तारामय रात
| तारामय रात | |
|---|---|
| कलाकार | भिन्सेन्त फन गोख |
| वर्ष | सन् १८८९ |
| माध्यम | तेलचित्रण |
| आकार | 73.7 cm × 92.1 cm (28.7 in × 36 1⁄4 in) |
| स्थान | आधुनिक कला सङ्ग्रहालय, न्युयोर्क |
तारामय रात (डच: De sterrennacht) नेदरल्यान्डेेेेली उत्तर प्रभावोत्वादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेल चित्र हो। यो चित्र उनले सन् १८८९ को जुन महिनामा मानसिक रूपमा अस्वस्थ भएपछि फ्रान्सको साँ-रेमी द-प्रोभँस स्थित एक आश्रमस्थलमा बसेको बेला बनाएका थिए। चित्रमा उनको कक्षको पूर्व दिशा तर्फको झ्याल खोल्दा देखिएको सूर्योदय हुनुभन्दा ठीक अघिको तारामय रातको दृश्यलाई चित्रण गरिएको छ जसमा उनले एक काल्पनिक गाउँलाई पनि समेटेका छन्।[१][२] यो सन् १९४१ देखि संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा रहेको आधुनिक कला सङ्ग्रहालयको स्थायी सङ्ग्रहमा बनेको थियो जसलाई लिली पि ब्लिस मार्फत सङ्ग्रहालयले अधिग्रहण गरेको थियो।[३] कला जगतमा व्यापक रूपमा यो रचनालाई फन गोखको महान रचना मानिन्छ भने पाश्चात्य कला जगतमा यसलाई सबैभन्दा अधिक मान्यता प्राप्त चित्रहरू मध्ये एकको रूपमा हेरिन्छ।[४][५]
यो चित्र जुन १८८९ को मध्यतिर सिर्जना गरिएको थियो, जुन आर्ल्स नजिकैको साँ-पल-ड-मुसोल मानसिक अस्पतालमा फन गोखको सुत्ने कोठाको झ्यालबाट देखिएको दृश्यबाट प्रेरित थियो। उक्त पूर्व मठले मानसिक अस्पतालको रूपमा काम गर्दथ्यो जहाँ फन गोखले २८ डिसेम्बर १८८८ को उत्तरार्धमा भएको मानसिक समस्या र आफूले आफैलाई चोट पुर्याउने कुख्यात कार्यपछि ८ मे १८८९ मा स्वेच्छाले भर्ना भएका थिए। धनी बिरामीहरूलाई सेवा दिने उक्त संस्था फन गोखको भर्नाको समयमा आधाभन्दा कम भरिएको थियो, जसले गर्दा कलाकारलाई दोस्रो तलामा सुत्ने कोठा र भुइँ तलामा स्टुडियो दुवै प्रयोग गर्ने सुविधा प्राप्त भएको थियो। त्यहाँको एक वर्षे बसाईका क्रममा उनी निकै उत्पादक रहे र आइरिसेस, एक आत्म-चित्र र तारामय रात जस्ता कृतिहरू सिर्जना गरेका थिए।
चित्रको खगोलीय तत्वहरूमा शुक्र समावेश छ, जुन त्यस समयमा आकाशमा देखिएको थियो यहाँ चन्द्रमालाई पनि समावेश गरिएतापनि चन्द्रमाको चित्रण खगोलीय रूपमा सटिक छैन। अग्रभागमा रहेका साइप्रसका रुखहरूलाई उनका अन्य कृतिहरूको तुलनामा आकारमा बढाइ-चढाइ गरिएको थियो। फन गोखका पत्रहरूले सुझाव दिएअनुसार उनले ती रुखहरूलाई प्रतीकात्मक भन्दा पनि मुख्यतया सौन्दर्यको दृष्टिकोणले हेरेका थिए। चित्रमा देखिएको गाउँ एक काल्पनिक स्थल हो जुन अस्पतालबाट देखिने वास्तविक परिदृश्यको सट्टा चित्रमा आधारित छ।
तारामय रातलाई धार्मिक प्रतीकवाददेखि फन गोखको भावनात्मक उथलपुथलको प्रतिनिधित्व सम्मका विभिन्न व्याख्याहरूको विषय बनाइएको छ। केही कला इतिहासकारहरूले घुमिरहेको आकाशलाई तत्कालीन खगोलीय खोजहरूसँग जोड्छन्, जबकि अरूले यसलाई फन गोखको व्यक्तिगत सङ्घर्षको अभिव्यक्तिको रूपमा हेर्छन्। फन गोख आफैँले यस चित्रको आलोचना गर्दै आफ्ना भाइ थियोलाई लेखेका पत्रहरूमा यसलाई "असफलता" भनेका थिए। भिन्सेन्तको मृत्युपछि यो कलाकृति थियोले उत्तराधिकारमा पाएका थिए। भिन्सेन्तको मृत्यु भएको ६ महिनापछि थियोको पनि मृत्यु भएसँगै यो कृति थियोकी श्रीमती जोको स्वामित्वमा आयो, जसले यसलाई सन् १९०१ मा एमिले सुफफेनेकरलाई बेचेतापनि यस कलाकृतिलाई सन् १९०५ मा जो लाई नै फिर्ता बेचिएको थियो।
सन् १९०६ देखि सन् १९३८ सम्म यो रोटरडमकी जोर्जेट पि भान स्टोल्कको स्वामित्वमा थियो। पल रोजेनबर्गले सन् १९३८ मा भान स्टोल्कबाट यसलाई किनेका थिए र सन् १९४१ मा न्युयोर्कको म्युजियम अफ मोर्डन आर्टलाई (साटासाट मार्फत) बेचेका थिए जसले यसलाई विरलै मात्र ऋणमा दिने गर्दछ।[६] चित्रको वैज्ञानिक विश्लेषणले आकाशका लागि फन गोखले नौसेना नीलो रङ र कोबाल्ट नीलो र तारा र चन्द्रमाका लागि बेसारे पहेँलो र जिङ्क पहेँलो प्रयोग गरेको पुष्टि गरेको छ।[७]
आश्रमस्थल
[सम्पादन गर्नुहोस्]मानसिक रूपमा अस्वस्थ भएपछि सन् १९८८ डिसेम्बर २३ को घटनापछि उनले आफैलाई चोट पुर्याउँँदै बायाँ कान काटेका थिए भने उनले सन् १८८९ मे ८ का दिन स्वयेच्छाले मुसोल स्थित सँ पलको पागलखानामा भर्ती भएका थिए।[८][९] पहिले मठको रूपमा रहेको उक्त स्थान धनाढ्यहरूको आरामस्थल थियो भने उनी त्यहाँ भर्ती हुने बेला त्यो मठ मानिसहरूद्वारा आधा मात्र भरिएको थियो।[१०][११][१२]त्यसको फलस्वरूप उनले दोस्रो तल्लामा सुत्ने कोठाको साथै भुइँ तल्लामा रहेको एउटा कोठालाई चित्रकला कक्ष रूपमा प्रयोग गर्ने अवसर पाएका थिए।[१३]
साँ-रेमी-द-प्रोभँसमा शरण लिँदै गर्दा उनले अर्लेसमा सुरु गरेको चित्रकारितालाई त्यहाँ आएर पनि निरन्तरता दिएका थिए।[१४] यस अवधिमा उनले आफ्नो व्यावसायिक जीवनको केही सबैभन्दा प्रसिद्ध रचनाहरूको निर्माण गरेका थिए जसमध्ये अधिकांश हाल जे पल गेटी सङ्ग्रहालयमा राखिएको छ। यी रचनाहरूमा सन् १८८९ मेमा निर्मित आइरिसहरू र सन् १८८९ सेप्टेम्बरमा निर्मित नीलो रङ्गको आत्मचित्रलाई पनि राखिएको छ। तारामय रात १८ जुनको मध्यमा कोरिएको थियो भने यस मितिमा उनले आफ्ना भाइ थियोलाई लेखेको पत्रमा उनले ताराआकाशको नयाँ अनुसन्धान गरिरहेको उल्लेख गरेका थिए।[L १]
चित्र
[सम्पादन गर्नुहोस्]फन गोखले आफ्नो आश्रमस्थलको भुइँ तलामा रहेको स्टुडियोमा रहेको बेला दिउँसोको समयमा तारामय रात चित्र कोरिएको भए तापनि यो चित्र उनले केबल स्मृतिको बलमा चित्रित गरिएको थियो भनेर भन्नु गलत हुनेछ। यो दृश्यलाई उनको शयनकक्षको झ्यालबाट पूर्वतर्फ उन्मुख भएको दृश्यको रूपमा पहिचान गरिएको छ।[१५] फलामे झ्यालबाट, उनले आफ्नो भाइ थियोलाई २३ मे १८८९ का दिन लेखेका थिए "म झ्यालबाट गहुँको वर्ग फाँट देख्न सक्छु ... जसको माथि, बिहानको समयमा सूर्य शानका साथ उदाएको छ"।[L २]
फन गोखले यस दृश्यलाई दिनको विभिन्न समय र विभिन्न मौसमहरूमा चित्रण गरेका थिए जसमा; सूर्योदय, चन्द्रोदय, घमाइलो दिनहरू, बादल लागेका दिनहरू, हावाहुरी चल्ने दिनहरू र एक पटक वर्षा भएको दिन समावेश छन्। अस्पतालका कर्मचारीहरूले फन गोखलाई आफ्नो सुत्ने कोठामा चित्र कोर्न अनुमति नदिएतापनि, उनले त्यहाँ कागजमा मसी वा कोइलाले रेखाचित्र बनाउन सक्थे; अन्ततः, उनले अघिल्ला संस्करणहरूका आधारमा नयाँ भिन्नताहरू सिर्जना गर्ने गर्दथे। यी सबै चित्रहरूलाई जोड्ने एउटा साझा चित्रमय तत्व भनेको दायाँबाट भित्र आउने छड्के रेखा हो, जसले अल्पाइनेस पहाडका होचा र घुमाउरा शृङ्खलाहरूलाई चित्रण गर्दछ। २१ मध्ये १५ संस्करणहरूमा, गहुँको खेत घेर्ने टाढाको पर्खालभन्दा पर सिप्रेस (सल्लो जस्तै देखिने रूख) रूखहरू देखिन्छन्। फन गोखले यीमध्ये ६ वटा चित्रहरूमा तिनीहरूको आकारलाई बढाइचढाइ गरे, जसमा प्रमुख रूपमा सिप्रेस सहितको गहुँ खेत र तारामय रात पर्दछन्, जसले रूखहरूलाई चित्रको सतहको नजिक ल्याएको छ।
यसका अतिरिक्त, सो दृश्यका पहिलो चित्रहरूमध्ये एक पहाड सहितको गहुँ खेत थियो, जुन हात कोपनहेगनमा रहेको छ। फन गोखले यस चित्रका लागि धेरै रेखाचित्र बनाएका थिए, जसमध्ये आँधीपछिको घेरिएको गहुँको खेत एउटा विशिष्ट उदाहरण हो। यो चित्र उनले आफ्नो स्टुडियोमा बनाएका थिए कि बाहिर भन्ने कुरा स्पष्ट छैन। ९ जुनको पत्रमा यसको वर्णन गर्दै, उनले उल्लेख गरेअनसार, उनी केही दिनदेखि बाहिर काम गरिरहेका थिए।[१६][१७][१८][१९] फन गोखले काम गरिरहेका दुई परिदृश्यहरूमध्ये दोस्रोको वर्णन १६ जुन १८८९ मा आफ्नी बहिनी विललाई लेखेको पत्रमा गरेका थिए।[२०] यो सिप्रेस सहितको हरियो गहुँ खेत हो, जुन अहिले प्रागमा छ र यो उनले पागलखानामा बाहिर बसेर बनाएको पहिलो चित्र थियो। न्युयोर्कमा रहेको गहुँ खेत, साँ-रेमी द प्रोभँस, यसका लागि गरिएको एक अध्ययन हो। दुई दिन पछि, भिन्सेन्तले थिओलाई पत्र लेख्दै आफूले "तारामय रात" चित्र बनाएको बताएका थिए।[२१]
तारामय रात उनको सुत्ने कोठाको झ्यालबाट देखिने दृश्यहरूको शृङ्खलामा एक मात्र रात्रिकालीन चित्र हो। जुनको सुरुमा, भिन्सेन्तले थिओलाई लेखेका थिए, "आज बिहान मैले सूर्योदय हुनुभन्दा धेरै अघि आफ्नो झ्यालबाट ग्रामीण इलाका देखेँ, जहाँ बिहानीको तारा बाहेक केही थिएन, जुन धेरै ठूलो देखिन्थ्यो"।[२२] अनुसन्धानकर्ताहरूले निर्धारण गरेअनुसार सन् १८८९ को वसन्तमा प्रोभँसमा बिहानको समयमा वास्तवमै शुक्रग्रह (जसलाई कहिलेकाहीँ "बिहानीको तारा" भनिन्छ) देखिएको थियो र त्यो समयमा यो सम्भव भएसम्मकै चम्किलो थियो। त्यसैले चित्रमा साइप्रस रूखको ठीक दायाँतर्फ रहेको सबैभन्दा चम्किलो "तारा" शुक्र ग्रह हो।[२३]
चन्द्रमालाई शैलीगत रूपमा बनाइएको र खगोलीय अभिलेखहरूले सङ्केत गरेअनुसार गोखले यो चित्र कोर्दाको समयमा चन्द्रमा अधुरो थियो र यदि त्यो समयमा चन्द्रमा खुर्पा आकारको भएको भए पनि, फन गोखको चन्द्रमा खगोलीय रूपमा सही हुने थिएन। एउटा यस्तो चित्रमय तत्व जुन फन गोगुखको कोठाबाट देखिँदैनथ्यो, त्यो गाउँ हो,[२४] जुन सँ-रेमी गाउँको माथिल्लो पहाडबाट बनाइएको रेखाचित्रमा आधारित छ।[२५]
- गहुँको खेत, साँ-रेमी द प्रोभँस, मोर्गन पुस्तकालय र सङ्ग्रहालय
- साइप्रस रूखसहितको हरियो गहुँको खेत, प्राग राष्ट्रिय ग्यालरी
- आँधीपछिको बन्द गहुँको खेत, फन गोख सङ्ग्रहालय
- साँ-रेमी पछाडिको पहाडी परिदृश्य, नाइ कार्ल्सबर्ग ग्लिप्टोटेक
- गाउँको चराको आँखी दृश्य, फन गोख सङ्ग्रहालय
- साइप्रस रूखहरूसहितको परिदृश्य, फन गोख सङ्ग्रहालय
चित्रण सामग्रीहरू
[सम्पादन गर्नुहोस्]रोचेस्टर इन्स्टिच्युट अफ टेक्नोलोजी र न्युयोर्कस्थित आधुनिक कला सङ्ग्रहालयका वैज्ञानिकहरूले उक्त चित्रकलाको अनुसन्धान गरेका थिए। रङ्गाउने सामग्रीको विश्लेषणले देखाए अनुसार आकाशका लागि नौसेना नीलो र गाढा नीलो रङ्ग र तारा तथा चन्द्रमाका लागि बेसार जस्तो देखिने पहेँलोका साथै निख्खर पहेँलो रङ्गको प्रयोग गरिएको थियो।[२६]
- फन गोखको चित्रकला
- पहाड र आकाश
- क्यानभास र फ्रेमको बायाँ अंश
- ताराहरू
व्याख्यानहरू
[सम्पादन गर्नुहोस्]तारामय रातकाका बारेमा फन गोखले धेरै सङ्ख्यामा पत्रहरू लेखेतापनि उनले यस चित्रका बारेमा निकै कम बोलेका छन्। जुन महिनामा उनले तारामय आकाशको चित्र कोरेको जानकारी दिएपछि, २० सेप्टेम्बर १८८९ को आसपासमा उनले थिओलाई लेखेको पत्रमा यो चित्रको उल्लेख गरे, जहाँ उनले पेरिसमा रहेका आफ्ना भाइलाई पठाउन लागेका चित्रहरूको सूचीमा यसलाई "रात्रिकालीन अध्ययन" भनी समावेश गरेका थिए।[२७] यी चित्रहरूको सूचीका बारेमा उनले लेखेका छन्, "समग्रमा यसमा मलाई अलि राम्रो लागेका कुराहरू भनेको गहुँबारी, पहाड, बगैँचा, नीलो पहाडसहितका ओलिभका रूखहरू, आकृति र खानीको प्रवेशद्वार मात्र हुन् अरूले खासै महत्त्व राख्दैनन्"। जब उनले हुलाक खर्च जोगाउन यस खेपबाट तीनवटा चित्रहरू नपठाउने निर्णय गरे, तब तारामय रात उनले नपठाएका चित्रहरूमध्ये एक थियो।[२८] अन्ततः, नोभेम्बर १८८९ को अन्त्यतिर चित्रकार एमिले बर्नार्डलाई लेखेको पत्रमा फन गोखले यस चित्रलाई "असफलता" को सङ्ज्ञा दिएका थिए।[२९]
प्रकृतिबाटै चित्र कोर्नुपर्छ भन्ने फन गोखको प्राथमिकता,[३०] र गोगाँको "अमूर्तता" भन्ने गरेका कल्पनाबाट सिर्जित चित्रहरू वा दे तेते कोर्ने विषयमा फन गोखको बर्नार्ड र विशेषगरी पल गोगाँसँग विवाद भएको थियो।[३१][३२] बर्नार्डलाई लेखेको पत्रमा, फन गोखले २३ अक्टोबर १८८८ देखि सोही वर्षको २५ डिसेम्बरसम्म गोगाँ उनीसँगै बस्दाका अनुभवहरू स्मरण गरेका छन्।[३३] "जब गोगाँ आर्ल्समा थिए, तिमीलाई थाहा भए जस्तै, म एक वा दुईपटक अमूर्तताको बहकाउमा लागेँ। . . . तर त्यो एक भ्रम थियो, प्यारा मित्र। मानिस चाँडै एउटा इँटाको पर्खालमा ठोक्किन पुग्छ। . . अनि फेरि एकपटक म धेरै ठूला ताराहरू समात्ने लोभमा बाटो बिराउन पुगेँ—अर्को एउटा असफलता- र म यसबाट अघाइसकेको छु।"[३४] यहाँ फन गोखले तारामय रातको माथिल्लो मध्य भागमा प्रभुत्व जमाएका अभिव्यक्तिवादी घुमाउरो रेखाहरूलाई सङ्केत गरिरहेका छन्।[३५]
थिओले २२ अक्टोबर १८८९ को पत्रमा यी चित्रात्मक तत्वहरूको बारेमा भिन्सेन्तलाई लेखेका थिए: "म महसुस गर्छु, तिमीलाई नयाँ क्यानभासहरू जस्तै चाँदनीमा रहेको गाउँ [तारामय रात'] वा पहाडहरूले के कुरामा अल्झाइरहेको छ, तर मलाई लाग्छ कि शैलीको खोजीले चीजहरूको वास्तविक भावनालाई खोसेको छ।" भिन्सेन्तले नोभेम्बरको सुरुमा जवाफ दिए, "तिमीले अघिल्लो पत्रमा शैलीको खोजीले प्रायः अन्य गुणहरूलाई हानि पुऱ्याउँछ भने तापनि, वास्तविकता के हो भने म शैली खोज्न धेरै प्रेरित भएको महसुस गर्छु, तर मेरो मतलब अझ पुरुषार्थी र अझ सुविचारित रेखाचित्र हो। यदि त्यसले मलाई बर्नार्ड वा गोगाँ जस्तै बनाउँछ भने, म केही गर्न सक्दिनँ। तर मलाई विश्वास छ कि दीर्घकालमा तिमी यसमा अभ्यस्त हुनेछौ।" र पछि सोही पत्रमा उनले लेखे, "मलाई राम्ररी थाहा छ , पछिल्लो खेपका लामा, घुमाउरो रेखाहरूले कोरिएका अध्ययनहरू जस्तो हुनुपर्ने थियो त्यस्तो भएनन्, तैपनि, म तिमीलाई यो विश्वास दिलाउन चाहन्छु कि परिदृश्यहरूमा मानिसले पिण्डहरूको जेलिएको अवस्थालाई व्यक्त गर्न खोज्ने रेखाचित्र शैलीको माध्यमबाट चीजहरूलाई एकत्रित गर्न जारी राख्नेछ।"[३६]
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Letter 782:To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Tuesday, 18 June 1889", Vincent van Gogh: The Letters, फन गोख सङ्ग्रहालय, 1v:2, मूलबाट Oct १४, २०२३-मा सङ्ग्रहित, "At last I have a landscape with olive trees, and also a new study of a starry sky." अभिलेखिकरण १४ अक्टोबर २०२३ वेब्याक मेसिन
- ↑ "Letter 776: To Theo van Gogh. Saint-Rémy-de-Provence, on or about Thursday, 23 May 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, 1v:2, मूलबाट Oct १४, २०२३-मा सङ्ग्रहित। अभिलेखिकरण ३१ मार्च २०२४ वेब्याक मेसिन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pickvance 1986, p. 103
- ↑ Naifeh & Smith 2011, p. 747
- ↑ "Vincent van Gogh Biography, Art, and Analysis of Works", The Art Story, अन्तिम पहुँच १२ जुन २०१५, "Starry Night is often considered to be Van Gogh's pinnacle achievement."
- ↑ Moyer, Edward (१४ फेब्रुअरी २०१२), "Interactive canvas lets viewers stir Van Gogh's 'Starry Night'", CNET News, अन्तिम पहुँच १२ जुन २०१५, "...one of the West's most iconic paintings: Vincent Van Gogh's "The Starry Night.""
- ↑ Kim, Hannah (२७ मे २०१०), "Vincent van Gogh's The Starry Night, now pocket-sized!", MoMA, अन्तिम पहुँच १२ जुन २०१५, "Instantly recognizable and an iconic image in our culture, Vincent van Gogh's The Starry Night is a touchstone of modern art and one of the most beloved works..."
- ↑ "The Starry Night", moma.org, अन्तिम पहुँच ६ मे २०२५।
- ↑ Zhao et al. 2008, p. 681007-8
- ↑ Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Pickvance 1984, p. 159
- ↑ Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Naifeh & Smith 2011, p. 746
- ↑ Naifeh & Smith 2011, p. 754
- ↑ Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).
- ↑ Whitney 1986, p. 358
- ↑ Hulsker 1986, p. 394
- ↑ Pickvance 1986, p. 93
- ↑ "Letter 779: To Theo van Gogh. Saint-Rémy-de-Provence, Sunday, 9 June 1889", Vincent van Gogh: The Letters, फन गोख सङ्ग्रहालय, 1v:2, मूलबाट १४ अक्टोबर २०२३-मा सङ्ग्रहित, "... केही दिनदेखि म छिमेकमा काम गर्न बाहिर गइरहेको छु... एउटा त्यो ग्रामीण दृश्य हो जुन म मेरो सुत्ने कोठाको झ्यालबाट देख्छु। अग्रभागमा, आँधीबेहरीपछि ध्वस्त भएको र भुइँमा ढलेको गहुँको खेत। एउटा सीमा पर्खाल र त्यसभन्दा पर, केही जैतूनका रूखहरूको खरानी रङ्गको पातहरू, झुपडीहरू र पहाडहरू। अन्तमा, चित्रको शीर्ष भागमा एउटा ठूलो सेतो र खरानी रङ्गको बादल जुन नीलो आकाशमा डुबेको छ। यो अत्यन्तै सरल परिदृश्य हो — रङ्क संयोजनको हिसाबले पनि।"[स्थायी मृत कडी]
- ↑ Whitney 1986, p. 356
- ↑ "Letter 780: To Willemien van Gogh. Saint-Rémy-de-Provence, Sunday, 16 June 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, 1r:1, मूलबाट १४ अक्टोबर २०२३-मा सङ्ग्रहित, "त्यसपछि अर्को एउटा चित्र जसमा काँडा र हरियो झाडीहरूले घेरिएको पहेँलो हुँदै गरेको गहुँको खेत देखाइएको छ। खेतको अन्त्यमा, एउटा सानो गुलाबी घर र एउटा अल्गो र गाढा रङ्गको साइप्रस रूख जुन टाढाका बैजनी र नीलो पहाडहरूका विरुद्ध उभिएको छ, र भुल्नै नसकिने नीलो आकाश जसमा गुलाबी धर्साहरू छन् जसको शुद्ध रङ्गले पहिले नै पाकिसकेका र डढेका बालाहरूसँग विपरितता देखाउँदछ, जसको रङ्ग रोटीको पाप्रा जत्तिकै न्यानो छ।" अभिलेखिकरण ६ मे २०२० वेब्याक मेसिन
- ↑ Naifeh & Smith 2011, p. 759
- ↑ "Letter 777: To Theo van Gogh. Saint-Rémy-de-Provence, between about Friday, 31 May and about Thursday, 6 June 1889", Vincent van Gogh: The Letters, Van Gogh Museum, 1v:2, मूलबाट १४ अक्टोबर २०२३-मा सङ्ग्रहित, "आज बिहान मैले सूर्योदय हुनुभन्दा धेरै अघि आफ्नो झ्यालबाट ग्रामीण इलाका देखेँ, जहाँ बिहानीको तारा बाहेक केही थिएन, जुन धेरै ठूलो देखिन्थ्यो।" अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
- ↑ Boime 1984, p. 88
- ↑ Boime 1984, p. 89
- ↑ Naifeh & Smith 2011, p. 760
- ↑ Van Gogh, The Starry Night, illustrated pigment analysis, ColourLex
- ↑ Van Gogh Letters Project, no. 805
- ↑ Van Gogh Letters Project, no. 806
- ↑ Naifeh & Smith 2011, p. 784
- ↑ Naifeh & Smith 2011, p. 755
- ↑ Naifeh & Smith 2011, p. 625n
- ↑ Naifeh & Smith 2011, p. 674
- ↑ Gayford, Martin (२००६), The Yellow House: Van Gogh, Gauguin, and Nine Turbulent Weeks in Provence, Boston: Houghton Mifflin Company, पृ: ११, २८६, आइएसबिएन 978-0-618-99058-0।
- ↑ de Leeuw, Ronald, सम्पादक (१९९६), The Letters of Vincent van Gogh, London: Penguin Books, पृ: ४६९, आइएसबिएन 978-0-140-44674-6।
- ↑ Naifeh & Smith 2011, p. 762
- ↑ Van Gogh Letters Project, no. 816
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- तारामय रात आधुनिक कला सङ्ग्रहालयमा
- फन गोख को हुन् अभिलेखिकरण २०१६-१०-०८ वेब्याक मेसिन वेबसाइटमा तारामय रात अभिलेखिकरण २०१६-१०-०८ वेब्याक मेसिन
- फन गोखका चित्रकर्महरू
- फन गोखको सुत्ने कोठाको माथिल्लो भागको दृश्य अभिलेखिकरण २४ अप्रिल २०१७ वेब्याक मेसिन
- इतिहासको सबैभन्दा प्रसिद्ध १२ चित्रहरू अभिलेखिकरण ५ जनवरी २०२३ वेब्याक मेसिन