सामग्रीमा जानुहोस्

डान्टे अलिगेरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डान्टे अलिगेरी (मे/जुन १२६५ – १४ सेप्टेम्बर, १३२१) मध्यकालका इटालेली भाषाका कवि थिए। उनलाई भर्जिल पछिका इटालीका सबैभन्दा महान कविका रूपमा लिइन्छ। उनी इटालीका राष्ट्रकवि समेत हुन्। उनको सुप्रसिद्ध पुस्तक डिभाइन कमेडी महाकाव्यहरू मध्ये सबैभन्दा अनुपम कृति हो। यसका अतिरिक्त उनको गीतीकाव्य वीटा न्युओवा (जसको अर्थ हुन्छ नयाँ जीवन) अत्यन्तै मार्मिक कविताहरूको एक सङ्ग्रह हो, जसमा उनले आफ्नी प्रेमिका सीट्रिसको प्रेमकथा तथा २३ वर्षको उमेरमै भएको उनको देहावसान माथी मार्मिक विरह कथा वर्णन गरेका छन्। डान्टेको जन्म यूरोप महाद्विपको इटाली नामक राष्ट्रमा भएको थियो। उनी फ्लोरेन्सका नागरिक थिए। उनको परिवार प्राचिन भएपनि उच्चवर्गीय भने थिएन। उनको जन्म त्यस समय भयो जब मध्ययुगीन विचारधारा र संस्कृतिको पुनरूत्थान हुन प्रारम्भ हुँदै थियो। राजनीति सम्बन्धी विचार तथा कला सम्बन्धी मान्यतामा पनि परिवर्तन आउँदै थियो। ल्याटिन भाषामा लेख्नुको सट्टा डान्टेले सामान्य बोलीचालीको इटालेली भाषामा आफ्ना रचनाहरू तयार गरी सम्पूर्ण इटालीलाई इतिहाँसको पानामा गौरवान्वित तुल्याए जुन कार्य युग परिवर्तनको शङ्खनाद थियो भन्दा अत्युक्ति नहोला।

डान्टे केवल कवि र विचारक मात्र थिएनन्, उनी राजनीतिज्ञ र प्रशासक पनि थिए। उनले फ्लोरेन्स राज्यमा शासन पनि गरे।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

डान्टे फ्लोरेन्स (जुन अहिलेको इटालीमा पर्छ) मा लगभग सन् १२६५ तिर जन्मिएका थिए। उनको जन्म मिति ठ्याक्कै कसैलाई थाहा छैन, तर उनको प्रसिद्ध कृति द डिभाइन कमेडीमा भएका सङ्केतहरूका आधारमा अनुमान लगाउन सकिन्छ।[] उक्त पुस्तकको पहिलो भाग इन्फेर्नोमा डान्टेले आफूले आधा जीवन बाँचिसकेको कुरा उल्लेख गरेका छन्। बाइबलका अनुसार मानिसको जीवन ७० वर्षको हुन्छ जसको मतलब त्यस कृति लेख्दाका बखत डान्टे लगभग ३५ वर्षका थिए। साथै यो कथा सन् १३०० मा भएको देखाइन्छ, त्यसैले उनको जन्म सन् १२६५ वरपर भएको हुनसक्छ।

द डिभाइन कमेडीको अर्को भाग प्याराडिजोमा डान्टेले आफ्नो जन्म समयलाई इशारा गर्दै मिथुन राशीको बारेमा कुरा गरेका छन्। सन् १२६५ मा सूर्य मिथुन राशीमा लगभग मे ११ देखि जुन ११ सम्म थियो, जसले गर्दा उनको जन्म मिति अझ स्पष्ट हुन्छ।

डान्टेले आफ्नो परिवार प्राचीन रोमबाट आएको दाबी गरेका थिए (इन्फर्नो*, अध्याय १५, हरफ ७६), तर उनले नाम लिने सबैभन्दा पुरानो पूर्वज उनका बुढा हजुरबुवा क्याच्चागुइदा थिए (प्याराडिजो, अध्याय १५, हरफ १३५), जसको जन्म सन् ११०० तिर भएको थियो। डान्टेका बुवा अलिघिएरो दी बेलिनचिओने व्यवसायी र साहुकार थिए। उनकी आमाको नाम बेल्ला थियो जो एक कुलीन फ्लोरेन्सी परिवारकी छोरी थिइन्। उनकी आमाको निधन उनी १० वर्षको नपुग्दै भयो। आमाको मृत्यु पछि डान्टेका बुवा अलिघिएरोले लापा दी चियारिस्सिमो चिआलुफीसँग पुनः विवाह गरे, यद्यपि उनीहरूले औपचारिक रूपमा विवाह गरे कि गरेनन् भन्ने स्पष्ट छैन। उनले दुई सन्तान जन्माइन्। डान्टेका सौतेनी भाइको नाम फ्रान्सेस्को र सौतेनी बहिनीको नाम ताना थियो।[]

डान्टेको समयमा, उत्तरी इटालीका धेरै शहरहरू दुई राजनीतिक समूहमा विभाजित थिए: ग्वेल्फ, जो पोपलाई समर्थन गर्थे, र गिबेलिन, जो पवित्र रोम साम्राज्यलाई समर्थन गर्थे। डान्टेको परिवार ग्वेल्फहरूको समर्थनमा थियो। सन् १२६० मा, गिबेलिनहरूले मोन्टापर्टीको युद्ध जितेर फ्लोरेन्स राज्यलाई समेत आफ्नो नियन्त्रण लिए र धेरै ग्वेल्फ परिवारहरूलाई राज्यबाट बाहिर धपाए। यद्यपि डान्टेको परिवार ग्वेल्फ भए पनि उनीहरूलाई युद्धपछि कुनै हानी भएन। उनका बुवा अलिघिएरोले कुनै ठूलो सार्वजनिक सेवाको पद धारण नगरेको कारण उनीहरूको परिवार भने सुरक्षित नै रह्यो। १२६६ मा, ग्वेल्फहरूले पुन: लडाईँ गरी बेनेभेन्टोको युद्ध जिते र फ्लोरेन्सलाई गिबेलिनहरूबाट फिर्ता लिए।

डान्टेले भनेका छन् कि उनले पहिलोपटक बिआत्रिछे पोर्टिनारीलाई तब भेटे जब उनी ९ वर्षका थिए र बीट्राइस ८ वर्षकी थिइन्।[] उनले पहिलो दृष्टिमा नै बिआत्रिछेसँग प्रेममा परेका दाबी गरेका थिए, तर त्यो बेला उनीहरूको सामान्य बोलीचाली पनि भएको थिएन।[] जब डान्टे १२ वर्षका भए, उनलाई जेम्मा दी मानेट्टो डोनाटीसँग विवाहको आश्वासन दिइयो, जो एक शक्तिशाली परिवारकी छोरी थिइन्। त्यतिबेला बालविवाह सामान्य कुरा थियो र दुइ परिवारबीच औपचारिक सम्झौता भएपछि विवाह हुन्थ्यो। डान्टेले १८ वर्षको भएपछि बिआत्रिछेलाई बारम्बार देख्न पाएको र फ्लोरेन्सका सडकहरूमा उनलाई अभिवादन गरेको दाबी गरेका छन् तर उनीहरूले एकअर्कालाई राम्रोसँग चिन्ने अवसर भने पाएनन्।

डान्टेले आफ्नो विवाहको धेरै वर्ष पछि पुन: बिआत्रिछेलाई भेटेको दाबी गरेका छन् र उनका लागि केही सोनेटहरू (१४ पङ्क्तिमा लेखिने कविता) समेत लेखेका थिए। तर उनले कुनै पनि कवितामा आफ्नो पत्नी जेम्मा को कुरा गरेनन्। उनले आफ्नो पुस्तक द डिभाइन कमेडीमा डोनाटी परिवारका अन्य सदस्यहरू, विशेष गरी फोरेसे र पिकार्डाका बारेमा उल्लेख गरेका छन्। डान्टेको विवाहको वास्तविक मिति पनि कसैलाई थाहा छैन, तर यो निश्चित छ कि सन् १३०१ मा निर्वासित हुनु अघि उनकी जेम्माको कोखबाट तीन सन्तान जन्मिएका थिए: पिएट्रो, जाकोपो, र एन्टोनिया।

डान्टेले ११ जुन १२८९ मा क्याम्पाल्डिनोको युद्धमा ग्वेल्फ घोडसवारहरूको पक्षमा युद्ध गरेका थिए। यो विजयले फ्लोरेन्सको संविधान संसोधन भयो। राजनीतिक जीवनमा भाग लिनका लागि शहरका कुनै एक व्यावसायिक वा शील्प सङ्घमा सदस्यता लिनु पर्दर्थ्यो, त्यसैले डान्टे चिकित्सक र औषधी व्यवसायीहरूको सङ्घमा सामेल भए। पुराना अभिलेखहरूले यो देखाउँछ कि उनले कहिलेकाहीँ गणतन्त्रको सभाहरूमा बोलेका वा मतदान गरेका थिए, तर १२९८-१३०० को बीचका धेरै बैठकका माइन्युटहरू हराइसकेकाले उनी कति संलग्न थिए भन्ने कुरा स्पष्ट छैन।

शिक्षा र कवित्व

[सम्पादन गर्नुहोस्]

डान्टेको शिक्षाबारे धेरै जानकारी छैन, तर उनले घरमै वा फ्लोरेन्सको कुनै गिर्जाघर वा मठसँग सम्बन्धित विद्यालयमा अध्ययन गरेको विश्वास गरिन्छ। उनले टसकन कविताको अध्ययन गरेका थिए र बोलोग्नाका कवि गुइडो गुइनिजेलीलाई प्रशंसा गर्थे, जसलाई उनले पुर्गाटोरियो अध्याय २६ मा आफ्नो "बाबु" भनेर वर्णन गरेका छन्। यो त्यही समय थियो जब सिसिलियन स्कूलको कविता टस्कनीमा प्रसिद्ध हुँदै थियो। डान्टेले अर्नाउट ड्यानियलजस्ता ट्रुबाडोरहरूको कविता र प्राचीन रोमका लेखकहरू, जस्तै सिसेरो, ओविड, र विशेष गरी भर्जिलको लेखाइमा रुचि राखेका थिए।

डान्टे र बिआत्रिछे बीचको सम्बन्धले तथाकथित "दरबारिया प्रेम" (कोर्टली लभ) लाई प्रतिनिधित्व गर्छ, जुन अवधारणा फ्रेन्च र प्रोभेन्सल कवितामा लोकप्रिय भएको थियो। दरबारिया प्रेमले प्रायः प्राप्त गर्न नसकिने व्यक्तिको लागि उच्च सम्मानजनक र टाढाको प्रेमलाई जनाउँछ। बिआत्रिछेप्रति डान्टेको प्रेम यस परम्परामा सामान्य थियो, तर उनले यसलाई व्यक्त गर्ने तरिका अद्वितीय थियो। डान्टेले यो प्रेमलाई प्रेरणाको स्रोत बनाएर नयाँ काव्यिक शैली डोल्से स्टिल न्वोभो ("नयाँ मीठो शैली") सिर्जना गरे। उनका कविताहरूमा बिआत्रिछेलाई एक प्रकारको देवदूतको रूपमा चित्रण गरिएको छ जसले उनलाई आध्यात्मिक रूपमा मार्गदर्शन गर्छिन्। सन् १२९० मा बिआत्रिछेको मृत्यु भएपछि पनि उनी डान्टेको जीवन र कृतिहरूको केन्द्रीय पात्र रहिन् जसले उनको कविता र व्यक्तिगत विश्वासलाई चलायमान बनायो। जब बिआत्रिछेको निधन भयो, डान्टेले बोइथियस र सिसेरोका दार्शनिक कृतिहरू पढेर सान्त्वना पाए, जसमा उनले बुद्धि र मार्गनिर्देशन खोजे।

पछि डान्टेले आफूलाई दार्शनिक अध्ययनतर्फ समर्पित गरे र सान्ता मारिया नोभेलाजस्ता धार्मिक विद्यालयहरूमा अध्ययन गरे। उनले फ्लोरेन्समा रहेका दुई प्रमुख भीक्षुहरू (फ्रान्सिस्कन र डोमिनिकन) बीचको विवादहरूमा पनि भाग लिए। फ्रान्सिस्कनहरूले रहस्यवादी र सन्त बोनाभेन्चुराका सिद्धान्तहरूको व्याख्या गर्थे भने, डोमिनिकनहरूले सन्त थोमस एक्विनासका सिद्धान्तहरूको व्याख्या गर्थे। यी बहसहरूले डान्टेको दर्शन र धर्मको समझलाई आकार दिन मद्दत गर्यो।[]

करिब १८ वर्षको उमेरमा, डान्टेले गुइडो काभालकान्ति, लापो जियानी, चिनो दा पिस्टोइया र केही समयपछि ब्रुनेटो लातिनीलाई भेटे। उनीहरूले मिलेर डोल्से स्टिल न्वोभो ("नयाँ मीठो शैली") नामक काव्यिक शैलीको नेतृत्व गरे जसले प्रेम, सुन्दरताको प्रशंसा र आध्यात्मिक विषयहरूमा ध्यान केन्द्रित गर्थ्यो। ब्रुनेटो लातिनीले डान्टेमाथि विशेष प्रभाव पारेका थिए र डान्टेले उनलाई आफ्नो प्रसिद्ध कृति डिभाइन कमेडी (इन्फर्नो, अध्याय १५, हरफ २८) मा विशेष रूपमा उल्लेख गरेका छन्। यस खण्डमा, डान्टेले ब्रुनेटोसँग हिँड्दै ब्रुनेटोका परिचित साथीहरूको बारेमा सोधिरहेका छन् जसले डान्टेको ब्रुनेटोप्रति सम्मान र उनको शिक्षाप्रतिको कदरभाव देखाउँछ।

फ्लोरेन्स र राजनीति

[सम्पादन गर्नुहोस्]

डान्टे फ्लोरेन्समा भएको ग्वेल्फ-गिबेलिन संघर्षमा पूर्णरूपमा संलग्न थिए। उनले १२८९ मा क्याम्पाल्डिनोको युद्धमा फ्लोरेन्सका ग्वेल्फहरूतर्फबाट लडाईँ गरे। आफ्नो राजनीतिक जीवन अघि बढाउन उनले सन् १२९५ मा चिकित्सक र औषधि व्यवसायीहरूको समूहको सदस्यता लिए जसले उनलाई सार्वजनिक पद धारण गर्न अनुमति दियो। ग्वेल्फहरू पनि पछि दुई पक्षमा विभक्त भए — सेता ग्वेल्फ (डान्टेको समूह) र काला ग्वेल्फ। रोमबाट थप स्वतन्त्रता खोज्ने सेता ग्वेल्फहरूले सत्ता कब्जा गरे र काला ग्वेल्फहरूलाई निष्कासित गरे। यसको प्रतिक्रियामा पोप बोनिफेस ८ ले सैन्य हस्तक्षेपको योजना बनाए। सन् १३०१ मा डान्टेलाई एक प्रतिनिधिमण्डलको सदस्यको रूपमा रोम पठाइयो जसको उद्देश्य पोपलाई शान्तिदूतका रूपमा नियुक्त चार्ल्स अफ भालोइसलाई फ्लोरेन्स नपठाउन राजी गराउनु थियो।

फ्लोरेन्सबाट निर्वासन

[सम्पादन गर्नुहोस्]

सन् १३०१ मा, पोप बोनिफेसले डान्टेलाई रोममा बस्न आग्रह गरे जब चार्ल्स अफ भालोइस र काला ग्वेल्फहरूले फ्लोरेन्स कब्जा गरे, जसले शहरमा ठूलो विनाश र धेरैको हत्या गरे। नयाँ काला ग्वेल्फहरूको सरकार गठन गरियो र १३०२ मा सेता ग्वेल्फ रहेका डान्टेलाई दुई वर्षको लागि देश निकाला गरी जरिवाना समेत तिर्न लगाइयो। उनलाई सन् १३०० मा शहरको सर्वोच्च पदमा रहँदा भ्रष्टाचारको आरोप लगाइएको थियो। रोममा रहँदा डान्टेले जरिवाना तिरेनन् किनभने उनले आफूलाई निर्दोष माने र उनको सम्पत्ति काला ग्वेल्फहरूले कब्जा गरेका थिए। परिणामस्वरूप उनलाई स्थायी देश निकाला गरिएको थियो र यदि उनी फर्किएको खण्डमा उनलाई मृत्युदण्ड दिन सकिन्थ्यो। पछि १३०६-०७ तिर डान्टे मोरोएलो मालास्पिनाको अतिथिको रूपमा लुनिगियानामा गइ बसे।

सेतो ग्वेल्फहरूले त्यसपछि सत्तामा फर्किने धेरै असफल प्रयासहरू गरे जसमा डान्टेले समेत भाग लिए तर विश्वासघात र आन्तरिक द्वन्द्वका कारण उनी निराश भए। उनी आफ्नो राजनीतिक शत्रुहरूप्रति कटु बने र सबै राजनीतिक गुटबाट टाढा रहँदै आफूलाई "एउटा मात्र गुट" घोषणा गरे। उनले भेरोनामा बार्टोलोमेओ I डेला स्कालाको अतिथिको रूपमा र पछि सार्जानामा जीवन बिताए। सम्भवतः उनी लुक्कामा जेन्टुक्का नामकी महिलासँग बसेका थिए, जसले उनलाई सहज बनाइन् (उनले यसबारे पुर्गाटोरियो मा उल्लेख गरेका छन्)। केही इतिहाँसकारहरूले डान्टेले पेरिस र अक्सफोर्ड भ्रमण गरेको आँकलन पनि गरेका छन् तर उनले इटाली छोडेर बाहिर गएको कुनै प्रमाण भेटिँदैन। निर्वासनमा हुँदा डान्टेको दर्शन र साहित्यको आफ्नो ज्ञानमा अझ निखार आयो।

सन् १३१० मा जब रोमन सम्राट हेनरी सातौँ लक्जेमबर्ग इटालीमा प्रवेश गरे, डान्टेले उनलाई सम्राट चार्लेमेनको रूपमा हेरे, जसले साम्राज्यलाई पुनर्स्थापित गर्दै काला ग्वेल्फहरूलाई परास्त गर्न सक्छन्। डान्टेले हेनरी र इटालीका राजकुमारहरूलाई आफ्नो राजनीतिक शत्रुहरूलाई समाप्त गर्न आग्रह गरे र फ्लोरेन्समा दैवी क्रोध बोलाए। यस समयमा, उनले "डि मोनार्चिया" लेखे, जसमा हेनरी सातौँ नेतृत्वको एक सार्वभौम राजतन्त्रको प्रस्ताव गरिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Chimenz, Siro A. (१९६०), "Alighieri, Dante", Dizionario Biografico degli Italiani (इटालेलीमा) 2, Istituto dell'Enciclopedia Italiana, मूलबाट मार्च १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २२, २०२२ 
  2. Chimenz, S.A (२०१४), "Alighieri, Dante", Dizionario Biografico degli Italiani (इटालेलीमा), Enciclopedia Italiana, बिबकोड:2014bea..book...56., मूलबाट मार्च ८, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०१६ 
  3. "Beatrice and Dante Alighieri > A Love Story", डिसेम्बर १४, २०१६, मूलबाट जनवरी १३, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२२ 
  4. Alighieri, Dante (२०१३), Delphi Complete Works of Dante Alighieri 6 (Illustrated संस्करण), Delphi Classics, आइएसबिएन 978-1-909496-19-4 
  5. Alighieri, Dante (१९०४), Philip Henry Wicksteed, Herman Oelsner, सम्पादक, द प्याराडिजो अफ डान्टे अलिघेरी (fifth संस्करण), J.M. Dent and Company, पृ: १२९ 

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]