएको छ। यी ग्रन्थहरूमा लल्लेश्वरीलाई यात्रुहरूका सामु जङ्गलमा प्रकट हुने एक रहस्यवादी सन्तका रूपमा वर्णन गरिएको छ।[१०] सन् १७३६ मा ख्वाजा आजम दिद्दामारीको 'तारीख-इ-अजमी' मा लल्लेश्वरीको जीवनको अझ विस्तृत विवरण समावेश गरिएको थियो।[१०] उनको उल्लेख फारसी ऐतिहासिक ग्रन्थ 'वाकियात-इ-काश्मीर' (सन् १७४६) मा पनि पाइन्छ, जसमा उनलाई सुल्तान अलाउ-उद्-दिन (सन् १३४३–५४) को शासनकालमा परिचित र सुल्तान शिहाब-उद्-दिन (सन् १३५४–७३) को शासनकालमा निधन भएको उल्लेख गरिएको छ।[]

लल्लेश्वरीलाई मीर सय्यद अली हमदानीका समकालीन पनि मानिन्छ, जो एक इरानी सूफी विद्वान र कवि थिए। उनले काश्मीर यात्राका क्रममा आफ्नै कविताहरूमा उनका कथाहरू सङ्ग्रहित गरेका थिए।[११]

साहित्यिक कृतिहरू

[सम्पादन गर्नुहोस्]

लल्लेश्वरीका कविताहरू कश्मीरी साहित्यका सबभन्दा पुराना रचनाहरू मानिन्छन्, जुन उत्तर भारतमा बोलिने अपभ्रंश प्राकृतबाट कश्मीरी भाषा एक छुट्टै भाषाका रूपमा विकसित हुन थालेका बेला रचिएका थिए।[१२] लल्लेश्वरीका नाममा कुल २८५ वटा कविताहरू रहेका छन्, जसलाई 'वाख' भनिन्छ।[१०] यसमा कश्मीरी लोरी हुकुस बुकुस पनि समावेश छ।

लल्लेश्वरीका 'वाख'हरूमा उनको जीवनकालमा भारतीय उपमहाद्वीपसँग सम्पर्कमा आएका विभिन्न संस्कृति र भाषाहरू, विशेष गरी संस्कृत, इस्लामी र सूफी संस्कृतिहरूको प्रभाव पाइन्छ।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. M. G. Chitkara (१ जनवरी २००२), Kashmir Shaivism: Under Siege, APH Publishing, पृ: 14–, आइएसबिएन 978-81-7648-360-5
  2. 1 2 Kaul, Shonaleeka (अक्टोबर १६, २०२०), "Remembering Lal Ded, the Kashmiri Yogini", द न्यु इन्डियन एक्सप्रेस, अन्तिम पहुँच १८ सेप्टेम्बर २०२१
  3. Lal Vakh online अभिलेखिकरण ११ मे २००८ वेब्याक मेसिन
  4. "Lal Ded's Vakhs", मूलबाट २९ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २००८ अभिलेखिकरण २९ जनवरी २०२० वेब्याक मेसिन
  5. Paniker, K. Ayyappa (१९९७), Medieval Indian Literature: Surveys and selections (अङ्ग्रेजीमा), Sahitya Akademi, आइएसबिएन 978-81-260-0365-5
  6. Richard Carnac Temple (१ अगस्ट २००३), Word of Lalla the Prophetess, Kessinger Publishing, आइएसबिएन 978-0-7661-8119-9
  7. Lal Ded www.poetry-chaikhana.com.
  8. Lal Ded अभिलेखिकरण १९ सेप्टेम्बर २००८ वेब्याक मेसिन www.radiokashmir.org.
  9. 1 2 3 4 Laldyada (२००७), Mystical Verses of Lallā: A Journey of Self Realization (अङ्ग्रेजीमा), Motilal Banarsidass Publishers, पृ: 4, आइएसबिएन 978-81-208-3255-8
  10. 1 2 3 4 5 6 7 8 9 I, Lalla: The Poems of Lal Ded, translated by Ranjit Hoskote with an Introduction and Notes, Penguin Classics, 2011, p. xiv आइएसबिएन ९७८-०-६७०-०८४४७-०.
  11. Grierson, Sir George; Barnett, Lionel D. (२०१३-०४-१८), Lalla-Vakyani or the Wise Sayings of Lal-Ded - A Mystic Poetess of Ancient Kashmir (अङ्ग्रेजीमा), Read Books Ltd, आइएसबिएन 978-1-4474-9436-2
  12. Ded, Lal; Laldyada (२०१३), I, Lalla: The Poems of Lal Ded (अङ्ग्रेजीमा), Penguin, पृ: x, आइएसबिएन 978-0-14-342078-1