सामग्रीमा जानुहोस्

भक्तपुरको युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुरको युद्ध
नेपालको गोर्खाली विजयीको भाग

भक्तपुर दरबार क्षेत्र, शाही दरबार परिसर, १८५४ मा
मिति१७६९
स्थान
परिणाम गोर्खाली विजय
योद्धा
भक्तपुर राज्य
चौदण्डी
गोर्खाली
सेनापतिहरू
रणजीत मल्ल पृथ्वीनारायण शाह
शक्ति
३०००
३०० नगरकोटी सेना
१५०० []
मृत्यु र क्षति
२,००१ जना मारिए
५०१ घर आगोको सेट
अज्ञात
भक्तपुरको युद्ध is located in नेपाल
गोर्खा
गोर्खा
भक्तपुर
भक्तपुर
वर्तमान समयमा नेपालमा स्थान

भक्तपुरको युद्ध नेपालको गोर्खा विजयमा अन्तिम अभियान थिए। [] गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गर्ने क्रममा कान्तिपुर र ललितपुर नाम मात्रको लडाई लडेर जितेका भएपनि भक्तपुर जित्न भने ठूलै संघर्ष गर्नु परेको थियो ।[]

गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्लतेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई सरण दिएका थिए ।[] वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुरमा राजनीतिक शरण लिए । रणजीत मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजित मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।

दुई दिनसम्म चलेको यस युद्धमा ५०० घर नष्ट हुनाका साथै दुबै पक्ष तर्फ गरी दुई हजार भन्दा बढी मानिसहरुले वीरगति पाए । जयप्रकाश मल्लले कान्तिपुरमा भएको गोरखाको आकस्मिक हमला सामना गर्न नसके पनि यस युद्धमा उनले बहादुरीसाथ लडेर वीरताको परिचय दिए । उनको यस वीरतादेखि पृथ्वीनारायण शाह स्वयं पनि अत्यन्त प्रभावित भए । उनीप्रति राजकीय व्यवहार देखाए ।[]

वि सं १८२५ नेपाल उपत्यका विजय गर्ने योजना अनुरुप कान्तिपुर र ललितपुरमाथि आफ्नो नियन्त्रण गरे । रणजित मल्ल मितेरी नातामा पृथ्वीनारायणका मीतबाबु थिए। ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन्। उनले जोरी खोज्ने जयप्रकाश मल्ललाई जितिहाले, टेढिएर बसेका जबर पाटनका प्रधान वश भइहाले। ढिलोचाँडो भक्तपुर हात नलाग्ने सवालै थिएन।

बुढेसकालमा मीतबाबुलाई किन दुःख दिनु, बनेपामा राजाकै जीवन विताउन दिने पृथ्वीनारायणको विचार थियो। रणजित मल्लका उत्तराधिकारी वीरनरसिंह एक मात्र औरसपुत्र (विवाहिते पट्टिका) थिए। तिनलाई मठ्याहा (ल्याइतेपट्टिका) अजितसिंह–अवधूतसिंहहरूले टुनामुना गरेर मारिसकेका थिए। पुत्रशोकले प्रताडित राजा रणजित मठ्याहा छोरालाई युवराज बनाउने पक्षमा थिएनन्। बरु मीत छोरा पृथ्वीनारायणलाई राजा भएको हेर्न चाहन्थे। त्यसैले उनले 'मेरा दुई छोरा थिए, एक प्रयोगमा परेर वितेपछि तिमी एक मात्र मीतछोरा बाँकी रह्यौ, यो राज्य अब तिम्रै भयो' भनेर पहिल्यै भनिसकेका थिए।

यो कुरा राम्ररी बुझेका पृथ्वीनारायणमा भक्तपुरबारे कत्ति पनि चिन्ता थिएन, जित्ने हतारोमा पनि थिएनन्। उनी जयप्रकाश र तेजनरसिंहलाई पनि थकाएर, फकाएर आत्मसमर्पण गराउन चाहन्थे। यस विषयमा उनले मीतबाबुलाई लेखेर पठाइसकेका थिए। रणजित मल्लले 'म सनातन धर्मको पक्षपाती हुँ, शरण पर्न आएका राजालाई सुरुक्क कसरी सुम्पनु! मेरो धर्म पुग्दैन, शरणको मरण कसरी गरौं, तिमी नै भन' भनेर प्रत्युत्तर पठाएका थिए।

गोरखाली आक्रमणको समयमा भक्तपुरमा रणजित मल्ल राजा थिए, जो शान्त, सरल र धार्मिक स्वभावका थिए ।[]

भक्तपुर विजय बिना समग्र नेपाल उपत्यका आफ्नो पकडमा आउन सक्दैनथ्यो । यसैकारण सर्वप्रथम उनले भक्तपुरका राजा तथा आफ्ना मीतबाबु रणजित मल्ललाई भक्तपुर पुगेका दुवै भगुवा राजाहरुलाई फिर्ता पठाउनु भन्ने सन्देश पठाए । कान्तिपुरका जयप्रकाश मल्ल र ललितपुरका तेजनरसिंह मल्ल यतिखेर आफ्ना राज्यबाट भागेर सर्वप्रथम भक्तपुरको दत्तात्रय मन्दिरमा आई बसेका थिए ।

उनीहरु शरणका लागि गोरखाको चिरपरिचित शत्रु चौबिसी राज्यहरुमा पनि जान सक्थे । तर बीचबाटोमा गोरखालीले पक्रन सक्ने डर भएकोले त्यता नगएर भक्तपुर आएका देखिन्छन् । दत्तात्रय मन्दिरबाटै उनीहरुले राजा रणजित मल्ल कहाँ शरण मागेको खबर पठाए । राजा ठूलो धर्मसंकटमा परे । शरण दिउँ त गोरखाको एकिकृत शक्तिसंग जुध्नु पर्ने, नदिउँ त धर्म र न्यायिक परम्परा विरुद्ध हुने । अतः शरण दिने कि नदिने भन्ने विषयमा पचपन्न झ्यालयुक्त राजप्रासादको मूलचोकमा राजा र उनका भारदारहरु लगायत भक्तपुरका २४ वटै टोलका प्रधानहरुबीच छलफल भयो, प्रजाबाट पनि जनमत लिइयो । अन्त्यमा सबैले पुरानो वैरभावलाई बिर्सेर शरण आएकोलाई मरण नगर्ने र लड्न परे तापनि लड्ने भनी राजालाई बिन्ति चढाएकाले राजाले पृथ्वीनारायण शाहको पत्रलाई लत्याई दिए । दुवै राजालाई ससम्मान भक्तपुरमा बस्न दिइयो । उनको यो कदम सर्वथा उचित र न्यायसंगत कदम थियो किनकि यसले धर्म, न्याय र सहिष्णुताको आदर्शलाई पछ्याएको थियो । यस भन्दा पनि महत्वपूर्ण कुरा के थियो भने राज्यमा जस्तोसुकै संकट आइपर्दा पनि त्यसबारे के गर्ने भन्ने सवालमा जनताको राय लिने उनको जुन मान्यता रह्यो त्यसले गर्दा उनी प्रजातन्त्रप्रेमी राजा थिए भन्ने कुरामा कसैको दुइमत हुन सक्दैन । यसपछि पृथ्वीनारायणशाहले रणजित मल्ललाई आत्मसमर्पण गर्न अनुरोध गरे, तर उनले आत्मसमर्पण गरेनन्।

राजा जयप्रकाश मल्ल भने पाटनका प्रधानहरूलाई जस्तै फेरि अंग्रेजबहादुर सहायता गर्न अवश्य आउँछ, गोरखालीलाई धपाएर हामीलाई नै राजगद्दीमा बसाउँछ अनि तिमीहरूलाई भक्तपुरको उत्तराधिकारी बनाउँला भनेर रणजितका मठ्याहा छोरा अजितसिंह र अवधूतसिंहलाई उक्साई आत्मसमर्पण नगर्न जोड लाइराखेका थिए। अंग्रेज इष्ट इन्डिया कम्पनीका अधिकारीहरूले नेपाल जित्न दोस्रोपटक नजाने निर्णय लिइसकेका थिए। जयप्रकाश मल्लले अंग्रेजसँग ढिपी लाइराखेका थिए र रणजितलाई पनि आत्मसमर्पण गर्न दिइरहेका थिएनन्। उनी यता पूर्व चौदण्डी, विजयपुरसँग पनि धनबल, जनबल सहायता मागेर युद्ध लड्ने सुरमा थिए। जयप्रकाश मल्लकै जिद्दीले तिनीहरू त्यहाँ अडेर बसेका थिए। यता पृथ्वीनारायणले ढिलोचाँडो मीतबा मिल्न आउँछन् भन्ने सोची आफूले जितेका देशमा सुव्यवस्था कायम गर्दै वसन्तपुर दरबार निर्माणमा एक वर्ष बिताए।

पृथ्वीनारायण शाहले ज्योतिषी कुलानन्दले हेरेको साइतमा ने.सं. ८९० अर्थात् वि.सं. १८२६ कार्तिक शुक्ल द्वादशीका दिन राति भक्तपुरमा आक्रमण गरे। गोरखाली सैनिकहरु लगभग १५०० को संख्यामा थिए, जसमध्ये आधा सेनासंग बन्दूक थियो भने बाँकी आधासंग धनु, काँड र खुकुरी आदि थिए । यस युद्धमा गोर्खाली फौजले साना तोपबाट पनि आक्रमण गरेका थिए । जुन तोप गोर्खालीले सिन्धुली गढीको युद्धमा कप्तान किनलोकको अंग्रेजी फौजबाट खोसेको अनुमान हुन्छ । भक्तपुरतर्फ पनि निक्कै सेना थिए । भक्तपुरका स्थायी सेना बाहेक जयप्रकाश मल्लका नगरकोटी सेना (मधेसी सेना) तथा चौदण्डीबाट आएका किराती सैनिकहरु पनि थिए ।[]

पृथ्वीनारायणले भाइ शूरप्रताप र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वि.सं. १८२६ कार्तिक २८ गते (१० नोभेम्बर १७६९) भक्तपुर दरबारको पूर्वाद्वारबाट शूरप्रताप शाहको अगुवाइमा गोर्खाली सेना भक्तपुरभित्र घुसे।[]

वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।

भोलिपल्ट बिहान गोरखाली फौज आ–आफ्ना स्थानबाट अगाडि बढी सुकुलढोकामा भेला भए । त्यहाँबाट आधा सेना जगन्नाथ देवलतिर लागे भने अर्को भाग अर्कैतिरबाट अगि बढ्यो । दिनभर युद्ध चल्यो । यो युद्ध खुल्ला मैदानको युद्ध जस्तै थियो अर्थात् यसमा दुवै पक्षबाट साहस र वीरता प्रदर्शन गरिएको थियो । तर पनि गोरखाली फौजले युद्धको नियम पालन गरेको देखिंदैन । किनकि युद्धको सामान्य नियमअनुसार रातको समयमा युद्ध रोक्नु पर्दथ्यो, तर रोकिएन । रातभरि पनि युद्ध चलिरह्यो । गोरखालीहरु कोही दरवारका छाना चढेर तथा कोही सुवर्णद्वारबाट मूलचोकमा पसेर गोली वर्षाउन थाले । गोरखालीहरुद्वारा दागिएका गोलीका दागहरु अद्यावधि त्यहाँ देख्न सकिन्छ ।

विहान मल्ल राजाहरु बसिरहेको हिटीचोक दरवारको छानामा चढेर गोरखालीहरु दरवार कव्जा गर्न आइपुगे । त्यहाँ जयप्रकाश मल्लले ल्याएका नगरकोटी सेनाको गोरखाली सेनासंग ठूलो भिडन्त भयो । त्यस दरवारमा सुरक्षा नहुने देखेर मल्ल राजाहरु कतै नजोड्एिको अग्लो छाना भएको पश्चिमतिरको चौकोट दरवारमा सर्न लागे । रणजितमल्ल र तेजनरसिंहमल्ल ठूलो युक्तिकासाथ चौकोट दरवारको माथिल्लो भागमा पुगे, तर कान्तिपुरका राजा जयप्रकाश मल्ल अलि पछि परेकाले भर्याङ्ग चढ्न लाग्दा एकाएक एउटा गोली आएर उनको दाहिने खुट्टामा लाग्यो र उनी हिंड्न नसक्ने भए । राजा रणजितमल्ल र तेजनरसिंह मल्लले घाइते जयप्रकाशलाई तानेर कोठाभित्र पुर्याए ।[] युद्ध चर्किरहेको थियो ।

भक्तपुरे सेनाको नेतृत्व जयप्रकाश मल्लले गर्दै आएको र अब उनी स्वयम् नै घाइते भएपछि राजा रणजित मल्ल हतोत्साहित भए । र अब आफ्नो अन्तिम समय आएको बुझेर उनले आफ्ना अङ्गरक्षक हेमनारायणको सल्लाहमा आत्मसमर्पण गर्ने निर्णय गरी आफूले लगाइराखेको पगरी फुकालेर झ्याल बाहिर झुण्ड्याइ दिए । आत्मसमर्पण गरेको बुझेर गोरखाली फौजले युद्ध बन्द गरे । तत्काल हानाहान बन्द भयो।[] शूरप्रताप शाहले माथि गएर मल्ल राजाहरुलाई घेरेर नियन्त्रणमा लिए । यसरी दुई हजार भन्दा बढी मानिसहरुको मृत्यु र पाँच सयभन्दा बढी घरहरु आगलागीमा ध्वस्त भएपछि वि.सं १८२६ मार्ग १ गते आइतबार कार्तिक शुक्ल चतुर्दशीका दिन भक्तपुरमा पृथ्वीनारायण शाहको अधिकार कायम भयो ।

आत्मसमर्पणको सूचना पाउनासाथ पृथ्वीनारायण शाहले भक्तपुरमा गएर तीनै राजाहरुलाई भेटे । जयप्रकाश मल्ललाई उनैको ईच्छाअनुसार पशुपति आर्यघाट पठाइदिए । खुट्टाको घाउको पीडाले त्यहीं वि.सं. १८२६ मार्ग २६ गते उनको मृत्यु भयो । तेजनरसिंह मल्लले केही माग गर्न नसक्दा उनी कैद गरिए । कैदी अवस्थामै तिनको मृत्यु भयो । भक्तपुर र कान्तिपुरका राजाहरु प्रसिद्ध मल्लवंशका राजपुत्र थिए, तर तेजनरसिंह मल्ल सामान्य दुनियाँ सरहका मानिस थिए । छ प्रधानहरुले राजा बनाउने क्रममै सोझो एवं धनी तेजनरसिंह मल्ललाई ललितपुर(पाटन)को राजा बनाइएको थियो । यसैले लक्ष्मीपुरमा नजरबन्द गर्न पठाइयो । त्यहीं तिनको मृत्यु भयो । तर पाटनका राजा तेजनरसिंह मल्लप्रति कडा व्यवहार हुनुमा यसभन्दा पनि महत्वपूर्ण कारण के हुन सक्छ भने उनी जयप्रकाश मल्ल जस्तै मृत्युशैयामा थिएनन् न त रणजित मल्ल जस्तै वृद्ध उमेरका नै थिए । पृथ्वीनारायणसंग उनको कुनै सम्बन्ध थिएन । उनले बदला लिन सक्ने संभावना थियो । अतः उनलाई स्वतन्त्र छोडेमा पृथ्वीनारायण शाह खतरामा पर्न सक्ने सोचेर भक्तपुरमा नै नजरबन्दमा राखे । यसका साथै पाटनले आफ्ना भाइ दलमर्दन शाहप्रति गरेको दुर्व्यवहारको बदला लिने भावना पनि पृथ्वीनारायण शाहमा आएको हुनसक्छ ।

रणजित मल्ललाई भने मीतबाबा भएका नाताले र आफ्नो एकीकरण अभियानमा परोक्ष रुपमा भएपनि सहयोग पाएका हुनाले उपत्यकाका केही गाउँहरुको राजा भएर बस्ने आगह गरे । ६७ वर्ष उमेर पुगिसकेका रणजित मल्लले सीमित ईलाकाको राजा भएर गोरखालीको अधीनमा बस्नु भन्दा काशीवास जानु नै श्रेयस्कर ठाने । उनको ईच्छाअनुसार पृथ्वीनारायण शाहले काशी जाने व्यवस्था गरिदिए । उपत्यका छोडेको अठार महिना पछि उनको काशीमै मृत्यु भयो । यसरी रणजित मल्ल नेपाल उपत्यकाका अन्तिम मल्ल राजा देखिन्छन् । किनकि भक्तपुरमा रणजित मल्लको पतन भएपछि नै नेपालबाट पूर्ण रुपले मल्ल राजवंशको अन्त्य भएको थियो ।[]

पृथ्वीनारायण शाह गएर जयप्रकाशलाई उनकै इच्छा बमोजिम गुह्येश्वरी पठाइदिए। उनी त्यतै बिते। रणजित मल्ललाई उनकै इच्छामुताविक ससम्मान काशीबास पठाए।

पृथ्वीनारायण भक्तपुरको राजा हुन हतारिएका कान्छा भाइ शूरप्रतापले विजयको खुसीयालीमा शिरोपाउसम्म पाएनन्। शहरमा युद्ध छेडेको भनेर पृथ्वीनारायण उल्टो रिसाए। त्यसैले तीनै भाइ बहिता लागे। मल्ल राजाहरूले जस्तै राज्य टुक्र्याउन चाहँदैनथे ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ kayastha, Balaram (Dec. २०२३), "भक्तपुरमाथि गोरखाली आक्रमणः एक विश्लेषणात्मक अध्ययन", Patan Prospective Journal 3 (2): 266। 
  2. Hamilton, Francis Buchanan (१८१९), An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha, Edinburgh: Longman, अन्तिम पहुँच २२ नोभेम्बर २०१२  Page 186.
  3. ३.० ३.१ ३.२ kayastha, Balaram (Dec. २०२३), "भक्तपुरमाथि गोरखाली आक्रमणः एक विश्लेषणात्मक अध्ययन", Patan Prospective Journal 3 (2): 1। 
  4. मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11
  5. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७९, आइएसबिएन 99933-2-406-X 
  6. kayastha, Balaram (Dec. २०२३), "भक्तपुरमाथि गोरखाली आक्रमणः एक विश्लेषणात्मक अध्ययन", Patan Prospective Journal 3 (2): 267। 
  7. पृथ्वीनारायणले नचाहेको विधिबाट भक्तपुर सर
  8. kayastha, Balaram (Dec. २०२३), "भक्तपुरमाथि गोरखाली आक्रमणः एक विश्लेषणात्मक अध्ययन", Patan Prospective Journal 3 (2): 268। 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]