दैवज्ञराज न्यौपाने
दैवज्ञराज न्यौपाने(वि.सं. २००४ - वि.सं. २०६८) नेपाली साहित्यकार हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा भने सानैदेखि प्रारम्भ भएको थियो, कविता लेखनबाट। खासगरी वि.सं. २०२१बाट कविता र गीतबाट लेखन-यात्राको सुरुवात गरेका थिए उनले। त्यसो त नेपाली काव्यलेखन परम्परामा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा स्थापित शिल्प तथा शैलीका व्यावहारकि प्रयोक्ताका रूपमा साहित्यिक जगत्मा परिचित र स्थापित थिए उनी। बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत उत्तिकै सक्रियताका साथ उनले कलम चलाएका थिए।
साहित्यका अतिरिक्त उनको जीवनको अर्को महत्त्वपूर्ण पाटो पनि छ। त्यो हो- आजीविकाका रूपमा न्यौपानेले अँगालेको प्राज्ञिक क्षेत्रको कार्य। जीवनका झन्डै तीन दशकभन्दा बढी प्राध्यापन पेसामा संलग्न भएका उनले विभिन्न क्याम्पसहरूमा नेपाली विषयको प्राध्यापन गरेका थिए। भक्तपुर क्याम्पसबाट प्राध्यापन यात्रा थालेका उनले १० वर्षअघि पाटन संयुक्त क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए। पछिल्लो अवधि उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत थिए।
उहाँ नेपाली साहित्यका राम्रा कवि र गीतकार हुनुहुन्छ । उहाँको जन्म वि.सं. २००४ मङ्सिर ३० गते भोजपुरको गोगनेमा भएको थियो । उहाँका पिताको नाम गणेशप्रसाद उपाध्याय न्यौपाने तथा माताको नाम उमादेवी न्यौपाने हो ।
शिक्षित ब्राह्मण परिवारका उहाँको पाँच वर्षकै उमेरदेखि शिक्षादीक्षा आरम्भ भयो । घरबाट विस्तारै विद्यालय पुग्नुभयो । गाउँकै संस्कृत माध्यमिक विद्यालयबाट वि.सं. २०१५ सालमा कक्षा ५ उत्तीर्ण गर्नुभयो । त्यसपछि भोजपुरकै दिङ्ला भन्ने ठाउँमा पुग्नुभयो । त्यहाँको षडानन्द माध्यमिक विद्यालयमा कक्षा ६ देखि ९ सम्मको अध्ययन गर्नुभयो । थप अध्ययनका लागि उहाँ दाङ पुग्नुभयो । त्यहाँको जनता माध्यमिक विद्यालय बिजौरीबाट वि.सं. २०२१ सालमा उत्तरमध्यमा परीक्षा उत्तीर्ण गर्नुभयो । वि.सं. २०२३ सालमा शास्त्री परीक्षा उत्तीर्ण गर्नुभयो । पढाइलाई निरन्तरता दिँदै जानुभयो ।वि.सं. २०२५ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गर्नुभयो ।वि.सं. २०२७ सालमा संस्कृत साहित्यतर्फको आचार्य तहको पढाइ पनि सक्नुभयो ।
अध्ययनकै सिलसिलामा वि.सं. २०१८ सालमै केही समय भोजपुरको दावामा प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुभयो । स्नातकोत्तर तह सकिएपछि वि.सं. २०२७ जेठ १४ देखि भक्तपुर कलेजबाट त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गर्नुभयो तर त्यहाँ धेरै समय बिताउनु भएन । केहीपछि नेपाल सरकारको राष्ट्रिय व्यावसायिक केन्द्र सानोठिमी भक्तपुरमा अधिकृतका रूपमा सेवा प्रारम्भ गर्नुभयो । वि.सं. २०३० सालसम्म मात्र त्यो जागिरलाई निरन्तरता दिनुभयो । पुनः भक्तपुर क्याम्पस फर्किनुभएका उहाँ वि.सं. २०३१ सालमा पाटन क्याम्पस पुग्नुभयो । वि.सं. २०४३ फागुन १ गतेदेखि नेपाली केन्द्रीय विभाग कीर्तिपुर सरुवा हुनुभएका उहाँले बाँकी सेवा अवधि त्यहीँ बिताउनु भयो ।
उहाँको जीवन जागिरपछि नेपाली भाषा र साहित्यको उन्नयनमा लाग्न थाल्यो । त्यसपछिको समय अध्ययन–अध्यापन र लेखनभन्दा बाहिर गएन । उहाँको सोच र चिन्तन नेपाली भाषा साहित्यको उन्नति प्रगतितिरै लागिरह्यो । त्यहीँ आफूले गर्न चाहेको वा सक्ने कुरा देख्नुभयो । हरेक असल नागरिकका मन–मस्तिष्कमा देश, भाषा, संस्कृति र इतिहास प्रतिविम्बित भइरहेको हुन्छ । देश, भाषा, संस्कृति, इतिहास, पहिचान र पुर्खाहरूको योगदानलाई कदर नगर्नेहरू कहिल्यै पनि असल नागरिकको कोटीमा पर्न सक्दैनन । यी र यस्ता कुराप्रति उहाँ सजग, सचेत र जागरुक हुनुहुन्थ्यो ।
वि.सं. २०२१ सालमा अरुणोदय मासिक पत्रिकामा ‘उनीमा निम्तो’ शीर्षक कविता प्रकाशित गराएर साहित्यमा प्रवेश गर्नुभएका उहाँ त्यो क्षेत्रमा आजीवन लागिरहनुभयो । भाषा साहित्यको उत्थानमा सक्रियताका साथ लाग्नु पर्छ भन्ने सोचका पक्षपाती उहाँका आठ वटा कृति प्रकाशित छन् । ती कृति सिर्जनाका लहर (वि.सं. २०३५), तोतेबोली (वि.सं. २०३८), गाउँ खाने कविता (वि.सं. २०४३), हुने बिरुवाका चिल्लापातहरू (वि.सं. २०४५), जोर मुरली (वि.सं. २०४६), गुणराज खनालका खण्ड काव्यको मूल्याङ्कन (वि.सं. २०४९), बालसंसार (वि.सं. २०५३), नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू (वि.सं. २०५४), सबै हाम्रा साथी (२०५६) र सम्झनाको धरातलबाट (वि.सं. २०६३) आदि हुन् । नेपाली भाषा साहित्यसेवी दैवज्ञराज न्यौपानेको निधन वि.सं. २०६८ साल फागुन १५ गते भएको हो ।
कृतिहरू
[सम्पादन गर्नुहोस्]- गाउँखाने कविता
- नेपाली कविता भाग २
- तोतेबोली (कविता)
- सिर्जनाको लहर
- जोर मुरली
- बालसंसार
- पोल्टाका गीतहरू
- सबै हाम्रा साथी
- घामले ढोका खोल्यो (बालकविता सङ्ग्रह)
पुरस्कार
[सम्पादन गर्नुहोस्]निधन
[सम्पादन गर्नुहोस्]उनको वि.सं. २०६८ पुस २ गते निधन भयो।