सामग्रीमा जानुहोस्

नेपाली शब्दकोश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली शब्दकोश नेपाली भाषाका शब्दहरूको अर्थ, उत्पत्ति, स्रोत, पर्याय, विपर्याय, हिज्जे, व्याकरण, उच्चारण र उदाहरणजस्ता जानकारी समेटिएको ग्रन्थ हो। विभिन्न समयमा विभिन्न कोशकारले आआफ्नो लक्षित उद्देश्य वा प्रयोजनअनुरुप उही वा अन्य भाषामा अर्थ उल्लेख गरी शब्दकोश निर्माण गरेका छन्।

नेपालमा शब्दकोशको इतिहास

[सम्पादन गर्नुहोस्]

एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल

[सम्पादन गर्नुहोस्]

चीनसँग नेपालको युद्ध हुँदा इस्ट इन्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए। केही समयपछि उनी फर्केका थिए। वि. सं. १८६८ मा उनले लन्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर 'एन अकाउन्ट अफ द किङ्डम अफ नेपाल' नामक पुस्तकमा सात/आठ सय जति नेपालीनेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र यो नै नेपालको पहिलो शब्दकोश मानिन्छ।

नेपाली व्याकरण र शब्दावली

[सम्पादन गर्नुहोस्]

वि.सं. १८७७ मा अङ्ग्रेज नागरिक सि. यु. एटनले नेपाली भाषाको व्याकरण तयार गरी भारतको कलकत्ताबाट नेपाली भाषामा प्रकाशित गराएका थिए । त्यसैगरी वि.सं. १९४४ मा ए. टर्नबुलले 'नेपाली व्याकरण र शब्दावली' को प्रथम संस्करण भारतकै दार्जीलिङबाट प्रकाशित गरेका थिए।

व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश

[सम्पादन गर्नुहोस्]

वि.सं. १९८७ मा प्रकाशित भएको राल्फ लिली टर्नरको लन्डनबाट प्रकाशित 'व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश' नै सबैभन्दा ठूलो शब्दकोश मानिएको छ।

सङ्क्षिप्त नेपाली शब्दकोश र नेपाली शब्दकोश

[सम्पादन गर्नुहोस्]

यसपछि नेपाली भाषाको शब्दकोश निर्माणको क्रम चलेको थियो। नेपालका उत्साही भाषाविद्हरूले पनि यस कामको थालनी गरेका थिए। वि.सं. १९८८/८९ ताका पण्डित चक्रपाणि चालिसेको दुई स-साना शब्दकोश, पण्डित रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित र नेपाली भाषा प्रकाशिनी समिति (ने. भा. प्र. स.)बाट प्रकाशित 'सङ्क्षिप्त नेपाली शब्दकोश' साथै वि.सं. २०१९ मा भाषासेवी बालचन्द्र शर्माद्वारा सम्पादित र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान प्रकाशित 'नेपाली शब्दकोश' प्रकाशनमा आएको थियो।

नेपाली बृहत् शब्दकोश

[सम्पादन गर्नुहोस्]

वि.सं. २०४० मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले 'नेपाली वृहत् शब्दकोश' प्रकाशनमा ल्याएको यस शब्दकोश प्रथम संस्करणमा ५७ हजार जति शब्दहरू रहेका थिए। वि.सं २०७५ मा, यसको दसौँ संस्करण प्रकाशित भएको थियो।[१]

नेपाली शब्दसागर

[सम्पादन गर्नुहोस्]

वि.सं. २०५७ सालमा नेपाली बजारमा आएको 'नेपाली शब्दसागर' शब्दकोश वसन्तकुमार शर्मा 'नेपाल' द्वारा धेरै वर्ष लगाएर तयार पारिएको थियो र उक्त शब्दकोश नै हालसम्मका अन्य नेपाली शब्दकोशका कृतिहरूमा अद्वितीय एवम् विशाल ग्रन्थका रूपमा रहेको छ। यस शब्दकोशभित्र एक लाख आठ हजार शब्दहरू रहेका छन्। [२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नेपाली बृहत् शब्दकोशको नवौँ र दसौँ संस्करणमा वर्णविन्यास प्रयोगको संक्षिप्त तुलना", नयाँ पत्रिका (नेपालीमा), ३० जेठ २०८१। 
  2. युवामञ्च वर्ष, अङ्क, मङ्सिर २०६६, गोरखापत्र संस्थान