सेतुराम श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् 1941 मा सेतुराम

सेतुराम श्रेष्ठ प्रसिद्ध नेपाली गायक थिए। आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौंको असन, कमलाक्षीमा जन्मेका थिए। कृष्णधर र हरिदेवीका तीन सन्तानमध्ये सेतुराम कान्छा थिए। सेतुराम सानैमा 'हुने बिरुवाको चिल्लो पात' देखिन्थे। सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे। उनी आफ्ना बाबु कृष्णधरको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र आफूलाई गीतमा डुबाउँथे। सेतुराम प्रधानको घरपरिवार नै सङ्गीतमय थियो। त्यस घरमा जो कोही पुगे पनि सङ्गीतको पारख गरेर मात्र र्फकने गथ्यो। सेतुरामका दाजु कृष्णदास लगायत घरपरिवारका प्रायः सबै सदस्य सङ्गीतमा झुकाउ राख्थे। त्यसै गरी सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन्। सेतुराम चाहिँ गायन कलामा बाल्यकालदेखि नै मन, वचन र कर्मले समर्पित थिए। कृष्णधरले आफ्ना छोराको गायन यात्राका लागि प्रशिक्षक लगायत आवश्यक सामग्री पनि जुटाइदिएका थिए। त्यतिखेर पढ्न-लेख्नभन्दा गीत गाउनैमा सेतुराम चाख राख्थे। उनले पढ्न पनि जानेका थिए। पढाइ चाहिँ उनको स्वाध्ययन थियो। उनी स्कूले शिक्षाका नभएर वैयक्तिक ज्ञानका उपज थिए। उनी सबैसँग मिलेरै कुरा गर्थे, मिलेरै व्यवहार गर्थे र मिलेरै आफ्नो काम धन्दा गर्थे। मिलन सारिता उनको गुण थियो। सेतुरामले आफ्ना बुबाआमा, दाजु र दिदीहरूबाट गीत गाउन प्रोत्साहन पाए। वास्तवमा त्यस बेला एकोहोरो सङ्गीतमा लाग्ने मान्छे समाजका लागि इज्जतदार हुँदैनथ्यो। तैपनि सेतुरामले चाहिँ त्यस क्षेत्रमा पनि राम्रो सम्मान पाए। सेतुराम आठ-नौ वर्षकै उमेरमा काठमाडौं उपत्यकामा गीत गायनका जुनसुकै कार्यक्रममा पुग्थे। उनी गीत गाउन पुगेका जुनसुकै टोलमा मान्छेको घुइँचो लाग्थ्यो। सेतुराम सानोमा गोर्‍हो अनुहारका थिए। सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो। किशोरावस्थाले डाँडो काट्ता-नकाट्तै सेतुराम हेर्दा खाइ लाग्दा देखिन्थे। साथै उनी बोल्दा सबै मक्ख पर्थे। त्यति मात्र होइन, उनको रहन सहन, लगाइ खवाइ, बोलीचाली, हिँडाइडुलाई पनि आकर्षक देखिन्थ्यो। उनी मध्यमवर्गीय परिवारका थिए उनका अविभावकको पेसा भाँडाकुँडाको व्यापार थियो।

सेतुराम नेपाली आधुनिक गीतका आदिगायक हुन्। उनले संवत् १९६५ सालमा नै गीत गाएर नेपाली साङ्गीतिक आकाशमा नेपाली भाषाको गीत रिकर्डिङ गर्ने पहिलो गायक हुने सौभाग्य पाए। गीत गाउने क्रममा उनले सुरुमै राष्ट्रिय विभूति मोतीराम भट्टद्वारा लिखित 'यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्' बोलको गजल गाए। यस गीतको धून पनि उनैले दिएका थिए। उनी गजलमा जसरी लहसिएका थिए लोक पाराका झ्याउरे गीतमा पनि उनी त्यत्तिकै टाँस्सिएका थिए। उनको गायन कलाको त्यति बेला जनस्तरका साथै राणाका दरबारमा पनि धूमधामै प्रशंसा हुने गथ्र्‍यो। त्यही कारणले उनी जागीरेका रूपमा बबरमहल पनि प्रवेश गरेका थिए।

सेतुराम साहू जनकलाल श्रेष्ठको सौजन्यमा कोलकाता पुगेका थिए। त्यतिखेर जनकलाल श्रेष्ठ चाहिँ भद्रकाली हाउसको स्थापना गरेर ग्रामोफोनको चक्का बेच्ने नेपालका मुख्य बिक्रेता थिए। उनी व्यापारी भएर पनि अर्काको हितमा आफ्नो व्यापारलाई पनि जोड्ने गर्थे। त्यसैले उनले करबल गरेर चेपचाप गरेर र विभिन्न प्रलोभन देखाएर सेतुरामलाई गीत रिकर्डिङ गर्नका लागि संवत् १९६५ मा कोलकाता पुर्याएका थिए। कोलकाता पुर्याएर जनकलाल श्रेष्ठले जोनोफोन रिकर्डको लेबलमा भद्रकाली हाउस उल्लेख गरी सेतुरामका स्वरमा मात्र सातवटा रिकर्ड गराएका थिए। ती सातवटा रिकर्डमा चौध वटा गीत भरिएका थिए।

सेतुरामका गीतले हलचल पैदा गर्दा उनी प्रति राणासरकारको कान पनि ठाडो भएको थियो। त्यसैले उनले चाँडै राणादरबारमा प्रवेश पाएका पनि थिए। सेतुरामका ओजपूर्णका गीत स्वयम्मा आकर्षक थिए तापनि उनी गीत गायनका इतिहास पुरुष मानिन्छन्। सुवी शाहका शब्दमा भन्ने हो भने "सङ्गीत क्षेत्रमा सेतुरामले नेपाली गीतमा नयाँ आयाम थपेर नेपाली कलाकारको प्रतिष्ठा बढाइसकेको देखिन्छ।" वास्तवमा सेतुरामले त्यस युगमा पनि निर्धक्क गीत गाएर नेपाली साङ्गीतिक आकाशमा नयाँ आयाम थपेका थिए। उनी पहिलो गायक मात्र होइन पहिलो आधुनिक झ्याउरे गीत गाउने हिसाबमा पनि नेपाली संसारमा सर्वाधिक चर्चित भए ः "ए आमा सानीमा फूलको थुँगो खस्यो पानीमा !"

करिया मोचनपछि चन्द्रशमशेरलाई सर्काएर सेतुरामले गीत गाएका थिए। त्यो गीत त्यति बेला पनि ग्रामोफोन मार्फत चारै तिर बजाउने गरिन्थ्यो।

सेतुरामले आफूले प्रेम गरेका सुन्दरीहरू मध्ये केहीसँग बिहे गरे। उनका औपचारिक लगनगाँठो कस्सिएका चाहिँ चार श्रीमती थिए। तीमध्ये जेठी श्रीमतीबाट रामबहादुर प्रधानको जन्म भएको थियो। रामबहादुर पनि उस्ताद थिए। माइली श्रीमतीबाट केदार प्रधान र साइँला प्रधान जन्मेका थिए। यी दुई भाइ पनि गायनमा रुचि राख्थे। केदार प्रधान र साइँला प्रधान किशोर अवस्थामा नै स्वर्गीय भए। सेतुरामकी साहिँली पत्नीबाट सन्तान जन्मेका थिएनन्। सेतुरामले सुकुनानी श्रेष्ठलाई प्रेम गरी चौथी श्रीमतीका रूपमा आफ्नो घर भित्र्याएका थिए। सुकुनानी प्रधानबाट पाँच भाइ छोरा र चार बहिनी छोरीहरू मिठाइदेवी मेवादेवी मिस्रीदेवी र नारायणदेवी जन्मे। पाँचभाइ छोराहरूमध्ये चार भाइ चाहिँ बालककालमा नै दिवङ्गत भए। उनका छोराहरू मध्ये बद्रीप्रसाद प्रधान मात्रै बाँचे। बद्रीप्रसाद प्रधान र तीन छोरीको चाहिँ घरबार पनि भयो।

सेतुरामले नेपाली भाषाका सोह् वटा गीत रिकर्डमा नै स्वराङ्कन गराएको पाइएको छ। तीमध्ये उनले गजल भजन झ्याउरे आदि गीत गाएका थिए। त्यस समयमा उनले १२ वटा नेवारी गीत पनि गाएका थिए। उनका गीतहरू जति स्वच्छन्दताले भरिएका हुन्थे त्यति नै मर्म स्पर्शी पनि हुन्थे। गीत गाउँदाचाहिँ उनी रोमान्टिक शब्द नै बढी रोज्ने गर्थे। त्यसैले पनि होला उनको गायनका विशेषतालाई लिएर चारै तिर हल्ला मच्चिने गथ्र्‍यो। वास्तवमा त्यतिखेर सेतुरामको स्वर भएको ग्रामोफोनका चक्का घुमाई फिराई धेरैले सुन्ने गर्थे। त्यतिले नपुगेर सेतुरामका गीत माइकमा राखेर पनि घन्काउने गरिन्थ्यो।

सेतुराम सौखिन गायक थिए। उनी आफ्नो आत्मसन्तुष्टिका लागि मात्र गीत गाउँथे। उनको स्वरको मातमा परेर नै साहू जनकलाल श्रेष्ठले उनको ग्रामोफोन रिकर्ड बनाइदिएका थिए। हुन त सेतुरामले जीविकोपार्जनका लागि गीत गाउने लक्ष्य नै राखेनन्। यति हुँदाहुँदै पनि उनका गीतका चक्काहरू निकै बिक्री हुन्थे। त्यतिखेर नेपाली भाषाका गीतका चक्का पाउन नै गारो थियो। त्यसैले उनका स्वरहरूले सजिएको ग्रामोफोन नेपाल भित्रिएपछि उनको ख्याति चम्केको थियो।

त्यस बेला नेवारी गीतको रेकर्ड गरेकाले सेतुराम काठमाडौं उपत्यकाको नेवार समुदायमा सबैका मन परेका गायक भएका थिए। 'राजामति कुमति' भन्ने गीतको स्वराङ्कन पछि काठमाडौं सहरमा उनी धेरैका हाई हाई भए। उनी गीत गाउँदा नाच्ने पनि गर्थे। ठट्टा गरी गरी नाच्ने र गाउने कलामा उनले ख्याति कमाएका थिए।

सेतुरामभन्दा पहिला नेपाली गीत रिकर्ड गर्ने कोही पनि नेपाली गायक थिएनन्। उनी नेपाली भाषा र संस्कृतिलाई स्वरका माध्यमबाट देश विदेशमा पुर्याउने प्रथम साधक थिए। वास्तवमा उनी नेपाली सङ्गीतका महेश्वर थिए।

सेतुराम गीत गाउँदा गाउँदै बिरामी भए। उनको जिब्रोमा घाउ भएका कारण उनी १९९७ सालदेखि नै थला परेका थिए। त्यही रोगले नै उनी स्वर्गीय भए। उनको भौतिक चोला संवत् १९९८ साल चैत मसान्तमा समाप्त भयो। सेतुराम स्वर्गीय गए तापनि उनको देन नेपाली धर्तीमा अटल छ। उनी नेपाली भावनाको धुकधुकीमा सधैँ बाँचिरहेका छन् नाचिरहेका छन् र बोलिरहेका छन् : "झल्झली मैयाँ पातली बोलाउँदा बोल्दिनौ।"

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]