साझा यातायात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साझा यातायात
image
सञ्चालकसाझा यातायात सहकारी लिमिटेड
अध्यक्षकनकमणि दीक्षित
वेबसाइटsajhayatayat.com.np/home

साझा यातायात सहकारी ऐन, २०१६ अन्तर्गत वि.सं. २०१८मा स्थापित संस्था साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित यातायात सेवा हो । तत्कालीन सरकारले वि.सं.२०५८ माघ ११ गतेदेखि बन्द गराएको साझा यातायात कर्मचारीको उजुरीका आधारमा पुनरावेदन अदालत, पाटनको वि.सं. २०५९ माघ १९ गतेको आदेशपछि सञ्चालनमा आएको थियो । अदालतको आदेशपछि नयाँ व्यवस्थापनसंगै कर्मचारी कटौती गरेर वि.सं. २०६० जेठ १ गतेदेखि आफ्नो सेवा सुरू गरेको साझा यातायात पूर्व कर्मचारीको आन्दोलनका कारण २०६३ साल फागुन १३ गतेदेखि बन्द भएको थियो ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

सर्वसाधारण जनताको निमित्त सस्तो, सुलभ र भरपर्दो,जनप्रिय, विश्वसनिय यातायात सेवा सञ्चालन गर्ने मूल उदेश्य लिएर २०१८ साल चैत्र ३ गते बुधबारका दिन तत्कालीन सहकारी संस्था ऐन २०१६ अन्तरर्गत प्रारम्भिक सहकारी संस्थाको रूपमा साझा यातायात दर्ता भएको हो। स्थापना भएको चार महिनापछि २०१९ साल श्रावण १ गतेदेखि संस्थाले काठमाडौ शहरी क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रदान गर्न शुरु गर्‍यो। यस संस्थाको संस्थापन अध्यक्षमा बिश्वबन्धु थापा रहनु भएको थियो। साझा यातायातमा नेपाल सरकारका मन्त्रालयहरू तथा बिभागहरू,विभिन्न सङ्घ संस्थाहरू र सर्व साधारण जनताहरूको समेत शेयर लगानी रहेको छ। सहकारीताको मुल्य र मान्यताअनुसार प्रत्येक वर्ष सम्पन्न हुनु पर्ने वार्षिक साधारण सभा २०२३ सालपछि विविध कारणले गर्दा २०६१ साल कार्तिक २२ गते आईतबार संस्थाको चौथो साधारण सभा भयो। त्यसै गरी २०६४ साल भाद्र १६ गते आईतवार संस्थाको पाँचौं, २०६६ श्रावण ११ मा छैठौं, २०६७ साल फागुन २० गते शुक्रवारका दिन संस्थाको सातौँ साधारण सभा सम्पन्न भई सकेको छ। संस्थाको संशोधित विनियममा भएको व्यवस्था बमोजिम २०६८ साल जेष्ठ ६ गते शुक्रवारका दिन संस्थाको विशेष साधारण सभा सम्पन्न भई सोही सभाबाट कनकमणि दीक्षितको अध्यक्षतामा सर्वसाधारण शेयर सदस्यको तर्फबाट शंकर राज जोसी, भूषण तुलाधर, बिनोद कुमार अधिकारी र शबन्दना थापा सञ्चालक सदस्यमा निर्विरोध निर्वाचित हुनु भयो। त्यसै गरी नेपाल सरकारको तर्फबाट सहकारी बिभागका रजिष्ट्रार र यातायात ब्यबस्था बिभागका महार्निदेशकले प्रतिनिधित्व गरी आउनु भएको छ।

साझा यातायातले सडक यातायात सञ्चालन भएका नेपालका विभिन्न ठाउँहरूमा यात्रु बस सेवा बिस्तार गरेको थियो। साझा यातायातसँग १८३ वटा बसहरू थिए। साझा यातायात नेपाल सरकार मन्त्री परिषदको २०५८ मंसिर १५ को निर्णय अनुसार २०५८ माघ ११ देखी विघटन गरी लिक्वीडेशनमा लगिएकोमा संस्था विघटनका विरुद्ध श्री पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरिएकोमा श्री पुनरावेदन अदालत पाटनको २०५९ माघ १५ को निर्णयअनुसार साझा यातायात पूर्नस्थापना भई पूनः सञ्चालनमा आएको हो। साझा यातायातको २०६० बैशाख देखि पूर्नस्थापना भए पश्चात काठमाडौबाट पोखरा, भैरहवा र बीरगंज, कलैया, पाल्पा, तौलिहवा, बाग्लु, बेनी, र गोर्खा लगायतका स्थानमा आङ्गनो सेवा विस्तार गरेको थियो। उपत्यकामा पनि बिहान पशुपतिदर्शन सेवा सञ्चालन गर्दै आएको थियो। संस्थाको ब्यानरमा काठमाडौ देखि ल्हासा,काठमाडौँदेखि दिल्लीमा अन्तर्राष्टिय बस सेवा सञ्चालन भएका थिए। त्यसै गरी संस्थाकै ब्यानरमा काठमाडौँको चक्रपथमा करिब ५० वटा बसहरू सञ्चालन भएका थिए। काठमाडौ देखि पोखरा,बिरगंज, भैरहबामा करिब २० वटा माइक्रोबसहरू संस्थाको ब्यानरमा सञ्चालन भै राखेका थिए। विभिन्न कारणबाट २०६४ जेष्ठ देखी साझा यातायातका सबै सेवाहरू अबरुद्ध भए।[२]

ऐतिहासिक घटनाक्रम[सम्पादन गर्नुहोस्]

  • नेपाल सरकारको विभिन्न निकायहरु, सङ्घ संस्था तथा सर्वसाधारण नागरिकहरू लगायतको शेयर लगानीमा सहकारी ऐन २०१६ अन्तर्गत वि. सं. २०१८ साल चैत्र ३ गते साझा यातायात सहकारी संस्था लि. को स्थापना भएको हो । संस्थाले २०१९ साउन १ गते देखी काठमाडौँ उपत्यकामा शहरी यातायात सेवा शुरु भयो ।
  • आ. ब. २०२५/२६ को अन्तसम्ममा संस्थासँग २४ वटा बस र ४८ वटा ट्रक गरी जम्मा ७२ वटा सवारी साधन थिए ।
  • जनताको बीचमा अति लोकप्रिय, सेवामूलक, भरपर्दो एक मात्र संगठित संस्था साझा यातायात २०२६ सालको मध्यतिर घाटामा गएको कारण देखाई तत्कालिन सरकारले केहि समय बन्द गरेको थियो ।
  • साझा यातायात २०२६ साल पुसदेखि २०३१ सालको अन्तसम्म नेपाल यातायात संस्थानअन्तर्गत संचालित भयो
  • वि. सं २०३० सालदेखि लामो दुरीमा बससेवा प्रारम्भ भयो ।
  • यात्रु सेवालाई भरपर्दो, व्यवस्थीत बनाउन र संस्थालाई स्वायत्तता प्रदान गर्ने उद्देश्यले २०३२ सालमा नेपाल यातायात संस्थान र साझा यातायात बीचको सम्पूर्ण हिसाब राफ-साफ गरी साझा यातायातलाई स्वायत्त संस्थाको रूपमा स्थापित गरियो ।
  • नेपाल सरकार, तत्कालिन तेजारथ अड्डाबाट साझा यातायातलाई सरकारी लगानीको रूपमा २०३४ सालमा उपलब्ध गराएको ऋण रु ८,९६,९२०/- शेयरमा रुपान्तरण गरीएपछि नेपाल सरकार पनि लगानीकर्ताको रूपमा साझामा सहभागी भयो ।
  • संस्थाको भौतिक पूवार्धारको विकासको निमित्त पूर्व सञ्चालक समितिका सदस्य कमलमणि दीक्षितको पहलमा ललितपुरको पुल्चोकमा स्वर्गीय रानी जगदम्बा कुमारीज्यूबाट साझा यातायातलाई २२ रोपनि जग्गा अनुदानमा प्राप्त भयो ।
  • वि. सं २०३७ सालमा मित्र राष्ट्र जापान सरकारको काठमाडौँ शहरी विकास गर्ने आयोजनाअन्तर्गत अनुदान सहयोगमा नेपाल सरकारमार्फत यस संस्थालाई ३५ वटा इसुजु बस र २०४३ सालमा ४७ वटा मित्सुबिशि बस तथा प्राविधिक उपकरण, भवन, वर्कशप निर्माण लगायतमा सहयोग प्राप्त भई संस्थाको आधुनिकीकरण र विस्तार भएको । साथै २०५० साल असार ३१ मा ऋण विमोचन कोषको रकम प्रयोग गरी ३५ वटा टाटा बसहरू संस्थालाई प्राप्त भयो ।
  • वि. सं २०४६ सालको परिवर्तन पछाडि साझा यातायातमा अत्याधिक मात्रामा राजनीतिक हस्तक्षेपको कारण संस्थाको साधन र श्रोतभन्दा बढी कर्मचारी भर्ना भएको, पटक-पटक संस्था प्रमुखमा फेरबदल गरी संस्थाले उपयूक्त नेतृत्व पाउन नसकेको, कमजोर ब्यवस्थापनको कारणले गर्दा क्रमश यस संस्था सिथिल हुनु, भएका बसहरु निश्कृय हुन पुग्नु, सञ्चालन योग्य बससमेत लिलाम गरियो ।
  • तत्कालिन सरकार मन्त्री परिषदको २०५८ मंसिर १५ गतेको निर्णयानुसार २०५८ माघ ११ गते देखि लिक्वीडेटर नियुक्ति गरी संस्था विघटन गर्ने काम भयो ।
  • यस संस्थाका केहि कर्मचारीहरूको पहलमा केहि शेयर सदस्यहरूले सम्मानित पुनरावेदन अदालत पाटनमा निर्णय बदर मुद्दा दायर गर्नु भएकोमा उक्त अदालतबाट सरकारले साझा यातायात बन्द गर्न गरेको निर्णय बदर हुनेगरी २०५९ साल माघ १५ गते फैसला गरी संस्थाको पुर्नस्थापना भएको हो ।
  • नागरीक समाजका प्रबुद्धवर्गहरू, पत्रकार, साहित्यकार, कलाकार, कानुनबिद तथा प्राविधिकहरूले साझा यातायातको दीर्घजीवन र स्थायित्वका लागि स्वतन्त्र रूपमा आ-आफ्नो क्षेत्रबाट सहयोग पु-याउने प्रमुख उदेश्य राखी गठन भएको साझाका साथीसमुह र स्वच्छ उर्जा नेपालको पहलमा ब्रिटिस राजदुतावासको आर्थिक सहयोगमा यस संस्थामा प्रोजेक्ट स्थापना गरी अध्ययन विश्लेषण गर्ने कार्य सम्पन्न भइसकेको ।
  • नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयले अदालतको उक्त निर्णयलाई सम्मान गर्दै संस्थालाई पुनः सञ्चालन गरी यसको व्यवस्थापन कार्य अगाडि बढाउने भनी २०५९ चैत्र १५ गते निर्णय ग-यो ।
  • श्रम तथा यातायात व्यवस्था मन्त्रालयको २०५९ चैत्र १५ गतेको निर्णयलाई आधार मानी यस संस्थाको सञ्चालक समितिको बैठक २०६० वैशाख २ गते बसी संस्थाको व्यवस्थापन कार्य अगाडि बढाउने र संस्था प्रमुखको नियुक्ति गर्ने काम भयो ।
  • विगत आ.व. २०४८/४० देखी आ.व. २०६३/६४ सम्मको हुन नसकेको संस्थाको लेखा परीक्षण सम्पन्न भई मिति २०६५ मा सम्पन्न साधारण सभााबाट समेत पास भई सकेको छ । आ.व. २०६४/६५ देखी आ.व.२०६८/६९ सम्मको लेखा परीक्षणको कार्य सम्पन्न भएको छ ।
  • २०६१ जेष्ठ १ गते माननीय श्रम तथा यातायात व्यवस्था मन्त्रीज्यूबाट समुद्घाटन गरी काठमाण्डौबाट पोखरा, भैरहवा र बीरगंज, कलैया रुटहरूमा बस सञ्चालन भए भने संस्थाले पाल्पा तौलिहवा, बाग्लुङ्ग, बेनी, र गोर्खा लगाएतका स्थानमा आफ्नो सेवा विस्तार गरेको थियो । उपत्यकामा पनि बिहान पशुपतिदर्शन सेवा सञ्चालन गर्दै आएको थियो ।
  • नेपाल र मित्रराष्ट्र चीनका वीच भएको दुई पक्षीय सम्झौताका आधारमा सन् २००५ मे १ देखि काठमाडौ-ल्हासा सम्म राष्ट्रिय ध्वजावाहकका रूपमा यस संस्थाले अन्तर्राष्ट्रिय बस सेवासमेत सञ्चालन ग-यो । त्यसै गरी निजी क्षेत्रसँगको सहकार्यमा संस्थाको नाम, रंग र लोगो (ट्रेडमार्क) मा काठमाडौ देखि दिल्लीसम्म २ वटा यात्रुबसहरू सञ्चालन भयो । यसै गरी काठमाडौँको चक्रपथमा ५० वटा यात्रु बस सेवा सञ्चालन भएका थिए । काठमाडौँ, पोखरा, विराटनगर र भैरहवामा निजी क्षेत्रका २० वटा माइक्रोबसहरु संस्थाको ट्रेडमार्कमा सञ्चालन गरी करिब ३ लाख रुपैयाँसम्म मासिक आम्दानी भएको थियो । चलिरहेका सबै सेवाहरू समेत विविध कारणबाट अवरोध भई पूनः संस्थाको सबै सेवा बन्द हुन पुगे ।
  • नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साझा यातयात बन्द भई अदालतबाट पूर्नस्थापना भएको करिब १८ महिनाको कर्मचारीहरूलाई भुक्तानी गर्नु पर्ने दायित्व नेपाल सरकार अर्थ मन्त्रालयको नाममा हरिहर भवनको ११ रोपनि जग्गा धितो बन्धकिमा राखी रु. ८ (आठ) करोड ऋण प्राप्त भई कर्मचारीहरूको दायित्व भुक्तानी गरीएको थियो ।
  • नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार साझा यातायात बन्द अवधिको कर्मचारीहरूलाई भुक्तानी गरिएको तलव भत्ता साझा यातायातको कानुनी दायित्व भित्र पर्ने नभई संस्था विघटनकर्ता नेपाल सरकारको नै हुने हुँदा सो प्रयोजनका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट धितो बन्धकीमा प्राप्त आठ करोड ऋण रकम नेपाल सरकारबाट मिनाह गरी धितो बन्धकिमा रहेको साझा यातायातको करीव ११ रोपनी जग्गा रोक्का फुकुवाका लागि नेपाल सरकारसँग अनुरोध गरी तुरुन्त ऋण मिनाह र जग्गा रोक्का फुकुवा गराउने निर्णय २०६४ भाद्र १६ गते सम्पन्न संस्थाको पाँचौ साधारण सभाबाट निर्णय भयो ।
  • साझा यातायात सहकारी संस्था लि. को चौथो साधारण सभाबाट अधिकृत पुाजी एक करोड रहेकोमा सो अधिकृत पुाजीलाई वृध्दि गरी पचिस करोड कायम भएको भयो ।
  • संस्थाको स्थायीत्व र विकासका लागि संस्था सँग रहेका भौतिक पुर्वाधारहरु घर,जग्गा, लिज वा भाडामा लगाई स्थायी आय आर्जनको रूपमा रुपान्तरण गर्ने कार्य शुरु भएको छ । स्थायि सम्पति घर जग्गा भाडामा लगाउदा हाल मासिक रूपमा करिब रु.६ लाख आम्दानि प्राप्त छ ।
  • साझा यातायातमा २०५८ माघ ११ मा बन्द हुादा ७ सय २८ जना कर्मचारी कार्यरत थिए ।
  • साझा यातायात सहकारी संस्था लि.मा हाल सम्म नेपाल सरकारको विभिन्न ६३ निकायहरूको रु.११,१३४,८००/- (७२.५९ प्रतिशत), विभिन्न ८ वटा सङ्घ संस्थाहरूको १,११३,३००/- (७.२६ प्रतिशत) र सर्वसाधारण १ सय ४१ जना व्यक्तिहरूको ३,०९१,००/- (२०.१५ प्रतिशत) समेत जम्मा २ सय १२ जना शेयर सदस्य तथा शेयर लगानी यस संस्थामा कायम छन् ।
  • संस्थाको पाँचौ साधारण सभा २०६४ भाद्र १६ गते सम्पन्न भयो । त्यसै गरी २०६६ श्रावण ११ गते सम्पन्न संस्थाको छैठौं साधारण सभाले संस्थाको स्थायी सम्पतिको (जग्गा आदि) हक-हस्तान्तरण नहुने गरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने प्रयोजनका लागि सञ्चालक समितिले व्यवस्थापन करारमा दिन सक्ने गरी संस्थाको विनियममा संशोधन ग-यो । ।
  • २०६७ फागुन २० गते सम्पन्न संस्थाको सातौँ साधारण सभाले संस्थाको विनियममा पूनः संशोधन गरी संस्थाको संचालक समितिको अध्यक्षको चयन सञ्चालक समितिका सदस्यमध्येबाट समितिले आफै गर्ने र संस्थाको सञ्चालक समितिको गठन विधि देहायबमोजिम हुने व्यवस्था गरी संस्थालाई पूनः सहकारीकरणतर्फ अगाडि बढाउने कार्य भयो ।

(क) शेयर सदस्य मध्येको सहकारी बिभागका रजिष्ट्रार एक जना - सदस्य (ख) शेयर सदस्य मध्येको यातायात ब्यबस्था बिभागका महानिर्देशक एक जना - सदस्य (ग) शेयर सदस्यहरू मध्येबाट निर्वाचित ५ जना-सदस्य रहने ब्यबस्था गरेको छ । विनियम संशोधन पूर्व श्रम तथा यातायात ब्यबस्था मन्त्रालयका सचिव पदेन अध्यक्षसहित नेपाल सरकारबाट ५ जना सदस्य रहने र साधारण सभाबाट निर्वाचित २ जना सञ्चालक सदस्य रहने व्यवस्था थियो ।

  • २०६८ जेष्ठ ६ गते सम्पन्न विशेष साधरण सभाले कनकमणि दीक्षित, बन्दना थापा, भुषण तुलाधर, शंकरप्रसाद जोशी, बिनोदकुमार अधिकारीलाई निर्विरोध निर्वाचित ग-यो । निर्वाचित तथा नेपाल सरकारको प्रतिनिधिका रूपमा रहेका सहकारी विभागका रजिष्ट्रार सुर्दशनप्रसाद ढकाल,यातायात व्यवस्था विभागका महानिर्देशक कृष्णप्रसाद दवाडि समेतको सञ्चालक समितिको बैठकबाट कनकमणि दीक्षितलाई अध्यक्षमा चयन ग-यो ।
  • संस्थाको स्थायि सम्पतिको रूपमा हरिहर भवनमा रहेको २२ रोपनि जग्गा, केन्द्रीय कार्यालयमा रहेका विभिन्न किसिमका मेसिनहरु, जेनेरेटर, स्टक स्पेयर पार्टसहरु कार्यालय तथा वर्कशप भवन आदि रहेका छन् । सवारी साधनका रूपमा पुरानो १ वटा पिकप भ्यान र १ वटा रेकर क्रेन, १ थान फोरकिलिप्ट (मर्मतपछी सञ्चालन गर्न सकिने) त्यस्तै हालै खरिद भएका १६ वटा भारतिय टाटा कम्पनिका बसहरु र १ वटा पिकअप छन् ।
  • साझा यातायातको लगनखेलमा रहेको करिब ६ रोपनि जग्गा आनाको १५ लाखका दरले करिब १२ करोडमा कर्मचारी सञ्चयकोषलाई २०६१ सालमा बिक्री गरी अनिवार्य अवकाश भएका र स्वेच्छीक अबकाश भएका केही कर्मचारीको दायित्व चुक्ता गरिएको थियो । त्यसै गरी नेपाल टेलिकमलाई भाडामा लगाईएको घर जग्गाबाट आउने भाडा वापतको २०६७ मा ६ वर्षको र २०६८ मा ४ वर्षको गरी १० वर्षको करिब रु. ५ करोड १० लाख अग्रीम भाडा वापतको रकम प्राप्त गरी अनिवार्य अवकाश भएका र स्वेच्छीक अबकाश भएका बाँकी सबै स्थायी कर्मचारीहरुका दायित्व चुक्ता गरी सबै कर्मचारीलाई २०६८ भाद्र मसान्तमा बिदा गरिएको थियो ।
  • साझा यातायातको बिरगंजमा रहेको करिब १६ कठ्ठा जग्गा कठ्ठाको ३५ लाखका दरले करिब ५ करोड ५४ लाख रुपैयामा नेपाल टेलिकमलाई २०६८ सालमा बिक्री गरीएको र सो बिक्रीबाट प्राप्त रकमबाट १६ थान टाटा बस र एक थान पिकअप खरिद गरिएको हो ।
  • खुल्ला प्रतिस्प्रर्धाको माध्यामबाट कर्मचारी आपूर्तिका लागि स्थापित सुबिधा सेवा प्रा.ली.को छनोट गरी सोही प्रा.ली.सँग सम्झौता गरी बस चालक परिचालक गरी ५० जना कर्मचारीहरु आपूर्ति गरिएको छ । संस्थाको दैनिक प्रशासन सञ्चालनका लागि हाल १६ जना कर्मचारी कार्यरत छन् ।

नयाँ बस खरिद र पूनः सञ्चालनसम्बन्धी जानकारी[सम्पादन गर्नुहोस्]

  • साझा यातायात संचालक समितिको मिति ०६९/०१/१५ को निर्णयअनुसार २० वटा बस र एक थान डबल क्याब पिकअप खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गर्न स्विकृत भएको थियो ।
  • बोलपत्रहरु खोल्न तथा वोलपत्रको मुल्याङ्कन गरी संचालक समिति समक्ष सिफारिस गर्न संचालक समितिका सदस्य शंकरराज जोशीको संयोजकत्वमा एक उपसमिति गठन भएको थियो ।
  • उप-समितिले नियमानुसार वोलपत्र खोलि पर्न आएका वोलपत्रहरूको मुल्याङ्कन गरी उप समितिको राय सुझाव सहितको प्रतिवेदन मिति ०६९/०४/१० को सञ्चालक समितिको बैठकमा पेश गरेकोले सो समेत ध्यानमा राखि उपसमितिले सिफारीस गरेको न्युनतम मुल्य कवोल गर्ने भारतिय टाटा कम्पनिको नेपालको लागि आधिकारी विक्रेता सिप्रदि ट्रेडिड्ड प्रा.लि. ,नयाँ नैकाप, काठमाडौँको वोलपत्र स्विकृत गर्ने निर्णय भएको थियो ।
  • भारतिय टाटा कम्पनिका दुई ढोका भएका, चालकबाट दुवै ढोका नियन्त्रण हुने,यूरो ३ स्टाण्र्डका, ५५ सिट क्षमताका १६ वटा बसहरु र सोही कम्पनिको एक थान डबल क्याब पिकअप खरिदका लागि भारतिय टाटा कम्पनिको नेपालको लागि आधिकारी विक्रेता सिप्रदि ट्रेडिड्ड प्रा.लि., नयाँ नैकाप, काठमाडौँसँग मिति २०६९/५/२५ (१० सेप्टेम्वर २०१२) मा सम्झौता सम्पन्न भयो ।
  • अन्तराष्ट्रिय वोलपत्र आव्हान गरी २० वटा बसहरु किन्ने निर्णय भएको भएता पनि रकम अभावका कारणबाट १६ वटा बसहरु मात्र खरिद गरिएको र १६ बसको कर, भन्सार बाहेक मुल्य रु. ३,३४,२३,०८०/- र पिकअपको कर,भन्सार बाहेक मुल्य रु. ८,७९,८५०/- परेको र बसहरु तथा पिकअपको भन्सार सहितको मुल्य रु.५,५४,१०,०३६/- पर्न गएको छ ।
  • नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलबाट २०६९ चैत्र मसान्तमा बस पुनः आरम्भ विशेष कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरी भब्य समारोहका बिच बस सञ्चालनको पूनःआरम्भ गरियो । साथै नयाँ वर्ष २०७० को मिर्मिरे बिहानी सँगै काठमाण्डौका दुई वटा महत्त्वपूर्ण रुटमा नेपाल सरकारबाट रुट इजाजत प्राप्त गरी शहरी बस सेवा सञ्चालनमा ल्याएको छ । हाल इजाजत प्राप्त रुटहरूमा लगनखेल- लैनचौर-टिचिङ-नयाँ बसपार्क, त्यस्तै कलङकी-त्रिपुरेश्वर- वानेश्वर-एअरपोर्ट दुईतर्फि बस सेवा सञ्चालनमा आएको छ ।

पुनर्स्थापना[सम्पादन गर्नुहोस्]

साझा यातायातको स्थायी सम्पतिको रूपमा स्व.श्री जगदम्वा देबी राणा द्वारा यस संस्थाको स्थायित्व र विकासका लागि सहयोग स्वरूप प्रदान गरेको पूल्चोक ललितपुर स्थित करिब २२ रापनी जग्गा र सोमा निर्मित यस संस्थाका नयाँ भवनहरू रहेका छन्। त्यसै गरी संस्थाको स्थायी सम्पति घर जग्गालाई लिज तथा भाडामा लगाई संस्याको व्यवस्थापन खर्च ब्यबस्था गरिएको छ। भविष्यमा यंस्थाको पूल्चोक स्थित जग्गामा सरकारी तथा नीजि साझेदारीको रूपमा ठुलो ब्यापारिक भवन बनाउने, संस्थामा रहेको भौतिक पूर्बाधारको ब्यापक मात्रामा परिचालन गर्ने, नयाँ बस खरीद गरी सार्बजनिक यातायातको रूपमा सञ्चालन गर्ने लय लिइएको छ । त्यस्तै उपत्यका बहिरका नेपालका विभिन्न शहरहरू तथा ग्रामिण सडकहरूमा दोस्रो चरणमा सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ। तेस्रो चरण अर्न्तगत मित्र राष्ट्रका विभिन्न शहरहरूमा राष्टि्रय ध्वजावाहकको रूपमा अन्तर्राष्ट्रिय बस सेवा समेत नेपाल सरकारको सहयोगमा साझा यातायात सञ्चालन गर्ने प्रमुख उद्देश्य रहेको छ। साझा यातायातलाई अब नमुना सार्वजनिक यातायातको रूपमा अगाडि बढाउने र जनतालाई सस्तो शुलभ,भरपर्दो, समयबद्ध सुरक्षित यातायातको सुबिधा प्रदान गर्ने योजना रहेको छ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]