द जङ्गल बुक (१९६७ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जङ्गल बुक (१९६७ को फिल्म)बाट अनुप्रेषित)
द जङ्गल बुक
जङ्गलको चित्र । रातो लङ्गोट लगाएको बालकले उचालिएको हातमा केरा बोकेको भालुको हात समात्दै छन् । एउटा ओराङ्गुटान उनीहरूको पछि हिँड्दै छन् र झाडीबाट एउटा कालो चितुवाले उनीहरूलाई हेरिरहेका छन् । एउटा बाघ रुखको हाँगामा बसिरहेका छन् भने अर्को हाँगामा साप झुन्डिरहेका छन् । पृष्ठभूमिमा तीन हात्तीहरू छन् । चित्रको माथिल्लो भागमा चलचित्रको नारा "द जङ्गल इज जम्पिङ !" र चलचित्रको शीर्षक "वाल्ट डिज्नी द जङ्गल बुक" लेखिएको छ । पोस्टरको तल्लो भागमा प्रमुख स्वर कलाकारका नाम तथा उनीहरूले निर्वाह गरेका भूमिका लेखिएको छ ।
रङ्गमञ्चमा प्रदर्शित पोस्टर
निर्देशकवुल्फग्याङ रिदरम्यान
कथा
आधारितद जङ्गल बुक
लेखक: रुडयार्ड किप्लिङ्ग
निर्मातावाल्ट डिज्नी
मुख्य कलाकार
Narrated byसेबास्चियन क्याबट
सम्पादन
  • टम अकोस्टा
  • नोर्मन कार्लाइल
सङ्गीतजोर्ज ब्रन्स
वितरक
कम्पनी
वितरकबुएना भिस्टा डिस्ट्रिब्युसन
प्रदर्शन मिति
अक्टोबर १८, १९६७
अवधि
७८ मिनेट
देशसंयुक्त राज्य
भाषाअङ्ग्रेजी
बजेट$४० लाख
बक्स अफिस$३७ करोड ८० लाख[२]

द जङ्गल बुक (अङ्ग्रेजी: The Jungle Book) सन् १९६७ मा वाल्ट डिज्नी एनिमेसन स्टुडियोद्वारा सार्वजनिक गरिएको एनिमेटेड हास्य साङ्गीतिक चलचित्र हो । रुडयार्ड किप्लिङ्गद्वारा लेखिएको सन् १८९४ मा प्रकाशित उही नामको किताबमा आधारित यो चलचित्र १९ औँ डिज्नी एनिमेटेड चलचित्र हो । वुल्फग्याङ रिदरम्यानद्वारा निर्देशित यस चलचित्रको निर्माण प्रक्रियाको बेलामा बितेका वाल्ट डिज्नीको नेतृत्वमा बनेको यो अन्तिम चलचित्र हो । यस चलचित्रको प्रमुख पात्र भारतीय जङ्गलमा ब्वाँसोहरूले हुर्काएका मोगली नामक जङ्गली बच्चा हो जसलाई शेर खान नामक खराब बाघ आउनुभन्दा अगाडि उसका साथी बघीरा नामक कालो चितुवा र बलू नामक भालुले जङ्गलबाट भगाउन चाहन्छन् ।

पटकथा र साउन्डट्र्याकका पहिलेका संस्करणहरूमा किप्लिङ्गको कथामा आधारित भयावह विषयवस्तुहरू थिए जुन डिज्नीलाई आफ्नो पारिवारिक चलचित्रमा दर्शाउन मन थिएन जसले गर्दा लेखक बिल पीट र सङ्गीतकार टेरी गिल्किसनको पुनर्स्थापना गरियो । यस चलचित्रमा फिल ह्यारिस, सेबास्चियन क्याबट, जोर्ज स्यान्डर्सलुई प्रिमा जस्ता लोकप्रिय अभिनेता तथा सङ्गीतकारका साथै डिज्नी चलचित्रहरूमा काम गरिरहने स्टर्लिङ हलोवे, जेम्स प्याट ओम्यालीवर्ना फेल्टन जस्ता कलाकारहरूले काम गरेका थिए । मोगलीको भूमिकामा निर्देशकका छोरा ब्रुस रिदरम्यानलाई लिइएको थियो ।

अक्टोबर १८, १९६७ मा सार्वजनिक गरिएको द जङ्गल बुकले सामान्यतः सकारात्मक आलोचनात्मक प्रतिक्रिया पायो । शर्मन ब्रदर्सद्वारा रचित पाँच गीतहरू र गिल्किसनद्वारा रचित "द बेर नेसेसिटिज" समावेश गरिएको यस चलचित्रको साउन्डट्र्याकको पनि खुब प्रशंसा गरिएको थियो । सार्वजनिक गरिएको केही दिनमा नै यो चलचित्र संयुक्त राज्य र क्यानडामा डिज्नीको सर्वाधिक कमाउने दोस्रो चलचित्र बनेको थियो ।[३] पुनः सार्वजनिकीकरण गरेपछि पनि यो चलचित्रले अन्तर्राष्ट्रिय सफलता पाएको थियो । विश्वभर सफल भएको यो चलचित्र जर्मनीको सर्वाधिक कमाउने चलचित्र पनि हो ।[४] डिज्नीले सन् यस चलचित्रको आधिकारिक पुनः निर्माणका रूपमा सन् १९९४ मा द जङ्गल बुक र सन् २०१६ मा जोन फाव्रोद्वारा निर्देशित द जङ्गल बुकका साथै यसको उत्तरकथाको रूपमा द जङ्गल बुक २ पनि सार्वजनिक गरेको छ ।

कथा सारांश[सम्पादन गर्नुहोस्]

भारतको एक जङ्गलमा बघीरा नामक कालो चितुवाले एउटा सानो टोकरीमा मोगली नामक अनाथ बच्चा फेला पारी उनलाई रक्षा नामक भर्खर जन्म दिएकी आमा ब्वाँसोकहाँ लग्छन् । उनी र उनको जीवनसाथी रामले मोगलीलाई आफ्नै सन्तानको रूपमा हुर्काउँछन् । दस वर्ष पछि मोगली जङ्गलसँग राम्रोसँग परिचित हुन्छन् र आफ्ना ब्वाँसो दाजुभाइ दिदीबहिनीहरूसँग खेल्छन् । मोगलीको खुसी देखेर बघीरा खुसी त हुन्छन् तर मोगली कुनै न कुनै दिन उनको घर, उनको गाउँमा फर्कनुपर्ने डरले उनलाई भित्रबाट खाइरहेको हुन्छ ।

एक रात मान्छे खाने पाटे बाघले ब्वाँसोहरूको क्षेत्रमा प्रवेश गरेको समाचार सुनेपछि ब्वाँसोहरूले काउन्सिल रक (अनुवाद: समिति चट्टान) मा बैठक बस्छन् । ब्वाँसोहरूको नेता अकीलाले मोगलीको सुरक्षाको लागि उसलाई जङ्गल छोड्ने आदेश दिन्छन् । बघीराले मोगलीलाई कुनै एक "म्यान-भिलेज" (अनुवाद: "मानव बस्ती") सम्म पुर्याउने प्रस्ताव राख्छन् । उनीहरू त्यही रात नै आफ्नो बाटो लागेपनि मोगली जङ्गलमा नै बस्नमा अडिग छन् । उनीहरू राति एक रुखमुनि विश्राम गर्छन् जहाँ बघीराले का नामक भोको एसियाली अजिङ्गरलाई मोगलीलाई खानबाट रोक्छन् । अर्को दिन बिहानपख मोगलीले कर्णेल हाथी र उनकी श्रीमती विनिफ्रेडको नेतृत्वमा रहेको हात्तीको गस्तीको भाग बन्न खोज्छन् । यद्यपि, बघीराले मोगलीलाई भेटाउँछन् र सानो झगडा परेपछि मोगलीलाई एक्लै छोड्छन् । मोगलीले एकछिनमा नै बलू नामक काठे भालुलाई भेट्छन् जसले मोगलीको ध्यान राख्ने र उनलाई कहिले पनि "म्यान-भिलेज" नलाग्ने वाचा गर्छन् ।

केही समय पछि एक बन्दर-लोगले मोगलीको अपहरण गरी उनीहरूको नेता किङ लुई दी ओराङ्गुटानकहाँ लग्छन् । मोगलीले किङ लुईलाई आगो बाल्ने तरिका सिकाउने सर्तमा जङ्गल फर्काउने वाचा गर्छन् । यद्यपि, मोगलीलाई ब्वाँसोहरूले हुर्काएका हुनाले उनलाई आगो बाल्न आउँदैन । बघीरा र बलू मोगलीलाई रक्षा गर्न आउँछन् र त्यसै क्रममा भएको हङ्गामाले किङ लुईको दरबार ध्वस्त हुन्छ । त्यस रात बघीराले बलूलाई शेर खानको बसोबास रहेको जङ्गल मोगलीको लागि सुरक्षित हुन सक्दैन भन्ने सम्झाउँछन् । बिहान बलूले अनिच्छुकतापूर्वक मोगलीलाई जङ्गल उनको लागि असुरक्षित छ भन्ने सम्झाउन खोज्छन् तर मोगली रिसको झोकमा भाग्छन् । बलू मोगलीलाई खोज्न जाँदा बघीराले हात्तीको गस्तीको सहयोग लिन्छन् । यद्यपि, लुकेर बघीरा र कर्णेल हाथीको कुरा सुनिरहेका शेर खानले मोगलीलाई खोजेर मार्ने निर्णय गर्छन् ।

यसै बीचमा काले फेरि मोगलीलाई खाने प्रयास गर्छन् तर शेर खानले नजानी अवरोध गरेपछि मोगली सुरक्षित बाहिर निस्किन्छन् । हुरी बतास आउन लागेको बेला मित्रवत गिद्धहरूले मोगलीलाई उनीहरू जस्तै बहिर्गमन ठानी आफ्नो झुन्डमा स्वीकार गर्छन् । केही बेर पछि शेर खान आई गिद्धहरूलाई भगाई मोगलीको सामना गर्छन् । बलू मोगलीको सहायतामा आइपुग्छन् तर झन्डै मारिन्छन् । जब चट्टान पारी नजिकैको रुखमा आगो लाग्छ तब गिद्धहरूले शेर खानको ध्यान विचलित गर्ने प्रयास गर्छन् । यसै बीच मोगलीले जलिरहेको हाँगा लिई शेर खानको पुच्छरमा बाँध्छन् जसले गर्दा उनी डरले भाग्छन् ।

बघीरा र बलूले मोगलीलाई "म्यान-भिलेज" सम्म पुर्याउँछन् तर मोगली हिचकिचाउँछन् । यद्यपि, नदीबाट पानी भरिरहेकी युवतीलाई देखी उनले आफ्नो निर्णय परिवर्तन गर्छन् । मोगलीलाई देखेपछि ती युवतीले आफ्नो गाग्री झार्छिन् । सो गाग्री फिर्ता दिन मोगलीले ती युवतीलाई पछ्याउँदै "म्यान-भिलेज" मा प्रवेश गर्छन् । मोगलीले बघीरा र बलूलाई आफू "म्यान-भिलेज" मा नै बस्ने निर्णय सुनाएपछि उनीहरू पनि मोगली सुरक्षित रहेको कुरामा सन्तुष्ट हुँदै जङ्गल फर्कन्छन् ।

कलाकार[सम्पादन गर्नुहोस्]

तारा चिन्हले "थप आवाज" को रूपमा श्रेयित अभिनेताहरूलाई जनाउँछ ।[५][६][७]

निर्माण[सम्पादन गर्नुहोस्]

विकास र लेखन[सम्पादन गर्नुहोस्]

द जङ्गल बुक वाल्ट डिज्नीको सन् १९६६ मा मृत्यु हुनु भन्दा अगाडि निर्माण गर्न सुरु गरिएको प्रथम चलचित्र थियो ।

द स्वोर्ड इन द स्टोनको सार्वजनिकीकरण पछि पटकथा लेखक बिल पीटले जनावरलाई मानव स्वरूप दिई टन्नै कथा तथा चलचित्र निर्माण गर्न सकिन्छ भनी वाल्ट डिज्नीलाई रुडयार्ड किप्लिङ्गको द जङ्गल बुक बनाउने सुझाव दिए ।[८] डिज्नीले पीटको योजनामा सहमति जनाई उनलाई वान हन्ड्रेड एन्ड वान डालमेसियन्सद स्वोर्ड इन द स्टोनको निर्माणमा जस्तै पूर्ण स्वतन्त्रता दिए । यद्यपि, द स्वोर्ड इन द स्टोनले नकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएपछि उनी आफैँ पनि आफ्ना भतिजा रोइ ई. डिज्नीका साथ पटकथा लेखन र पर्यवेक्षणमा थप सक्रिय हुने निर्णय गरे ।[९][१०]

पीटले पटकथा रचना गर्दा किप्लिङ्गको मौलिक कथाको भयावह र वयस्क विषयवस्तुमा बढी ध्यान दिएका थिए जसमा मानिस र जनावरको बीचको सङ्घर्षलाई दर्शाइएको थियो । यद्यपि, चलचित्रको कथा लेख्ने काममा संलग्न अन्य लेखकहरूले पारिवारिक चलचित्रमा दर्शाइने कथा सरल र सबै उमेरका व्यक्तिले हेर्न मिल्ने हुनुपर्छ भनी पुस्तकको कथालाई परिवर्तन गरी हास्य र मनोरञ्जक बनाए । अन्य लेखकहरूको सुझावमा पीटले द सेकेन्ड जङ्गल बुकमा परिचय गराइएको पत्र लिई किङ लुईको पनि रचना गरे ।[१][९] चलचित्रको अन्तिम दृश्य पनि मौलिक कथा भन्दा फरक छ । किप्लिङ्गको संस्करणमा "म्यान-भिलेज" मा फर्केपछि मोगली र बलदेव नामक सिकारीको बीच झगडा परी रिसको झोकमा मोगलीले मशाल बोकी जङ्गल फर्कन्छन् । यद्यपि, बलदेवले कुनै खजानाको खोजीमा लागि मोगलीलाई गाउँमा फिर्ता ल्याउँछन् र शेर खानलाई मार्न जङ्गलमा आगो लगाइदिने निर्णय लिन्छन् । जङ्गलमा आगो लगाउनु अघि नै शेर खानले बलदेव माथि हमला गर्छन् । बलदेवलाई बचाउने सुरमा मोगलीले बन्दुकले शेर खानको हत्या गरी गाउँको नायक र आधिकारिक संरक्षकका साथै ब्वाँसो समुदायको प्रथम मानव सदस्यको रूपमा स्वीकृत हुन्छन् ।[१][९] मौलिक कथामा समावेश गरिएका भयावह र वयस्क विषयवस्तु डिज्नीलाई मन नपरेको हुनाले तिनीहरूलाई हटाउने आग्रह गर्दा पनि पीटले नमानेपछि जनवरी १९६४ मा उनले डिज्नी स्टुडियो छोडे ।[८]

डिज्नीले त्यसपछि ल्यारी क्लेमन्सलाई पटकथा लेखकको पदमा नियुक्त गरे र किप्लिङ्गको पुस्तकको प्रति दिई त्यसलाई नपढ्ने आदेश दिए ।[९] क्लेमन्सले, यद्यपि, किप्लिङ्गको पुस्तक पढे तर पारिवारिक कथामा दर्शाउन उपयुक्त नहुने वयस्क विषयवस्तु भएको हुनाले पटकथामा सामान्य परिवर्तन ल्याउने निर्णय गरे । उनले कथालाई बीचबाट सुरु गरी बीचमा पात्रहरूको मूल कथा देखाउने प्रस्ताव राखेका थिए तर डिज्नीले कथालाई एउटै सुरमा अघि बढाउनु उचित ठाने ।[११] बिल पीटले रचना गरेको कथाको अधिकतम भागलाई सम्पादन र परिवतन गरेपनि जनावरहरूलाई दिइएको व्यक्तित्व भने उस्तै राखिएको थियो किनभने डिज्नीले कथालाई सरल र समान गतिमा चल्ने किसिमको बनाउनु आवश्यक ठान्थे । डिज्नीले यस चलचित्रको निर्माणमा सक्रिय भूमिका निर्वाह गरी एनिमेटर तथा कार्टुन निर्माता समूहलाई विभिन्न पात्रका गति र चाल तथा अन्य भावनाको उचित चित्रणका लागि पनि खुब सहयोग गरेका थिए ।[९] क्लेमन्सले मोगलीले केटी मन पराएर जङ्गल छोड्न तयार हुनु नै चलचित्रको अन्त्यको लागि सबैभन्दा उचित प्रयोजन मानेको खुलासा गरे ।[१][९] यसका साथै चलचित्रलाई विभिन्न विषयवस्तु समावेश गरेर पनि हास्य र रमाइलो बनाउने विभिन्न तरिकाका बारेमा छलफल गरे ।[१२][१३] द जङ्गल बुक डिसेम्बर १५, १९६६ मा डिज्नीको मृत्यु हुनुभन्दा अघि डिज्नीले आफैँ निर्माण प्रक्रियामा सहयोग पुर्याएको र सक्रिय रहेको अन्तिम एनिमेटेड चलचित्र पनि हो ।[१४]

कलाकार तथा अभिनेताको छनोट[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकमा हामीले पात्रहरूमा तिनीहरूलाई आवाज दिने अभिनेताको नै व्यक्तित्व राख्न खोज्यौँ र अन्त्यमा परिणाम हामीले सोचेको भन्दा फरक निस्क्यो । जब फिल ह्यारिसले बलूको आवाज निकाले तब उनले सो पात्रमा नयाँ जीवन थपिदिए । हामीले उनलाई कुनै प्रकारको निर्देशन दिएनौँ, हामीले केवल अभिनेतहरूलाई आफ्नो काम गर्ने अवसर दियौँ ।

—वुल्फग्याङ रिदरम्यान[१५]

पात्रका रचना र व्यक्तित्व निर्माणको क्रममा विभिन्न लोकप्रिय अभिनेता तथा अन्य कलाकारलाई प्रेरणाको रूपमा लिइएको थियो ।[९][१४] यसरी प्रमुख पत्रको भूमिका निर्वाह गर्न लोकप्रिय अभिनेतालाई नियुक्त गर्ने कार्य डिज्नी चलचित्र, विशेष गरी डिज्नी एनिमेटेड चलचित्रका लागि अप्रत्याशित चलन थियो ।[९] डिज्नीले एउटा भोज कार्यक्रममा ह्यारिसलाई भेटेपछि उनी जस्तो लोकप्रिय हास्य कलाकारलाई किप्लिङ्गको चलचित्रमा बलूको भूमिका निर्वाह गराउने इच्छा व्यक्त गर्दा स्टुडियोका कर्मचारीहरू छक्क परेका थिए ।[१६] पटकथामा लेखिएका शब्दहरू खासै भावनात्मक नभएका हुनाले ह्यारिसले धेरैजसो दृश्यमा आफ्नै शब्दका प्रयोग गरेका थिए ।[८] ह्यारिसलाई बलूको पदमा नियुक्त गरेपछि डिज्नील्यान्ड रेकर्ड्सका सभापति जिमी जोन्सनले लुई प्रिमालाई चलचित्रमा विरोधाभासपूर्ण किङ लुईको भूमिका निर्वाह गर्न नियुक्त गर्ने सुझाव पेश गरे ।[१७] वाल्टले जोर्ज स्यान्डर्सलाई शेर खान र सेबास्चियन क्याबटलाई बघीराको भूमिका खेल्न मनाउन पनि सफल भए । यसका साथै डिज्नी चलचित्रमा खेलिरहने स्टर्लिङ हलोवेलाई का, जेम्स प्याट ओम्यालीलाई कर्णेल हाथी र बजी गिद्ध तथा वर्ना फेल्टनलाई कर्णेल हाथीकी श्रीमती विनिफ्रेडको भूमिका निर्वाह गर्न पनि प्रोत्साहित गरेका थिए । फेल्टनले पहिले केही वर्ष फिल ह्यारिससँग रेडियोमा प्रसारण हुने द ज्याक बेनी प्रोग्राममा काम गरेकी थिइन् ।[१८] उनको मृत्यु हुनु भन्दा अगाडि उनले निर्वाह गरेको यो अन्तिम भूमिका थियो ।[१४] डेभिड बेलीलाई सुरुमा मोगलीको भूमिका निर्वाह गर्न बोलाइएको थियो तर निर्माण प्रक्रियाको बीचमा नै उनको स्वरमा परिवर्तन आउन थालेको हुनाले उनलाई हालै विनी द पू एन्ड द हनी ट्रीमा क्रिस्टोफर रबिनको भूमिका निर्वाह गरेका निर्देशक वुल्फग्याङ रिदरम्यानका छोरा ब्रुसले पुनर्स्थापित गरे । एनिमेटरहरूले मोगलीको हाउभाउ मिलाउनका लागि ब्रुसको भिडियो पनि खिचेका थिए ।[८][१९] एक दिन स्टुडियोमा बाल कलाकार डार्लीन कारले गाइरहेको बेला शर्मन ब्रदर्सले उनलाई "माइ ओन होम" को छोटो भाग रेकर्ड गर्न लगाए । पछि डिज्नीले कारको प्रस्तुति सुनेपछि उनलाई युवतीको भूमिका निर्वाह गर्ने काम दिए ।[२०] किप्लिङ्गको कथामा गिद्धहरूलाई मृत शरीर खाने निर्दयी जीवको रूपमा देखाइएको छ । यद्यपि, डिज्नीले आफ्नो चलचित्रमा गिद्धलाई मप-टप कपाल भएको द बिटल्सको शैलीमा "द्याट्स ह्वाट फ्रेन्ड्स आर फोर" गाउने हास्यास्पद जीवको रूपमा दर्शाइएको छ । डिज्नीले उक्त ब्यान्डलाई चलचित्रमा गीत गाउन लगाउने निर्णय गरेका थिए तर जोन लेननले एनिमेटेड चलचित्रमा काम गर्न नमानेपछि ब्रिटिश इन्भेजनको बेला लोकप्रिय च्याड एन्ड जेरेमी नामक अङ्ग्रेजी रक द्वयलाई गिद्धका रूपमा गीत गाउन लगाइएको थियो ।[८][२१] चलचित्रको उक्त दृश्यका पहिलेका केही संस्करणहरूमा गिद्धहरूका साथीको रूपमा फ्र्याङ्क फन्टेनलाई रकी नामक दूरदृष्टिको समस्या भएको गैँडाको भूमिका निर्वाह गर्न लगाउने योजना बनाइएको थियो । यद्यपि, पहिले देखि नै गिद्ध र बाँदरको चलखेल भएको हुनाले डिज्नीले सो योजनालाई रद्द गरिदिए ।[२२]

एनिमेसन[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकको एनिमेसन र निर्माण प्रक्रिया आधिकारिक रूपमा मे २, १९६६ मा सुरु भएको थियो । यो चलचित्र पछि सार्वजनिक गरिएका धेरैजसो डिज्नी एनिमेटेड चलचित्रहरूमा एउटा एनिमेटरलाई एउटा पात्रको निर्माणमा लगाइएको थियो भने यस चलचित्रमा सबै पात्रहरू एक अर्कासँग अन्तरक्रिया गर्ने हुनाले सबै एनिमेटर तथा कार्टुन निर्माताहरू एउटै दृश्यको निर्माणमा खटिएका थिए । केन एन्डरसनको नेतृत्त्वमा गरिएको यस चलचित्रको निर्माणमा जिरोग्राफी नामक एनिमेसन विधिको प्रयोग गरिएको थियो जसले गर्दा डम्बोमा जस्तै यस चलचित्रमा पात्रहरू गोलाकार छैनन् ।[२३]

एन्डरसनले नै शेर खानलाई उनको आवाज अभिनेता जोर्ज स्यान्डर्स जस्तै देखिने बनाउने प्रस्ताव राखेका थिए ।[८] झरनाको दृश्यमा एन्जल जलप्रपातको भिडियोको प्रयोग भएको थियो । यसबाहेक देखाइएका सबै दृश्यका पृष्ठभूमिको चित्र हातले कोरिएको थियो । रिदरम्यानको पुराना चलचित्रका दृश्यहरूको पुनः प्रयोग गर्ने चलन अनुसार यस चलचित्रका ब्वाँसोका लागि १०१ डालमेसियन्सका कुकुरहरूबाट प्रेरणा लिइएको थियो । एनिमेटर मिल्ट काह्लले बघीरा र शीर खानका चालका लागि अ टाइगर वक्सट्रू-लाइफ एड्भेन्चर्सका बिरालोहरूलाई आधार मानेका थिए ।[२३]

बलू पनि भालुका विभिन्न भिडियोमा आधारित थियो र भालुहरूको कन्याउने बानीलाई पनि बलूको माध्यमबाट चलचित्रमा दर्शाइएको थियो । काको अवयव नभएका हुनाले उनलाई ठूला भाववाहक आँखा दिइएको थियो र उनका हातले गर्नुपर्ने कार्यहरू उनका शरीरका अन्य अङ्गहरूले गर्ने किसिमले उनको चित्र कोरिएको थियो ।[२४] "आइ वान्न बी जस्ट लाइक यू" गीतमा बन्दर-लोगले नाँच्ने नाँच केही हदसम्म लुई प्रिमाको अडिसनको नाँचमा आधारित थियो ।[८]

सङ्गीत[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकको सङ्गीत जोर्ज ब्रन्सले लेखेका थिए र वाल्टर शीट्सले मिलाएका थिए । यस चलचित्रमा पुराना डिज्नी चलचित्रहरूबाट पनि सङ्गीतको पुनः प्रयोग गरिएको थियो । मोगलीले किङ लुईको दरबारबाट पलायन गरी उठेको दृश्यमा द स्लिपिङ ब्युटीको सङ्गीत र बघीराले बलू शेर खानद्वारा मारिएको सोचेर बलूको बारेमा दुई मीठा शब्द बोलेको दृश्यमा स्नो ह्वाइट एन्ड द सेभेन ड्वर्फ्सको सङ्गीतको प्रयोग गरिएको थियो ।[२५]

द जङ्गल बुकमा शर्मन ब्रदर्सद्वारा रचित सात र टेरी गिल्किसनद्वारा रचित एक गरी कुल आठ मौलिक गीतहरू समावेश गरिएका थिए । लामो समय देखि डिज्नीसँग काम गरेका गिल्किसनले पुस्तक र मौलिक कथासँग मिल्ने गीत रचना गरेका थिए तर डिज्नीले सो गीतहरू पारिवारिक चलचित्रमा समावेश गर्न योग्य नभएको ठाने । अन्ततः चलचित्रमा संलग्न एनिमेटर र कार्टुन निर्माताहरूले मन पराएपछि गिल्किसनको "द बेर नेसेसिटिज" मात्रै चलचित्रमा समावेश गरियो । अन्य गीतहरूको पुनर्लेखनका लागि शर्मन ब्रदर्सलाई बोलाइयो ।[८] डिज्नीले ती दाजुभाइलाई किप्लिङ्गको पुस्तक पढेका छन् कि छैनन् भनेर सोध्दा उनीहरूले "लामो समय अघि पढेको" भन्दै एलेक्जेन्डर कोर्डद्वारा निर्मित सन् १९४२ को संस्करण हेरेको खुलासा गरे । डिज्नीले आफ्नो चलचित्रमा ती कृतिहरूमा दर्शाइएका भयावह विषयवस्तु नदर्शाई परिवारले सँगै बसेर हेर्न मिल्ने हास्य साङ्गीतिक चलचित्रको निर्माण गर्न खोजेको व्यक्त गरे ।[२६] डिज्नीले बारम्बार गीतकारहरूलाई पटकथा लेखनमा बोलाउँथे ।[८] उनले उनीहरूलाई कथाका भयावह विषयवस्तु लिई कथामा सुहाउँदो र कथालाई अवरोध गर्नेभन्दा पनि कथालाई अघि बढाउने किसिमको गीत लेख्न लगाउँथे ।[८][२५]

ट्र्याक सूची[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकलेखक(हरू)प्रस्तुतकर्ता (हरू) (पात्र)लम्बाइ
१."ट्रस्ट इन मी"शर्मन ब्रदर्सस्टर्लिङ हलोवे 
२."कर्णेल हाथीज मार्च"शर्मन ब्रदर्सजेम्स प्याट ओम्यालीवर्ना फेल्टन, ध्रुवक 
३."द बेर नेसेसिटिज"टेरी गिल्किसनफिल ह्यारिसब्रुस रिदरम्यान 
४."आइ वान्न बी जस्ट लाइक यू"शर्मन ब्रदर्सलुई प्रिमा र फिल ह्यारिस 
५."कर्णेल हाथीज मार्च (पुनरावृत्ति)"शर्मन ब्रदर्सजेम्स प्याट ओम्याली, वर्ना फेल्टन र गायनदल 
६."द्याट्स ह्वाट फ्रेन्ड्स आर फोर"शर्मन ब्रदर्सजेम्स प्याट ओम्याली, च्याड स्टुअर्ट, लोर्ड टिम हड्सन, लियो डे लायन, ब्रुस रिदरम्यान र बिल ली 
७."माइ ओन होम"शर्मन ब्रदर्सडार्लीन कार 
८."द बेर नेसेसिटिज (पुनरावृत्ति)"टेरी गिल्किसनफिल ह्यारिस र सेबास्चियन क्याबट 

सार्वजनिकीकरण र प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

मौलिक रङ्गमञ्च प्रस्तुति[सम्पादन गर्नुहोस्]

द जङ्गल बुक वाल्ट डिज्नीको मृत्यु भएको १० महिना पछि अक्टोबर १९६७ मा सार्वजनिक गरिएको थियो ।[९][१४] कुनैकुनै रङ्गमञ्चमा यस चलचित्रलाई चार्ली, द लोनसम कुगरसँग एउटैको दाममा प्रदर्शन गरिएको थियो ।[२७] ४० लाख अमेरिकी डलरको बजेटमा निर्माण गरिएको यस चलचित्रले सन् १९६८ भित्र १ करोड १५ लाख डलरको कमाइ भित्र्याएको थियो ।[२८][२९][३०] सन् १९७० भित्र यस चलचित्रले आन्तरिक स्तरमा १ करोड ३० लाख अमेरिकी डलरको कमाइ भित्र्याई संयुक्त राज्य र क्यानडामा दोस्रो सर्वाधिक कमाइ भित्र्याउने एनिमेटेड चलचित्र बनेको थियो ।[३] पहिलो प्रदर्शनमा नै यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा २ करोड ३८ लाख अमेरिकी डलर भित्र्याई विश्वभरको सर्वाधिक सफलता प्राप्त एनिमेटेड चलचित्र बनेको थियो ।[३१]

पुनः सार्वजनिकीकरण[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकलाई उत्तर अमेरिकामा सन् १९७८, सन् १९८४ र सन् १९९० मा पुनः सार्वजनिक गरिएको थियो भने युरोपमा सन् १९७० र सन् १९८० को अन्तरालमा केही पटक पुनः सार्वजनिक गरिएको थियो ।[३२] सन् १९७६ मा संयुक्त अधिराज्यमा पुनः सार्वजनिक गरेपछि यस चलचित्रले १८ लाखको कमाइ भित्र्यायो ।[३३] सन् १९७८ मा उत्तर अमेरिकामा पुनः सार्वजनिक गरेपछि यस चलचित्रले २ करोड ३७ लाख अमेरिकी डलर कमाई संयुक्त राज्य र क्यानडामा सर्वाधिक कमाइ भित्र्याएको एनिमेटेड चलचित्रको स्थानबाट स्नो ह्वाइट एन्ड द सेभेन ड्वर्फ्सलाई पुनर्स्थापित गर्यो ।[३४] सन् १९८३ मा स्नो ह्वाइटको पुनः सार्वजनिकीकरण भएपछि त्यस चलचित्रले १४ करोड १० लाख अमेरिकी डलर भित्र्याई द जङ्गल बुकलाई सर्वाधिक कमाइ भित्र्याउने चलचित्रको पदबाट पुनर्स्थापित गर्यो ।[३५] मुद्र स्फितीलाई ध्यानमा राखी मुद्रा रूपान्तरण गर्दा द जङ्गल बुकको कुल कमाइ सन् २०१८ मा ६७ करोड १२ लाख २४ हजार अमेरिकी डलर हुन पुगेको थियोजसले गर्दा यो चलचित्र संयुक्त राज्य र क्यानडामा सर्वाधिक कमाइ भित्र्याएका चलचित्रहरूको सूचीमा ३२ औँ स्थानमा सुचिकृत भएको थियो ।[३६][३७]

टाइटानिकको रङ्गमञ्च प्रदर्शनमा भन्दा झन्डै १ करोड भन्दा बढी टिकट बिक्री भएको द जङ्गल बुक जर्मनीको सबैभन्दा चर्चित र लोकप्रिय चलचित्र हो ।[४] जर्मनीमा १० करोड ८० लाख अमेरिकी डलर भित्र्याएको यो चलचित्र जर्मनीमा सर्वाधिक कमाइ भित्र्याउने चलचित्रहरूको सूचीमा अवतार (१३ करोड ७० लाख अमेरिकी डलर) र टाइटानिक (१२ करोड ५० लाख अमेरिकी डलर) पछि तेस्रो स्थानमा सूचिकृत भएको थियो ।[३८] रङ्गमञ्चमा हेर्नका लागि करिब १ करोड ९८ लाख जना व्यक्तिहरू भर्ना भएको यो चलचित्र संयुक्त अधिराज्यको २० औँ शताब्दीको सातौँ सर्वाधिक सफलता प्राप्त गरेको चलचित्र थियो ।[३९] रङ्गमञ्चमा हेर्नका लागि करिब १ करोड ४८ लाख जना व्यक्तिहरू भर्ना भएको यो चलचित्र फ्रान्सको इतिहासकै नवौँ सर्वाधिक सफलता प्राप्त गरेको चलचित्र थियो ।[४०] सन् १९९३ मा यस चलचित्रलाई पुनः सार्वजनिक गरेपछि यसले अन्तर्राष्ट्रिय चलचित्र बजारमा कुल ६ करोड ७५ लाख अमेरिकी डलर कमाएको थियो ।[४१]

गृह मिडिया[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकलाई सन् १९९१ मा संयुक्त राज्यमा र सन् १९९३ मा संयुक्त अधिराज्यमा भिएचएसमा वाल्ट डिज्नी क्लासिक्सको रूपमा सार्वजनिक गरिएको थियो । संयुक्त राज्यमा यस भिएचएस सार्वजनिकीकरणले सन् १९९१ मा ७४ लाख प्रति बिक्री गरी १८ करोड ४९ लाख २६ हजार अमेरिकी डलर फ्यान्टेसियाहोम अलोन पछि सर्वाधिक कमाउने भिएचएस सार्वजनिकीकरण बन्न पुगेको थियो ।[४२] सन् १९९४ भित्र द जङ्गल बुकले संयुक्त राज्यमा ९५ लाख प्रति बिक्री गरेको थियो ।[४३] उत्तर अमेरिका बाहेकका राष्ट्रहरूमा सार्वजनिक गरिएको गृह भिडियोले डिसेम्बर १९९३ भित्र १ करोड ४० लाख प्रति बिक्री गरी ३५ करोड अमेरिकी डलरको आम्दानी भित्र्याएको थियो ।[४४] जनवरी १९९४ भित्र संयुक्त अधिराज्यमा ४९ लाख प्रति, जर्मनीमा ४३ लाख प्रति र फ्रान्समा १२ लाख प्रति बिक्री भई अन्तर्राष्ट्रिय बजारमा कुल १ करोड ४० लाख प्रति बिक्री भइसकेको थियो ।[४५] अगस्ट १९९४ भित्र १ करोड ५० लाख प्रति बिक्री भई यस चलचित्रको सन् १९९४ को अन्त्य भित्र अन्तर्राष्ट्रिय स्तरमा २ करोड ४५ प्रति बिक्री भएको थियो ।[४६] सन् २००२ मा द जङ्गल बुकले संयुक्त अधिराज्यमा सर्वाधिक बिक्री भएको गृह भिडियोको प्रथम स्थानबाट टाइटानिकलाई पुनर्स्थापित गरेको थियो ।[४७]

सन् १९९७ मा द जङ्गल बुकको ३० औँ जयन्तीको अवसरमा यसलाई वाल्ट डिज्नी मास्टरपिस कलेक्सन अन्तर्गत पुनः सार्वजनिक गरिएको थियो ।[३२] सन् १९९९ मा बुएना भिस्टा होम इन्टरटेनमेन्टले यसको सीमित डिभिडी संस्करण सार्वजनिक गरेको थियो ।[४८] अक्टोबर २, २००७ मा यस चलचित्रको प्रथम सार्वजनिकीकरणको ४० औँ जयन्तीको अवसरमा यसको २ डिस्क प्लेटिनम डिभिडी संस्करण निकालिएको थियो ।[४९] उक्त २ डिस्कको सार्वजनिकीकरणका साथै लस एन्जलसमा अवस्थित डिज्नीको आफ्नै एल कापिटान थिएटरमा यस चलचित्रलाई १८ दिनका लागि प्रदर्शन गरिएको थियो । रङ्गमञ्च प्रस्तुतिको प्रथम दिन सङ्गीतकार रिचार्ड शर्मन तथा आवाज अभिनेतहरू ब्रुस रिदरम्यान, डार्लीन कार र च्याड स्टुअर्ट पनि उपस्थित थिए ।[५०] उक्त प्लेटिनम डिभिडीलाई सन् २०१० मा डिज्नी भल्टमा राखिएको थियो ।[५१] फेब्रुअरी ११, २०१४ मा यस चलचित्रलाई ब्लू-रे/डिभिडी/डिजिटल प्रति संयोजन प्याकमा डिज्नी डायमन्ड संस्करण अन्तर्गत सार्वजनिक गरिएको थियो ।[५२] उक्त डायमन्ड संस्करणलाई जनवरी ३१, २०१७ मा डिज्नी भल्टमा राखियो । सन् २००७ र सन् २०१६ को बीच द जङ्गल बुकका डिभिडी र ब्लू-रे प्रतिहरूले संयुक्त राज्यमा १ करोड २० लाख भन्दा बढी प्रति बिक्री गरी अगस्ट २०१८ को तथ्याङ्क अनुसार ३० करोड ४० लाख अमेरिकी डलर कमाएको थियो ।[५३]

आलोचनात्मक प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

द जङ्गल बुकको सार्वजनिकीकरणको बेला चलचित्रको एनिमेसन र सङ्गीतका साथै वाल्ट डिज्नीको मृत्युको कारणले पनि यसले सकारात्मक आलोचनात्मक प्रतिक्रिया पाएको थियो ।[१४] टाइम पत्रिकाका समीक्षकले पनि किप्लिङ्गको कथासँग चलचित्रको पटकथा नमिल्ने भए तापनि अन्त्यमा सार्वजनिक गरिएको परिणाम अत्यन्तै रमणीय र सबै उमेरका दर्शकका लागि उपयुक्त भएको तथा वाल्ट डिज्नीलाई सम्झने राम्रो तरिका भएको खुलासा गरेका थिए ।[५४] द न्यू योर्क टाइम्सका हावर्ड थमसनले यस चलचित्रलाई निर्देशक वुल्फग्याङ रिदरम्यानद्वारा निर्मित सरल र रङ्गीन कथानक साङ्गीतिक चलचित्रको रूपमा वर्णन गरेका छन् ।[२७] लाइफ पत्रिकाका लागि समीक्षा लेख्दा रिचार्ड शिकेलले यस चलचित्रलाई डर नलाग्ने, रङ्गीन, रमणीय चलचित्र भन्दै डम्बोसँग तुलना गरेका थिए ।[५५] द लस एन्जलस टाइम्सका चार्ल्स च्याम्प्लिनले यस चलचित्रमा डिज्नीबाट आशा गरेको सबै पक्षहरू समावेश गरिएको हुनाले यसको प्रशंसा गरे ।[५६] भेराइटीले यस चलचित्रको कथाको विकास अझै राम्रो हुन सक्थ्यो भन्ने टिप्पणी दिँदै अनुकूल समीक्षा प्रदान गरेको थियो ।[५७] अप्रिल १०, १९६८ मा आयोजित एकेडमी पुरस्कारमा यस चलचित्रको "द बेर नेसेसिटिज" लाई सर्वश्रेष्ठ मौलिक गीतको श्रेणीमा मनोनयन गरिएको थियो । यद्यपि, उक्त श्रेणीमा डाक्टर डुलिटलको "टक टु दी एनिमल्स" ले विजय प्राप्त गर्यो ।[५८] एकेडमी अफ मोसन पिक्चर्स एन्ड सायन्सेसका तत्काल सभापति ग्रेगोरी पेकले द जङ्गल बुकलाई सर्वश्रेष्ठ चलचित्रको श्रेणीमा मनोनयन गर्ने प्रस्ताव रहेका थिए तर अन्ततः उक्त प्रस्तावलाई अस्वीकार गरियो ।[५९]

चलचित्रको सार्वजनिकीकरणको केही वर्ष पछि गरिएका समीक्षाहरूले पनि चलचित्रका पात्र, सङ्गीत तथा एनिमेसन प्रति सकारात्मक आलोचनात्मक प्रतिक्रिया रहेको सङ्केत गर्छ । समीक्षा वेबसाइट रटन टमेटोजमा ४० समीक्षामा आधारित भई यस चलचित्रले ८८% सकारात्मक प्रतिक्रियाका साथै १० मा ७.१९ अङ्क प्राप्त गरेको छ । वेबसाइटको आलोचनात्मक सहमति अनुसार यस चलचित्रको एनिमेसन, सङ्गीत तथा पात्रका साथै डिज्नी चलचित्रमा हुने सबै पक्ष रहेको हुनाले यसले पुरानो जमाना तथा दर्शकको बाल्यकालको याद गराउने लेखिएको छ ।[६०] सन् १९९० मा यस चलचित्रलाई पुनः सार्वजनिक गरेपछि इन्टरटेनमेन्ट वीक्लीका केन टकरले द जङ्गल बुकलाई सिन्डरेला वा पिनोक्कियोको स्तरका डिज्नी चलचित्रको उत्कृष्ट नमुना त भन्न सकिँदैन तर यो पक्कै नै डिज्नीको सर्वश्रेष्ट हास्य तथा साङ्गीतिक चलचित्र हो भनेका थिए ।[६१] द लस एन्जलस टाइम्सका लागि समीक्षा लेख्दा चार्ल्स सोलोमनले यस चलचित्रको निर्माण गर्दा एनिमेटर, कार्टुन निर्माता तथा यस परियोजनामा संलग्न सबै व्यक्तिहरू आफ्ना कला र रचनात्मकताको शिखरमा रहेका अनुमान गरेका थिए ।[६२] सन् २०१० मा एम्पायरले यस चलचित्रले कार्टुन निर्माण, एनिमेसन र सङ्गीत लगायत अन्य सबै पक्षलाई सर्वोत्कृष्ट ढङ्गमा पेश गर्छ भन्दै यस चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएको थियो ।[५९]

विरासत[सम्पादन गर्नुहोस्]

सन् १९८६ मा डिज्नील्यान्ड रेकर्ड्सले द जङ्गल बुकको अनौपचारिक उत्तरकथाको रूपमा ल्यारी सिमन्सद्वारा लिखित र फिल ह्यारिस तथा लुई प्रिमाद्वारा आवाज दिइएको लघु चलचित्र मोर जङ्गल बुकको सार्वजनिकीकरण गर्यो । उक्त चलचित्रमा बलू (ह्यारिस) लाई मोगली (जिनी टाइलर) को याद आएको हुनाले किङ लुई (प्रिमा) र बघीरा (ड्याल म्याककेनन) को सहायताले "म्यान-भिलेज" जान खोज्छ ।[६३] फेब्रुअरी १४, २००३ मा डिज्नीटुन स्टुडियोजले यस चलचित्रको उत्तरकथाको रूपमा द जङ्गल बुक २ सार्वजनिक गर्यो जसमा शेर खानले उसलाई मार्ने योजना बनाइरहेको ज्ञान नभएको मोगलीले आफ्ना पुराना साथीहरूलाई भेट्नका लागि "म्यान-भिलेज" छोडी जङ्गल फर्कन्छन् ।[६४] सन् २००५ मा पटकथा लेखक रोबर्ट रोइसले द जङ्गल बुक ३ बनाउने प्रस्ताव अघि सरेका थिए तर सो प्रस्तावलाई डिज्नीले अस्वीकार गर्यो ।[६५] द जङ्गल बुकका एक-दुइटा पक्षलाई रबिन हुडको निर्माणको बेला पुनः प्रयोग गरिएको थियो ।[६६] उदाहरणका लागि लिटल जोनको पात्रका लागि बलूलाई प्रमुख प्रेरणाको स्रोत मानिएको थियो । लिटल जोनको पात्र भालु हुनुका साथै फिल ह्यारिसद्वारा आवाज दिइएको थियो । यसका साथै लिटल जोन र लेडी क्लक नाचेको दृश्य पनि बलू र किङ लुईको नृत्यको दृश्यबाट नै प्रेरित थियो ।[६७][६८] यस चलचित्रलाई एरिक गोल्डबर्गले अहिलेसम्मको सबैभन्दा रमणीय र राम्रो एनिमेटेड चलचित्र घोषणा गरेका थिए । अलादीन, द लायन किङलिलो एन्ड स्टिचमा काम गरेका कार्टुन निर्माता तथा एनिमेटरले यस चलचित्रलाई उनीहरूको प्रमुख प्रेरणाको स्रोत मानेका थिए । यसका साथै डिज्नी एनिमेसन स्टुडियोमा काम गर्ने निर्देशक ब्राड बर्ड, एनिमेटर आन्ड्रेयास देजा, एनिमेटर ग्लेन किएन र एनिमेटर सर्जियो पाब्लोसले द जङ्गल बुककै कारण एनिमेसनमा लागेको खुलासा गरेका थिए ।[६९]

द जङ्गल बुकका धेरैजसो पात्रहरू सन् १९९० देखि सन् १९९१ सम्म प्रसारित टेलस्पिनमा पनि देखिएका थिए ।[७०] सन् १९९६ देखि सन् १९९८ मा प्रसारित जङ्गल कब्स नामक टेलिभिजन शृङ्खलामा बलू, हाथी, बघीरा, लुई, का र शेर खानका बाल्यकालको कथा दर्शाइएको थियो ।[७१] डिज्नीले सन् १९९४ मा यस चलचित्रको आधिकारिक पुनः निर्माण गर्यो जसमा केही वयस्क विषयवस्तु समावेश गरिएपनि पुस्तकको कथा भन्दा भिन्न थियो । यद्यपि, त्यसले पनि बक्स अफिस र अन्तर्राष्ट्रिय चलचित्र बजारमा खुब सफलता हासिल गर्यो । सन् १९९८ मा डिज्नीले द जङ्गल बुक: मोगलीज स्टोरी नामक चलचित्र सार्वजनिक गर्यो जसलाई रङ्गमञ्चमा प्रदर्शन नगरी सिधै टेलिभिजनमा प्रसारण गरियो ।[७२] सन् २०१६ मा डिज्नीद्वारा द जङ्गल बुक सार्वजनिक गरियो जसमा गीतकार रिचार्ड एम. शर्मनद्वारा केही सुधार गरिएका पुरानो चलचित्रको सङ्गीत नै समावेश गरिएको थियो ।[७३]

यस चलचित्रमा आधारित भई सन् १९९३ मा मास्टर सिस्टम, सेगा जेनेसिस, गेम गियर, सुपर निन्टेन्डो इन्टरटेनमेन्ट सिस्टम, गेम बोइव्यक्तिगत कम्प्युटरका लागि द जङ्गल बुक र सन् २००३ मा त्यसकै गेम बोइ एड्भान्स संस्करण सार्वजनिक गरिएको थियो ।[७४] सन् २००० मा प्लेस्टेसनप्लेस्टेसन २ का लागि द जङ्गल बुक ग्रुभ पार्टी नामक नाँच्ने खेल सार्वजनिक गरिएको थियो ।[७५][७६] का र शेर खानलाई डिज्नीको क्व्याकसट नामक भिडियो खेलमा समावेश गरिएको थियो ।[७७] स्क्वेर एनिक्स-डिज्नीद्वारा निर्मित किङडम हार्ट्स नामक भिडियो खेलमा यस चलचित्रमा आधारित संसारको निर्माण गर्ने प्रस्ताव दुई चोटी राखिए तापनि दुबै पटक अस्वीकार गरिएको थियो । यसको प्रमुख कारण टार्जनमा आधारित यस्तै प्रकारको संसार पहिले देखि नै यस खेलमा समावेश गरिएको थियो ।[७८] दोस्रो कारण भनेको किङडम हार्ट्स: बर्थ बाइ स्लीपमा विभिन्न कोडको प्रयोग गरी खेल संसारका विभिन्न क्षेत्रमा पहुँच गर्न सकिन्छ ।[७९]

चलचित्रको सार्वजनिकीकरण देखि यसका पात्रहरू हाउस अफ माउस, द लायन किङ १½, हु फ्रेम्ड रोजर र्याबिटअलादीन एन्ड द किङ अफ थिभ्स जस्ता चलचित्रहरूमा पनि देखिएका छन् ।[८०] डिसेम्बर २०१० मा ग्रीनपीससँग साझेदारी गरी वन फँडानीको बारेमा जनचेतना फैलाउनका लागि बेलायती कलाकार बयाङ्क्सीद्वारा चित्रित द जङ्गल बुकका पात्रको तस्वीरलाई ८० हजार बेलायती पाउन्डको रकममा बेचिएको थियो ।[८१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ Disney's Kipling: Walt's Magic Touch on a Literary Classic. द जङ्गल बुक प्लेटिनम संस्करण, डिस्क २: वाल्ट डिज्नी होम इन्टरटेनमेन्ट. 
  2. डलेसान्ड्रो, एन्थोनी (अक्टोबर २७, २००३), "Cartoon Coffers - Top-Grossing Disney Animated Features at the Worldwide B.O." [कार्टुन सङ्ग्रह - विश्वभर बक्स अफिसमा सर्वाधिक कमाउने डिज्नी एनिमेटेड चलचित्रहरू], भेराइटी: ६। 
  3. ३.० ३.१ "All-Time Box Office Champs" [इतिहासका सर्वाधिक कमाउने चलचित्रहरू], भेराइटी, जनवरी ६, १९७१, पृ: १२। 
  4. ४.० ४.१ स्कट रक्सब्रो (अप्रिल २२, २०१६), "Why Disney's Original 'Jungle Book' Is Germany's Biggest Film of All Time" [डिज्नीको मौलिक 'द जङ्गल बुक' किन जर्मनीको इतिहासकै सबैभन्दा सफल चलचित्र हो ?], द हलिउड रिपोर्टर, अन्तिम पहुँच अप्रिल २२, २०१६ 
  5. बेक, जेरी (सन् २००५), The animated movie guide [एनिमेटेड चलचित्र निर्देशिका], शिकागो रिभ्यू प्रेस, पृ: १३३, आइएसबिएन 1-55652-591-5 
  6. हिशाक, थोमस एस. (सन् २०११), Disney Voice Actors: A Biographical Dictionary [डिज्नी आवाज अभिनेता: जीवनी समावेश गरिएको शब्दकोश], म्याकफारल्यान्ड, पृ: २४०, आइएसबिएन 978-0-7864-6271-1 
  7. वेब, ग्राहम एस. (सन् २०००), The animated film encyclopedia: a complete guide to American shorts, features and sequences 1900-1979 [एनिमेटेड चलचित्र विश्वकोश: सन् १९०० - सन् १९७९ का अमेरिकी एनिमेटेड चलचित्रहरू], म्याकफारल्यान्ड, पृ: २५७, आइएसबिएन 978-0-7864-0728-6 
  8. ८.०० ८.०१ ८.०२ ८.०३ ८.०४ ८.०५ ८.०६ ८.०७ ८.०८ ८.०९ ब्यारियर, Michael (सन् २००८), The Animated Man: A Life of Walt Disney [एनिमेटेड पुरुष: वाल्ट डिज्नीको जीवनी], क्यालिफोर्निया विश्वविद्यालय छापाखाना, पृ: २७६, आइएसबिएन 978-0-520-25619-4 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ ९.७ ९.८ थोमस, बब (सन् १९९७), "Chapter 7: The Post-War Films", Disney's Art of Animation: From Mickey Mouse to Hercules [पाठ ७: युद्ध पछिका चलचित्रहरू], डिज्नी एडिसन्स, पृ: १०६–१०७, आइएसबिएन 978-0786862412 
  10. The Legacy of the Jungle Book. द जङ्गल बुक २ डिभिडी: वाल्ट डिज्नी होम इन्टरटेनमेन्ट. 
  11. ल्यारी क्लेमन्स. The Jungle Book (audio commentary). द जङ्गल बुक, प्लेटिनम संस्करण. 
  12. बीम्यान, Nancy (सन् २००७), Prepare to board!: creating story and characters for animated features and shorts [बोर्डमा जान तयार हुनुहोस्: एनिमेटेड चलचित्र तथा लघु चलचित्रका लागि पात्र र कथा निर्माण गर्ने विधि], फोकल प्रेस, आइएसबिएन 978-0-240-80820-8 
  13. नोर्मन, फ्लोइड (सन् २०१०), घेज, डिडिएर, सम्पादक, Walt's People - Volume 9 [वाल्टका मानिसहरू - पुस्तक ९], एक्सलिब्रिस कर्पोरेसन, पृ: १७५, आइएसबिएन 978-1-4500-8746-9 
  14. १४.० १४.१ १४.२ १४.३ १४.४ माल्टिन, लियोनार्ड (सन् २०००), "द जङ्गल बुक", The Disney Films [डिज्नी चलचित्रहरू], डिज्नी एडिसन्स, पृ: २५३–२५६, आइएसबिएन 978-0786885275 
  15. क्राउन (सन् १९८०), Walt Disney's The jungle book [वाल्ट डिज्नीको द जङ्गल बुक], हार्मानी बुक्स, पृ: ५, आइएसबिएन 978-0-517-54328-3 
  16. वुल्फग्याङ रिदरम्यान. The Jungle Book (audio commentary). द जङ्गल बुक, प्लेटिनम संस्करण. 
  17. होलिस, टिम; एर्बार, ग्रेग (सन् २००६), Mouse tracks: the story of Walt Disney Records [माउस ट्र्याक्स: वाल्ट डिज्नी रेकर्ड्सको कथा], मिसिसिपी विश्वविद्यालय छापाखाना, पृ: ८९, ९०, आइएसबिएन 978-1-57806-849-4 
  18. https://sites.google.com/site/jackbennyinthe1940s/Home/the-cast-1940-1949 वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१३ मिति
  19. ब्रुस रिदरम्यान. (सन् २००७). The Jungle Book (audio commentary). द जङ्गल बुक, प्लेटिनम संस्करण, डिस्क १. 
  20. शर्मन, रोबर्ट; शर्मन, रिचार्ड (सन् १९९८), Walt's Time: from before to beyond [वाल्टको समय: पहिले देखि पछि सम्म], काम्फोर ट्री पब्लिसर्स, पृ: ८४, आइएसबिएन 978-0-9646059-3-0 
  21. म्याक्लिन, क्रेग (जुलाई ३०, २०१३), "The Jungle Book: the making of Disney's most troubled film" [द जङ्गल बुक: डिज्नीको सबैभन्दा व्याकुल चलचित्रको निर्माण], द टेलिग्राफ, अन्तिम पहुँच जून २०, २०१६ 
  22. Lost Character: Rocky the Rhino. द जङ्गल बुक प्लेटिनम संस्करण डिस्क १: वाल्ट डिज्नी होम इन्टरटेनमेन्ट. 
  23. २३.० २३.१ आन्ड्रेयास देजा. (सन् २००७). The Jungle Book (audio commentary). द जङ्गल बुक, प्लेटिनम संस्करण, डिस्क १. 
  24. Frank Thomas and Ollie Johnston Discuss Character Animation. द जङ्गल बुक, प्लेटिनम संस्करण, डिस्क २. सन् २००७. 
  25. २५.० २५.१ रिचार्ड शर्मन. (सन् २००७). The Jungle Book (audio commentary). द जङ्गल बुक, प्लेटिनम संस्करण, डिस्क १. 
  26. शर्मन, रोबर्ट बी.; शर्मन, रिचार्ड एम.. Interview with the शर्मन ब्रदर्स. द जङ्गल बुक साउन्डट्र्याक, ३० औँ जयन्ती संस्करण (सन् १९९७): वाल्ट डिज्नी रेकर्ड्स. 
  27. २७.० २७.१ थमसन, हावर्ड (डिसेम्बर २३, १९६७), "Disney 'Jungle Book' Arrives Just in Time" [डिज्नीको 'जङ्गल बुक' को ठीक समयमा आगमन], द न्यू योर्क टाइम्स, अन्तिम पहुँच सेप्टेम्बर ८, २०११ 
  28. डिप्रिस्को, माइक (सेप्टेम्बर २, २०१२), "Ranking Disney: #12 – The Jungle Book (1967)" [डिज्नीको श्रेणीकरण: #१२ – द जङ्गल बुक (सन् १९६७)], बी+ मूभी ब्लग, अन्तिम पहुँच अगस्ट ८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-०४ मिति
  29. "The.Jungle.Book.(1967).SE.DVD9.PAL-DVD-ED2K [EN/ES/PT/HB]" [dद जङ्गल बुक (सन् १९६७)], शेयर द फाइल्स, मार्च १९, २००८, मूलबाट नोभेम्बर ३०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ८, २०१३ 
  30. "Big Rental Films of 1968" [सन् १९६८ का सर्वोत्कृष्ट चलचित्रहरू], भेराइटी], जनवरी १८, १९६९, पृ: १५। 
  31. "Animals Portray Parts in Disney's "Robin Hood"" [डिज्नीको "रबिन हुड" मा जनावरको भूमिका], टोलेडो ब्लेड, अक्टोबर १८, १९७०, अन्तिम पहुँच जुलाई ४, २०१६ 
  32. ३२.० ३२.१ जोन्स, स्टिभ; जेन्सेन, जोली (सन् २००५), Afterlife as Afterimage: Understanding Posthumous Fame [मृत्युपश्चातको जीवन र मृत्युपश्चातको प्रतिष्ठा: मरणोपरान्त प्रसिद्धिको बुझाइ], पिटर ल्याङ, पृ: १९७, आइएसबिएन 978-0-8204-6365-0 
  33. "'Jaws,' 'Cuckoo's,' Disney's 'Jungle' Top British B.O." ['जज', 'ककुज', डिज्नीको 'जङ्गल' बेलायती बक्स अफिसको उच्च स्थानमा], भेराइटी: ११, जनवरी ५, १९७७। 
  34. "All-Time Film Rental Champs" [सर्वाधिक कमाइ भित्र्याउने चलचित्रहरू], भेराइटी, जनवरी १४, १९८१, पृ: २८। 
  35. "The Jungle Book" [द जङ्गल बुक], बक्स अफिस मोजो, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८ 
  36. "The Jungle Book (1967) - Domestic Total Adj. Gross (2018)" [द जङ्गल बुक (सन् १९६७) - कुल आन्तरिक कमाइ (सन् २०१८)], बक्स अफिस मोजो, अन्तिम पहुँच जून २२, २०१९ 
  37. "All Time Box Office Adjusted for Ticket Price Inflation" [सबै बक्स अफिसको मुद्रा स्फितीको हिसाबमा कमाइको रूपान्तरण], बक्स अफिस मोजो, अन्तिम पहुँच जून ८, २०११ 
  38. स्कट रक्सब्रो (जनवरी ११, २०१६), "German Box Office: 'Star Wars' Becomes Fourth Highest-Grossing Film of All Time" [जर्मनेली बक्स अफिस: 'स्टार वार्स' सर्वाधिक कमाइ भित्र्याउने चलचित्रहरूमा चौथो स्थानमा], द हलिउड रिपोर्टर, अन्तिम पहुँच जनवरी ११, २०१६ 
  39. "The Ultimate Chart: 1–100" [शताब्दीको अन्तिम चलचित्र तालिका: १–१००], ब्रिटिश फिल्म इन्स्टिट्युट, नोभेम्बर २८, २००४, मूलबाट अगस्ट ३, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०३ मिति
  40. "Top250 Tous Les Temps En France (reprises incluses)" [फ्रान्समा सबै मौसममा हेर्न सकिने २५० चलचित्रहरू], अन्तिम पहुँच मार्च १५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-३१ मिति
  41. "Outbreak' strikes European box office" [युरोपेली बक्स अफिसमा सफलता], युनाइटेड प्रेस इन्टरनेसनल, मे ८, १९९५, अन्तिम पहुँच जून २२, २०१९ 
  42. "Top 20 Sell-Through Units Shipped" [सर्वाधिक बिक्री भएका भिएचएस एकाइहरू], द हलिउड रिपोर्टर (विल्कर्सन डेली कर्पोरेसन) ३२० (१८–३४): ५३३, सन् १९९१। 
  43. म्याकनेरी, डेभ (अप्रिल २८, १९९४), "Disney sees big sales for 'Snow White' video" [डिज्नीको 'स्नो ह्वाइट' भिडियोको सर्वाधिक बिक्री], युनाइटेड प्रेस इन्टरनेसनल 
  44. "'Jungle' blooms, beats 'Beast' in o'seas video" [विदेशी गृह भिडियोको बिक्रीमा 'बिस्ट' को 'जङ्गल' द्वारा पुनर्स्थापना], भेराइटी, डिसेम्बर २०, १९९३, अन्तिम पहुँच जून २२, २०१९ 
  45. "Billboard" [बिलबोर्ड], जनवरी २२, १९९४, अन्तिम पहुँच जनवरी ७, २०१७ 
  46. "Home Video  — VIDBITS 'Philadelphia'" [गृह भिडियो  — भिडबिट्स 'फिलाडेल्फिया'], युनाइटेड प्रेस इन्टरनेसनल, अगस्ट ४, १९९४। 
  47. "New Line's Film Runs 'Rings' Around Video Competition" [नयाँ लाइन चलचित्र भिडियो प्रतिस्पर्धामा], बिलबोर्ड (निल्सेन बिजनेस मिडिया) ११४ (३५): ८३, अगस्ट ३१, २००२, आइएसएसएन 0006-2510 – गूगल बुक्सद्वारा। 
  48. "The Jungle Book DVD Review" [द जङ्गल बुक डिभिडी समीक्षा], अल्टिमेट डिज्नी, अन्तिम पहुँच सेप्टेम्बर ८, २०११ 
  49. ह्वाइट, सिन्डी (अक्टोबर ४, २००७), "Disney Cracks Open The Jungle Book Again" [डिज्नीद्वारा द जङ्गल बुकको पुनः सार्वजनिकीकरण], आइजिएन, अन्तिम पहुँच सेप्टेम्बर ८, २०११ 
  50. हलरन, स्कट (सेप्टेम्बर १४, २००७), "'Jungle Book' Opens in Hollywood" [हलिउडमा 'जङ्गल बुक' को प्रस्तुति], मूलबाट मार्च २९, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १९, २०१२ 
  51. म्याककचन, डेभिड (जनवरी १३, २०१०), "Disney Vault Shuts" [डिज्नी भल्टको समापन], आइजिएन, अन्तिम पहुँच सेप्टेम्बर ८, २०११ 
  52. ब्रिगान्ते, रिकी (फेब्रुअरी ११, २०१४), "Review: "The Jungle Book" Blu-ray brings home much more than bare necessities with funny, heartfelt features" [समीक्षा: "द जङ्गल बुक" ब्लू-रेले हास्य कृतिका साथ आधारभूत आवश्यकता भन्दा बढी भित्र्याउँछ], इनसाइड द म्याजिक, अन्तिम पहुँच फेब्रुअरी २१, २०१४ 
  53. "The Jungle Book (1967) - Financial Information" [द जङ्गल बुक (सन् १९६७) - वित्तीय जानकारी], द नम्बर्स, अन्तिम पहुँच अगस्ट २७, २०१८ 
  54. "New Movies: The Jungle Book" [नयाँ चलचित्रहरू: द जङ्गल बुक], टाइम ९१ (३): ९०, जनवरी १९, १९६८। 
  55. शिकेल, रिचार्ड (जनवरी ५, १९६८), "Walt's Good — and Bad — Goodbye" [वाल्टको राम्रो — र नराम्रो — विदाइ], लाइफ ६४ (१): ११, अन्तिम पहुँच अक्टोबर २७, २०११ 
  56. च्याम्प्लिन, चार्ल्स (अक्टोबर १८, १९६७), "Disney Craft Flavor for 'Jungle Book'" [डिज्नीको 'जङ्गल बुक' को स्वाद], द लस एन्जलस टाइम्स १३ (५): १। 
  57. "The Jungle Book (Color-Cartoon Feature)trans-title=द जङ्गल बुक (रङ्गीन कार्टुन चलचित्र)", भेराइटी, अक्टोबर ४, १९६७, अन्तिम पहुँच जनवरी १, २०१९ 
  58. "1968 Oscars Nominees" [१९६८ ओस्कार मनोनयन], ओस्कार, जनवरी २९, २०१०, अन्तिम पहुँच मार्च ३, २०१४ 
  59. ५९.० ५९.१ "Your Guide To Disney's 50 Animated Features" [डिज्नीका ५० एनिमेटेड चलचित्रहरूको निर्देशिका], एम्पायर, जनवरी २९, २०१०, अन्तिम पहुँच मार्च ३, २०१४ 
  60. "The Jungle Book (1967)" [द जङ्गल बुक (सन् १९६७)], रटन टमेटोज, फ्यानड्याङ्गो, अन्तिम पहुँच मे २१, २०१८ 
  61. टकर, केन (अगस्ट ३, १९९०), "Movie Review: The Jungle Book" [चलचित्र समीक्षा: द जङ्गल बुक], इन्टरटेनमेन्ट वीक्ली 
  62. सोलोमन, चार्ल्स (जुलाई १३, १९९०), "MOVIE REVIEW : Kipling Reconditioned in Walt Disney's 'The Jungle Book'" [चलचित्र समीक्षा: वाल्ट डिज्नीद्वारा परिवर्तित किप्लिङ्गको 'द जङ्गल बुक'], लस एन्जलस टाइम्स 
  63. होलिस, टिम; एर्बार, ग्रेग (सन् २००६), Mouse Tracks: The Story of Walt Disney Records [माउस ट्र्याक्स: वाल्ट डिज्नी रेकर्ड्सको कथा], मिसिसिपी विश्वविद्यालय छापाखाना, पृ: ११६, आइएसबिएन 978-1-61703-433-6 
  64. "The Jungle Book 2" [द जङ्गल बुक २], रटन टमेटोज, अन्तिम पहुँच मार्च ३, २०१४ 
  65. आर्मस्ट्रङ, जश (अप्रिल २२, २०१३), "From Snow Queen to Pinocchio II: Robert Reece's animated adventures in screenwriting" [स्नो क्वीन देखि पिनोक्कियो २ सम्म: रोबर्ट रोइसको एनिमेटेड चलचित्रको पटकथा लेखन कार्यहरू], एनिमेटेड भ्यूज, अन्तिम पहुँच अप्रिल २४, २०१३ 
  66. हिल, जिम (मार्च १७, २००५), "Why For?" [के को लागि ?], जिम हिल मिडिया, अन्तिम पहुँच डिसेम्बर ११, २०१९ 
  67. केली कफी (सेप्टेम्बर २०, २०१९), "Does Disney recycle animation drawings for multiple movies?" [के डिज्नीले एनिमेसन चित्रको पुनः प्रयोग गर्छ ?], इनसाइड द म्याजिक, अन्तिम पहुँच अगस्ट १४, २०२० 
  68. टिम फोस्टर (जून ४, २०२०), "Ten Things You May Not Know About Baloo and Bagheera" [बलू र बघीराका बारेमा तपाईँलाई थाहा नभएका १० कुराहरू], सेलिब्रेसन्स प्रेस, अन्तिम पहुँच अगस्ट १४, २०२० 
  69. The Lure of The Jungle Book. [जङ्गल बुकको गाथा], द जङ्गल बुक, प्लेटिनम संस्करण, डिस्क २ । सन् २००७ ।
  70. "TaleSpin" [टेलस्पिन], इन्टरटेनमेन्ट वीक्ली, सेप्टेम्बर ७, १९९०, अन्तिम पहुँच अक्टोबर १९, २०१० 
  71. किङ, सुसन (सेप्टेम्बर १, १९९६), "Reading, Writing and Reinventing Heroes" [नायकहरूको पठन, लेखन र पुनर्लेखन], द लस एन्जलस टाइम्स, अन्तिम पहुँच अप्रिल ३, २०१६ 
  72. निब्ली, एलेक्जेन्डर (मे २६, १९६७), "Are Films Using Names in Vain?" [के चलचित्रका नामहरू व्यर्थ छन् ?], द लस एन्जलस टाइम्स, अन्तिम पहुँच नोभेम्बर २२, २०१० 
  73. कीगन, रेबेका (जनवरी ८, २०१६), "Jon Favreau brings 21st century technology to Rudyard Kipling's 1894 'The Jungle Book'" [रुडयार्ड किप्लिङ्गको १८९४ उपन्यास 'द जङ्गल बुक' मा जोन फाव्रोले २१ औँ शताब्दीको प्रविधिको प्रयोग गर्छन्], द लस एन्जलस टाइम्स, अन्तिम पहुँच अप्रिल १७, २०१६ 
  74. "Jungle Book — Sega Genesis: Video Games" [जङ्गल बुक —सेगा जेनेसिस: भिडियो खेलहरू], अन्तिम पहुँच मार्च ३, २०१४ 
  75. स्ट्रोम, एक्सेल (मे १७, २००६), "Jungle Book Rhythm N'Groove Hands-On" [जङ्गल बुक रिदम एन्ड ग्रुभ हातमा], गेमस्पट, अन्तिम पहुँच जनवरी ७, २०१७ 
  76. वारनिनी, जियानकार्लो (फेब्रुअरी ७, २००३), "Ubi Soft to release two Jungle Book games" [युबी सफ्टद्वारा दुइटा जङ्गल बुक खेल सार्वजनिक गरिने], गेमस्पट, अन्तिम पहुँच जनवरी ७, २०१७ 
  77. "QuackShot Retro Review" [क्व्याकसट रेट्रो समीक्षा], आइजिएन, अन्तिम पहुँच मार्च ३, २०१४ 
  78. ग्रोनेनडिज्क, फेरी (अगस्ट ११, २००६), "Kingdom Hearts II Tetsuya Nomura interview" [किङडम हार्ट्स २ तेत्सुया नोमुरासँग अन्तर्वार्ता], भिडियो गेम ब्लगर, अन्तिम पहुँच जुलाई २१, २००७ 
  79. म्याकजोर्ज, क्रिस्टोफर (सेप्टेम्बर २६, २०१३), "Kingdom Hearts III: 7 Awesome Disney Worlds It Must Include" [किङडम हार्ट्स ३: समावेश गर्नैपर्ने ७ उत्कृष्ट डिज्नी संसारहरू], ह्वाट कल्चर, मूलबाट जून १२, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २१, २००७ 
  80. लिटलटन, अलिभर (मार्च १४, २०१३), "5 Things You Might Not Know About 'Who Framed Roger Rabbit'" ['हु फ्रेम्ड रोजर र्याबिट' का बारेमा तपाईँलाई थाहा नभएका ५ ओटा कुराहरू], इन्डीवायर, अन्तिम पहुँच मार्च ३, २०१४ 
  81. राथ, मार्क (डिसेम्बर १७, २०१०), "Controversial Jungle Book artwork by Banksy bound for auction" [ब्याङ्क्सीद्वारा निर्मित विवादित कृतिको लिलामी], इभनिङ पोस्ट (ब्रिस्टल इभनिङ पोस्ट), पृ: १, मूलबाट अक्टोबर ७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १७, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ७, २०१५ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]