मेसोपोटामियाको सभ्यता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेसोपोटामियाको सभ्यताको नक्सा

ईसा पुर्व भन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस(फरात) दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो। यहि सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ। यो नाम प्राचीन युनानी वा ग्रीकहरूले राखेका थिए, वास्तवमा युनानी भाषामा मेसोपोटामियाको अर्थ दुई नदीको माझ भन्ने हुन्छ। मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएको थियो। उब्जाउ भूमि भएको हुनाले यसलाई फर्टाइल त्रेसेन्ट अर्थात् अर्धचन्द्राकार उर्वर भूमि भनियो।

सामान्यतया मेसोपोटामियाको सभ्यतालाई कृषिकाल, पुर्वसुमेरियनकाल, सुमेरियनकाल, बेबिलोनियन र असिरियन गरेर पाँच भागमा बाँडिएको छ। सभ्यताको सुरूको अवस्थालाई कृषिकाल भनिन्छ। पूर्वसुमेरियनकालमा नै श्रमको विभाजन गर्ने प्रचलन चलेको थियो। सुमेरियनहरू इन्डोयुरोपियन जातिका मानिस थिए। यिनीहरूले युफ्रेटस नदीको किनारमा जङ्गल झाडी सफा गरेर जौ र गहुँको खेती सुरू गरेको थियो। यिनीहरू गाई, गोरु र गधा जस्ता जनावर पाल्ने गर्दथे। यिनीहरू कुशल शिल्पकार तथा चित्रकार थिए। यिनीहरूले नै क्युनिफर्म नामको लिपि विकास गरेको थियो। हाम्रा घडीमा प्रयोग गरिने समयको विभाजन घडीको यिनीहरूलेनै गरेका थिए।जिगुरात पनि यहि कालखण्डमा बनाइएको थियो।

भौगोलिक प्रभाव[सम्पादन गर्ने]

मेसोपोटामियाको सभ्यताको विकासमा त्यहाँको भौगोलिक अवस्थाले निकै ठूलो प्रभाव पारेको थियो। मेसोपोटामियाको सभ्यता पूर्वी सिरियाको केही भाग र इराकको ठूलो क्षेत्रमा फैलिएका थियो। युफ्रेटस र टिग्रिस नदीका बिचमा अवस्थित मेसोपोटामिया प्राचीन सहरी सभ्यताको केन्द्र थियो।

मेसोपोटामियाका उर्वरभूमिबाट लोभिएर यसका गरिब छिमेकी मुलुकहरू यसतर्फ आकर्षित हुन्थे। त्यसै हुनाले यसका इतिहासमा सधैं घुरपैठ र युद्धका कुरा लेखिन्थे। यहाँ पानी थोरै परे पनि नदीबाट बनाइएका नहरका माध्यमबाट सिँचाइ गरेर प्रशस्त उत्पादन गरिन्थ्यो। यहाँका नदीहरूमन विभिन्न थरीका माछाहरू पाइन्थ्यो।

सुमेरियन सभ्यता[सम्पादन गर्ने]

सुमेरियन सभ्यताको उदय ईसा भन्दा ५००० वर्ष पहिले भएको थियो। यो सभ्यता प्राचीन मिश्रको सभ्यताको समसामयिक नै रहेको थियो। तिथिमितिका हिसाबले गणना गर्यो भने सुमेरियन सभ्यता मिश्रको सभ्यता भन्दा पुरानो नै हो भन्ने इतिहासकारहरूको तर्क रहेको छ। यस सभ्यताको संस्थापकहरू सुमेरियनहरूलाई नै लिने गरिन्छ। तर हालसम्म पनि सुमेरियनहरूको मुल थलो बारे इतिहासकारहरूमा विवादनै रहेको छ।

यो सभ्यता कालखण्डमा सुमेर लगाएत किसुक, उर, लुगास, निपर जस्ता सहरहरूको स्थापना भएको थियो। त्यसैले पनि सुमेरियन सभ्यता इतिहासमा सहरी सभ्यताको नामले निकै ख्याती प्राप्त रहेको छ।

राजनीतिक अवस्था[सम्पादन गर्ने]

सुमेरियनहरूले एउटा अत्यान्त‌नै संगठित राज्य स्थापना गरेका थिए। प्राचीन समयमा राज्यहरू विभिन्न नगर राज्यमा बाँडिएकाले नगर राज्य भनिन्थ्यो। यी नगर राज्यहरू स्वायत्ततामा स्वतन्त्र थिए। आफ्ना सामर्थ्य र शक्ति बढाउन नगर राज्यहरू आपसमा युद्ध गरिरहन्थे।

नगर शासनको प्रमुखलाई पटेसी भनिन्थ्यो। मुख्य पुरोहित र सेनापतिको काम पटेसीले नै गर्दथे। यिनीहरूको शासन धर्मद्वारा हुने गर्दथे। सुमेरियन कालमा राज्य सत्ताको नाममा अनेक लडाइ तथा युद्धहरू हुने गर्दथे। यस समय युद्धमा रथको]] प्रयोग हुने गर्दथ्यो। भने हतियारमा धनुष वाण, बर्छा, तरबार र भालाको प्रयोग हुने गर्दथ्यो।

आर्थिक अवस्था[सम्पादन गर्ने]

सुमेरियनहरूको प्रमुख आर्थ व्यवस्थाबा लागि कृषिलाई नै लिने गरिन्थ्यो। ईसा भन्दा करिब ४००० वर्ष पहिलेनै सुमेरियनहरूले सिँचाइका लागि नहरको व्यवस्था गरेका थिए। यहाँका जनताहरूको मुख्य जीविका नै कृषिमा निर्भर रहेको थियो। यहाँ जौ, गहुँ र खजुरको मुख्य खेती हुने गर्दथे भने गाई, गोरू, भेडा, बाख्रा र सुगुर मुख्य पशुपालन जनावर रहेको थियो। साथै धातुको सामाग्री बनाउने र यातायातका साधनहरूको विकास पनि यसै समय कालमा भएको थियो।

सामाजिक अवस्था[सम्पादन गर्ने]

सुमेरियनहरूको समाज तीन वर्गमा विभाजित रहेको थियो जस्मा उच्च, मध्यम र निम्न वर्गहरू थिए। उच्च वर्गमा राजवंश, दरबारिया, राज्यका पदाधिकारी, पुरोहित र सामन्तहरू पर्दथे। साथै व्यापारी र कृषकहरू मध्यम वर्गमा पर्दथे, भने समाजको निम्न स्तरमा दासहरू पर्दथे। प्रचीन सुमेरियन सभ्यतामा अत्याधिक रूपमा दासप्रथा रहेको थियो।

धार्मिक अवस्था[सम्पादन गर्ने]

सुमेर निवासीहरू धर्ममा ठूलो विश्वास राख्दथे। उनीहरूको विचार र भावना धर्मद्वारा प्रेरित हुन्थ्यो। यिनीहरू बहुदेववादमा विश्वास राख्दथे। हरेक सहरको स्वतन्त्र र अलग्गै देवताहरू हुन्थे। देवी देवताहरूका मन्दिरमा पुजारी र पुरोहितहरूको प्रधानता थियो। तन्त्रमन्त्र, जादुतुनामुना र भविष्यवाणी गरेता पनि सुमेरबासीहरू परलोक, स्वर्ग नर्कका विषयमा भने जानकार थिएनन्।

विज्ञान[सम्पादन गर्ने]

सुमेर बमसिहरू वर्ष, महिना, दिन तथा घण्टाको बारेमा ज्ञान रहेको थियो। गणितीय सामान्य ज्ञानबारे उनिहरू जानकार रहेका थिए। सुमेरियन सभ्यतामा चिकित्साशास्त्रको पनि सामान्य विकास भैसकेको थियो। साथै उनिहरू रोग पत्ता लगाउन जादु, टुना, तन्त्रमन्त्रमा पनि विश्वास राख्दथे।

कलाकौशल[सम्पादन गर्ने]

सुमेरियन सभ्यताको समयका पुरूषको एक मुर्ति

सुमेरियनहरू मूर्ति निर्माण तथा भवन निर्माण गर्न निकै सिपालु रहेका थिए उनिहरू योजनाबद्ध रूपबाट दुई टले घरहरू निर्माण गर्थे। मूल्यवान तथा चम्किलो पत्थरहरूबाट आकर्षित मूर्तिहरू बनाउथे। सुमेरमा शिक्षा, कला, साहित्य र लेखनकलाको पर्याप्त विकास भइसकेको थियो। माटाको सामान र पत्थरहरूमा बनेका चित्रहरू नै त्यतिबेलाको एक प्रमाण हो।

बेबिलोनियाको सभ्यता[सम्पादन गर्ने]

बेबिलोनियाको सभ्यतालाई मेसोपोटामियाको सभ्यताको दोस्रो चरण मानिन्छ। सुमेरियन सभ्यताको अवशेषबाट कालान्तरमा बेबिलोनियाको सभ्यताको उदय र विकास भएको थियो। सुमेरको नगर राज्यहरूमा भएको आपसी वैरभावको फाइदा उठाएर सेमेटिकहरूले हमला गरेर त्यहाँको अर्थ व्यवस्था र शासन व्यवस्था तहस नहस गरिदियो र सेमेटिक जातिको एउटा शाखा एमोराइटहरूले सुमेरको उत्तरमा आफ्नो साम्राज्य स्थापना गरे। यिनीहरूले आफ्नो साम्राज्यको राजधानी बेबिलोनमा बनाएका थिए।

राजनितीक अवस्था[सम्पादन गर्ने]

यो सभ्यतामा पनि राजालाई नै प्रशासनको प्रमुख रूपमा मानिने गर्दथ्यो। प्रशासनिक कार्य कडा व्यवहारबाट चलाइन्थ्यो कानुन कडा र निकै कठोर हुन्थ्यो। भने कानुनको निर्माता राजानै स्वयम् हुने गर्दथे।राजाको आदेशबाट नै राज्यमा कानुनको पालना कडा रूपमा गरिएको हुन्थ्यो। यो सभ्यताको अर्को राजनीतिक विशेषता भन्नुपर्दा राजनीतिक स्थिरतानै प्रशासनको आत्मा थियो।

सामाजिम अवस्था[सम्पादन गर्ने]

बेबिलोनिया सभ्यताको विवाह संस्कार

सुमेर समाजमा जस्तै बेबिलोनियामा पनि समाजलाई तीन तहमा विभाजन गरिएको थियो। यो समाजमा पनि दास प्रथा निकै व्यापक रूपमा रहेको थियो। भने समाजमा महिलाहरूको अवस्था राम्रो थियो। विवाहित महिलाहरूले पुरूषले जस्तै अधिकार पाउदथे।

आर्थिक अवस्था[सम्पादन गर्ने]

वास्तवमा कृषिनै बेबिलोनको आर्थिक अवस्थाको मुख्य जग हो। प्राचीन सभ्यताहरूमा अन्न उत्पादन तर्फ बेबिलोन सबैभन्दा अगाडि थियो। कृषि बाहेक उद्योगधन्दा पनि उन्नतिको अवस्थामा थियो। पशुपालन प्रमुख उद्योग थियो यहाँ काठ, छाला, र अन्य धातुका पदार्थहरूको उद्योग तीव्र रूपमा विकसित भइरहेको थियो। साथै मस्त्य पालन पनि बेबिलोनको प्रमुख उद्योग रहेको थियो।

व्यापारमा पनि अगाडि रहेको बेबिलोनियाको सभ्यतामा एसियाका टाढा टाढाका मुलुकमा समेत व्यापार चलेको थियो। धातु, काठ जस्ता साधनको आयात गर्ने बेबिलोनियाले अन्न तथा वस्त्रको मुख्य रूपमा निर्यात गर्ने गर्दथ्यो।

धार्मिक अवस्था[सम्पादन गर्ने]

बेबिलोनमा धर्मको ठूलो प्रभुत्व रहेको थियो। धर्म नै जीवनको आधार थियो। यहाँ पनि मानिसहरू भिन्दा भिन्दै देवताहरूको पूजा गर्दथे। सुमेरमा जस्तै बेबिलोनमा पनि शमस (सुर्य) र सिन (चन्द्रमा) को पूजा गर्ने चलन थियो। तर एनलिल र मारडुरक मुख्य देवता थिए। मारडुरलाई सर्वशक्तिमान देवता मानिन्थ्यो। वृक्ष र वनस्पतिको पुजामा पनि बोबिलोनका जनताहरू निकै विश्वास गर्दथे। तथा बेबिलोनियाहरू निकै अन्धविश्वासी रहेका थिए।

कलाकौशल[सम्पादन गर्ने]

बेबिलोनीयाको पहिलो राजवंशीको मुर्ति

बेबिलोनमा प्रचलित कलात्मक सामाग्रीहरूका अवशेषहरू थोरै मात्रामा पाइएको थियो। बेबिलोनका भवनहरू नष्ट भइसकेको कारण पछि त्यहाँ स्थापित कलाको विषयमा ठीकसँग पत्ता लगाउन सकिएन। मन्दिर र घरहरूको भित्तामा चित्रकारिता काम गरिन्थ्यो। तर ती चित्रकारितामा कलात्मकता र जीवताको अभाव थियो। साथै मुर्तिकलामा पनि त्यतिबेला खासै विकास भएको थिएन। भने बेबिलोनियामा अधिकांश मनुष्य र पशुको मुर्तिहरू निर्मार्ण हुने गर्दथे। यी मुर्तिहरूमा एकरूपता र विशालता थियो तर स्पष्टता र सजीवता भने रहेको थिएन।

लिपी र साहित्य[सम्पादन गर्ने]

बेबिलोनमा लिपी र साहित्यको अत्याधिक विकास भएको थियो। भिजेको माटोको चारपाटे सिलोटमा बाँसको कलमले लेख्थे। सुमेरका बासिन्दाबाट लिपिको कला यिनीहरूले सिकेका थिए। यिनीहरूको लिपीमा ३ सय शब्द खण्डहरू थिए। बेबिलोनीयाहरू सेमेटिक भाषा भाषामै बोल्ने तथा लेख्ने गर्दथे।

साहित्य क्षेत्रमा विशेष ढंगबाट महाकाव्यको रचना भएको थियो। विश्व साहित्यमा सर्वप्रथम महाकाव्य गिलगमेस' को रचना यहीँ भएको थियो। शिक्षाको क्षेत्रमा बेबिलोनको महान् उपलब्धि भएको थियो।

विज्ञान[सम्पादन गर्ने]

बेबिलोनले विज्ञानको क्षेत्रमा महान् उपलब्धि हासिल गरेको थियो। व्यापारको प्रगतिले विज्ञानको विकासमा ठूलो योगदान दिएको थियो। खगोलशास्त्र बेबिलोनियनहरूको मस्तिष्ककै उपज थियो। यिनीहरूमा समय, दुरी र राशिको बारेमा धेरै ज्ञान रहेको थियो। यिनीहरू क्षेत्रमीति र ज्यामितीका ज्ञानबाट पनि निकै परिचित रहेको थियो।

असिरियाको सभ्यता[सम्पादन गर्ने]

बेबिलोनियाको पतन पछि त्यहीँ क्षेत्रमा ट्रिग्रिस-फरातको उत्तरमा एउटा नयाँ राज्यको उदय भएको थियो। यो नयाँ राज्यको जन्मदाता सेमेटिक जातिका जनता थिए।

राजनीतिक अवस्था[सम्पादन गर्ने]

असिरीयाको राजनीतिक अवस्था सामरिक थियो। सबै असिरीयन शासकहरूले युद्ध गरेर नै साम्राज्य स्थापना गरेका थिए। सबै सम्राटहरू लडाकु, सहासी र विजेता थिए।युद्ध र सौन्यकलाको परम्परा असिरीयन सम्राटहरूको राजनितीमा भित्रिएको थियो। सम्राट नै साम्राज्यको सर्वेसर्वा हुन्थे। सम्राट नै प्रधान न्यायाधीश, मुख्य सेनापति र कानुनका वास्तविक विधाता थिए।

कानुन व्यवस्था[सम्पादन गर्ने]

असिरीयाको दण्ड कानुन निकै कडा र कठोर रहेको थियो, भने दण्ड विधानमा सबैलाई एउटै प्रकारको हुने गर्दथे। यो सभ्यता वा समयमा राजाले जे नियम बनाए त्यहीनै कानुनको रूप हुन्थ्यो। तल्लो तहको न्यालयका सबै मुद्दाहरूको अपिल राजा समक्ष गरिन्थ्यो। राजाको न्याय नै अन्तिम न्याय थियो। त्यसैले राजाले जस्तो फैसला भए पनि सबैलाई मान्य हुन्थे । मुद्दाको साक्षी शपथपत्रमा लेखिएको हुन्थ्यो।

शासन प्रणाली[सम्पादन गर्ने]

शासन प्रणालीको क्षेत्रमा असिरीयन साम्राज्यको मुख्य देन रहेको छ। एक समयमा असिरीया पश्चिम एसियाको सबभन्दा विशाल साम्राज्य थियो। यति ठूलो साम्राज्य सञ्चालन गर्न कडा कानुन र सैनिक बलको ठूलो महत्त्व थियो। असिरीयाको शासन प्रणालीको जगनै सैनिक व्यवस्थामा टिकेको थियो।

आर्थिक अवस्था[सम्पादन गर्ने]

असिरीयनहरूको आर्थिक अवस्था पनि कृषिमानै आधारित रहेको थियो। कृषिबाट खाद्यान्न प्रचुरमात्रामा उब्जाइन्थ्यो। गहुँ, जौ, जैतुन र अंगुर विशेष रूपमा उब्जनी गरिन्थ्यो। कपासको खेती हुन्थ्यो र सुती तथा उनी बस्त्रहरूको प्रयोग हुन्थ्यो। आसिरीयन साम्राज्यमा बालबालिकाहरूको खरिद बिक्रीको चलन रहेको थियो।

कलाकौशल[सम्पादन गर्ने]

असिरीयनहरूको कला कौशलको क्षेत्रमा कुनै मौलिकता थिएन। ता पनि केही पक्षहरूमा निखारिएको थियो। भवन निर्माणकला, मुर्ति निर्माणकला र नगरहरूको स्थापना कार्यमा निकै विस्तार भएको थियो। सडकको निर्माण पनि निकै द्रुतगतिमा भएको थियो। यो असिरीयाको सभ्यता कालमा शिल्पकार तथा कालीगढहरूको धेरै प्रतिष्ठा रहेको थियो। असिरीयनहरूले साहित्य विज्ञानको क्षेत्रमा केही देन दिएको मानिन्छ।

सामाजिक अवस्था[सम्पादन गर्ने]

असिरीयन सामज मुख्य गरि तीन वर्गमा विभाजित रहेको थियो। प्रथम वर्गमा सामन्त र पुरोहित पर्दथे, यिनीहरूको प्रभाव ती समाजमा निकै ठूलो रहेको थियो। मध्यम वर्गमा कालिगढ, व्यापारी र शिल्पकार पर्दथे। भने निम्म वर्गमा सर्वसाधारणहरू रहने गर्दथे। सर्वसाधारणमा सबैभन्दा दयनीय स्थिति दासहरूको थियो। समाजमा यिनीहरूलाई पशुजस्तो व्यवहार गरिन्थ्यो। दासलाई जनावरलाई जस्तो दिनभरि काममा खटाइन्थ्यो। असिरीयामा नारीहरूको अवस्था निकै दयनीय थियो। बेबिलोनमा जस्तो समाजमा नारीहरूलाई सम्मान थिएन। नारीहरू अक्सर पर्दा भित्र बस्नु पर्दथ्यो। पुरूषहरू वेश्यागमन गर्न सक्दथे भने नारीहरू पतिव्रता र पतिभक्त हुनु पर्दथ्यो।

यो पनि हेर्नूहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]