काठे भालु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

काठे भालु
Melursus ursinus
सामयिक शृङ्खला: Late Pliocene to Early Pleistocene – Recent
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
Melursus

Meyer, 1793
प्रजाति:
M. ursinus
वैज्ञानिक नाम
Melursus ursinus
Shaw, 1791
काठे भालुको फैलावट नक्शा
(कालो – हाल लोप, हरियो – वर्तमान वास्सथान)
पर्याय
  • Melursus lybius Meyer, 1793
  • Bradypus ursinus Shaw, 1791

काठे भालु (वैज्ञानिक नाम: Melursus ursinus)[२][३][४][५] नेपालको तराई भेगमा पाइने भालुको प्रजाति हो। काठे भालुको मुख्य आहारा भनेको धमिरोकमिला हो तर कहिलेकाही फलफूल पनि खान्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा काठे भालुलाई असुरक्षित वर्गमा राखेको छ र जनसंख्या घट्दै गएको जानकारी दिन्छन्[६]। काठे भालुको धेरै जनसंख्या मानिसको नजिकमा बस्नु परेकोले र दुई देशहरूबाट पहिले नै लोप भइसकेको हुनाले यसलाई "असुरक्षित" वर्गमा राखिएको हो। नेपालको राष्ट्रिय रातो सूचीमा भने काठे भालुलाइ "लोपन्मुख" वर्गमा सुचिकृत गरिएको छ[७]। विश्वभर यसको जनसंख्या १०,०००-२०,००० हुनसक्ने अनुमान छ[८]

फैलावट[सम्पादन गर्ने]

काठे भालु भारतिय उपमहाद्वीपमा रैथाने भालु हो। यसको फैलावट भारतमा व्यापक छ र भारतको १९ राज्यमा पाइन्छ[९]। सन् १९९३ र १९९६ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले भुटानका तल्लो भागमा बस्ने भनिएको काठे भालुको उपस्थितिमा प्रश्नचिन्ह राखेका थिए र केही विज्ञहरूले भुटानमा काठे भालु लोप भइसकेको माने। तर पनि भारतको आसाम राज्यसँग जोडिएको शाही मानस राष्ट्रिय निकुञ्जमा काठे भालु अझै बाँकी रहेको कुरा उठ्यो[१०]। यस पुष्टिलाई सन् २००९ मा केही अनुसन्धानकर्मीहरूले प्रमाणित गरिदिए जब काठे भालुको तस्विर खिच्न अनुसन्धानकर्मीहरू सफल भए। त्यसपछि सन् २०१४ मा काठे भालुको उपस्थितिको सङ्केत अन्तिम पटक फेला पर्यो।[१०] बिसाैँ शताब्दी सम्म भुटानको तल्लो भेगमा मज्जाले पाइने काठे भालु आजभोलि दुर्लभ हुनुको कारण धमिराको कमि र हिमाली कालो भालुसँगको प्रतिस्पदा मानिएको छ।[१०] बङ्गलादेशबाट भने काठे भालु लोप भइसकेको मानिन्छ[६]श्रीलङ्कामा काठे भालुको एक उपप्रजाति पाइन्छ[६]

नेपालमा काठे भालुको स्थिति[सम्पादन गर्ने]

नेपालको तराइभेग र चुरिया पहाडहरूमा पहिलेपहिले काठे भालु प्रश्सत मात्रामा पाइन्थ्यो तर आजभोलि भने धैरै जिल्लाहरूबाट लोप भइसकेको छ। हाल यो भालु चितवन राष्ट्रिय निकुञ्ज,पर्सा राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्ज,बाँके राष्ट्रिय निकुञ्ज र वरपरका बारा, कैलालीदाङ जिल्लाहरू पाइन्छ[८][११]चितवन राष्ट्रिय निकुञ्जपर्सा राष्ट्रिय निकुञ्जमा काठे भालुको घनत्व संसारमै सबैभन्दा बढि हो। कोशी टप्पुशुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट काठे भालु लोप भइसकेको थियो[१२]। एकाइसाैँ शताब्दीको सुरुवातदेखि गरीएको अध्ययनबाट पनि यी दुई संरक्षण क्षेत्रमा काठे भालु भेट्टिएन। तर सन् २०१३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विज्ञहरूको एक टोलीले तीन दशक पछि काठे भालुको तस्विर खिच्न सफल भए र शुक्लाफाँटामा काठे भालु फर्केको कुरा पुष्टि गरे[१२][१३]। सन् १९८० मा नै अवैध शिकारको कारणले लोप भइसकेको मानिएको काठे भालु शुक्लाफाँटामा नजिकै रहेको भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट आएको अनुमान छ। सन् २०१३ मा एउटै काठे भालुको तीनवटा तस्विर क्यामेरा ट्रयाप प्रविधिबाट खिचियो भने सन् २०१४ मा काठे भालु रहेको केही सङ्केट भेट्टियो।शुक्लाफाँटामा धमिरोका दुलो प्रशस्त संख्यामा भएकाले सोही विज्ञहरूले शुक्लाफाँटामा काठे भालुको प्रत्यागमन गराउनु पर्ने कुरामा जोड दिए।[१२] कोशी टप्पुमा भने काठे भालुलगभग तीन दशकदेखि भेट्टिएको छैन।

बानीव्यहोरा र पारिस्थितिकी[सम्पादन गर्ने]

काठे भालु पनि अरु भालुहरू झै समूहमा बस्न रुचाउँदैनन्। चितवन राष्ट्रिय निकुञ्जमा (जँहा काठे भालुको जनसंख्या धेरै घना छ) गरिएको एक अध्ययमा सँगै बस्न नरुचाउँने काठे भालुको सक्रिएतामा नै अरू ठाँउमा भन्दा भिन्न पाइएको छ[१४]। वयस्क भाले भालुहरू बेलुकीको ६ बजे पछि र बिहानीको ६ बजे अघि सबैभन्दा सक्रिय पाइयो र बच्चा नभएका पोथी पनि अध्याँरोमा बढी सक्रिय पाइयो यद्यापि दिनमा उनीहरूको सक्रियतामा धेरै कमि देखिएन। किशोरअवस्थाका र बच्चा भएका माउ भने दिउँसो बढि सक्रियो पाइयो। औसतमा किशोरअवस्थाका भालु वयस्कभन्दा आहाराको खोजीमा टाढा डुल्थे। यी सबैलाई हेरेर अनुसन्धानकर्मीहरूले माउ भालु र अर्ध-वयस्क किशोरी भालुहरू वयस्कसँगको जम्काभेटबाट जोगिनको लागि भनेर उनीहरू असक्रिय हुने बेलामा आफू बढि सक्रिय भएको हुनसक्ने भनेका छन्[१४]। यसैगरि चितवनमा सुत्केरी भालुहरूले आफ्ना बच्चाहरूको जन्मदेखि तीन हप्तासम्म केही खाना समेत नखाई आफ्ना बच्चाको रेखदेखमा लागिरहने देखाएको जसले साना काठे भालुहरू अरू जनावरबाटमात्र नभई आफ्नै प्रजातिहरूबाट पनि खतरा भएको कुरालाई पुष्टि गर्छ[१४]

प्रजनन र सुत्केरी[सम्पादन गर्ने]

नेपाली भाषामा भालुका बच्चालाई गद्दु भनिन्छ[१५]। आफ्ना बच्चालाई बोक्ने बानी भालुहरूमा काठे भालुमा मात्र पाइएको छ।

प्रजननकालमा भालेहरू बच्चा भएका र नभएका दुवै पोथीको पछिपछि लाग्थे तर बच्चा भएका पोथीले प्रजनन गर्दैनन्।सुरु-सुरुमा पोथीहरू भालेबाट टाढा नै बस्छन् र नजिक आएमा भाग्ने पनि गर्छन्। तर केही दिनपछि पोथीहरू भालेको नजिकबाट भाग्न छोडछन्।यस्ता ग्रहणशील पोथीको नजिक थुप्रै भालेहरू जम्मा हुन्छन् र प्रजनन अधिकारको लागि झगडा पनि गर्छन्। सुत्केरी भालुले धेरै जसो दुई बच्चा (गद्दु) जन्माउँछन् तर एक या तीन जना बच्चाहरू पनि जन्माउँन सक्छन्। काठे भालुले आफ्ना गद्दुलाई ढाडमा बोक्ने गर्छन्।आमाले धमिराको खोजीमा माटो खन्दै गर्दा पनि बच्चाहरूलाई बोक्ने गरेको पाइएको छ। ३ महिना लागेपछि भने गद्दुहरू बिस्तारै आमाको ढाडबाट तल झर्न थाल्छन्[१४]। माउ काठे भालुले आफ्ना बच्चाहरूलाई १२-१४ महिनासम्म दुध खुवाउँदै हेरचाह गर्छन्[१५]। माउहरू आफ्ना बच्चाको सुरक्षाका लागि जो सुकैलाई हमला गर्न तयार हुन्छन्। बच्चाको सुरक्षाका लागि आफूभन्दा ठूला पाटे बाघ र हात्तीलाई समेत हमला गर्ने गर्छन्[१५]। खतराको महसुस भएपछि गद्दुहरू आमाको ढाडमा चढ्छन्। तर एक वर्ष जति नागिसकेपछि गद्दुहरू भने आमाको अघि भाग्छन्। गद्दुहरू डेढ वर्षदेखि साढे दुई वर्षको उमेर नागिसके पछि आमाबाट आत्मनिर्भर हुन्छन्[१४]। आमाबाट छुट्टिसके पछि पनि दाजुभाई-दिदीबहिनीसँग अझै केही वर्ष सँगै बस्ने गर्छन्।

अरू जनावरसँग सम्बन्ध[सम्पादन गर्ने]

पाटे बाघले काठे भालुको सिकार गरेको धेरै पाइएको छ[१६]बाघहरू धेरै जसो धमिरोको दुलो नजिक बसेर काठे भालुको पर्खाइमा बस्ने र भालुलाई घाँटीमा समातेर सास खुमच्याएर सिकार गर्छन्। चितुवा पनि यसको लागि खतरा हुनसक्छ तर चितुवाले वयस्कभन्दा गद्दुहरूलाई बढि ताक्छन्। कहिलेकही वनकुकुरको बथानले पनि काठे भालुलाई हमला गर्छन् तर अहिलेसम्म वनकुकुरले भालुको सिकार गरेको अभिलेख छैन। उत्तर भारतको केही संरक्षण क्षेत्रमा काठे भालु र यो भन्दा ठूलो हिमाली कालो भालु एउटै ठाँउमा पाइएको छ। हालै बर्दिया राष्ट्रिय निकुञ्जमा पनि हिमाली कालो भालु भएको कुरा पाइएको छ[१३]। नेपालमा यी दुई प्रजाति एउटै स्थानमा पाइएको पहिलो पटक हो।यी दुई प्रजातिको आहारा र पारिस्थितिकीमा अन्तर भएकाले सामान्यतया यीनीहरूको जम्काभेट दुर्लभ छ[१३]

आहारा[सम्पादन गर्ने]

आराम गरिरहेको अवस्थामा काठे भालु

काठे भालु पनि अरू भालुहरू जसरि सर्वहारी हुन्[१७]।काठे भालुको आहारा भाैगोलिक फैलावटमा पनि भर पर्छ। माैसम र ऋतु अनुसार यसको आहारामा पनि फरक देखा पर्छ।

धमिरा[सम्पादन गर्ने]

जस्तो सुकै ऋतु र माैसमा काठे भालुको मुल आहारा भनेको धमिरा नै हो। यसको थुतुनो नाङ्गो हुन्छ जसले दुलो भित्रको धमिरोलाई चुसेर खान्छन्। जमिन मुनि भएको दुलोलाईआफ्नो नङ्ग्राले खन्छन्। उनीहरूसँग तीन फिट मुनि भएका धमिराको दुलोलाई सुँघ्न सक्ने क्षमता हुन्छ। हालमा अध्ययनहरूले काठे भालुको धमिरामा निर्भरता बढेको देखाएको छ।[१८]

कमिला र अन्य कीराहरू[सम्पादन गर्ने]

धमिरो पछि यसको आहारामा देखा पर्ने अर्को कीरा कमिला हो। काठे भालुहरू या त दुलोमा गएर नै कमिलालाई खान्छन् या दुलो बाहिरका ताँतीलाई खान्छन्। कमिलासँगै अरू थुप्रै कीराहरू यसका आहारा हुन्। यसले खास गरि अरू कीराहरूको लार्भालाई खान रुचाउँछन्।

मह[सम्पादन गर्ने]

काठे भालुहरूले मह एकदमै रूचाउँछन्। उनीहरू रुखमा चढेर मह काढ्छन् र माैरीको तोकाइ सहन सकुनजेलसम्म काढिरहन्छ[१८]

फलफूल[सम्पादन गर्ने]

बैसाख देखि श्रावण महिना जब यसको बासस्थानमा सबैभन्दा बढि फल फल्छ। यसै बेला यसको आहारामा फलफूलको मात्रा बढ्छ। रुखबाट झरेको साथै झाडीमा फल्ने फलफूल पनि यसले खान्छ[१८]। राम्ररी फल नफल्ने कालमा भने यसको आहाराका कीराको मात्रा बढ्छ।

संरक्षण र खतरा[सम्पादन गर्ने]

काठे भालु दुर्लभ हुँदै गएको मुल कारण वासस्थानको विनास हो। यसै गरि भालुको पित्त थैलीको सेवनले स्वस्थमा लाभ हुने कुविश्वास अझै केही समुदायमा बाँकी नै छ। यो कुविश्वासले कालो भालुलाई पनि नकारात्मक असर पुर्याएको छ। यसै गरी काठे भालुलाई पञ्जा र नाङ्ग्राका लागि पनि शिकार गरिन्छ। यसका पञ्जा र नाङ्ग्रालाई संभ्रान्त सुपहरूमा प्रयोग गरिन्छ[१७][१७]। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले काठे भालुको जनसंख्या भारतिय उपमहाद्वीपश्रीलङ्कामा बीस हजार भन्दा कम हुनसक्ने अनुमान लगाएको छ[६]। नेपालमा काठे भालुको जनसंख्याको अनुमान तर सन् १९९० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा २५० काठे भालु हुनसक्ने अनुमान थियो[८]। भालु भनेका आक्रामक, खतरनाक र विकर्षक जनावर भएको जनविश्वासका कारण र भालुको दुर्भलताको बारे शिक्षा नभएको कारणले भालुको संरक्षणमा बढि चासो नगएको हुनसक्छ[१५]

"नाच्ने भालु" र घरपालुवा भालु[सम्पादन गर्ने]

भारतको पुस्करमा- नाच्ने काठे भालु र मालिक

भारतमा बेलायतको शासन हुँदा बेलायती अधिकारीहरूले काठे भालुलाई घरमा राख्न रुचाँउथे। साथै काठे भालुका गद्दुलाई सानै उमेरमा तस्कर गरेर "नाच्ने भालु" बनाउने चलन भारतमा तेह्राै शताब्दीदेखि नै थियो। नेपालको तराई भेगमा पनि यस्तो चलन थियो। "नाच्ने भालु" भारतमा मनोरञ्जनको एक लोकप्रिय स्रोत थियो। भारत सरकारले भने सन् १९७२ मा यो प्रथामाथि प्रतिबन्ध लगएतापनि एकाइसाैँ शताब्दीको सुरुवातसम्म पनि थुप्रै नाच्ने भालु बाँकी थिए। यस्ता भालुहरूलाई सानै उमेरमा तस्करहरूसँग किनिन्थ्यो र त्यसपछि बलको प्रयोग गरेर नाच्न र आदेश मान्न लगाइन्थ्यो[१९]। यस्ता भालुहरूले मानव निर्मित दुर्व्यवहार धेरै सहनु पर्थ्यो। कलन्दर नाम गरेको समुदायसँग नै धेरै नाच्ने भालु हुन्छन्। संस्थाहरूले धेरै नाच्ने भालुहरूलाई एकदमै कम खाना खुवाइने र धेरैमा त गम्भिर कुपोषण रहेको तथ्याङ्क पायो[१९]। हालै सन् २०१७ मा नेपालको अन्तिम "नाच्ने भालु"लाई उद्दार गरिएको छ[१७]। "रङ्गिला" र "श्रीदेवी" नाम गरेका उक्त भालुहरूलाई नेपाल प्रहरीबल र अरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालहरू मिलेर उद्दार गरेका थिए। उद्दार गरिएका ती दुई भालुहरूलाई भारतमा उपचारको लागि पठाइएको छ।[१७] यस्तो चलन धेरै देशहरूबाट हराइसकेको छ।

मानिसमाथि हमला[सम्पादन गर्ने]

भारतको गुजरातमा मानिस र काठे भालुको वासस्थान अझै नजिक हुँदै आएको छ।

काठे भालुले मानिसलाई हमला गरेका उदाहरणहरू धेरै पाउन सक्छाैँ। काठे भालु र मानिसबिचको द्वन्द्व नेपालमा भन्दा भारतमा बढि बाक्लो छ। तथ्याङ्कमा जाने हो भने भारत, नेपालश्रीलङ्कामा मात्र पाइने काठे भालुले हरेक वर्ष बाह्र जना मानिसको ज्यान लिन्छन्[९]। तर नेपाल लगायत अरू ३९ देशहरूमा पाइने र काठे भालुभन्दा सुलभ र बढी जनसंख्या भएको रातो वा खैरो भालु प्रजातिले वार्षिक ६.३ मानिसको मात्र ज्यान लिन्छन्[२०]। विज्ञहरू अनुसार भारतमा कुल वनभूमिको १०% वन मात्र काठे भालुको लागि सुरक्षित ठाँउ मानिएको छ र बाँकी जम्मै ठाँउहरूमा मानिसको वस्ति नजिक बस्नु परेको छ। बढ्दै आएको जनसंख्याले काठे भालुसँगको द्वन्द्वलाई बढाएको छ[२१]। सन् २०१४-२०१८ को बीचमा भारतको दक्षिणमा रहेको राज्य कर्नाटकमा मात्र करिब ३०० हमलाहरू अभिलेख गरियो। सन् २०१७ को एक दिनमा मात्रै काठे भालुले ११ मानिस माथि हमला गरे[२१]। काठे भालुलाई एकदमै आक्रामक प्राणीमा लिइन्छ[२२]। काठे भालुले बाघ वा चितुवाले जसरी मान्छेलाई आहाराको लागि नभई आफ्नै र आफूका सन्ततीको सुरक्षाका लागि मानिसलाई हमला गर्छन्। धेरैजसो यसको हमलामा वनमा स्याउला र दाउरा लिन जानेहरु पर्छन्[९]






तस्विर सङ्ग्रह[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. Garshelis, D.L., Ratnayeke S. & Chauhan, N.P.S. (2008). Melursus ursinus. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 26 January 2009.Listed as Vulnerable (VU A2cd+4cd, C1 v3.1)
  2. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  3. (1998) , website, Mammal Species of the World
  4. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (2005) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 3rd ed., vols. 1 & 2
  5. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World
  6. ६.० ६.१ ६.२ ६.३ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा काठे भालुको स्थान: https://www.iucnredlist.org/species/13143/166519315
  7. नेपालका स्तनधारीहरूको राचो सूची: https://ntnc.org.np/sites/default/files/doc_publication/2018-11/The%20Status%20of%20Nepal%27s%20Mammals%20-%20Red%20List.pdf
  8. ८.० ८.१ ८.२ काठे भालुको संरक्षणको आवश्यकता र संरक्षण पाइलाहरू: https://www.rufford.org/files/Presentation%20-%20Sloth%20Bear%20Conservation%20in%20CNP_0.pdf
  9. ९.० ९.१ ९.२ भारतीयहरुको काठे भालुसँग सम्बन्ध: https://www.nationalgeographic.com/animals/2020/05/sloth-bears-are-worlds-deadliest-india-human-conflict/
  10. १०.० १०.१ १०.२ भुटानमा काठे भालु रैथाने कि पाहुना: https://www.researchgate.net/publication/287993203_Do_Sloth_Bears_Live_in_Bhutan
  11. चितवन राष्ट्रिय निकुञ्जमा काठे भालुको वितरण तथा वासस्थान: https://www.nepjol.info/index.php/JNHM/article/view/14163
  12. १२.० १२.१ १२.२ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा काठे भालुको प्रत्यागमन: https://www.researchgate.net/publication/311934142_Sloth_Bear_Rediscovered_in_Shuklaphanta_Wildlife_Reserve_Nepal
  13. १३.० १३.१ १३.२ काठे भालु र हिमाली कालो भालुको दोभान नेपालमा पहिलो पटक: https://www.bearbiology.org/wp-content/uploads/2019/01/273_Fall2018_small.pdf
  14. १४.० १४.१ १४.२ १४.३ १४.४ चितवन राष्ट्रिय निकुञ्जमा पाइने काठे भालुको सामाजिक गतिविधि: https://www.researchgate.net/publication/238043492_Sociobiology_of_the_myrmecophagous_sloth_bear_in_Nepal
  15. १५.० १५.१ १५.२ १५.३ काठे भालुसम्बन्धि ग्रन्थ: https://www.jstor.org/stable/3808932?seq=1
  16. पाटे बाघको आहारामा काठे भालु??: https://web.archive.org/web/20090313110305/http://web.me.com/dattatri/shekardattatri/wow_moments.html
  17. १७.० १७.१ १७.२ १७.३ १७.४ नेपालमा काठे भालुको उद्धार: https://www.nationalgeographic.com/news/2017/12/wildlife-watch-nepal-dancing-bears-rescued/
  18. १८.० १८.१ १८.२ चितवन राष्ट्रिय निकुञ्जमा काठे भालुको आहारा विशेष: https://www.researchgate.net/publication/273284641_Seasonal_and_Habitat-Related_Diets_of_Sloth_Bears_in_Nepal
  19. १९.० १९.१ भारतका "नाच्ने भालु": https://web.archive.org/web/20090302084102/http://www.wildlifesos.org/IBR/Dbears/bdancebody.htm
  20. भालु र मानिस बिच द्वन्द्व: https://www.nature.com/articles/s41598-019-44341-w
  21. २१.० २१.१ भारतको कर्नाटकमाा वासस्थान गुमाएका काठे भालु र मानिस बिच द्वन्द्व: https://www.deccanherald.com/state/top-karnataka-stories/shrinking-habitat-ups-bear-man-conflict-743071.html
  22. त्यो दिन जब हामीले चितवनमा भालुाई चिन्याैँ: https://www.walkmyworld.com/posts/that-time-we-were-attacked-by-bears