विकिपिडिया:विश्वव्यापी आचार संहिता/नेपाली समुदाय परामर्श सारांश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
विश्वव्यापी आचार संहिता (युसिओसी) सहजीकरण शारांश - नेपाली विकिपिडिया समुदाय


नेपाली विकिपिडिया नेपाली भाषा संस्करणको अनलाइन मुक्त विश्वकोश हो। नेपालको पहिलो विकिपिडिया परियोजनाको रूपमा नेपाली विकिपिडियाको आरम्भ सन् २००२ जुन ३ मा भएको थियो। सन् २०२१ मार्च १३ अनुसार, नेपाली विकिपिडियामा ३१,७७९ लेख र ५२,०७४ दर्ता भएका प्रयोगकर्ताहरू रहेका छन्। लेखहरूको सङ्ख्याको आधारमा नेपाली विकिपिडिया विश्वका विकिपिडियाहरूको सूचीमा १०७औँ स्थानमा रहेको छ भने यस परियोजनामा मासिक ३५ जना सक्रिय योगदानकर्ता, जना प्रबन्धकहरू, र जना प्रशासक रहेका छन्। नेपाली विकिपिडिया परियोजनाको दुई वटा भातृयोजनाहरू नेपाली विकिपुस्तकनेपाली शब्दकोश रहेको छ जुन धेरै सक्रिय छैनन्।

सन् २०१० जुलाई १७ को दिन विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूहको गठन गरिएको थियो जसले नेपाली विकिपिडियालाई केन्द्रित गरि अनलाइन र अफलाइन क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।

स्थिति/व्यवहार नीतिहरूको सारांश[सम्पादन गर्ने]

नेपाली विकिपिडिया समुदायमा हालसम्म कुनै व्यवहार नीति छैन र समुदाय मुख्यतया पञ्च स्तम्भ नीतिमाथि निर्भर रहेको छ जसले व्यवहार सम्बन्धित मामिलाहरू समाधान गर्न सहयोग गर्ने गरेको छ। सम्पादकहरूले कसरी सफलतापूर्वक एक अर्कासँग सहकार्य गर्न सक्छन् र कस्तो प्रकारको व्यवहार परियोजनामा स्वीकार्य वा अस्वीकार्य छ भन्ने बारे कुनै आधिकारिक नीतिहरू छैनन्।

नेपाली विकिपिडिया परियोजनामा भेदभाव, दुरुपयोग, उत्पीडन, वा कुनै अन्य आचरण-सम्बन्धित मामिलाहरू विरलै दाखिला गरिएको पाइएको छ। विकिमिडिया फाउन्डेसनद्वारा हालै गरिएको विश्वव्यापी आचार संहिता सर्वेक्षणले भने ७ जना (२६.९%) नेपाली विकिपिडिया सम्पादनकर्ताले नेपाली विकिपिडिया समुदायमा अस्वीकार्य व्यवहारको अनुभव गरेको प्रतिक्रिया दिएका थिए र ती मध्ये मात्रै ५ जना सहभागीले समुदायका नेतृत्वकर्तासँग आफ्नो समस्याको बारेमा बताएका थिए। नीति निर्धारण वा समुदायको सामान्य छलफलमाथि यथोचित निर्णय गर्नका लागि स्थानीय प्रबन्धकहरू र प्रशासकहरू जिम्मेवार छन्।

सहजीकरण प्रक्रिया[सम्पादन गर्ने]

नेपाली विकिपिडियामा विश्वव्यापी आचार संहिता सम्बन्धी स्थानीय विकी परामर्श सन् २०२१ जनवरी १८ मा सुरु गरिएको थियो भने अन्त्य सन् २०२१ मार्च ४ मा भएको थियो। समुदायका सबै प्रयोगकर्ता समूह (सक्रिय र निष्क्रिय) लाई यस महत्वपूर्ण छलफलमा सहभागी गराउनका निम्ति हामीले निम्न माध्यमहरू प्रयोग गरेका थियौँ:

  • सामूहिक सन्देश उपकरण: समुदायको सक्रिय र निष्क्रिय सदस्यहरूलाई सोझै सूचित गर्नको लागि हामीले सामूहिक सन्देश उपकरणको प्रयोग गरेका थियौँ।
  • स्थानीय साइटेनोटिस: समुदायका सबै सदस्यहरूलाई सूचित गर्न हामीले परामर्शको सम्पूर्ण अवधिभर साइट सूचना प्रदर्शन गरेका थियौँ।
  • टेलिग्राम समूह: वर्तमान समयमा नेपाली समुदायका सदस्यहरूले प्रयोग गर्ने सबैभन्दा सक्रिय सामाजिक सञ्जाल टेलिग्राम च्याट समूह हो, हामीले सम्पादकहरूलाई यस महत्वपूर्ण छलफलमा सहभागी गराउनको लागि सूचना सन्देश त्यहाँ समेत राखेका थियौँ।
  • फेसबुक: हामीले आधिकारिक नेपाली विकिपिडिया फेसबुक पृष्ठ प्रयोग गरेर युसिओसी सम्बन्धित सन्देश पठाएर सहभागिताको लागि आह्वान गरेका थियौँ।
  • व्यक्तिगत बैठक: हामीले विशेष गरि समुदायका महिला योगदानकर्ताहरूलाई गुगल बैठक र टेलिफोन वार्तालाप मार्फत जोड्ने प्रयास गरेका थियौँ।

समुदायबाट प्राप्त गरिएको स्थानीय-विकी संलग्नता सन्तोषजनक थियो किनकि नेपाली समुदायका ३५ सक्रिय सम्पादकहरू मध्ये १४ जनाले छलफलमा भाग लिएका थिए। छलफलमा भाग लिने समुदायका सम्पूर्ण सदस्यहरू पुरुष थिए। महिला सम्पादकहरूलाई प्रोत्साहित गर्न यथासम्भव माध्यमहरूको प्रयास गरिएता पनि, हामीले यस महत्त्वपूर्ण छलफलमा उनीहरूको विचार दर्ता गर्न असफल भएका थियौँ।

युसिओसी प्रवर्तनसँग सम्बन्धित सबै मुख्य प्रश्नहरू समेटेर हामीले थप निजी प्रतिक्रिया साझेदारी प्रक्रियालाई सहजीकरण गर्नका लागि युसिओसी सर्वेक्षण सुरु गरेका थियौँ। युसिओसी सर्वेक्षण हामीले सन् २०२१ फेब्रुअरी १४ देखि सन् २०२१ मार्च ४ सम्म खुला राखेका थियौँ। बृहत् सहभागिताका लागि हामीले समुदायका सदस्यहरूलाई उनीहरूको सम्बन्धित प्रयोगकर्ता वार्तापृष्ठमा सर्वेक्षणको बारेमा सन्देश अधिसूचना मार्फत सूचित गरेका थियौँ र नेपाली विकिपिडियामा साइट सूचना देखाएका थियौँ। समुदायका २७ जना सामुदायिक सदस्यहरूले सर्वेक्षणमा सहभागिता जनाएका थिए जुन समुदायको सक्रिय सदस्यहरूको लगभग ८४% हुन आउछ। नेपाली समुदायमा हाल कुनै सक्रिय महिला योगदानकर्ताहरू छैनन् तर हामीले पहिलेका सक्रिय महिला योगदानकर्ताहरूबाट २ प्रतिक्रियाहरू प्राप्त गर्न सफल भयौँ।

सामुदायिक प्रतिक्रिया[सम्पादन गर्ने]

नेपाली विकिपिडिया समुदाय योगदानकर्ताहरूले उनीहरूकै भाषामा समुदायिक छलफल सुरु गरेकोले फाउन्डेसनको यो प्रयासलाई सराहना गरेका थिए। युसिओसी जस्तो उच्च महत्त्वको परियोजनामा समावेश भएकोमा उनीहरूले खुसी व्यक्त गरेका थिए। विश्वव्यापी रूपमा समुदायले सर्वसम्मतिले नेपाली समुदायमा विश्वव्यापी आचार संहिताको आवश्यकता र खाँचो रहेको मत साझा गरेका थिए। विशिष्ट प्रवर्तन, प्रवर्तन संयन्त्र र प्रवर्तन निकायसँग सम्बन्धित प्रश्नहरूमा, हामीले समुदायबाट कुनै ठोस विचारहरू प्राप्त गर्न सकेनौ। यद्यपि छलफलको क्रममा समुदायले युसिओसीको कार्यान्वयनको लागि वकालत गरेको पाइयो र यसको सहयोगले सामुदायिक व्यवहार सम्बन्धी मुद्दाहरूको सामना गर्न मद्दत पुर्‍याउँने र विकिमिडिया परियोजनाहरूमा स्वतन्त्र रूपले योगदान पुर्‍याउन सक्छ।

हामीले समुदायबाट अधिक प्रयोगकर्ताहरूलाई चौतारीको छलफलमा उनीहरूको विचार अभिव्यक्त गर्न यथासक्दो प्रयास गर्‍र्यौं तर अन्त्यमा हामीले १४ जनाको विचार प्राप्त गर्न सफल भर्यौं। उक्त युसिओसी छलफलमा भाग लिएका १४ प्रयोगकर्ताहरू मध्ये, मात्रै एक जना सहभागी प्रयोगकर्ताले युसिओसीलाई समुदायमा लागू हुन दिनका लागि विरोध गरेको थियो।

सर्वेक्षणमार्फत हामीले थप प्रतिक्रिया र केही अचम्मका तथ्यहरू पार्यौं जुन नेपाली समुदाय र युसिओसी टोलीलाई समुदायका सदस्यहरूको बारेमा पहिलेदेखि जानकारी थिएन्। सर्वेक्षणमा सहभागीहरूको सङ्ख्यामा वृद्धि भएको थियो जसकारण हामी स्थानीय विकी परामर्श प्रक्रियाबाट सन्तुष्ट छौँ।

सर्वेक्षणका महत्वपूर्ण बुँदाहरू[सम्पादन गर्ने]

  • जम्मा प्रयोगकर्ता सङ्ख्या: २७
  • पुरुष : २५ (९२.६%)
  • महिला : २ (७.४%)
  • १३ जना सहभागी प्रयोगकर्ताले आफुसँग विकिमिडिया अभियानमा ५ वर्षभन्दा बढीको अनुभव रहेको बताएका थिए भने ७ जना सहभागी प्रयोगकर्ताले यस अभियानमा १ देखि ५ वर्षको अनुभव भएको बताएका थिए।
  • ६३% सहभागी प्रयोगकर्ताले आफु कहिले पनि सामुदायिक नीति निर्माण छलफलमा सहभागी नभएको बताएका थिए।
  • ९०% सहभागी प्रयोगकर्ताले स्थानीय विकिपिडिया समुदायमा व्यवहार नीतिको आवश्यकता रहेको तर्क राखेका थिए।
  • २६.९% (७ सहभागी) प्रयोगकर्ताहरूले आफुहरू नेपाली विकिपिडियामा व्यक्तिगत आक्रमणको साक्षी रहेको बताएका थिए, जुन नेपाली विकी समुदाय र युसिओसी टोलीको लागि अनौठौ तथ्यको रूपमा सामुन्ने आउन पुग्यो किनभने यो सर्वेक्षण हुनु अगावै समुदायले विकिपिडिया मञ्चमा यस प्रकारको घटनाको चर्चा भएको थिएन्।
  • २२.२% प्रयोगकर्ताहरूले कुनै न कुनै समयमा उनीहरूले उत्पीडन र शक्तिको दुरुपयोगका कारण परियोजनामा सम्पादन गर्न वा छोड्ने विचार गरेका थिए।
  • ३७% सहभागीहरू आफु युसिओसीसँग परिचित नरहेको तर्क राखेका थिए भने ६३% सहभागीहरू युसिओसीसँग परिचित रहेको तर्क राखेका थिए।
  • ५७.७% सहभागीहरूले युसिओसी नीतिलाई एक अद्वितीय स्थानीय नीति स्थापना गर्नका लागि मार्गनिर्देशक सिद्धान्तको रूपमा अपनाउने पक्षमा थिए भने ३८% प्रयोगकर्ताहरू नीतिलाई जस्ताको त्यस्तै स्वीकार गर्ने पक्षमा थिए।

प्रवर्तन निकाय तन्त्र[सम्पादन गर्ने]

  • नेपाली विकिपिडियाका योगदानकर्ताहरूको विचारमा ४०.७% समर्थन मतसहित विकिमिडिया फाउन्डेसन पहिलो स्थानमा त्यस्तै ३३% समर्थन मतसहित स्थानीय समुदायका प्रबन्धकहरू दोस्रो स्थानमा र १५% मतसहित नयाँ तवरले बनाइने स्थानीय समिति तेस्रो स्थानमा रहेको थियो जसले विकिमिडिया परियोजनाहरूमा युसिओसी लागु गर्न प्रमुख भूमिका खेल्ने मत राखेका थिए। ।
  • युसिओसी प्रवर्तन निकायका सदस्यहरूलाई उनीहरूको सेवाका लागि आर्थिक पारिश्रमिक दिइनुपर्छ भन्ने प्रश्नमा ४४% प्रयोगकर्ताहरू तटस्थ, ४१% प्रयोगकर्ताहरू पक्षमा र १४% विपक्षमा थिए।
  • ४५% प्रयोगकर्ताहरू विकिमिडिया फाउन्डेसन र यसका सम्बद्ध समितिहरूले युसिओसी उल्लङ्घनको मुद्दाहरू सम्हाल्न सक्षम भएको मत राखेका थिए भने ४१% प्रयोगकर्ताहरू तटस्थ र १४% प्रयोगकर्ताहरूले फाउन्डेसनले युसिओसी उल्लङ्घनको मुद्दाहरू सम्हाल्न असक्षम रहेको मत राखेका थिए।
  • ७०% प्रयोगकर्ताहरू युसिओसी उल्लङ्घन प्रकरणमा गुनासो गर्ने दलहरू, उजुरी गर्नेहरू, र लागूकर्ताहरूको अधिकार र दायित्वहरूको रक्षा गर्न एक मानक प्रक्रियाको पक्षमा छन्।
  • ६५.४% प्रयोगकर्ताहरू युसिओसी उल्लङ्घनको मामिलामा स्थानीय समुदायद्वारा समाधान हुन नसक्ने मामिलाहरूको लागि एउटा वैश्विक निकायद्वारा व्यवस्थित उजुरी समीक्षा संयन्त्र हुनुपर्ने मत राखेका छन्।
  • ५५.६% सहभागीहरूले कार्यान्वयनको कुनै स्थानीय क्षमता नभएको विकिमिडिया परियोजनाहरूमा युसिओसी लागू गर्न विश्वव्यापी निकायको आवश्यकताको लागि आफ्नो प्रतिक्रिया दिएका थिए।
  • ८४.६% युसिओसी पाठको आवधिक समीक्षाको पक्षमा रहेका छन्।
  • ५७.७% प्रयोगकर्ताहरूले युसिओसी संयन्त्रहरू सार्वजनिक रूपमा उपलब्ध हुनुपर्ने मत राखेका थिए जसमा प्रतिवेदन लेखन, मध्यस्थता, स्वीकृति कार्यान्वयन, आदि समावेश छन्।

प्रवर्तन पथ र प्रसार माध्यमहरू[सम्पादन गर्ने]

  • ५१.९% प्रयोगकर्ताहरूले उत्पीडन, शक्तिको दुरुपयोग, र / वा विकिपिडियामा बर्बरता भएमा तिनीहरूलाई दाखिला गर्ने चरणहरूको बारेमा उनीहरू सचेत भएको बताएका थिए।
  • ती मध्ये (५१.९%), ६३% प्रयोगकर्ताहरूले अस्वीकार्य व्यवहारको बारेमा मौन बसे भने ३७% प्रयोगकर्ताहरूले समुदायको प्रबन्धकहरूलाई सो बारेमा जानकारी दिएको मत राखेका थिए।

उत्पीडनको लक्ष्यका लागि समर्थन[सम्पादन गर्ने]

परामर्शको अन्त्यतिर, हामीले समुदायलाई विकिमिडिया अभियानमा दुर्व्यवहार र उत्पीडनको सामना गरेका समुदायका सदस्यहरूको लागि अझ राम्रो सहारा प्रणाली हुनुपर्छ भन्ने प्रश्न राखेका थियौँ। यस सम्बन्धमा बाहिर आएका दुई प्रमुख विचारहरू निम्नलिखित थिए -

विकिमिडिया परियोजनाहरूमा दुर्व्यवहार वा उत्पीडन गर्ने व्यक्तिलाई कालोसूचीमा राख्नुपर्छ।

— नेपाली विकिपिडिया सम्पादनकर्ता, युसिओसी सर्वेक्षण २०२१

उत्पीडनको प्रभाव विनाशकारी हुन सक्छ र योगदानकर्ताहरूको मानसिक स्वास्थ्यलाई असर पार्न सक्छ। विगतमा त्यस्तै अनुभवहरू भोगेका वा उत्पीडनको प्रभावहरू पहिचान गर्न प्रशिक्षित प्रशिक्षण लिनेहरूले दुर्व्यवहार वा उत्पीडन भोगिरहेका मानिसहरूलाई सहयोग प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। अधिकांश व्यक्ति परामर्श मन पराउँदैनन्। एक विशेष डिजाइन गरिएको सहयोगी समर्थन कार्यक्रम आवश्यक हुन सक्छ। प्रशिक्षित साथी सहयोगी कामदारहरूको आवश्यक हुन सक्छ।

— नेपाली विकिपिडिया सम्पादनकर्ता, युसिओसी सर्वेक्षण २०२१

बाह्य प्रतिक्रियाहरू[सम्पादन गर्ने]

धेरै राम्रा र धेरै लामो समयका योगदानकर्ताहरूलाई समुदायले विकिमिडिया परियोजनाहरूमा योगदान पुर्‍याउनबाट रोक्नुका साथै समुदायिक बृद्धिका लागि बाह्य विकी कार्यक्रम गर्नबाट निरुत्साहित गरेको छ। हाम्रो समुदायमा त्यस्ता योगदानकर्ताहरू पहिचान गरिनु पर्दछ। उनीहरूलाई निरुत्साहित गर्ने कारण सोध्नु पर्छ। हाम्रो समुदायमा खराब तत्वहरू नियन्त्रण गरिनुपर्छ जसले अग्रगामी, दीर्घकालीन योगदानकर्ताहरूलाई रोकेका छन्? नयाँ प्रयोगकर्ताहरूलाई कसले हप्काइ रहेको छ? योगदानका लागि समुदायमा प्रवेश गर्न नयाँ व्यक्तिलाई कसले हतोत्साहित गरिरहेको छ? विश्व समुदायले तत्वलाई गम्भीर रूपमा पहिचान गर्नुपर्दछ। अनि बल्ल हाम्रो समुदाय बढ्न सक्छ।

— नेपाली विकिपिडियाका पूर्व प्रबन्धक, युसिओसी सर्वेक्षण २०२१

कुनै पनि मुद्दाहरू समुदायमा छलफल गर्न सकिन्छ र उनीहरूको सक्रिय सहभागितासँगै उनीहरूलाई निर्णय प्रक्रियामा उत्तरदायी बनाउने प्रक्रिया विश्वव्यापी कार्यान्वयनमा अपनाउन सकिन्छ। यसले कुनै पनि निर्णय वा नीति कार्यान्वयन गर्न सजिलो बनाउँदछ किनभने यसमा यहाँको समेत भागीदारी रहेको हुन्छ।

— नेपाली विकिपिडियाका अनुभवी प्रयोगकर्ता, युसिओसी सर्वेक्षण २०२१

चाखलाग्दा कथाहरू / विचारहरू / अवलोकन (बेनामी)[सम्पादन गर्ने]

विश्वव्यापी आचार संहिता (युसिओसी) व्यावहारिक विकी आन्दोलनको एक नियमित प्रक्रिया र दूरगामी संगठनात्मक अभ्यासको रूपमा आवश्यक देखिन्छ। तर यसो भन्दै गर्दा नेपाल जस्तो विभिन्न सामुदायिक र बहुभाषिक मूल्यमान्यता बोकेको विकी समुदायहरुमा एक विश्व एक नीति र नीति कार्यान्वयन र व्यावहारिक निर्णयमा संस्था नै कानुनी मालिक भन्ने कुरा त्यति सान्दर्भिक नभएको विचार व्यक्त गर्न चाहन्छु। यद्दपि संस्थामा बहुसमुदायिक प्रतिनिधित्व र वैचारिक स्वतन्त्रता रहेको, तर नैतिकताको आधारमा प्रतिनिधिले विश्वव्यापी आचार संहिता भन्दा भिन्न रहेर मौलिक नीतिनियम र मूल्यमान्यताको वकालत गराई कार्यान्वयन गर्ने गराउने सम्भावना कम रहन्छ। तर विकासको क्रममै रहेका हाम्रा विकि परियोजनाहरुमा भविष्यमा यसले दिने नीतिगत फाइदालाई पनि नजरअन्दाज गर्न नसकिने भएकाले यस विषयलाई थप छलफल र आवश्यक परे कुनै अन्य वार्ता प्रणालीद्वारा सबैको मौखिक तथा लिखित जिज्ञासा समेटेर समाधान गरेपश्चात मात्र थप प्रक्रियामा लानपर्ने आवश्यकता देखिन्छ।

— नेपाली विकिपिडियाका पूर्व प्रबन्धक, युसिओसी सर्वेक्षण २०२१

निष्कर्ष[सम्पादन गर्ने]

यस महत्वपूर्ण नीतिगत छलफलमा नेपाली विकिपिडिया समुदायले उत्साहपूर्वक सहभागी भएको छ। लेख र सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्याको आधारमा समुदाय सानो भएता पनि समुदायको सक्रिय सहभागिताले समुदायको बलशक्ति देखाउँदछ। नेपाली विकिपिडिया समुदायका सम्पादकहरूले विश्वव्यापी आचार संहिताको महत्त्वलाई स्वीकार गरेका छन्, तर उनीहरूले कार्यान्वयन मार्गहरूको ठोस विकल्प भने सुझाउन सकेनन्। समुदायको विचारमा यो नीतिलाई स्थानीय नीति नियम र स्थानीय समुदायको आवश्यकता अनुरुप छलफल गरि आधिकारिक बनाउनु उचित हुने तर्क दिएका छन्।

परामर्शमा समुदायका सदस्यहरूले विकिमिडिया फाउन्डेसन र वैश्विक स्वयंसेवक समितिलाई प्राथमिकता दिए। उनीहरूले विकिमिडिया फाउन्डेसनले विकिमिडिया परियोजनाहरूमा युसिओसी लागू गर्न मुख्य भूमिका खेल्ने तर्क राखेका छ्न्। यसका साथै समुदायले स्थानीय मुद्दा र विवादहरू एक वैश्विक समुदाय स्तरमा ल्याउन खुला रहेको समेत मत राखेका छन्।

विविधताले भरिएको नेपाली विकिपिडिया समुदायले अहिलेसम्म समुदायमा अनैतिक व्यवहार सम्बन्धी समस्याको सामना नगरेको हुनाले व्यवहार सम्बन्धी नीति नबनिसकेको सम्भावना देखिन्छ तर भविष्यमा आउने समस्या र चुनौतीहरूलाई सम्हाल्न विश्वव्यापी आचार संहिताको आवश्यकता र अनुकूलनको बारेमा उनीहरूको आम सहमति रहेको छ।