तिम्बुङ पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तिम्बु पोखरीबाट अनुप्रेषित)

तिम्बु पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ। जिल्लाको सुदुर दक्षिणपूर्वमा पर्ने, पाँचथरताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित तिम्बु पोखरी जिल्लाको सवैभन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल हो। पाँचथर जिल्ला सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा फलैचा र ताप्लेजुङ्ग जिल्लाको कालीखोला गाविसको अति नै दुर्गम तथा विकट भौगोलिक स्थानमा रहेको तिम्बु पोखरी समुन्द्री सतह देखि करिब ४,२३८ मिटरको उचाइमा छ। यो पोखरीको लम्बाइ करिब ४०० मिटर र चौडाइ २०० मिटर भएपनि गहिराइ भने पत्ता लागेको छैन। पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा पर्ने भएको हुँदा दुबै तर्फबाट आफ्नो सम्पदाको रूपमा तिम्बु पोखरीलाई लिएको पाइन्छ। वर्षभरिमा आठ महिना सम्म हिँउले ढाक्ने भएपनि जेष्ठ देखि भाद्र महिना सम्म मात्र हिउँ पग्लने गर्छ। यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरी छन। यसै क्षेत्रमा कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्डहरू माला जस्तै आकारमा रहेकाले यस स्थानलाई पूर्वको गोसाइँकुण्ड भन्ने गरिएको पाइन्छ। यहाँको प्राकृतिक सुन्दरता र दृष्यहरू पशु, पंक्षी, रंगीचंगी फूलहरू अनि अनेकौँ जडीबुटी देख्दा यहाँ पुग्ने जो कोहीलाई पनि स्वर्गमा पुगेको आभास हुन्छ। तिम्बु पोखरीबाट निस्केको मूलपानीबाट विशाल इवा नदीको उत्पति भएको छ। यो पोखरीको विशेषता के छ भने यहाँको पानी अतिनै सङ्गलो र पारदर्शी छ त्यसैले त्यति गहिरो पोखरीमा तीर्थयात्रीहरूले चढाएको पैसा र अन्य वस्तुहरू पोखरीका पीधमा विस्कुन सुकाए झैं स्पष्ट देखिन्छन्। पोखरीको सतहमा छिनछिनमा कुहिरोले ढाक्ने र उघ्रने क्रम दोहरी रहन्छ।

तिम्बु पोखरीको पानी बिरामीलाई खुवाएमा बिरामी निको हुन्छ भन्ने जनविश्वास रहेकाले यहाँ आउने यात्रीहरूले सो पोखरीको पानी वोतलमा लिएर जाने गरेको पाइन्छ। तिम्वु पोखरी रहेको स्थानबाट खुल्ला मौसम भएका बेला कञ्चनजङ्घा र कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरू मनोहक दृष्य, तराइका विशाल फाँटहरू, अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङ सहरहरूको पनि दृश्यावलोकन समेत गर्न सकिन्छ। पोखरीको छेउछाउमा फुल्ने क्यान्जो नामक फूलजातको जडिबुटीले त्यहाँको वातावरण सुगन्धित र मनमोहक हुन्छ। तिम्बु पोखरी क्षेत्र मानव वस्ती देखि टाढा भएकोले यहाँ अनेकौ प्रकारका जडिबुटी तथा फूलहरू पाइन्छन्। विभिन्न रङ्गका गुराँस, चिमल, क्यान्जो, माइकोपिला, सुनाखरी तथा विभिन्न जडिबुटी, रंगीविरंगी फूलहरू फूलेको बेला प्रकृतिको अनुपम सुन्दरताले सवैको मन पगाल्छ। यहाँ क्यान्जोका साथै अन्य जडिबुटीहरूमा जस्तै यार्शागुम्बा, पाँचऔले, माइकोपीला, हडचुड, पदमचाल, कालो तथा सेतो विख्मा, कुड्की, पाखनवेत, बुढोओखती, चिराइतो जातका औषधी र किटनाशक औषधीको रूपमा प्रयोग गर्न सकिने विषका बोटहरू तथा विभिन्न प्रकारका सुगन्धीत धुपकोरूपमा प्रयोग गर्न सकिने भैरुङ्पाती, सुनपाती, सक्पा जस्ता वनस्पतिहरू पनि प्रशस्तै पाइन्छन्। यहाँ पाइने जीव जन्तुहरूमा भालु, कस्तुरी, वनभेडा, वँदेल रातोपाण्डा र हिउँ चितुवा आदि हुन।