भानुभक्तीय र तुलसीकृत रामायण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Aadikavi Bhanubhakta Acharya (अादिकवि भानुभक्त अाचार्य)
Gosvami Tulsidas II (गाेस्वामी तुलसीदास)

प्रस्तुत लेखको मूल उद्देश्य नेपाली भाषाका प्रख्यात कवि भानुभक्त आचार्य र हिन्दी भाषाका प्रख्यात कवि तुलसीदासको सामान्य परिचय दिनुका साथै केही विशेषताका आधारमा भानुभक्तीय रामायण र रामचरितमानसको तुलनात्मक अध्ययन प्रस्तुत गर्नु रहेको छ ।

परिचय[सम्पादन गर्ने]

भानुभक्त आचार्य (१८७१–१९२६ )[सम्पादन गर्ने]

भनुभक्त आचार्यका कवितात्मक छिटाद्वारा सिञ्चित नेपाली भाषा र साहित्य आज फुल्न र फल्न थालिसकेको छ, त्यसैले आदि कवि नभएर पनि उनले आदि कविको सम्मान पाइरहेका छन् । खुकुरीका भरमा नेपाललाई नेपाल बनाई नेपाली एकताको स्थापना गर्ने पृथ्वीनारायण शाह र हातमा कलम लिएर नेपाली भाषा र साहित्यको एकीकरण गरी विश्वसाहित्यमै नेपाली भाषाको परिचय स्थापित गराउने भानुभक्त आचार्य दुबै हाम्रा प्रातःस्मरणीय एवं बन्दनीय हुन् । भानुभक्त त्यस्ता व्यक्तित्त्व हुन् जसले एउटा घाँसीको सत्प्रेरणाबाट अध्यात्मरामायणको अनुवाद गरी नेपाली भाषामा रामायण तयार गरेर नेपाली साहित्यको भन्डार भर्ने अति महत्त्वपूर्ण र महान् कार्य गरेका हुनाले उनी लोकप्रिय र धन्य बनेका छन् ।

गोस्वामी तुलसीदास (वि.सं.१५५४—१६८०)[सम्पादन गर्ने]

हिन्दी साहित्यका महाकवि तुलसीदास संस्कृत साहित्यका समेत टुला विद्वान् हुन् । वेदवेदाङ्गका गहन अध्येता हुनुका साथै श्री रामका अनन्य भक्त एवं उपासकका रूपमा यिनी विश्व प्रसिद्ध मानिन्छन् । विक्रम संवत् १५५४, श्रावण शुक्ल सप्तमीका दिन भारतको प्रयाग जिल्ला अन्तर्गत राजपुर भन्ने स्थानमा यिनको जन्म भएको हो भने वि.स.१६८० मा वाराणसीको असीघाटमा रामनामको मन्त्र जप्दै यिनले आफ्नो नश्वर भौतिक शरीरलाई विसर्जन गरे । सांसारिक सुखभोग र विषयवासनालाई चट्ट त्यागेर भक्तिमार्गमा लाग्ने पे्ररणा तुलसीले आफ्नी पत्नीबाट प्राप्त गरेका थिए भन्ने कुरा उनको जीवनीबाट अवगत गर्न सकिन्छ ।उनको जीवनीका अनुसार एकपटक तुलसीदासकी प्रिय पत्नी माइत गइछन् । आशक्तिका कारण उनी पनि बेलुका टुप्लुक्कै पुगेछन् ससुराल । उनलाई देखेपछि उनकी पत्नीले अचम्म मान्दै भनिछन्— धिक्कार छ तिमीलाई र तिम्रो स्त्रीलम्पटतालाई । मेरो हाड र मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको एक चौथाइ मात्र भए पनि भगवान्मा हुन्थ्यो भने तिम्रो बेडापार हुनेथियो । त्यसबेला तुलसीदासकी प्रियतमाका ती शब्दवाणहरू सझै आएर उनका कोमल हृदयमा गाडिए । घायल तुलसी एकक्षण पनि नरोकिई त्यहाँबाट फर्किए । तत्काल उनले गृहस्थ वेश परित्याग गरी साधुवेश धारण गरे । भनिन्छ तुलसीदासलाई काक भुसुण्डी, हनुमान्, रामलक्ष्मण, याज्ञवल्क्य समेतको दर्शन गर्ने सुअवसर प्राप्त भएको थियो । पूर्ववर्ती महाकाव्यकारको अनुसरण गरी प्रारम्भमा तुलसीले संस्कृत भाषामा रामकाव्य रचना गरे, तर रात्रिका समयमा ती सबै हराउँथे । आठौं दिनसम्म त्यही घटना दोहोरिरह्यो । सोही रात सपनामा शङ्कर भगवान्ले तुलसीलाई अयोध्या गएर बस्न र आफ्नै भाषामा काव्य रचना गर्न आदेश र आशीर्वाद दिए । सपनाको सो आशीर्वादपछि वि.सं.१६३१ रामनवमीका दिन आरम्भ गरेर १६३३ रामविवाहका दिन तुलसीदासले रामचरितमानसलाई पूर्णता प्रदान गरेको देखिन्छ ।

विशेषता[सम्पादन गर्ने]

भानुभक्तीय रामायण र रामचरितमानसका अथाह विशेषतामध्ये निम्नलिखित विशेषताहरूको मात्र यहाँ चर्चा गर्ने काम गरिएको छ :

बनोट/संरचना[सम्पादन गर्ने]

कृतिमा पाइने अङ्क, दृश्य, अध्याय, सर्ग, काण्ड आदि जस्ता दघु घटकहरूको कुल योगलाई बनोट वा संरचना भनिन्छ । शैलीविज्ञानले यिनै साना घटकहरूको वर्णन–विश्लेषण गरी कृतिको आमूर्त बनोटलाई मूर्त पार्ने काम गर्छ । बनोट भन्नु नै संरचना हो । प्रगीतात्मक, नाटकीय र आख्यानात्मक गरी तिन मिसिमका संरचना हुन्छन्, शैलीविज्ञानका अध्येताहरूको भनाइ यस्तो रहेको छ । यी तिनमध्ये कथाकथन भएको संरचना आख्यानात्मक संरचना हो । यसमा प्रयुक्त कथावस्तुको आदि, मध्य, अन्त सहजै पहिचान गर्न सकिन्छ । यसमा चरित्रचित्रणको पर्याप्तता पनि रहन्छ । विषयवस्तुगत विविधता र वर्णनगत विस्तारले गर्दा आख्यानात्मक संरचना भएको कविता लामो आकारको हुन्छ (शर्मा २०५५)।[१] भानुभक्तीय रामायण, अध्यात्म रामायण, रामचरितमानस जस्ता कृतिहरू आख्यानात्मक संरचनामा आबद्ध रहेका पाइन्छन् । निम्नलिखित तालिकाबाट उपर्युक्त रामायणहरूको संरचना पहिल्याउन सकिन्छ :

क्र.सं. काण्ड↓/नाम→ अध्यात्म रामायण भानुभक्तीय रामायण तुलसीदासीय रामचरितमानस
१. बालकाण्ड सर्ग-७, श्लोक-३९१ सर्ग-७, श्लोक-१३२ दोहा-३३३, सोरठा-२८, हिन्दि छन्द-६१, सस्कृत छन्द-०७
२. अयोध्या काण्ड सर्ग-९, श्लोक-७२८ सर्ग-९, श्लोक-१२३ दोहा-३३१, सोरठा-१३, हिन्दि छन्द-१३, सस्कृत छन्द-०३
३. अरण्य काण्ड सर्ग-१०, श्लोक-५१६ सर्ग-१०, श्लोक-१२२ दोहा-४०, सोरठा-०६, हिन्दि छन्द-१३, सस्कृत छन्द-१२
४. किष्किन्धा काण्ड सर्ग-९, श्लोक-५६० सर्ग-९, श्लोक-१४३ दोहा-२८, सोरठा-०२, हिन्दि छन्द-०२, सस्कृत छन्द-०२
५. सुन्दर काण्ड सर्ग-५, श्लोक-३२७, सर्ग-५, श्लोक-१५९ दोहा-५९, सोरठा-०१, हिन्दि छन्द-०६, सस्कृत छन्द-०३
६. युद्धकाण्ड सर्ग-१६, श्लोक-१११६ सर्ग-१६, श्लोक-३८१ दोहा-११५, सोरठा-०६, हिन्दि छन्द-३५, सस्कृत छन्द-०३
७. उत्तर काण्ड सर्ग-९, श्लोक-६११ सर्ग-९, श्लोक-२५७ दोहा-११५, सोरठा-१६, हिन्दि छन्द-४८, सस्कृत छन्द-०५

बुनोट[सम्पादन गर्ने]

बनोटका पर्याधार (फ्रेम) मा पाइने लघुघटकहरूको कार्य र एउटा घटकको अर्का घटकसँग हुने सम्बन्धलाई बुनोट भनिन्छ । यो लघु, सीमित वा खण्डात्मक साहित्यिक प्रभावको तह हो । बनोट अमूर्त हुन्छ भने बुनोट मूर्त हुन्छ । भानुभक्तीय रामायणमा तथा रामचरितमानसमा बुनोटका घटकहरूमध्ये छन्द, रस, अलङ्कारको प्रयोगबारे निम्नानुसार सामान्य विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ :

छन्दविधान[सम्पादन गर्ने]

छन्द ग्रिक शब्द metron बाट व्युत्पन्न metre को नेपाली रूपान्तर हो । metron को अर्थ मापन भन्ने हुन्छ । संस्कृतमा छद्/छन्द् धातुमा घञ् प्रत्यय लागेर व्युत्पन्न छन्दको अर्थ बाँध्नु, आवृत्त गर्नु, रक्षित गर्नु प्रसन्न गर्नु भन्ने हुन्छ (लुइटेल २०६० : १३९)।[२] यसबाहेक छन्द शब्दले आनन्द दिने वस्तुलाई पनि बुझाउँछ । छन्दकाव्य भनेको पद्यकाव्य हो, किनभने छन्द शब्द पद्यको पर्यायवाची मानिन्छ । जुन रचना स्वर र लयका आधारमा वर्ण र मात्राको निश्चत संख्या र विश्रामको नियमले नियमित हुन्छ, त्यसलाई छन्द भनिन्छ, अर्थात् नियमित आवर्ती रूपविधानलार्इ भाषिक ढाँचा भजिन्छ भने उस्ता ढाँचाका आवृत्तिको नियमसमूहलार्इ काव्यशास्त्रले छन्दको संज्ञा दिएको छ (शर्मा ...पूर्ववत्)।[३] यस परिभाषाबाट छन्द काव्यको अनिवार्य वस्तु हो र यसले आनन्द प्रदान गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।

भानुभक्तीय रामायणमा छन्द[सम्पादन गर्ने]

नेपाली साहित्यको काव्यधाराको अध्ययनबाट के देखिन्छ भने नेपाली साहित्यमा छन्दको बीज प्राथमिक कालमा अङ्कुरित भएर आधुनिक कालमा पल्लवित एवं पुष्पित हुँदै अद्यावधि अविच्छिन्न रूपमा काव्यको स्थायी सम्पदा बन्दै आएको छ । यसरी हेर्दा प्राथमिक कालीन कविहरूमा भानुभक्त आचार्य नै यस्ता कवि हुन् जसले रामायणमा वार्णिक छन्दको विस्तृत एवं व्यापक प्रयोग गरेर यसको गरिमा बढाएका छन् । रससिद्ध कविका लागि छन्दबन्धन रहँदैन तापनि छन्द गतिको मर्यादा र सजीवताको द्योतक भएको हुनाले कविले आºना कृतिमा आत्मानुभूतिको जीवन्त गतिमय प्रवाहलाई छन्दको मर्यादाभित्र समावेश गराएर विभिन्न छन्दको प्रयोग गरेका छन् । भानुभक्त आचार्यले अध्यात्म रामायणमा अत्यधिक प्रयोग भएको अनुष्टुप् छन्दको प्रयोग नगरी उनका पूर्ववर्ती वसन्त जैसीले प्रयोग गरेको शार्दूलविक्रीडित छन्द र उनी स्वयंले बालक कालमा प्रयोग गरेको शिखरिणी छन्दलाई अधिकतम प्रयोगमा ल्याएका छन् । यी दुईमा पनि सबैभन्दा धेरै ठाउँमा र सबैभन्दा धेरै श्लोकहरूमा शार्दूलविक्रीडित छन्दको प्रयोग भएको छ । यो छन्द नेपालीहरूको जनजिब्रामा टाँसिएको अत्यन्त लोकप्रिय छन्दका रूपमा परिचित छ । रामायणलाई मुखाग्र गरेर मेला–पात, भात–भान्सा, ढिकी–जाँतो, बिहा–बटुलो, पूजा–आजाका अवसरमा यत्रतत्र सर्वत्र गाइएको र गाइने यस छन्दलाई छन्दको राजा मान्न सकिन्छ । गणका रूपमा म स ज स त त गुरु हुने उन्नाइस अक्षरे यस छन्दका प्रत्येक पाउको सातौँ र बाह्रौँ अक्षरमा विश्राम हुन्छ । रामायण महात्म्य, राम–वशिष्ठ सम्बाद, बालकाण्ड र अयोध्याकाण्डका विभिन्न प्रसङ्ग, तथा अरण्यकाण्ड, किष्किन्धाकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड एवं उत्तरकाण्डका विविध प्रसङ्गमा समेत यस छन्दको प्रयोग भएको पाइन्छ । यसरी हेर्दा भानुभक्तीय रामायणमा शार्दूलविक्रीडित छन्दको प्रयोग अधिकतम रूपमा भएको देखिन्छ । यस रामायणमा प्रयोग भएको दोस्रो छन्द शिखरिणी हो । यो कुरा माथि पनि भनिएको छ । सत्र अक्षरको एक पाउ हुने, गणमा य म न स भ लघु–गुरु हुने र छैटौँ र एघारौँ अक्षरमा विश्राम हुने यो छन्द बालकाण्डको राम–कौशल्या संवादमा र अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, युद्धकाण्ड जस्ता काण्डहरूमा आंशिक रूपमा प्रयोग भएको पाइन्छ । यस छन्दले काव्यलाई अति रुचिकर बनाउँनाका साथै सरसता पनि प्रदान गर्दछ । धेरैजसो करुणरसप्रधान घटनाहरूमा यसको प्रयोग भएको छ । यसको एउटा उदाहरण यसप्रकार छ—

गयो खान्या बेला मकन त मिल्यो राज्य वनको
भरत्ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा
म चाँडै फिर्न्याछू बिरह नहवस् कत्ति मनमा ।

भानुभक्तीय रामायणमा वसन्ततिलका छन्दको पनि प्रयोग भएको छ । योचौध अक्षरको एक पाउ हुने, गण समूहमा त भ ज ज गुरु गुरु हुने र आठ अक्षरमा विश्राम हुने छन्द हो । उदाहरणका लागि तलको श्लोकलाई लिन सकिन्छ—

जस्को पुजा तुलसि पत्र चढाइ गर्छन्
उस्ता पनि त भवसागर पार तर्छन् ।
यी ता उनै प्रभुजिका दुत हुन् त काहाँ
सक्नू छ वर्णन गरी यिनको त याहाँ ।
यो छन्द अंशतः अयोध्याकान्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड र उत्तरकाण्डमा प्रयोग भएको पाइन्छ ।

प्रस्तुत रामायणमा प्रयोग भएको अर्को छन्द स्रग्धरा हो । यसमा एक्काइस अक्षरको एक पाउ र चार पाउको एक श्लोक हुन्छ । गण समूहमा म र भ न य य य हुने र प्रत्येक सात हक्षरमा विश्राम हुने यो छन्द बालकाण्ड र अरण्यकाण्डमा प्रयोग भएको पाइन्छ । यसको एउटा उदाहरण—

डेरा देखी भरत्जी तहिं नजिक गया पाउका छाप देख्या
श्रीराम्का पाउका छाप् चिह्निकन खुशिले माथले ताहिँ टेक्या ।
भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ
ब्रह्माजीले नपाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।

पन्द्र अक्षरको एक पाउ हुने र चार पाउको एक श्लोक हुने मालिनी छन्दको गण समूहमा न न म य य हुन्छ भने प्रत्येक पाउको सातौं र आठौं अक्षरमा विश्राम हुन्छ । यो छन्द विशेष गरी सुन्दरताको वर्णनमा प्रयोग भएको पाइन्छ र भानुभक्तले पनि लङ्का शहरको सुन्दरताको वर्णनमा यस छन्दको प्रयोग गरेका छन्, जस्तै—

घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका
मणिजडित हुनाले झन् असल् छन् कुनैका ।
घुमि घुमिकन हेर्याँ सब् बगैंचा तलाऊ
सहजसित कसैको केही लाग्दैन दाऊ ।।

एघार अक्षर हुने, गण समूहमा त त ज गु गु हुने र पाचौँ र छैटाँ अक्षरमा विश्राम हुने इन्द्रवज्रा छन्द भानुभक्तीय रामायणको बालकाण्ड, अयोध्याकाण्ड र युद्धकाण्डमा अंशतः प्रयोग भएको पाएन्छ । यसको एउटा उदाहरण—

ईश्वर् तिमी हौ रघुनाथ् इ भाई
लक्ष्मण त शेष् हुन् करुणा जनाई ।
भूभार हर्नाकन जन्म लीयौ
यो रुप् भजन्र गर्न बनाइदीयौ ।।

यसरी भानुभक्तीय रामायणमा छबटा छन्दहरूको सफल प्रयोग भएको पाइन्छ । यसबाट भानुभक्तका उत्तरवर्ती कविहरूमा पनि प्रभाव पर्ने कुरा अझै पनि यथावत् रहिरहेको छ ।

रामचरितमानसमा छन्द[सम्पादन गर्ने]

तुलसीदासको रामचरितमानस आख्यानात्मक संरचना भएको महाकाव्य हो । यसमा शास्त्रीय छन्द र लोकछन्द दुबैको प्रयोग भएको छ । आख्यानात्मक संरचना भएको काव्यका निमित्त दोहा र चौपाईलाई उपयुक्त ठहर्याई मानसभित्रका यावत् आख्यानात्मक प्रसङ्गमा तुलसीले सेही अनुसार प्रयोग गरेका छन् । रससिद्ध कविका लागि छन्द-बन्धन स्वीकार्य हुदैन तापनि तर छन्द गतिको मर्यादा हो । गति सजीवताको द्योतक हो, त्यसैले तुलसीले आफ्नो काव्यमा छन्दको समुचित निर्वाह गरेका छन् । उनले बिचबिचमा प्रसङ्गानुसार अन्य छन्दको पनि प्रयोग गरेका छन्, जसअनुसार मात्रिक छन्दमा चौपाई, तोमर, कवित्त, छप्पय, डिल्ला, त्रिभंगी, हरिगीतिका आदि र वार्णिक छन्दमा इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी, वसन्ततिलका, वंशस्थ, शार्दूलविक्रीडित, स्रग्धरा, अनुष्टुप् जस्ता छन्दहरू रहेका छन् । रामचरितमानसमा छन्दहरूको स्थितितर्फ सङ्केत गर्दै प्रारम्भमा तुलसीदास स्वयंले यस्तो उद्घाष गरेका छन्—
छन्द सोरठा सुन्दर दोहा
सोइ बहुरङ्ग कमलकुल सोहा (तिवारी...पूर्ववत्)। [४] वास्तबमा कविको उद्गार सटीक, सार्थक र उपयुक्त देखिएको छ, किनभने छन्द, सोरठा, दोहाजस्ता सुन्दर कमलहरू काव्यरूपी सरोवरका शोभा हुन् ।
छन्दप्रयोगमा तुलसी अत्यन्त सचेत देखिएका छन्, किनभने उनले कथाप्रवाह, अनुभूतिगत आवेग, पात्रको गरिमा तथा नाद–सौन्दर्यका साथ छन्द–सामन्जस्यमा पूरा पूरा ध्यान दिएका छन् । छन्द परिवर्तन गर्ने कलामा पनि उनी निपुण देखिन्छन् । उनले जतासुकै छन्द परिवर्तन गरेको भेटिँदैन । छन्द परिवर्तन गर्दा उनले पूर्ववर्ती छन्दमा वर्णित उक्तिको अन्तिम अंशबाट परवर्ती छन्द–रचनाको आरम्भ गरेका छन् । यस किसिमको प्रयोबाट उनले कथालाई खण्डित हुनबाट सर्वथा बचाएका छन् । उदाहरणका लागि तलको उद्धरण हेरौं—

कहि न जाइ सब भाँति सुहावा । बाजि बेषु जनु काम बनावा ।। [५]
जनु बाजि बेषु बनाइ मनसिजु राम हित अति सोहई ।

यसरी हेर्दा तुलसीदास छन्दको प्रयोगमा पूर्ण सतर्क रहेको पाइन्छ ।। उनले सूक्ति–कथनका निमित्त दोहा र सोरठा; अद्भुत, भयानक, बीभत्स रसका निमित्त कवित्त, छप्पय र दण्डक; स्तुतिहरूका निमित्त इन्द्रवज्रा, तोटक, भुजङ्गप्रयात, मालिनी जस्ता वार्णिक छन्द तथा कथाको क्रमबद्ध प्रवाहका निमित्त चौपाईको समुचित प्रयोग गरेको पाइन्छ ।
छन्दप्रयोगका दृष्टिले देर्दा भानुभक्तीय रामायणमा वार्णिक छन्दको मात्र प्रयोग भएको देखिन्छ भने मानसमा वार्णिक मात्रिक दुबै प्रकारका छन्दको प्रयोग भएको पाइन्छ । भानुले सबै प्रसङ्गमा वार्णिक छन्दको प्रयोग गरेका छन् भने तुलसीले भगवत् स्तुतिहरूमा मात्र वार्णिक छन्दको प्रयोग गरेर अन्य सबै प्रसङ्गमा बहु प्रचलित एवं लोकप्रिय उपर्युक्त मात्रिक छन्दको प्रयोग गरेका छन् । तुलसीद्वारा संस्कृत भाषामा प्रयुक्त वार्णिक छन्दमा कहीँ कतै पनि छन्दभङ्ग भएको पाइदैन, तर भानुभक्तद्वारा नेपाली भाषामा प्रयुक्त वार्णिक छन्दमा कतैकतै छन्दभङ्ग भएको र अधिकांश ठाउँमा अपि माषं मषं कूर्यात् छन्दोभङ्ग नकारयेत् भन्ने सिद्धान्त लगाएर पनि छन्दभङ्ग हुन दिएको छैन । भानुभक्तको यो छन्द सम्बन्धी सचेतता प्रशंसनीय छ ।

रसविधान[सम्पादन गर्ने]

....रसो वै सः । रसो ह्येवायं लब्ध्वाऽऽनन्दी भवति[६]अर्थात् त्यो(ब्रह्म) नै रस हो । रसलाई पाएर नै त्यो आनन्दमग्न हुन्छ । सुप्रसिद्ध गौडीय वैष्णव आचार्य रूपगोस्वामीले भक्ति रसलाई रसतत्व प्रदान गरेको पाइन्छ । उनको कृति हरिभक्तिरसामृत सिन्धुमा भक्तिरसलाई शास्त्रीय रूप प्रदान गरिएको छ । उनले भक्ति रसलाई मूल रस र अन्य नव रसलाई भक्ति रसमा अन्तर्निहित रस मानेका छन् । त्यसैगरी मधुसूदन सरस्वती (१६०० इ) पनि भक्ति रसलाई शास्त्रीय रूप प्रदान गर्ने अर्का विद्वान् हुन् । केही आचार्यहरूले भक्तिरसलाई शान्तरसभित्रै अन्तर्भाव गरेका छन् । [७] अभिनवगुप्तले शान्तरसभित्र भक्तिरसलाई राखेर धृति, मति, स्मृति तथा उत्साहभित्र यसको अन्तर्भाव गरेका छन् भने आचार्य जगन्नाथले भक्तिरसको स्थायिभाव अनुराग र शान्तरसको स्थायिभाव वैराग्य वा निर्वेद भएकाले शान्तरसभित्र भक्तिरस अन्तर्भूत हुन सक्तैन भन्ने तर्क राखेका छन् । त्यसैले भक्तिरस र शान्तरस भिन्नभिन्न स्थयीभावको परिपाकमय अवस्था हुन् भन्न सकिन्छ।
निर्गुणोपासक र सगुणोपासक दुबै प्रकारका भक्तहरूले आआफ्ना हृदयको भावना आआफ्ना उपास्यप्रति व्यक्त गर्दै गरिएको रचनालाई भक्ति साहित्य भनिन्छ । यस्ता साहित्य पद्यात्मक र गद्यात्मक दुबै किसिमका हुन सक्छन् । यस्ता रचनाहरू साहित्यको उत्कर्षका लागि भन्दा पनि कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा सञ्चार गर्न प्रस्तुत गरिएका हन्छन् । मूलतः मानिसले किन र कसरी आदर्शमय आध्यात्मिक जीवन जिउनुपर्छ भन्ने कुरा नै भानुभक्तीय रामायण र रामचरितमानसको प्रमुख सन्देश रहेको पाइन्छ ।

भानुभक्तीय रामायणमा रस[सम्पादन गर्ने]

रामायण विभिन्न रसमा आप्लावित भगवद्गाथा किंवा महापुरुषको गाथा भएकाले यसमा विभिन्न किसिमका रसको बोध र व्यञ्जना हुन्छ नै । भानुभक्तीय रामायणमा जे जति रसानुभूति र रस योजना रहेको छ त्यो मूलबाटै स्थानान्तरित भएर आएको छ । यसमा वीरता प्रदर्शनका कार्यहरू नै बढी भएकाले वीर र रौद्र रसले स्थान पाउनु स्वाभाविक र आवश्यक देखिन्छ । यति हुँदाहुँदै पनि यहाँ भक्तिरस करुणरसको मर्मस्पर्शी पक्ष महत्त्वपूर्ण मानिन्छ । विशेषतः सुन्दरकाण्डमा करुण रसको सुन्दर परिपाक भएको छ । रावणको भयले ग्रस्त सीताको करुणाजनक मूर्ति र वेदनापूर्ण अवस्थाको चित्रण भानुभक्तले यसरी गरेका छन्—

भोकी कैलि निन्याउरीन त कपाल् कोर्याकि सब्केश् उसै ।
लट्टा मात्र धर्याकि खालि भुमिमा रुँदै बस्याकी यसै ।।
रांरांरां यति मात्र बोलि रहँदी देख्या र साना भई ।
पात्का अन्तरमा लुक्या ति हनुमान् रुख्का उपर्मा गई ।।[८]

भरतको विलाप र मिलाप, दशरथको मनोदशा; कौशल्या, तारा र मन्दोदरीको मनोभावको प्रसङ्गमा कविले करुण रसमा आºनो अभिव्इक्ति दिएका छन् । भयानक, वीभत्स,अद्भूत र वत्सल रस पनि काव्यमा यत्रतत्र पाउन सकिन्छ । कतैकतै हास्य रसको झलक पनि अनुभव गर्न पाइन्छ । समग्रमा भक्तिरस, करुणरस र वीररस मूल रसका रूपमा र अन्य रसहरू सहायक रसका रूपमा रहेका पाइन्छन् ।

रामचरितमानसमा रस[सम्पादन गर्ने]

अशोक वाटिकामा हनुमान्ले भेटेकी सीताको करुण अवस्थाको वर्णन तुलसीदासले यस प्रकार गरेका छन्—

देखि मनहि महुँ कीन्ह प्रनामा । बैठेहिं बीति जात निसि जामा ।।
कृस तनु सीस जटा एक बेनी । जपति हृदयँ रघुपति गुन श्रेनी ।।[९]।।

(अर्थात् हनुमान्ले सीतालाई देखेर मनमनै प्रणाम गरे । उनी (सीता) जागै बसेर चार प्रहर रात बिताउँथिन् । शरीर दुब्लो भएको थियो । सिरमा जटा बाँधेकी थिइन् । उनी मनमनै रघुनाथजीका गुणहरूको स्मरण/कीर्तन गर्थिन् ) ।

उपर्युक्त उदाहरणमा करुण रस र भक्ति रस दुबै समाहित छन् । यस रामायणमा पनि भानुभक्तीय रामायणमा झैँ विभिन्न रसको परिपाक भएको छ । यसमा अङ्गी रस कुन हो ? भन्नेबारे दुई मत हुन सक्छन् । कसैले यसलाई वीरगाथा मानी वीररस नै अङ्गी हो भन्न सक्छ र कसैले भक्तिरसलाई प्रधानता दिन सक्छ । भक्ति रसका निमित्त अपेक्षित मानिने रागात्मक तल्लीनता यहाँ प्रचूर मात्रामा रहेकाले यो रामायण भक्ति रसमा आप्लावित छ भन्दा फरक नपर्ला । किनभने यो रामायण पढेर अन्ततः जाग्रित हुने भाव भनेको रामभक्ति नै हो । नवरसकै समायोजन भएको प्रस्तुत रामायण भक्तिरसमा पूर्णतः आप्लवित छ भन्न सकिनछ ।

अलङ्कारविधान[सम्पादन गर्ने]

काव्यका सन्दर्भमा अलङ्कार शब्दको तात्पर्य काव्यको गहना वा आभूषण हो । काव्यमा गहना भनेको भाषागत काव्यसौन्दर्य हो । अर्थात् काव्यको शोभा गराउने धर्मलार्इ अलङ्कार भनिन्छ । [१०]यो काव्य वा साहित्यको अभिव्यक्ति पक्षसँग सम्बतन्धित शिल्प–सौन्दर्यको चमत्कृति प्रदान गर्ने तत्त्व हो तर कतिपय सन्दर्भमा साहित्यका रसध्वनि जस्ता आन्तरिक तत्त्वसँग पनि अभेद्य रूपमा संश्लिष्ट भएर देखा पर्न सक्ने प्रवृत्ति यसमा हुन्छ ।

भानुभक्तीय रामायणमा अलङ्कार[सम्पादन गर्ने]

अलङ्कारलाई मूलतः शब्दालङ्कार र अर्थालङ्कारमा विभाजन गरी अध्ययन गर्ने गरेको पाइन्छ । भानुभक्तीय रामायणमा शब्दालङ्कारको अन्त्यानुप्रास अलङ्कार यत्रतत्र सर्वत्र प्रयोग भएको पाइन्छ । यस रामायणको प्रमुख आलङ्कारिक विशेषता भनेको नै अन्त्यानुप्रासको सुन्दर प्रयोग हो । यसबाहेक कतैकतै छेकानुप्रासको प्रयोग पनि भएको देखिन्छ, जस्तै—

भ्रमरहरू लताका फूलमा हल्ली हल्ली
घुनुनु घुनुनु गर्दै हिंड्दछन् बल्लि बल्लि[११]।।

भानुभक्तीय रामायणमा अर्थालङ्कारका सुन्दर प्रयोगहरू प्रसस्तै पाइन्छन् । यसबाट काव्यमा प्राकृतिक सुन्दरता थनिपिएको पाइन्छ । अर्थालङ्कारका केही उदाहरण यसप्रकार छन्—

राग् द्वेष्का भेल चल्छन् भँवरि सरि यि युग् घुम्दछन् बीचमाहाँ ।
पुत्रादि मत्स्यझैं छन् रिस पनि वडवानल् सरीको छ ताहाँ ।।
कामैको जाल् छ ठूलो तर पनि बलियो तेहि जाल्लाई फारी ।
संसार्–सागर् सहज्मा तरिकन हरिथ्यैं बस्न जानेछु पारी [१२]।।

उपर्युधृत कवितांशको पहिलो र दोस्रो हरफका श्यामाङ्कित पदहरूले अर्थालङ्कार अन्तर्गत उपमा अलङ्कार प्रकट गरेका छन् भने चौथो हरफका श्यामाङ्कित पदमा रूपक अलङ्कार मुखरित भएको छ । रूपक अलङ्कारको अर्को सुन्दर उदाहरण हेरौं—

यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै ।
कौसल्या दशरथ्जिलाई रिसले वाक्–वाण् बजारिन् तसै [१३]।।
रामचरितमानसमा अलङ्कार[सम्पादन गर्ने]

तुलसीदास यस्ता व्यक्ति हुन्, जसले राम–नाम, राम–प्रताप, राम–महिमा, राम–कीर्ति, राम–चरित्र जस्ता कुराको वर्णन गर्नु नै आºनो काव्यलक्ष्य मानेका छन्; तर यसो हुँदाहुँदै पनि रामचरितमानसमा काव्य–कलाका सम्पूर्ण तत्त्वको सहज सन्निवेश रहेको देख्न सकिनछ । शब्दचयन, वाक्यसंघटन, उक्ति तथा मुहावराको सुन्दर प्रयोग, भावानुकूल भाषाको प्रयोग, संवाद–योजना, अलङ्कार–योजना आदि सवै दृष्टिबाट प्रस्तुत काव्य बेजोड देखिन्छ । अलङ्कार प्रयोगमा चाहे उपमा होस् या रूपक, उत्पे्रक्षा होस् या निदर्शना, सहोक्ति होस् या विनोक्ति, उदाहरण होस् या दृष्टान्त, मानस महाकाव्य सबैमा अनुपम रहेको थाहा पाइन्छ । मानसमा प्रयुक्त अलङ्कारमध्ये रूपक अलङ्कारको एउटा सुन्दर दृष्टान्त हेरौँ :

रामकथा सुन्दर कर तारी । संशय विहग उडाव निहारी ।।
रामकथा कलि विटप कुठारी । सादर सुनु गिरिराजकुमारी [१४]।।

(अर्थात् श्रीरामको कथा हातको सुन्दर ताली हो, जसले संदेहरूपी पक्षीलाई उडाइदिन्छ, त्यसरी नै श्रीरामको कथा एउटा यस्तो खुकुरी हो, जसले कलियुगरूपी वृक्षलाई छेदन गर्छ । (त्यसैले) हे पार्वती ? आदरपूर्वक रामकथा सुन) । कवि तुलसीदासले अलङ्कार प्रयोग गर्नुको उद्देश्य अलङ्कारको चमत्कार देखाउनु नभएर सीताको अलौकिक सौन्दर्यको व्यञ्जना प्रस्तुत गर्नु रहेको छ । वास्तबमा अलङ्कार प्रयोग गर्नु भनेको चमत्कार देखाउनु होइन, किनभने अलङ्कार साधन मात्र हो, साध्य चाहिँ अलङ्कार्य हो । सीताको सौन्दर्यको वर्णन गर्ने क्रममा तुलसीदासले प्रयोग गरेको एउटा अतुलनीय अलङ्कारको नमुना यसप्रकार रहेको छ :

जौं छवि सुधा पयोनिधि होई । परम रूप–मय कच्छप सोई ।।
सोभा रजु मंदरु सिंगारू । मथै पाणि–पैकज निज मारू [१५]।।
एहि विधि उपजै लच्छि जव सुन्दरता सुख मूल ।
तदपि सकोच समेत कबि कहहिं सीय समतूल [१६]।।

कवि सीताको उपमाका निमित्त उपयुक्त सुन्दरी नारीको खोजी गर्दछन् । उनी लक्ष्मीलाई पनि सीताको उपमानयोग्य पाउँदैनन् । उपर्युक्त कविताको नेपाली रूपान्तर— समुद्रबाट उत्पन्न लक्ष्मी कसरी सीताको उपमायोग्य हुन सक्छिन् ? उनका बाबु समुद्र नुनिला छन् । जुन समुद्रमन्थनका लागि भगवान्ले कठोर पिठ्युँ भएको कछुवाको रूप धारण गरेको थियो, विषधर वासुकी नागको डोरी बनाएको थियो, अतिशय कठोर मन्दराचल पर्वतलाई मधानीका रूपमा प्रयोग गरिएको थियो र सारा देवता र राक्षस मिलेर मन्थन गरेका थिए । जुन लक्ष्मीलाई अतिशय शोभाकी खानी एवं अनुपम सुन्दरीका रूपमा लिइन्छ, तर उनलाई प्रकट गर्न प्रयोग भएका उपकरणहरू असुन्दर र स्वभावैले कठोर छन् । यस्ता उपकरणबाट प्रकट भएकी लक्ष्मी सीता समान कसरी हुन्छिन् । यसप्रकारका संयोगबाट जब सुज्दरता तथा सुखकी मूल लक्ष्मी उत्पन्न भएकी छिन् तापनि कविहरू उनलाई सङ्कोचका साथ सीताको उपमानका रूपमा प्रयोग गर्छन् । महाकवि तुलसीदासको यसप्रकारको प्रयोगलाई टीकाकार हनुमानप्रसाद पोद्वारले अभूतोपमालङ्कारको संज्ञा दिएका छन् । यसरी हेर्दा तुलसीदासले (शुद्ध) अलङ्कारको मात्र प्रयोग नगरी अलङ्कार–ध्वनिको अधिकतम प्रयोग गरेका छन् । तुलसीदास यस्ता शृङ्गारिक कवि हुन् जसले गरेको सीताको शृङ्गार वर्णन एउटा मातृभक्त छोराले आफ्नी आमाको शृङ्गारिक वर्णन गरेजस्तै छ ।

भानुभक्तीय र तुलसीकृत रामायणको सूत्रात्मक तुलना[सम्पादन गर्ने]

क्र.सं. भानुभक्तीय रामायण क्र.सं. तुलसीकृत रामायण
अर्ध मौलिक पूर्ण मौलिक
सरल भाषामा लेखिएको आलङ्कारिक तथा मिथकधर्मी भाषामा लेखिएको
अध्यात्म रामायणको अनुवाद अध्यात्म र अन्य राम कथाहरूको उपयोग
नेपालीभाषी संसारमा लोकप्रिय हिन्दीभाषी संसारमा लोकप्रिय
निर्गुणत्व र सगुणत्वको समन्वय निर्गुणत्व र सगुणत्वको समन्वय
पूर्वीय काव्यसिद्धान्तको अपूर्ण पालना पूर्वीय काव्यसिद्धान्तको पूर्ण पालना
रामका आदर्शहरू सम्प्रेषण गर्ने ध्येय रामका आदर्शहरू सम्प्रेषण गर्ने ध्येय
भानुभक्तीय रामायण लगभग तिन सय वर्ष पछि लेखिएको मानस लगभग तिन सय वर्ष अघि लेखिएको
अध्यात्म रामायणकै अनुसरण, कतै कतै थप पनि अध्यात्म रामायणकै अनुसरण, कतै कतै थप पनि

उपसंहार[सम्पादन गर्ने]

भानुभक्तीय रामायण र रामचरितमानस दुबै सगुण भक्तिधारा अन्तर्गत पर्ने भक्ति काव्य हुन् । भारतीय साहित्यमा भक्ति धाराका साहित्यको ठूलो भूमिका रहँदै आएको पाइन्छ भने नेपाली साहित्यमा पनि यसको कम महत्त्व छैन । अध्यात्म रामायणलाई नेपालीमा रूपान्तरण गर्ने भानुभक्त नेपाली भक्तिसाहित्यका केन्द्रीय कवि हुन् भने अध्यात्म रामायण र अन्य रामायण समेतलाई आधार मानी रामचरितमानसको रचना गर्ने तुलसीदास भारतीय भक्तिसाहित्यका केन्द्रीय एवं महत्त्वपूर्ण कवि हुन् । उनको रामचरितमानस नानापुराणनिगमागमको सारलाई एकत्रित गरी भक्ति, ज्ञान र कर्मको समन्वयात्मक त्रिवेणी प्रवाहित गर्न सफल भएको छ । भानुभक्तीय रामायण अत्यन्त सरल तथा सुबोध शैलीमा लेखिएको छ भने तुलसीकृत रामायणको भाषाशैली आलङ्कारिक एवं मिथकधर्मी रहेको छ । दुबै रामायणमा निर्गुणत्व र सगुणत्वको सुन्दर समन्वय रहेको पाइन्छ भने दुबैमा रामका आदर्शहरू सम्प्रेषण गर्ने उद्देश्य रहेको देखिन्छ । भानुभक्तमा तुलसीदासको प्रभाव परेको हुनाले दुबै रामायणमा समानताको मात्रा अधिकतम रूपमा रहनु स्वाभाविक मानिन्छ । यी दुबै रामायण तत्कालीन भक्ति साहित्यका बेजोड नमुनाका रूपमा रहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  2. लुइटेल, डा.खगेन्द्रप्रसाद (२०६० : १३९), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  3. शर्मा, ----- (२०५५:१९), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडैां : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  4. तिवारी,डा.रामचन्द्र (सन् १९९९ : ८६), कथा रामकै गूढ, वाराणसी : विश्वविद्यालय प्रकाशन
  5. तुलसीदास, टीकाकार हनुमानप्रसाद पोद्दार (२०४६ : बालकाण्ड -३१४/४), रामचरितमानस, गोरखपुर, भारत : गोविन्दभवन कार्यालय, गीताप्रेस
  6. कल्याण उपनिषद् अङ्क ११ औं पुनर्मुद्रण (सं. २०६८ : ३४९), तैत्तिरीयोपनिषद् सप्तम अनुवाक्, गोरखपुर,भारत : गीताप्रेस
  7. नेपाली साहित्यकोश (२०५५ : ५४४/४५), भक्ति रस, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
  8. आचार्य, भानुभक्त {सं.बाबु सोमनाथजी (२०४६)} भानुभक्तीय रामायण, वाराणसी(भारत) : जय नेपाल प्रकाशन
  9. तुलसीदास,....पूर्ववत् (२०४६ : सुन्दरकाण्ड ७/४),......पूर्ववत्
  10. व्याख्याकार मिश्र, रामचन्द्र (सन् १९८४ तृ.सं.), काव्यादर्श, वाराणसी : चौखम्बा विद्या भवन
  11. तुलसीदास,....पूर्ववत् (२०४६ : (सुन्दरकाण्ड १६ ),......पूर्ववत्
  12. तुलसीदास,....पूर्ववत् (२०४६ : युद्धकाण्ड २४४),......पूर्ववत्
  13. तुलसीदास,....पूर्ववत् (२०४६ : अरण्यकाण्ड १६),......पूर्ववत्
  14. तुलसीदास,....पूर्ववत् (२०४६ : बालकाण्ड ११३/१),......पूर्ववत्
  15. तुलसीदास,....पूर्ववत् (२०४६ : पूर्ववत् २४६/४),......पूर्ववत्
  16. तुलसीदास,....पूर्ववत् (२०४६ : पूर्ववत्२४७),......पूर्ववत्