वर्ण विन्यास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो।यसलाई हिज्जे पनि भनिन्छ । वर्ण विन्यासलाई लिपि विन्यास पनि भन्न सकिन्छ । कुनै भाव वा विचार वा कुनै कुरा लेख्य भाषामा व्यक्त गर्दा वर्ण विन्यास मिलाउनुपर्छ । वर्णको सम्बन्ध अर्थसँग हुने भएकाले वर्ण विन्यासमा त्रुटि भएमा कुनै अभिव्यक्ति सही र स्पष्टरूपमा प्रकट हुन सक्दैन । लिखित अभिव्यक्तिमा लेख्य चिन्हहरूको शुद्ध, स्पष्ट र स्तरीय प्रयोगको आवश्यकता पर्दछ । यसका लागि नेपाली भाषाको वर्ण विन्याससम्बन्धी नियम, मान्यता र प्रचलनहरू बुझ्नुपर्ने हुन्छ ।

वर्णको परिचय[सम्पादन गर्ने]

वर्ण भनेको भाषाको लघुतम एकाइ हो। यो अविभाज्य हुन्छ। भाषाको सबैभन्दा सानो अर्थ विभेदक ध्वनिलाई वर्ण भनिन्छ। वर्णहरू अर्थ विभेदक हुन्छन्। अर्थ विभेदकताका आधारमा वर्णहरूको निर्धारण हुन्छ। जस्तै: लघुतम शब्द युग्म उच्चारण अर्थ भेदक एकाइ परिवेश अर्थ काल काल् क् आल् समय चाल चाल् च् आल् चालढाल, तरिका चाल ताल् त् आल् पोखरी, दह, चाल माल माल् म् आत् माल सामान साल साल् स् आल् वर्ष दाल दाल् द् आल् मास, रहर, आदिबाट दलेर बनाइएको बस्तु

उपर्युक्त शब्द युग्ममा परिवेश ः आल् एउटै छ तर सबै शब्दको अर्थ फरक फरक छ। एउटै परिवेश भएर पनि भिन्न भिन्न अर्थ दिन सक्ने ध्वनिहरू नै वर्ण हुन्। काल, चाल, ताल, माल, साल र दाल शब्द युग्ममा क्रमशः क्, च्, त्, म्, स्, द्ले गर्दा अर्थमा भिन्नता आएको हो। त्यसैले क्, च्, त्, म्, स्, द् वर्ण हुन्।

कुनै भाषामा यस्ता अर्थ भेदक ध्वनि जति हुन्छन् त्यति नै त्यस भाषाका वर्ण निर्धारित हुन्छन्। यस दृष्टिले नेपाली भाषाका स्वर वर्ण ६ ओटा र व्यञ्जन वर्ण २९ ओटा छन्।

लेख्य नेपालीमा यी सबै वर्णहरूको प्रयोग गरिन्छ। तर यी सबैले उच्चारणमा भिन्नता दर्साउन सक्दैनन्। यीमध्ये ई, ऊ, ऋ, ऐ, औ, अं, अः स्वरहरू र ञ, ण,श,ष, त्र, ज्ञ व्यञ्जनहरूको उच्चारणमा छुट्टै पहिचान देखिँदैन। स्वरमा ई Ö इ (नानीÖ नानि) ऊ Ö उ (जाऊÖ जाउ), ऋ Ö रि (ऋतु Ö रितु) ऐÖ अइ, औ Ö अउ, अं Ö अम्, अः Ö अह् र व्यञ्जनमा ञ Ö यँ (व्यञ्जन Ö व्यन्जन्), ण Ö डँ/अँडँ (गणेश, कण्ठÖ कन्ठ), श, ष Ö स (शान्ति Ö सान्ति, सन्तोष Ö सन्तोस), क्ष Ö छ्य/छे (क्षय Ö छ्यय, क्षेत्री Ö छेत्त्रि), त्र Ö त्र, ज्ञ Ö ग्यँ ध्वनि नै उच्चारण हुने हुँदा उच्चारणबाट अर्थमा भिन्नता आउँदैन। त्यसैले नेपाली भाषामा ६ ओटा स्वर र २९ ओटा व्यञ्जन गरी जम्मा ३५ ओटा वर्णहरू रहेका छन्।

शब्दभण्डार[सम्पादन गर्ने]

तत्सम्, तद्भव र आगन्तुक गरी तीन किसिमका स्रोतबाट नेपाली भाषाको शब्दभण्डार बनेको हुँदा नेपाली वर्ण विन्यासमा यी तीनै किसिमका प्रयोगहरू छन्।

संस्कृत भाषाबाट रूप र अर्थमा कुनै परिवर्तन नभई जस्ताको तस्तै (तत् समान) नेपालीमा प्रयोग गरिनु तत्सम हो। जस्तै: प्रज्ञा, ऋषि, अञ्जलि, कीर्ति, दर्शन, विद्वान्। नेपाली भाषाको जननी संस्कृत भाषा भएकाले संस्कृत भाषाको नेपाली भाषामा निकै ठूलो प्रभाव छ। नेपाली प्रयोगमा तत्सम नियमलाई पछ्याउँदै आइएको छ।

संस्कृत भाषाबाट पहिलेको स्वरूपमा परिवर्तन (तद्भवः त्यसबाट बनेको) भई नेपालीमा प्रयोग गरिनु तद्भव हो। यसमा स्तरीय नेपाली उच्चारणअनुसार वर्ण विन्यासको प्रयोग गरिन्छ। जस्तै: आश्विन - असोज, मिष्ठ - मीठो, दुग्ध - दूध, आषाढ - असार, काष्ठ - काठ।

संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसुस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।

यसरी नेपाली भाषामा मुख्य गरी तत्सममूलक नियम र नेपालीमूलक नियम प्रचलनमा भएको देखिन्छ। नेपाली भाषामा कतिपय अवस्थामा जस्तो बोलिन्छ त्यस्तो लेखिँदैन र जस्तो लेखिन्छ त्यस्तो पढिँदैन। कतिपय कथ्य नेपाली र लेख्य नेपालीमा भिन्नता पाइन्छ। यी विभिन्न कारणले गर्दा नेपाली प्रयोक्तालाई वर्ण विन्यासमा कठिनाइ परेको छ। वर्ण विन्यासमा खास गरी इकार-उकार -इ/ई ( उ/ऊ), य-ए, यि/यी-इ, ऋ-रि, क्ष-छ्य-छे, पञ्चम वर्ण ः ङ, ञ, न, म, शिरबिन्दु ( ं ), चन्द्रबिन्दु ( ँ ), ब-व, श-ष-स, ज्ञ-ग्यँ, अजन्त-हलन्त, पदयोग-पदवियोगको प्रयोगसम्बन्धी समस्या निकै देखिन्छ। यी विविध पक्षलाई दृष्टिगत गरी यहाँ पदयोग र पदवियोगको बारेमा चर्चा गरिन्छ।

पदयोग र पदवियोग[सम्पादन गर्ने]

एक पदमा अर्को पद जोडिने प्रक्रियालाई पदयोग र एक पदमा अर्को पद नजोडिने प्रक्रियालाई पदवियोग भनिन्छ। पदयोगमा शब्दहरू जोडेर लेखिन्छ भने पदवियोगमा शब्दहरू छुट्याएर लेखिन्छ। सामान्यतः पदयोगमा एउटै डिकोमा र पदवियोगमा भिन्न डिकोमा लेख्ने गरिन्छ तर डिको नै पदयोग र पदवियोगको विभाजक होइन। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयजस्ता शब्दहरू समस्त शब्द हुन् तर यी शब्दहरू छुट्टाछुट्टै लेखिन्छन्।

नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ। त्यसमा पनि पदयोग र पदवियोगमा अझ बढी समस्या देखिन्छ। कस्ता कस्ता र कति कति शब्दहरू जोडेर लेख्ने र नजोडी लेख्ने भन्ने कुरामा निकै द्विविधा छ। पदयोग र पदवियोगका सम्बन्धमा विज्ञहरूमा त एकरूपता पाइँदैन भने सामान्य प्रयोक्तामा समस्या पर्नु स्वाभाविकै हो।

सन्दर्भ ग्रन्थसूची[सम्पादन गर्ने]

    • -अनिवार्य नेपाली शिक्षण निर्देशिका, त्रि.वि., पाठ्यक्रम विकास केन्द्र, अनिवार्य विषय स्थायी समिति, साझा प्रकाशन, २०६६।
    • -अधिकारी, हेमाङ्गराज (२०६३), प्रयोगात्मक सरल नेपाली व्याकरण (दो.सं.), काठमाडौं: विद्यार्थी पुस्तक भण्डार।
    • -बन्धु, चूडामणि (सातौँ सं. २०५३), भाषाविज्ञान, काठमाडौं: साझा प्रकाशन।
    • -शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६०), आधुनिक भाषाविज्ञान, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार।
    • -सुवेदी, लालानाथ र हरिप्रसाद शर्मा (२०५१), नेपाली वर्ण विन्यास, काठमाडौं: साझा प्रकाशन।
  • [१] वर्ण विन्यासः पदयोग र पदवियोग भाषा/साहित्य समीक्षा, बुद्ध खनिया, मधुपर्क २०६६ मंसिर
  • [२]: हिज्जेमा भाँडभैलो -शरच्चन्द्र वस्ती