आमा (१९६४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
आमा
Aama (film poster).png
निर्देशकहिरासिंह खत्री
लेखक
  • दुर्गा श्रेष्ठ
  • चैत्य देवी
कलाकार
उत्पादन
कम्पनी
नेपाल सरकार सूचना तथा प्रसारण विभाग (तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशन)
प्रदर्शन मिति
वि.सं. २०२१ साल असोज २२ गते
देशनेपाल
भाषानेपाली

आमा हिरासिंह खत्रीद्वारा निर्देशित नेपाली कथानक चलचित्र हो । दुर्गा श्रेष्ठ र चैत्य देवीद्वारा लेखिएको यस चलचित्रलाई महेन्द्र वीर विक्रम शाहले तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रूपमा सार्वजनिक गरेका थिए । यस चलचित्रमा शिवशङ्कर मानन्धर तथा भुवन चन्दलाई प्रमुख भूमिकामा र वसुन्धरा भुसाल, हिरासिंह खत्री तथा हरिप्रसाद रिमाललाई सहायक भूमिकामा राखिएको छ । यो चलचित्रमा नेपाली सेनामा काम गरेपछि घर फर्केका युवाको कथा दर्शाइएको छ । राजा महेन्द्रको आग्रहमा हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रको अधिकतम भागको छायाङ्कन तथा उत्पादन पछिका कार्यहरू भारतको कोलकातामा गरिएको थियो । वि.सं. २०२१ साल असोज २२ गते सार्वजनिक गरिएको यस चलचित्रलाई नेपालमा नै निर्माण गरिएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको छ ।

कथा सारांश[सम्पादन गर्ने]

हर्कबहादुर एक जडैँया हुन् जो आफ्नी श्रीमतीसँग शारीरिक दुर्व्यवहार गर्छन् । कथा सुरु भएको समयको एक दिन पछि ऋण तिर्न नसकेको हुनाले हर्कबहादुरको बन्धकको रूपमा राखिएको घरलाई लिइने कुरा निस्कदा उनले आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गर्न छोड्ने वाचा गर्छन् । त्यही दिन, पछि तिर उनी मादक पदार्थको सेवन गरी घर फर्कन्छन् र आफ्नी श्रीमतीलाई कुट्न थाल्छन् तर चट्टानले लागेर उनको मृत्यु हुन्छ । उनको मृत्यु पछि उनका छोरा मानबहादुर (शिवशङ्कर) घर छोडी सेनामा भर्ती हुन्छन् ।

दुई वर्ष पछि विदेशी सेनामा काम गरेर मान घर फर्कन्छन् तर आफ्नी आमालाई देख्दैनन् । उनकी आमाको मृत्यु भएको ज्ञात भएपछि उनले नेपाल छोड्ने निर्णय गर्छन् तर उनका छिमेकीहरूले "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" भन्दै उनलाई आफ्नो समाजको सेवा गर्ने सल्लाह दिन्छन् । अन्ततः मानले छिमेकीहरूको सुझाव मानी देशको बढ्दो अर्थतन्त्रमा सक्दो योगदान दिने निर्णय लिन्छन् ।

कलाकार[सम्पादन गर्ने]

निर्माण[सम्पादन गर्ने]

महेन्द्र वीर विक्रम शाहको आग्रहमा भारतीय चलचित्रको क्षेत्रमा काम गरिरहेका प्रख्यात नेपाली चलचित्र निर्देशक हिरासिंह खत्रीले पञ्चायती व्यवस्थाको प्रवर्धन गर्नका लागि आमा चलचित्रको निर्माण गरेका थिए ।[१] नेपाली चलचित्रको प्रारम्भिक कालमा देशमा नै चलचित्र निर्माण, छायाङ्कन, वितरण र प्रस्तुतीकरण गर्ने उपयुक्त पूर्वाधारको निर्माण भएको थिएन ।[२][३] त्यसबेला कुनै व्यवसायिक अभिनेता नभएका हुनाले निर्देशक खत्रीले गायक शिवशङ्कर र नाट्यशाला प्रदर्शनकर्ता भुवन चन्दलाई छानेका थिए ।[२] घरको यादमा डुबेका व्यक्तिको भूमिका निर्वाह गर्नका लागि खत्रीले शिवशङ्करलाई छानेका थिए ।[४] प्रमुख भूमिकामा रहेकी अभिनेत्री भुवन चन्दले यस चलचित्रमा अभिनय गर्न पाउनु नै उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण र अविस्मरणीय घटना भएको बताएकी थिइन् ।[४] चौध वर्षको उमेरमा हरिप्रसाद रिमालले पनि आमामा सानो भूमिका निर्वाह गरी आफ्नो अभिनय जीवनको सुरुवात गरेका थिए ।[५]

यस चलचित्रको छायाङ्कन ३ देखि ४ महिनाको समयावधिमा पूरा गरिएको थियो र निर्माण पछिका कार्यहरू भारतको कोलकातामा ६ महिनाको अवधिमा पूरा भएको थियो ।[४][६] चलचित्रका धेरैजसो दृश्यहरू एकै चोटी छायाङ्कन गरिएको थियो ।[७] भुवन चन्दलाई यस चलचित्रमा भूमिका निर्वाह गर्नका लागि रु. ५,००० ज्यालाको रूपमा दिइएको थियो ।[४] चन्दले काठमाडौँ क्रेजलाई भनेकी थिइन्, "चलचित्रका निर्देशकले छायाङ्कन गर्ने व्यक्तिलाई सोधेका थिए मलाई भाग दिने कि नदिने भनेर र उनले चाहिँ मेरो पक्षमा बोले । तसर्थ, मैले चलचित्रमा भूमिका निर्वाह गर्न पाउनुको श्रेय छायाङ्कनमा संलग्न देव र निर्देशक खत्रीलाई नै जान्छ ।"[४]

सार्वजनिकीकरण[सम्पादन गर्ने]

यस चलचित्रलाई वि.सं. २०२१ साल असोज २२ गते काठमाडौँ उपत्यकामा सार्वजनिक गरिएको थियो ।[१] फिल्म्स अफ नेपालकी सुनिताले लेखे अनुसार यो चलचित्र सार्वजनिक गरेपछि नै रातारात लोकप्रिय बन्यो ।[७] यो चलचित्रको सफलता पछि निर्देशक हिरासिंह खत्रीले नेपाली राष्ट्रवाद र देशभक्ति झल्काउने हिजो आज भोलि (वि.सं. २०२४) र परिवर्तन (वि.सं. २०२८) निर्माण गरे ।[८] नेपालमा नै निर्माण भएको प्रथम चलचित्रको रूपमा दर्ता गरिएको आमा नेपाली चलचित्रको इतिहासमा अत्यन्तै महत्त्वपूर्ण चलचित्र मानिन्छ ।[१][९][१०] चलचित्रको सार्वजनिकीकरण पछि त्यसमा संलग्न कलाकारहरू पनि प्रख्यात भए ।[११] काठमाडौँ फिल्म्समा प्रकाशित भए अनुसार "यो [आमा] नेपाली चलचित्रका लागि अत्यन्तै महत्त्वपूर्ण घटना हो ।"[६]

आलोचनात्मक प्रतिक्रिया[सम्पादन गर्ने]

बस नेपालमा छापिएको थियो, "यो चलचित्रको शीर्षक पनि सुहाउँदो खाले नै छ...आमाले हामीलाई के आशा राख्ने भनेर स्वतः बताउँछ र त्यो आशा पूरा गर्छ । यसको शीर्षक र चलचित्रको विषयवस्तुले एक अर्काको पूरकको रूपमा काम गर्छन् ।" समालोचकले आमा एक चोटी हेर्नैपर्छ पनि भने ।[१] मिग्युलका फिलिप क्रायन मार्शलले भनेका थिए, "आमा स्पष्ट रूपमा नै राष्ट्र निर्माण गर्ने साधन थियो । दौरा सुरुवालढाका टोपी लगाएका पुरुष र सारीचोलो लगाएकी महिलाका साथै विश्वव्यापी रूपमा राष्ट्रिय एकता झल्काउने प्रतीकको रूपमा प्रयोग गरिने आमाको पवित्र छविद्वारा राष्ट्रियवाद र देशभक्तिका विषयवस्तुलाई दर्शाउन खोजिएको थियो, जसमा यो सफल पनि भयो ।"[११]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ "Aama, first movie produced in Nepal" [आमा, नेपालमा निर्मित प्रथम चलचित्र], बस नेपाल (अमेरिकी अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 
  2. २.० २.१ महर्जन, हर्षमान (वि.सं. २०२७), "Machinery of state control: History of cinema censor board in Nepal" [नेपाली चलचित्र सेन्सर बोर्डको इतिहास], बोधी (अङ्ग्रेजीमा) (१): १६८–१९०, आइएसएसएन 2091-0479, डिओआई:10.3126/bodhi.v4i1.5818 
  3. कोर्डेकी, आन्या, "Kollywood: The Essential Films of Nepal" [कलिउड: महत्त्वपूर्ण नेपाली चलचित्रहरू], कल्चर ट्रिप, मूलबाट वि.सं. २०७६ साल कार्तिक २२ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल भाद्र ५ गते 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ "For Every Mood and Every Move | First nepali actress: Bhuwan Chand" [सबैका लागि | प्रथम नेपाली चलचित्र: भुवन चन्द], काठमाडौँ क्रेज, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 
  5. रातोपाटी, "Prominent Artist Rimal No More" [रहेनन् लोकप्रिय कलाकार हरिप्रसाद रिमाल], रातोपाटी (अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 
  6. ६.० ६.१ "Development of Film City in Dolkha" [दोलखामा चलचित्र सहरको निर्माण], चलचित्र विकास बोर्ड, नेपाल, वि.सं. २०७६ साल वैशाख ४ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित। 
  7. ७.० ७.१ "Nepali Film – Aama (1964)" [नेपाली चलचित्र - आमा (वि.सं. २०२१)], फिल्म्स अफ नेपाल (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०६६ साल जेठ १२ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 
  8. "Hira Singh Khatri, director" [हिरासिंह खत्री, निर्देशक], फिल्म्स अफ नेपाल (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०७२ साल वैशाख ७ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ५ गते 
  9. "Filming in Nepal – The history of Nepal Filming Industry" [नेपाली चलचित्र - नेपाली चलचित्र उद्योगको इतिहास], काठमाडौँ फिल्म्स (अमेरिकी अङ्ग्रेजीमा), वि.सं. २०७४ साल मंसिर २१ गते, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 
  10. पौडेल, राहत, "Talking Nepali movies" [नेपाली चलचित्रका बारेमा], माइ रिपब्लिका (अङ्ग्रेजीमा), मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ५ गते 
  11. ११.० ११.१ "Migyul" [मिग्युल], फिलिप मार्शल डट नेट, मूलबाट वि.सं. २०७६ साल वैशाख ५ गते-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७६ साल वैशाख ४ गते 

बाह्य कडी[सम्पादन गर्ने]