नेपालमा इन्जिनियरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा इन्जिनियरिङ विधाको प्रयोग र प्रवेश कहिलेदेखि भएको हो, यकिन छैन। युरोपको आधुनिक क्रान्तिसँगै विश्वव्यापी रूपमा प्रविधिप्रतिको आकर्षण वृद्धि भएको कारणले राणाकालीन नेपालमा आधुनिक इन्जिनियरिङ ज्ञानबारे चासो राखिएको देखिएको छ।

इतिहास खोतल्दा सन् १८९५ले विशेष महत्त्व राख्छ। पहिलोपटक यस मितिमा नेपाली इन्जिनियर किशोर नरसिंह राणा र इन्जिनियर कुमार नरसिंह राणाहरूले आधुनिक इन्जिनियरिङ शिक्षा प्राप्त गरेका थिए। राणाकालीन समयमा निर्माण भएका अधिकांश पूर्वाधार यी राणा दाजुभाइको उपलब्धि मानिन्छ। नेपालभित्रै इन्जिनियरिङ शिक्षा दिने कार्यको सुरुवात सन् १९४२ देखि भएको हो र यसको श्रेय कुल रत्न तुलाधरलाई जान्छ। उहाँले नेपालमा ट्रेड लेभलको इन्जिरियरिङ शिक्षाबाट सुरु गरेको संस्था इन्जिनियरिङ अध्ययन संस्थानका रूपमा देश-विदेशमा ख्याति कमाउन सफल भएको छ।

नेपालमा इन्जिनियरिङ संरचना सुरुवातको सवालमा पनि ठयाक्कै तिथिमिति किटान गर्न गार्‍हो छ। एक सय आठ वर्षअघि थानकोटसम्म पैदल आइपुगेका फ्रान्सेली इतिहासकार सिल्भेन लेभीले त्यहाँबाट काठमाडौंसम्म पुग्ने १४ किलोमिटर सडकको बयान गरेका छन्। त्यस अघिदेखि मन्दिर, भवन निर्माणका लागि नेपाली कलाकारहरूले नाम कमाएका थिए। आधुनिक इन्जिनियरिङको प्रवेशचाहिँ सन् १९०० पछि भएको मानिन्छ। सन् १९०० देखि १९३० सम्म (चन्द्रशमशेरको शासनकाल)मा नेपालमा आधुनिक प्रविधिको प्रयोगबाट धेरै काम सुरु भएको मानिन्छ। जस्तै- सन् १९११मा तयार भएको फर्पिङ जलविद्युत केन्द्र, सन् १९२७मा सञ्चालन भएको अमलेखगन्ज-रक्सौल रेलमार्ग, त्यही अवधिमा बनेको १४ माइल लामो धुर्सिङ रोपवे, त्रिचन्द्र कलेज निर्माण, टेलिफोन सेवाजस्ता इन्जिनियरिङ प्रयोगसँग सम्बन्धित सेवा सुरु भएका हुन्। त्यसपछि नेपाली इन्जिनियरहरूले निजामती सेवामा प्रवेश पाए।

२०१५-२०१६ देखि इन्जिनियरहरू सङ्गठित हुने प्रयास गरेका थिए। फलस्वरूप २०२४ सालमा नेपाल इन्जिनियर्स एसोसियसनको जन्म हुन पुग्यो। पञ्चायतकालमै इन्जिनियरहरूले परामर्श सेवा दिने काम थालेका हुन्। त्यही बेलादेखि नेपालको विकासमा दातृसंस्थाहरू हावी देखिन थाले। त्यसपछिको सुस्त गतिमा ०४०को दशकको सुरुवातसँगै नेपालको इन्जिनियरिङ क्षेत्रमा अनुसन्धान कार्य सुरु भएको हो। तत्कालीन युवा पुस्तामा इन्जिनियरहरू अनुसन्धानमा समेत संलग्न भएपछि नेपाल विकासमा दाताहरूको भूमिकामाथि प्रश्न उठ्न थाल्यो र विकासको वैकल्पिक अवधारणाको बहस सुरु भयो। अरुण तेस्रो जलविद्युत आयोजनामा दातृसंस्थाहरूको अव्यावहारिक सर्त र त्यसको विरोध, त्यसपछि चिलिमेजस्ता आयोजनाहरूको जन्म त्यही कालका बहसको योगदान हो।

०४६को जनआन्दोलनपछि निजामती सेवा इन्जिनियरहरूका लागि फराकिलो हुनुका साथै चुनौतीपूर्ण पनि हुन थाल्यो। निजामतीमा राजनीतीकरण भएपछि भ्रष्टाचारमा वृद्धि हुन थालेलगत्तै आमसरकारी इन्जिनियरमाथि घुस्याहाको आरोप सामान्य हुन पुग्यो। त्यही अवधिमा नेपाली इन्जिनियरहरूको बजार पनि विस्तार भएको हो। प्रजातन्त्र पुनःस्थापनापछि (सन् १९९०) इन्जिनियरिङ शिक्षामा निजी क्षेत्रको प्रवेश भयो। यसको श्रेय हालको नेपाल इन्जिनियरिङ कलेज र तिनका प्रवर्तकहरूलाई जान्छ। आज देशमा २५ वटाभन्दा बढी निजी इन्जिनियरिङ कलेज छन्। वर्षेनि दुई हजारभन्दा बढी इन्जिनियर उत्पादन हुन्छन्। नेपालभित्रै विभिन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर, विद्यावारिधीसम्म पढाइ सुरु भएको छ।