ईश्वर बराल
ईश्वर बराल (विसं १९८० कार्तिक ९ – २०५४ कार्तिक २७) नेपाल प्रज्ञा प्रतिष्ठानका पहिला पूर्व-उपकुलपति तथा नेपाली साहित्यका समालोचक थिए । उनले लण्डनबाट विधावारिधि उपाधि हासिल गरेका थिए ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]ईश्वर बरालको जन्म विसं १९८० कात्तिक ९ मा सिरहा जिल्लाको बस्तीपुर गाउँमा पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालको छोराको रूपमा भएको थियो । उनको वास्तविक नाउँ लीलानटेश्वर बराल हो ।
बरालले चार वर्षको हुँदा अमरकोश पढेका थिए। आफ्नी आमा भुवनेश्वरीदेवीले मौखिक वाचनद्वारा उनलाई सो ग्रन्थ कण्ठाग्र गराएकी थिइन्। पाँच वर्षपुग्दा अमरकोशका तीनै काण्ड कण्ठस्थ पार्ने व्यक्ति ईश्वर बराल थिए। त्यसपछि उनले क्रमशः हितोपदेश, रघुवंश, लघुसिद्धान्त-कौमुदी, शुक्लयजुर्वेदका केही अध्याय र रुद्री आदिको ज्ञान अन्य गुरुजनहरूबाट ग्रहण गरे। उनले एघार वर्षलाग्दा अङ्ग्रेजी र त्यसपछि हिन्दी, उर्दू, बङ्गाली भाषा उनले क्रमशः अध्ययन गर्दै गएका थिए ।
संस्कृत, नेपाली, अङ्ग्रेजी, हिन्दी, मैथिली, उर्दू, बङ्गाली, भोजपुरी आदि भाषामा केही पोख्त हुँदाहुँदै उनले भारतको जयनगरबाट म्याट्रिक पास गरे । त्यसपछि संवत् १९९८ सालमा उनले दरभङ्गामा आई.एस्सी. सकाए । १९९९ सालमा 'भारत छोड' आन्दोलनमा सक्रिय भएकाले बराल दरभङ्गामा समातिए । परिणामस्वरूप त्यहाँ उनको आई.एस्सी. पछिको पढाइ अवरुद्ध भयो । त्यसपछि २००० साल वैशाखमा उनी काठमाडौंँस्थित त्रिचन्द्र कलेजमा भर्ना भए। त्यस बेला उनका सहपाठी विजय मल्ल थिए । साथै त्यस समय नै लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान आदिसँग बरालको घनिष्ठता भइसकेको थियो । त्यस बेला उनले नेपाली साहित्यका बारेमा केही जान्ने र सुन्ने मौका पनि पाए । त्यसैको परिणामले उनले २००० सालमा शारदामा एउटा लेख छापे । 'कथाको परिभाषा' शीर्षकको सो समालोचना समीक्षा जगत्को उनको प्रथम प्रस्तुति थियो ।[१]
उनैले पहिलो पल्ट लक्ष्मीप्रसाद देवकोटालाई महाकवि लेखे । २००४ सालमा उनले देवकोटालाई महाकवि लेखेपछि उनका नाउँमा त्यही सम्मान चलेर गयो र देवकोटालाई लेखिने गरेको युगकवि २०१० सालको हाराहारिमा सिद्धिचरण श्रेष्ठमा सारिएको थियो ।
वि.स. २००३ सालमा उनी नेपाली (राष्ट्रिय) काङ्ग्रेसका संस्थापक सदस्य भए । २००५ साल वैशाखमा ईश्वर बरालको विवाह सुश्री रानू ढुङ्गानासँग सुसम्पन्न भएको थियो । बरालले बी.ए.को अन्तिम वर्षअध्ययन गर्दागर्दै झयालबाट र हिमालचुलीको सम्पादन गरेका थिए । तर परिस्थितिले गर्दा उनको झयालबाट २००६ सालमा र हिमालचुली २०१२ सालमा मात्र प्रकाशित भएका थिए। एम्.ए. अध्ययनका लागि पनि बराल काशी हिन्दू विश्वविद्यालयमा भर्ना भए। त्यस बेला उनी समीक्षात्मक कलामा झन् उर्त्र्सग भए । उनी २०१८ सालमा संयुक्त अधिराज्य पुगे । बरालले भारतको काशी हिन्दू विश्वविद्यालयबाट २००६ सालमा अङ्ग्रेजी साहित्यमा एम्.ए. तथा २०२१ सालमा बेलायतको लन्डन विश्वविद्यालयबाट 'पृथ्वीनारायण शाहका दिव्य उपदेश'मा पी.एच्.डी. गरे । नेपाली साहित्यमा प्रवेश गर्दा कविता लेखेर उनले आफ्नो साहित्यिक यात्रा अघि बढाएका भए पनि उनका कविताहरूले प्रकाशित हुने मौका त्यति पाएनन् ।
सेवा
[सम्पादन गर्नुहोस्]उनले २००६ सालदेखि २००८ सालसम्म दार्जिलिङ सरकारी कलेजमा नेपाली र २००८ सालदेखि २०१३ सालसम्म त्रिचन्द्र कलेज र पद्मकन्या कलेजमा अध्यापन गराए । उनी भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय फर्के । २०४७ सालमा उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति मनोनित भए । देशमा बहुदलीय प्रणाली भित्रिएपछि पहिलोपल्ट प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुने पनि ईश्वर बराल नै भए । २०५० सालसम्म उनी उपकुलपतिपदमा विराजमान थिए। नेपाली साहित्यमा उल्लेखनीय सेवा गरेबापत उनले महाकवि देवकोटा महासम्मान, बालचन्द्र पुरस्कार, झपट पुरस्कार र सीताराम पुरस्कार प्राप्त गरे । बरालका पन्ध्रवटा प्रकाशित कृतिहरूमध्ये उनको जीवनकालमा आठवटा र निधनपछि शरद्चन्द्र शर्मा भट्टर्राईको सङ्कलन र सम्पादनमा छवटा कृति प्रकाशित भए । उनले पारिजातका कविता सम्पादन, रवीन्द्रनाथ ठाकुरका कथा अनुवादका कामहरू गरे।[स्रोत नखुलेको] बराललले नेपाल सांस्कृतिक परिषद् पत्रिका , धरती इन्द्रेणीको पनि सम्पादन गरे । साथै उनी नेपाली लेखक सङ्घ र नेपाली सांस्कृतिक परिषद्का सचिव पनि भएका थिए। उनले पाँच दशकभन्दा बढी समय नेपाली भाषा, साहित्य संस्कृति, इतिहास, राजनीतिजस्ता विषयमा शताधिक लेख नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिरहे । बरालको समालोचकीय प्रणाली वैज्ञानिक र र्सवमान्य मानिन्छ ।
अन्तिम अवस्था
[सम्पादन गर्नुहोस्]वि.स. २०५४ सालको आरम्भमा बराल बिरामी परे। उपचारार्थ उनी भारतको दिल्ली पुगे । त्यहाँको अस्पतालमा भर्ना भएपछि निष्कर्ष निक्ल्यो- उनलाई 'ब्रेन ट्युमर' भएको रहेछ । बराल बराल लेख्न र बोल्नबाट वञ्चित हुन पुगे। २०५४ सालको कात्तिक २७ गते बुधबार एकाबिहानै काठमाडौंंमा उनले देहत्याग गरे ।