चैत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चैत
चैत महिनाको अन्तमा भक्तपुरमा बिस्केट जात्राको सुरुवात हुन्छ
मूल नामचैत्र  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुवसन्त
महत्त्वपूर्ण दिनहरू

चैत्र (चैत) १२ महिनाहरू अन्तर्गत पर्ने एक महिना हो । प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्टबाट मानिन्छ भने सौर्यमास अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ । शाक्य संवत्सरका अनुसार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ । साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ । यो महिना बसन्त ऋतुको पहिलो महिना हो । अङ्ग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ ।

यो महिनाका प्रमूख पर्वहरू[सम्पादन गर्नुहोस्]

यो महिनामा विभिन्न पर्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू पर्दछन् । हिन्दूहरूको महान चाड चैते दशैंराम नवमी यसै महिना भित्र पर्दछन् । चैत्र कृष्ण पक्षको औंशी तिथीमा काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । साथै चैत महिनाको अन्तमा भक्तपुरमा बिस्का: जात्रा ( बिस्केट जात्रा) को सुरुवात हुन्छ।

यो महिनामा गर्न हुने र नहुने कार्यहरू[सम्पादन गर्नुहोस्]

हिन्दू मान्यता अनुसार यस महिनामा विवाहादी शुभ कार्यहरू गर्नु हुँदैन भन्ने रहेको छ । यो महिनामा जती सक्दो दान गर्नु पर्छ भन्ने मान्यता पनि रहेको छ ।

यस महिनाको बारेमा रहेका भनाईहरू[सम्पादन गर्नुहोस्]

कतिपय ठाउँमा यस महिनालाई रित्तो महिना पनि भनेको सुनिन्छ । प्रायः चैतको महिनामा घर बनमा रित्तो महसुस गरिन्छ । गरिबहरूको घरमा अन्नको अभाव, वन पाखामा घाँसको अभाव, खोला नालामा पानीको अभाव, आदी कुराहरूलाई ध्यान दिने हो भने यो महिना एक रित्तो देखिन्छ । कतिपय ठाउँमा यस महिनालाई "लमकोल्थे" भन्ने गरेको पनि सुनिन्छ । यो समयमा लामो दिन सुरु हुने र भोकमारीले सताउने भएकाले "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने उखान विद्यान रहेको छ । यस सम्बन्धमा पश्चिम नेपालको खस सभ्यतामा आधारीत एक दन्त्य कथा विद्यमान रहेको छ ।[१]

" एक किसानले आफ्नी नयाँ बुहारीलाई यो महिनामा अन्न अभाव हुने जानकारी दिंदै बुहारीलाई- "लम्कोल्थे आयो केटा-केटी रुहायो" भन्छन्, त्यसैले अन्नको थमनी गर्नु ।" बुहारी सिधा र सोझी थिइ तसर्थ उसले ससुराको भनाईलाई राम्ररी बुझ्न सकि रहेकी थिइन । ससुरा बुहारीको त्यो कुरालाई एक जना अर्को मान्छेले राम्ररी सुनेको थियो । एक दिन त्यो मान्छे लामो कोल्थो (बोरा) बोकेर बुहारी एक्लै भएको मौका छोपी त्यो घरमा गएर बुहारीलाई कोल्थो देखाउँदै भन्छ - "तिम्रा ससुराले भनेको लम कोल्थे मै हुँ । मसँग लामो कोल्थो भएकोले मलाई लमकोल्थे भनिएको हो ।" उसको कुरा सुनेर सोझी बुहारीले आफ्नो केटा-केटीलाई लमकोल्थेले नरुहाओस् भनेर उससँग "तिमी के गर्न आएका हौ ?" भनेर प्रश्न गरी । लमकोल्थेले लामो कोल्थो देखाउँदै भन्यो- " तिमी मेरो यो कोल्थो अन्नले भर म अहिलै जान्छु ।" त्यो सुनेर किसानकी बुहारीले भित्रबाट अन्न झिकेर लमकोल्थेको कोल्थो भरिदिइ । लमकोल्थे गएको केही दिन पछि ससुराले फेरी "लमकोल्थे आयो केटा-केटी रुहायो" भन्ने कुराको प्रसंग निकाल्यो । त्यो सुनेर बुहारीले ससुरालाई भनी- " ससुरा अब लमकोल्थेको धन्दा नमान्नुहोस् मैले लमकोल्थेलाई पठाइ सकें ।" त्यस पछि ससुराले बुहारीबाट लमकोल्थेको पुरा वृतान्त सुनेर जिल्ल पर्यो ।

सन्दर्भ सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपालको मध्य तथा सूदूर पश्चमका विभिन्न क्षेत्रमा प्रचलित भनाईहरू

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=चैत&oldid=1204024" बाट अनुप्रेषित