रेडियो सगरमाथा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रेडियो सगरमाथा
प्रशारण क्षेत्र: काठमाडौं उपत्यका र आसपासका क्षेत्र
संस्थाको प्रकार सामुदायिक
नारा: नेपाली रेडियो, नेपाली आवाज
आवृति (फ्रिक्वेन्सी): १०२.४ मेगाहर्ज
प्रथम प्रशारण मिति २०५४/०२/०९ (इजाजत प्राप्त मिति‍ = २०५४/०२/०५)
प्रकार: समाचार, मनोरञ्जन
भाषा: नेपाली
स्वामित्व: नेपाल वातावरण पत्रकार समूह
वेबप्रशारण radiosagarmatha.org.np/sagarmathafm/theme/sagarmathafm/live.html
वेबसाइट radiosagarmatha.org.np

रेडियो सगरमाथा काठमाडौं उपत्यकाबाट प्रशारण हुने रेडियो च्यानल हो । यो दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो हो ।[१] रेडियो सगरमाथाले वि. स. २०५२ सालबाटै परिक्षण प्रसारण शुरू गरेको भएपनि वि.स. २०५४ साल जेठ ९ गतेबाट बिधिवत रुपमा १०२ दशमलव ४ मेगाहर्जमा प्रसारण शुरू गरेको हो। सामुदायिक भावनाबाट संचालित रेडियो सगरमाथा गैरनाफामुलक एफ.एम. रेडियो हो।

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्तन्त्रताको पत्याभुति दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररुपमा हुन थाले । त्यसै बेलादेखि नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो । वि. स. २०४९ सालमा राष्ट्रिय संचार निति २०४९ जारी भयो। यसमा एफ एम रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालन अनुमति लागि सरकार समक्ष निवेदन दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटाइसकेको थियो ।

पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.सं. २०५२ चैत २० र २१ गते गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परिक्षण गरेको कुरा सूचना तथा सञ्चार मन्त्रालयले २०५२ चैत २३ मा सोधेको स्पष्टीकरणबाट पुष्टि भएको छ । थप दुइ वर्षको संघर्ष पछि वि. सं. २०५४ जेठ ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनी रुपमा १०२ थोप्लो ४ मेगाहर्जमा दक्षिण एसियाकै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा ।

दक्षिण एशियाकै पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथाको पहिलो अध्यक्ष भारतदत्त कोइराला, पहिलो स्टेसन प्रमुख मुरारी शिवाकोटी, पहिलो कार्यक्रम निर्देशक रघु मैनाली, पहिलो प्राविधिक उपेन्द्र अर्याल र पहिलो प्रसारक/प्रस्तोता घमराज लुइँटेल हुनुहुन्छ । यसले घमराज लुइँटेलको अावाजमा पहिलोपल्ट, "नमस्कार ! एफएम ब्याण्डको एक सय दुई थोप्लो चार मेगाहर्जमा यो दक्षिण एशियाकै पहिलो नाफा नकमाउने तथा विज्ञापन नबजाउने स्वतन्त्र सार्वजनिक प्रसारण सेवा हो" भनी आफ्नो प्रसारण सुरु गरेको थियो । सुरुमा दिनको २ घण्टा कार्यक्रम प्रसारण गरेको रेडियो सगरमाथाले हाल दिनको १८ घण्टा कर्यक्रम प्रसारण गर्दै आएको छ । [२]

रेडियो सगरमाथाले बितेका करीब ५० बर्षसम्म कायम रहेको सरकारी रेडियोको एकाधिकार तोडदै जनताको बोली बोल्न शुरू गरिदियो । त्यसपछिका केही बर्षसम्म निर्वाध आफ्ना कार्यक्रमहरू प्रस्तुत गरिरहेको यस रेडियोमा शाही शासन कालमा सरकारका तर्फबाट छापा मार्ने र उपकरणहरू नियन्त्रणमा लिई प्रशारणमा अवरोध पुर‍याइएको थियो।

प्रारम्भमा काठमाडौँको ठमेल-कालधाराबाट प्रसारण सुरु गरेको रेडियो सगरमाथाले ललितपुरको पाटनढोका र बखुण्डोल हुँदै हाल ललितपुरकै भनीमण्डलस्थित आफ्नो प्रशारण स्टेशनबाट प्रशारण गर्दछ । सुरुमा रेडियो सगरमाथा नेपाल वातावरण पत्रकार समूह, हिमाल एशाेसिएसन, वर्ल्ड भ्यू नेपाल र नेपाल प्रेस इन्टिच्यूटको संयुक्त पहलमा सुरु भएको भए पनि २०५७ देखि नेपाल वातावरण पत्रकार समूहको स्वामित्वमा यो रेडियो चल्दै अाएको छ ।

सामाजिक न्याय र सकारात्मक सामाजिक परिवर्तनका लागि बैकल्पिक रेडियो मिडियाका रूपमा स्थापित रेडियो सगरमाथा व्यापारिक रेडियो र सरकार नियन्त्रत रेडियोको बीचमा निर्भिक, स्वतन्त्र र स्वच्छ छवि कायम राखी अगाडि बढिरहेको छ । यसले रेडियो प्रसारण क्षेत्रमा सरकारी नीति, एेन र व्यवहार परिवर्तनका लागि निकै लामो र नेतृत्वदायी संघर्ष गरेको इतिहास छ । जनताको सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रताको हक, सामाजिक न्याय, प्रजातान्त्रिक अभ्यास र संस्कृति, सामाजिक खुला बहस, सुशासन र मानवअधिकारका लागि गर्दै आएको वकालतका कारण शाही शासनकालमा राजा ज्ञानेन्द्रको सरकारले सबैभन्दा बढी तारो यसैलाई बनाएको थियो । स्वतन्त्र रेडियो बचाउ अान्दोलनमा नेपाल एफएम र रेडियो सगरमाथा निर्भिकताका साथ उभिएका थिए । २०६२ मंसिर १३ गते (नोभेम्बर २८, २००५) देखि राजा ज्ञानेन्द्रको शाही सरकारले २ दिनसम्म यसको प्रसारण बन्द गराउनुका साथै स्टेसनबाट राती उपकरण जफत गर्ने र बेलुकाको सिफ्टमा कार्यरत पत्रकारहरूलाई हिरासतमा लिने कार्य गरेको थियो । रेडियो सगरमाथाले सर्वोच्च अदालतको आदेशबाट २ दिनपछि मंसिर १५ देखि पुनः आफ्नो प्रसारण सुरु गर्यो ।

रेडियो सगरमाथालाई नेपाल र दक्षिण एशियाकै अग्रणी र नमुना सामुदायिक रेडियोको रूपमा लिने गरिन्छ । यसले समय अनुसार आफ्ना नीति र कार्यक्रममा परिमार्जन गर्दै लगेको छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Nepal Leads South Asia In Radio Growth Nepal Democracy Org
  2. नेपालमा सामुदायिक रेडियो इतिवृत्तान्त/लुइटेल घमराज/सामुदायिक रेडियो सहयोग केन्द्र